इजकिएल
Chapter 1
1 तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्तो भयो । आकाश खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें । 2 त्यस महिनाको पाँचौं दिनमा— यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो— 3 कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो, र त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो । 4 तब मैले हेरें, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो । एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्यसको वरिपरि र भित्र चहकिलो उज्यालो थियो, र त्यस आगोको माझ जल्दो पहेंलो धातुझैं थियो । 5 माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्वरूप यस्तो थियोः तिनीहरू मानिसको स्वरूपजस्ता थिए, 6 तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए । 7 तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्ता थिए जो टल्काइराखेका काँसाजस्तै टल्कन्थे । 8 तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः 9 एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिंड्थ्यो । 10 तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो । 11 तिनीहरूका मुहार यस्तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्ना शरीर ढाकेका थिए । 12 तिनीहरू हरेक सोझै हिंड्थे, ताकि आत्माले जता-जता लग्यो तिनीहरू त्यतै जान्थे, तिनीहरू यताउता नफर्की हिंड्थे । 13 ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्ग्रोजस्तो, राँकोहरूजस्ता थिए । ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्यहाँ बिजुलीका चमकहरू थिए । 14 ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्थे । 15 तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्ग्रा देखें । 16 ती पाङ्ग्राहरूका आकार र बनावट यस्ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्तै थिए, र ती चारैवटा उस्तै किसिमका थिए । एउटा पाङ्ग्रो अर्को पाङ्ग्रोमा खप्टिएको भएझैं थियो । 17 जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्थे । 18 तिनीहरूका घेरा अल्गा र डरलाग्दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए । 19 जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्ग्राहरू पनि साथसाथै हिंड्थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि उठ्थे । 20 आत्मा जता जानुहुन्थ्यो तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा तिनै पाङ्ग्रामा थिए । 21 जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे । अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्थे । ती प्राणीहरू जमिनबाट उठ्दा यी पाङ्ग्रा पनि तिनीहरूसँगै उठेर जान्थे, किनभने ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्रामा नै थिए । 22 ती जीवित प्राणीहरूका शिरको मास्तिर विशाल अर्धगोलाकार क्षेत्रजस्तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो । 23 त्यो विशाल अर्धगोलाकार क्षेत्र मुन्तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्थ्यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्ने जोडी थियो । 24 तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्को आवाजजस्तो हुन्थ्यो । आँधीको वर्षाजस्तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्थे, तब तिनीहरूले आफ्ना पखेटा तल झार्थे । 25 जब तिनीहरू ठिङ्ग उभिए र आफ्ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो । 26 तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो जुन हेर्दा त्यो नीलमणीजस्तै देखिन्थ्यो, र त्यो सिंहासनजस्तोमा बस्नेको स्वरूप मानिसको जस्तो थियो । 27 मैले उहाँको कम्मरदेखि मास्तिर जल्दो धातुजस्तै भएको एउटा आकृति देखें । उहाँको कम्मरदेखि मुन्तिरको आकृति पनि आगोजस्तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्यालोले घेरिराखेको थियो । 28 उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्द्रेनीको आकारझैं उज्ज्वल थियो । त्यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्थ्यो । जब मैले त्यो देखें तब म घोप्टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।
Chapter 2
1 उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, आफ्ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।" 2 तब उहाँ मसित बोल्नुहुँदा, तब मभित्र आत्मा प्रवेश गर्नुभयो र मलाई आफ्ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनें । 3 उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्मै मेरो विरुद्धमा पाप गरेका छन् । 4 तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्नेछस्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।' 5 तिनीहरूले सुन्नेछन् वा सुन्नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्ना बिचमा एक जना अगमवक्ता छन् भनी जान्नेछन् । 6 ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन् । 7 तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्नेछस्, किनकि तिनीहरू ज्यादै विद्रोही छन् । 8 तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा !" 9 तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्यसमा एउटा लेखिएको मुट्ठो थियो । 10 उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो । त्यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।
Chapter 3
1 उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, तैंले जे पाएको छस् त्यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।" 2 यसैले मैले आफ्नो मुख खोलें, र उहाँले त्यो मुट्ठो मलाई खुवाउनुभयो । 3 उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, मैले तँलाई दिएको त्यो मुट्ठो खा र यसले तेरो पेट भर ।" यसैले मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं गुलियो थियो । 4 तब उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरो कुरा भन् । 5 किनकि तँ कुनै अनौठो बोली र कठिन भाषा बोल्ने मानिसहरूकहाँ पठाइएको छैनस्, तर इस्राएलको घरानाकहाँ— 6 अनौठो बोली र कठिन भाषा बोल्ने धैरै जना मानिसकहाँ होइन, जसको भाषा तैंले बुझ्दैनस् । मैले तँलाई त्यस्ताहरूकहाँ पठाएको भए, उनीहरूले निश्चय नै तेरा कुरा सुन्नेथिए । 7 तर इस्राएलका घरानाले त तेरो कुरा सुन्ने इच्छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्न इच्छा गर्दैनन् । यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन् । 8 हेर, मैले तेरो अनुहारलाई तिनीहरूका अनुहारजस्तै हठी र तेरो निधाारलाई तिनीहरूको निधारजस्तै कठोर तुल्याएको छु । 9 मैले तेरो निधारलाई दर्शनढुङ्गाभन्दा कडा एउटा हिराजस्तै पारेको छु। तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो ।" 10 अनि उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, मैले तँलाई भनेका सबै कुरा — ती आफ्नो मनमा राख् र ती आफ्ना कानले सुन् । 11 त्यसपछि कैदमा परेका तेरा मानिसहरूकहाँ जा, र तिनीहरूलाई भन् । तिनीहरूले सुने पनि नसुने पनि तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ' ।" 12 तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले आफ्नो पछिल्तिर ठुलो भुकम्पको आवाज सुनेंः "परमप्रभुको महिमा उहाँको वासस्थानमा धन्यको होस् !" 13 त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाले एउटाले अर्कालाई छुँदा निस्केको र तिनीहरूसँग भएका ती पाङ्ग्राहरूका आवाज थियो, र एउटा ठुलो भुकम्पको आवाज थियो । 14 आत्माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्नो आत्माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो । 15 तब म कबार नहरको नजिक बस्ने ती कैदीहरूकहाँ तेल-अबीबमा गएँ, र त्यहाँ सात दिनसम्म तिनीहरूसँग आश्चर्यले व्याकुल भएर म बसें । 16 तब सात दिनको अन्त्यमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 17 "ए मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको रक्षक तुल्याएको छु, यसैले मैरो मुखको वचन सुन् र तिनीहरूलाई मेरो चेताउनी दे । 18 जब म एक जना दुष्ट मानिसलाई 'तँ निश्चय नै मर्नेछस्' भन्छु, र त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिइनस्—भने, त्यो मानिस पापको कारण मर्नेछ, तर म त्यसको रगत तेरो हातबाट लिनेछु । 19 तर तैंले त्यस दुष्ट मानिसलाई चेताउनी दिइस् र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो दुष्ट कामहरूदेखि फर्कंदैन भने, त्यो आफ्नो पापको कारण मर्नेछ, तर तैंले चाहिं आफ्नो प्राण बचाएको हुनेछस् । 20 धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्छ, र त्यसको लागि ठक्कर खाने ढुङ्गो मैले राखें भने त्यो मर्नेछ । तैंले त्यसलाई चेताउनी नदिएको हुनाले त्यो आफ्नै पापमा मर्नेछ, र त्यसले गरेका धर्मिक कामहरूको सम्झना म राख्नेछैन, तर त्यसका रगत लेखा म तेरो हातबाट लिनेछु । 21 तर त्यस धर्मी मानिसलाई पाप नगर् भनी तैंले चेताउनी दिइस् ताकि त्यसले पाप गरेन भने, उसले चेतावनी पाएको कारणले त्यो निश्चय नै बाँच्नेछ । अनि तैंले आफ्नो प्राण बचाएको हुनेछस् ।" 22 यसरी त्यहाँ परमप्रभुको हात ममाथि रह्यो र उहाँले मलाई भन्नुभयो, "उठ्, मैदानमा जा, र त्यहाँ म तँसित बोल्नेछु ।" 23 म उठें र बाहिर मैदानमा गएँ, र कबार नहरको किनारमा मैले देखेको जस्तो परमप्रभुको महिमा त्यहाँ पनि थियो । यसैले म घोप्टो परें । 24 आत्मा ममा आउनुभयो, र मलाई खुट्टामा उभ्याउनुभयो; र उहाँले मसित बोल्नुभयो, र मलाई भन्नुभयो, "जा, र आफ्नो घरभित्र आफूलाई थुन्, 25 किनकि अब ए मानिसको छोरो, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्, यसैले तँ तिनीहरूका बिचमा जान सक्दैनस् । 26 तेरो जिब्रो म तेरो तालुमा टाँसिदिनेछु, यसरी तँ गूँगो हुनेछस्, र तैंले तिनीहरूलाई हप्काउन सक्नेछैनस्, किनकि तिनीहरू विद्रोही घरानाका हुन् । 27 तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, यसरी तैंले तिनीहरूलाई भन्नेछस्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ।' सुन्ने व्यक्तिले सुन्नेछ । नसुन्ने व्यक्तिले सुन्नेछैन, किनकि तिनीहरू विद्रोही घरानाका हुन् ।"
Chapter 4
1 "तर ए मानिसको छोरो, आफ्नो निम्ति एउटा इँट लिएर त्यो तेरो सामु राख् । त्यसपछि त्यसमाथि यरूशलेमको नक्सा बना । 2 तब त्यसका चारैतिर घेरा हाल्, र त्यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्सको वरिपरि छाउनी बना । त्यसलाई आक्रमण गरी भत्काउने मूढाहरू राख् । 3 तब आफ्नो निम्ति एउटा फलामको तावा लि र सहर र तेरो बिचमा एउटा फलामको पर्खालझैं त्यो खडा गर् र तेरो मुहार सहरतिर फर्का, किनकि त्यो घेरा लाएको अवस्थामा हुनेछ, र तैंले त्यसलाई घेरा हाल्नुपर्छ । इस्राएलका घरानाको निम्ति यो एउटा चिन्ह हुनेछ । 4 त्यसपछि तँ देब्रेतिर कोल्टे परेर सुत्, र इस्राएलका घरानाको पाप त्यसमाथि राख् । जति समयसम्म तँ यसरी इस्राएलको घरानाको विरुद्धमा कोल्टो परिरहन्छस्, त्यति दिनसम्म तैंले तिनीहरूको पाप बोक्नेछस् । 5 तिनीहरूको पापका वर्षको संख्याकै बराबर तेरो लागि दिनको संख्या तोकेको छुः तिन सय नब्बे दिन । यसरी तैंले इस्राएलका घरानाको पाप बोक्नेछस् । 6 जब तैंले ती दिन पुरा गर्नेछन्, तब दोस्रो पटक दाहिनेतिर कोल्टे पर् र किनकि तैंले चालिस दिनसम्म यहूदाका घरानाको पाप बोक्नेछस् । मैले तँलाई प्रत्येक वर्षको लागि एक दिन तोकेको छु । 7 तेरो अनुहार यरूशलेमको घेरातर्फ फर्काएर राख् र पाखुरा नाङ्गै राखेर त्यस सहरको विरुद्धमा अगमवाणी भन् । 8 किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् । 9 त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् । 10 तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्यो खानेछस् । 11 अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् । 12 जौका केकजस्तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाउनेछस् ।" 13 किनकि परमप्रभु भन्नुहुन्छ, "यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन् ।" 14 तर मैले भनें, "धिक्कार, हे परमप्रभु परमेश्वर, म कहिले पनि अशुद्ध भएको छैनँ । युवावस्थादेखि अहिलेसम्म कहिल्यै आफै मरेको थोक अथवा पशुले मारेको कुरा वा दुषित मासु मैले कहिलै खाएको छैनँ ।" 15 यसैले उहाँले मलाई भन्नुभयो, "हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् । 16 उहाँले मलाई यो पनि भन्नुभयो, "ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु , र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् । 17 किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।'
Chapter 5
1 "तब ए मानिसको छोरो, आफ्नो लागि हजामको छुराजस्तै एउटा धारिलो तरवार ली र त्यसको धारले आफ्नो कपाल र दाह्री खौरी, त्यसपछि जोख्नलाई तराजू ली, र तेरो कपाललाई भाग लगा । 2 घेराबन्दीका दिन समाप्त हुन्छन्, तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे, र मानिसहरूलाई केद्न म तरवार थुत्नेछु । 3 तर कपालको केही भाग लि र आफ्नो लुगामा ती बाँध् । 4 तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे । अनि त्यो आगोमा जलाइदे । त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।" 5 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “जातिहरूका बिचमा भएको यरूशलेम यही हो, जहाँ मैले त्यसलाई राखेको छु र जहाँ मैले त्यसलाई अरू देशहरूले घेरेको छु । 6 तर आफ्नो दुष्ट्याइँमा आफ्ना चारैतिर भएका जातिहरूले भन्दा बढी त्यसले मेरा नियमहरू र अन्य देशहरूले भन्दा बढी त्यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे । मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् र मेरा विधिहरूमा हिंडेका छैनन् ।" 7 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, "तिमीहरू आफ्ना चारैतिरका जातिहरूभन्दा अझ बढी बदमास भएका छौ, र मेरा विधिहरूमा चलेका छैनौ, वा मेरा नियमहरू पालन गरेका छैनौ, वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ," 8 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, "हेर, म आफै तेरो विरुद्धमा हुनेछु । म स्वयम् ती जातिहरूका सामुन्ने तँलाई दण्ड दिनेछु । 9 तेरा घिनलाग्दा कामहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न म फेरि कहिल्यै गर्नेछु । 10 यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्ना बुबाहरूलाई खानेछन्, किनकि म तँमाथि दण्ड ल्याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु । 11 यसकारण जस्तो म जीवित छु—यो परमप्रभु परमेश्वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्दा कामहरूले मेरो पवित्रस्थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ । 12 तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्ट गर्नेछ । एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिं म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्न तरवार पनि थुत्नेछु । 13 तब मेरो क्रोध पुरा हुनेछ , र तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ । म सन्तुष्ट हुनेछु, र मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्नेछन् कि म परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ । 14 तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्यक्तिका दृष्टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु । 15 यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा, र खिसीको पात्र बन्नेछ र तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी र भयको पात्र बन्नेछ । म रिस, क्रोध र डरलाग्दो गालीसित तेरो न्याय गर्नेछु—म परमप्रभुले यो घोषणा गरेको हुँ । 16 म तेरो विरुद्ध अनिकालको मेरा घातक र नष्टकारी काँणहरू छोड्नेछु, जुन तेरो सर्वनाशको कारण बन्नेछ । किनकि म तँमाथि अनिकाल बढाउनेछु र तेरो अन्नको मूल नै रोकिदिनेछु । 17 तेरो विरुद्धमा म अनिकाल र प्रकोपहरू ल्याउनेछु, यसरी तँ बालकहिन हुनेछस् । रूढी र रक्तपात तेरो बिचबाट जानेछ, र म तेरो विरुद्ध तरवार ल्याउनेछु—म, परमप्रभुले नै यो घोषणा गरेको हुँ ।"
Chapter 6
1 परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो, 2 "ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् । 3 यसो भन्, "ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्साहरू र बेसीहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु, र तिमीहरूका अल्गा-अल्गा ठाउँहरूलाई म नाश गर्नेछु । 4 तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु । 5 इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्ट पारिदिनेछु । 6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्गा-अल्गा ठाउँहरू नष्ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् । 7 मृतहरू तिमीहरूकै माझमा ढल्नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । 8 तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्यहाँ जातिहरूका बिचमा तरवारबाट उम्केका कोही हुनेछन् । 9 तब मबाट तर्केका तिनीहरूका व्यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्ने तिनीहरूका कुदृष्टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् । 10 यसरी तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्याउँछु भनी मैले भनें । 11 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः "आफ्नो ताली बजा र आफ्ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्ट र घिनलाग्दा व्यवहारहरूका कारण, धिक्कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्ट हुनेछन् । 12 टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन् । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु! 13 जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्गा-अल्गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्याम्म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्ना मूर्तिहरूका निम्ति धूप बाल्थे, त्यहाँ-त्यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । 14 अनि म आफ्नो हातले हिर्काउनेछु र उजाड-स्थानदेखि दिब्लासम्मै तिनीहरूका सबै बस्ने ठाउँहरू अर्थात् तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
Chapter 7
1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो—इस्राएलको देशलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।" 'अन्त्य! देशका चारै सिमानामा अन्त्य आइपुगेको छ । 3 अब अन्त्य तँमाथि आएको छ, किनकि म आफ्नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्याय गर्नेछु । तब तेरा सबै घिनलाग्दा कामहरू तँमाथि नै ल्याउनेछु । 4 किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । 5 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः विपत्ति! विशेष विपत्ति! हेर्, त्यो आउँदैछ । 6 अन्त्यचाहिं साँच्चै नै आउँदैछ । अन्त्य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ! 7 तिमीहरू जो देशमा बस्छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्दित हुनेछैनन् । 8 अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्याउनेछु । तेरो चालअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरू तँमाथि ल्याउनेछु । 9 किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्नेछैन । जस्तो तैंले गरेको छस् तेस्तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् । 10 हेर्, त्यो दिन! हेर्, त्यो आउँदैछ । तेरो सर्वनाश निस्केर आएको छ । लट्ठी फुलेको छ, अहङ्कारको कोपिला लागेको छ! 11 हिंसा बढेर दुष्टताको लठ्ठी भएको छ—तिमध्ये कुनै पनि, ति भीडमध्ये कुनै पनि, तिनका धन-सम्पत्तिमध्ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्य चीज छोडिनेछैन! 12 समय आउँदैछ । दिन नजिकै आएको छ । किन्नेले आनन्द नगरोस्, बेच्नेले शोक नगरोस्, किनकि मेरो क्रोध जम्मै भीडमाथि परेको छ! 13 किनकि जहिलेसम्म ती दुवै बाँच्नेछन्, बेच्ने आफूले बेचेको जमिनमा फर्केर आउनेछैन, किनभने समस्त भीडको बारेमा यो दर्शन बद्लिनेछैन । अनि तिनीहरूका पापहरूका कारणले तिमध्ये कोही पनि बलियो पारिनेछैन! 14 तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्मै भीडमाथि छ । 15 घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन् । खेतमा हुनेहरू तरवारले मारिनेछन्, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्ट हुनेछन् । 16 तर तिमध्येबाट केही बाँचेर उम्कनेछन्, र तिनीहरू पर्वतहरूमा जानेछन् । तिनीहरू सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन्—हरेक मानिसले आ-आफ्ना अधर्मको निम्ति शोक गर्नेछ । 17 हरेक हात शिथिल हुनेछ र हरेक घुँडा पानीझैं निर्बल हुनेछ, 18 र तिनीहरूले भाङ्ग्रा लाउनेछन् र त्रासले तिनीहरूलाई ढाक्नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन । 19 तिनीहरूले आफ्ना चाँदी गल्लीहरूमा फाल्नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन् । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्ने ढुङ्गो बनेको छ । 20 आफ्ना सुन्दर गरगहनामा तिनीहरूले घमण्ड गरे, र तीबाट तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्ति अशुद्ध थोकमा परिणत गरिदिनेछु । 21 तब म ती थोकहरू विदेशीहरू र दुष्टका हातमा लुटका रूपमा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन् । 22 तब तिनीहरूले मेरो वास्ता गरिएको ठाउँलाई बिटुलो पार्दा तिनीहरूदेखि म आफ्नो अनुहार फर्काउनेछु । लुटेराहरू त्यहाँ पस्नेछन् र त्यसलाई बिटुलो पार्नेछन् । 23 साङ्ला बनाओ, किनभने देश रगतको न्यायले भरिएको छ, र सहर हिंसाले भरिएको छ । 24 यसैले म सबैभन्दा दुष्ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन् । 25 त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्नेछन्, तर त्यहाँ केही हुनेछैन । 26 विपद्माथि विपद् आउनेछ, र त्यहाँ हल्लामाथि हल्ला हुनेछ । तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्नेछन्, तर पुजारीबाट व्यवस्था र धर्म-गुरुहरूबाट सल्लाह नष्ट हुनेछ । 27 राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्नेछन् । तिनीहरूका आफ्नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्याय गर्नेछु ।
Chapter 8
1 छैटौं वर्षको छैटौं महिनाको पाँचौं दिनमा जब म आफ्नो घरमा बसें र यहूदाका धर्म-गुरुहरू मेरो सामु बसे, तब त्यहाँ परमप्रभु परमेश्वरको बाहुली ममाथि पर्यो । 2 तब मैले हेरें, र हेर, त्यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्मरमुनि आगोजस्तो थियो । अनि तिनको कम्मरदेखि माथिचाहिं चम्किरहेको धातुजस्तो देखिन्थ्यो । 3 तब तिनले हातजस्तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्क उठाए । आत्माले मलाई पृथ्वी र स्वर्गको बिचमा उचाल्नुभयो, र परमेश्वरका दर्शनहरूमा यरूशलेममा मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो । 4 तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो । 5 तब उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर् ।" यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्यहाँ ढोकामा त्यो डाहको मूर्ति थियो । 6 यसैले उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्छस्? इस्राएलको घरानाले मलाई आफ्नो पवित्रस्थानबाट टाढा हटाउनलाई घिनलाग्दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्दा कामहरू देख्नेछस् ।" 7 तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो, र मैले हेरें र त्यहाँ पर्खालमा प्वाल थियो । 8 उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, यो भित्ताभित्र खन् ।" त्यसैले मैले त्यो भित्ताभित्र खनें, र त्यहाँ एउटा ढोका थियो । 9 तब उहाँले मलाई भन्नुभयो, "जा र तिनीहरूले त्यहाँ गरिरहेका घिनलाग्दा दुष्ट कामहरू हेर् ।" 10 यसैले म भित्र पसें र हेरें, र नियालें । त्यहाँ हरेक किसिमका घस्रने जन्तुहरू र घिनलाग्दा पशुहरू थिए! इस्राएलको घरानाका जम्मै मूर्तिहरूका चित्रहरू त्यहाँ भित्तामा चारैतिर बनाइएका थिए । 11 त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म-गुरुहरू थिए र शापानको छोरो याजन्याह तिनीहरूका माझमा खडा थिए । तिनीहरू मूर्तिहरूका सामु खडा थिए, र धूपको धूवाँ मास्तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्ना धुपौरो लिएर खडा थिए । 12 उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, इस्राएलका घरानाका धर्म-गुरुहरूले अँध्यारोमा के गरिरहेका के तँ देख्छस्? आफ्नो मूर्तिको गुप्त कोठामा तिनीहरू प्रत्येकले यसो गर्छन् किनकि तिनीहरू भन्छन्, 'परमप्रभुले हामीलाई देख्नुहुन्न। परमप्रभुले देशलाई त्याग्नुभएको छ' ।" 13 तब उहाँले मलाई भन्नुभयो, "फेरि फर्की र तिनीहरूले गरिरहेका अरू ठुला घिनलाग्दा कामहरू हेर् ।" 14 त्यसपछि उहाँले मलाई परमप्रभुका मन्दिरको उत्तरपट्टिका ढोकाको मुखमा लानुभयो र हेर, त्यहाँ स्त्रीहरू बसेर तम्मूज देवताको लागि रोइरहेका थिए । 15 त्यसैले उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, के तँ यो देख्छस्? फर्की र यीभन्दा पनि बढी घिनलाग्दा कुराहरू हेर् ।" 16 उहाँले मलाई परमप्रभुका मन्दिरको भित्री चोकमा लानुभयो, र हेर, अनि त्यहाँ वेदी र दलानको बिचमा परमप्रभुको मन्दिरको ढोकामा करिब पच्चीस जना मानिस थिए, आफ्ना पिठ परमप्रभुको मन्दिरतिर र अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए । 17 उहाँले मलाई भन्नुभयो, "ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् । 18 यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्नेछैनँ ।
Chapter 9
1 तब उहाँले ठुलो सोरमा कराएर यसो भन्नुभएको मैले सुनें, "रक्षकहरू हरेकले आफ्ना हातमा नष्ट गर्ने हतियार लिएर सहरमा आऊन् ।" 2 तब हेर, छ जना मानिसहरू हरेकले आ-आफ्नो हातमा हत्या गर्ने हतियार लिएर उत्तरतिर फर्केको माथिल्लो ढोकाबाट आए । तिनीहरूका माझमा सूती कपडा लगाएका र कलम भिरेका एक जना मानिस थिए । यसरी तिनीहरू भित्र गए र काँसाको वेदीको छेउमा खडा भए । 3 तब इस्राएलका परमेश्वरको महिमाचाहिं करूबहरूदेखि मास्तिर हटेर मन्दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्नो छेउमा बोलाउनुभयो । 4 परमप्रभुले तिनलाई भन्नुभयो, "सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्ह लगा ।" 5 मैले सुनिरहँदा उहाँले अरूलाई भन्नुभयो, "उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड, 6 वृद्ध मानिस, जवान मानिस, कन्या, साना बालकहरू र स्त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्थानदेखि नै सुरु गर ।" यसैले मन्दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे । 7 उहाँले तिनीहरूलाई भन्नुभयो, "मन्दिर बिटुलो पार, र त्यसका चोकहरूलाई लाशहरूले भर । जाओ!" यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे । 8 जब तिनीहरूले त्यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्टो परें र रुँदै भनें, "हे परमप्रभु परमेश्वर, यरूशलेममाथि आफ्नो क्रोध खन्याउनुहुँदा इस्राएलका बचेकाहरू जम्मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?" 9 उहाँले मलाई भन्नुभयो, "इस्राएल र यहूदाका घरानाको पाप असाध्य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्छन्, 'परमप्रभुले देशलाई त्याग्नुभएको छ, र ‘परमप्रभुले देख्नुहुन्न' । 10 यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्नेछैनँ । बरु म ती सबै तिनीहरूकै शिरमा खन्याइदिनेछु ।" 11 हेर, त्यो सूती कपडा लगाएको र कम्मरमा कलम भिरेको मानिस आऐ । तिनले यसो भने, "तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु ।"
Chapter 10
1 जब मैले करूबहरूका शिरदेखि मास्तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें । तीभन्दा माथि सिंहासनजस्तो स्वरूपमा नीरजस्तो केही कुरा देखा पर्यो । 2 तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्नुभयो र यसो भन्नुभयो, "करूबहरूका मुन्तिर रहेका पाङ्ग्राहरूका बिचमा जा, र ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्ग्रो लिएर आफ्ना दुवै हातमा भर् र ती सहरको माथि छरिदे ।" तब मैले हेर्दाहेर्दै ती मानिस गए । 3 ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो । 4 परमप्रभुको महिमा करूबहरूबाट मास्तिर उठ्यो र मन्दिरको सँघारमाथि गयो । यसले मन्दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो । 5 करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्मै सुनिन्थ्यो, जुन सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाज जस्तै थियो । 6 यस्तो भयो, परमेश्वरले त्यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा, "ती करूबहरूका माझमा भएका पाङ्ग्राहरूका बिचबाट आगो ले," तब ती मानिस भित्र गए र एउटा पाङ्ग्राको छेउमा खडा भए । 7 करूबहरूका बिचमा भएको त्यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्नो हात छिराए, र त्यो माथि उठाए र सूती कपडा लाउने मानिसको हातमा त्यो राखिदिए । ती मानिसले त्यो लिए र फर्केर बाहिर गए । 8 ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्तै केही कुरा देखें । 9 अनि मैले हेरें, र देखें । करूबहरूका छेउमा चार वटा पाङ्ग्रा थिए— प्रत्येक करूबको छेउमा एउटा पाङ्ग्रा थियो, र ती पाङ्ग्रा पीतमणीजस्ता देखिन्थे । 10 ती चारै पाङ्ग्राहरू एकै किसिमका थिए, एकअर्कामा खप्टिएका देखिन्थे । 11 ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्थे, तिनीहरू जाँदा फर्कंदैन थिए । तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे, तिनीहरू पनि त्यसैतिर नफर्की जान्थे । 12 तिनीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्ग्राहरूसमेत सम्पूर्ण आँखाले भरिएका थिए । 13 मैले सुन्दा, ती पाङ्ग्राहरूलाई "घुम्ने पाङ्ग्रा" भनियो । 14 ती हरेकका चार वटा अनुहार थिए । पहिलो अनुहार करूबको, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार गरुडको जस्तै थियो । 15 तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात् जीवित प्राणीहरू उठे । 16 जब ती करूबहरू हलचल गर्थे, तब छेउका ती पाङ्ग्राहरू पनि तिनीहरूसितै जान्थे, र जब ती करूबहरू भूइँबाट माथि ऊठ्नलाई आफ्ना पखेटा फैलाउँथे, तब ती पाङ्ग्राहरू फर्कंदैन थिए । तिनीहरूकै छेउमा ती रहन्थे । 17 जब ती करूबहरू ठिङ्ग खडा हुन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग खडा नै रहन्थे, र जब ती माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्राहरूमा थिए । 18 तब परमप्रभुको महिमा मन्दिरको सँघारबाट निस्केर गयो र ती करूबहरूका माथि अडियो । 19 ती करूबहरूले आ-आफ्ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्ग्राहरूले पनि तिनीहरूका पछिपछि त्यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्वरको महिमा माथिबाट तिनीहरूमा आयो । 20 कबार नहरको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए, यसैले तिनीहरू त करूबहरू रहेछन् भनी मैले थाहा पाएँ । 21 ती प्रत्येकका चार वटा अनुहार र चार वटा पखेटा थिए, र तीनका पखेटामुनि मानिसका हातहरूजस्तै देखिन्थे, 22 र तिनीहरूका अनुहारहरूका स्वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्तै थिए, र तीमध्ये हरेक सिधै अगाडि हिंड्दथे ।
Chapter 11
1 तब आत्माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्यहाँ ढोकाको मुखैमा पच्चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें । 2 परमेश्वरले मलाई भन्नुभयो, "ए मानिसको छोरो, यस सहरमा दुष्ट्याइँ गर्न षड्यन्त्र रच्ने र दुष्ट योजना बनाउने मानिसहरू यी नै हुन् । 3 तिनीहरू भन्दैछन्, 'घरहरू निर्माण गर्ने समय अहिले होइन । यो सहर भाँडो हो र हामीहरू मासु हौं ।’ 4 यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।" 5 तब परमप्रभुका आत्मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयोः "परमप्रभु यसो भन्नुहुन्छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ । किनकि तिमीहरूका मनमा के आउँछ भन्ने मलाई थाहा छ । 6 तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्यालाई वद्धि गरेका छौ, र यसका गल्लीहरू तिनीहरूले भरेका छौ । 7 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो । तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ । 8 तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु । यो परमप्रभु परमेश्वरको घोषणा हो । 9 म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु । 10 तिमीहरू तरवारले ढल्नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । 11 यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्यसको बिचमा तिमीहरू मासु नै हुनेछौ । तिमीहरूको न्याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु । 12 तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।" 13 जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्याह मरे । तब म घोप्टो परें र चर्को सोरमा कराएँ र यसो भनें, "हाय, परमप्रभु परमेश्वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्पूर्ण रूपले सर्वनाश गर्नुहुन्छ?" 14 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 15 "ए मानिसको छोरो, तेरा दाजुभाइ! तेरा दाजुभाइ! जो तेरा कुलका र इस्राएलका सारा घराना! यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्दाहरूले यसो भनेका थिए, 'यिनीहरू परमप्रभुदेखि टाढा भएका छन् । यो देश हामीलाई अधिकार गर्न दिइएको थियो ।’ 16 यसकारण यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्ति म तिनीहरूको पवित्रस्थान भएको छु ।’ 17 यसकारण भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूलाई म मानिसहरूबाट जम्मा गर्नेछु, र तिमीहरू तितरबितर भएका देशहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु र म तिमीहरूलाई इस्राएलको देश दिनेछु ।’ 18 तब तिनीहरू त्यहाँ जानेछन् र त्यो ठाउँबाट हरेक घृणित र घिनलाग्दा कुराहरू हटाउनेछन् । 19 म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिनीहरूमा म एउटा नयाँ आत्मा हालिदिनेछु । म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु, 20 ताकि तिनीहरू मेरा विधिहरूमा चल्नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु । 21 तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।" 22 ती करूबहरूले आफ्ना पखेटा र आफ्ना छेउमा भएका पाङ्ग्राहरू माथि उचाले र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका माथि थियो । 23 तब सहरको बिचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो । 24 आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो । 25 तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।
Chapter 12
1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन् तर तिनीहरू देख्दैनन् । अनि तिनीहरूका सुन्ने कान त छन् तर सुन्दैनन्, किनभने तिनीहरू विद्रोही घराना हुन् । 3 यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्लान् । 4 निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्ने बाहिर निकाल्नेछस् । तिनीहरूका आँखाकै सामुन्ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् । 5 तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र त्यसैबाट बाहिर निक्लेर जा । 6 तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्नो मुख छोप्, किनकि तैंले भुइँ देख्नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्हको रूपमा अलग गरेको छु ।" 7 यसरी जस्तो मलाई आज्ञा गरियो त्यस्तै मैले गरें । निर्वासनको लागि मैले आफ्ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्वाल पारें । मैले आफ्ना सामानहरू अँध्यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्ना काँधमा बोकें । 8 त्यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 9 "ए मानिसको छोरो, के इस्राएलका घराना, त्यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन? 10 तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यो भविष्य सुचक कामले यरूशलेमका शासक र सारा इस्राएलका घरानासित सम्बन्ध राख्छ ।’ 11 यसो भन्, 'तिमीहरूका निम्ति म एउटा चिन्ह हुँ ।’ मैले जसो गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ । तिनीहरू निर्वासन र कैदमा जानेछन् । 12 तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्नो काँधमा सामान बोक्नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्ना आँखाले भूइँ नदेखोस् भनेर त्यसले आफ्नो मुख छोप्नेछ । 13 म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ । तब म त्यसलाई कल्दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्यसले त्यो देख्नेछैन । त्यो त्यहीं मर्नेछ । 14 त्यसका वरिपरि हुनेहरू जसले त्यसलाई मदत गर्छन् र त्यसका सम्पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु । 15 जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । 16 तर म तिनीहरूमध्येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्यहाँका जातिहरूका बिचमा आफ्ना घिनलाग्दा व्यवहारहरूका लेखा तिनीहरूले राख्नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।" 17 परमेश्वरको वचन यसो भनेर मकहाँ आयो, 18 "ए मानिसको छोरो, आफ्नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी । 19 अनि देशका मानिसहरूलाई यसो भन्: 'यरूशलेमका बासिन्दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः "तिनीहरूले आफ्नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्नो पानी पिउनेछन्, किनकि त्यहाँ बस्नेहरूका हिंसाको कारणले त्यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ । 20 मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्नेछौ ।’" 21 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 22 "ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्ने इस्राएलमा चल्दैआएको उखान के हो? 23 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म यस उखानको अन्त गरिदिनेछु, र इस्राएलका मानिसहरूले फेरि कहिल्यै यो प्रयोग गर्नेछैनन् ।' तिनीहरूलाई यसो भन्, ‘समय नजिकै आएको छ, जति बेला हरेक दर्शन पुरा हुनेछ । 24 किनकि अब फेरि कहिल्यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन् । 25 किनकि म परमप्रभु हुँ! म बोल्छु र आफूले बोलेका कुरा पुरा गर्छु । यो कुरा ढिलो हुनेछैन । किनकि ए विद्रोही घराना, तिमीहरूका समयमा नै मैले भनेको यो कुरा म पुरा गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।" 26 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 27 "ए मानिसको छोरो, हेर्, इस्राएलका घरानाले यसो भनेको छ, 'त्यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्मको लागि हो र त्यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो ।' 28 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Chapter 13
1 फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्नै कल्पनाहरूका अगमवाणी बोल्नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन । 3 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः आफ्नै आत्माका कुरा पछ्याउने तर केही पनि नदेख्ने मूर्ख अगमवक्ताहरूलाई धिक्कार । 4 ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्थानहरूमा बस्ने स्यालहरूजस्ता भएका छन् । 5 परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्केका ठाउँहरू मरम्मत गर्न पनि तिमीहरू गएका छैनौ । 6 मानिसहरूसँग झूटा दर्शनहरू छन् र तिनीहरू झुटा भविष्यवाणी गर्छन् । तिनीहरू यसो भन्छन्, "परमप्रभुको घोषणा यस्तो-यस्तो छ ।" परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्ना सन्देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् । 7 के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले "परमप्रभु यस्तो-यस्तो भन्नुहुन्छ," भन्दछौ, जबकि म आफैले ती भनेकै होइन? 8 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्वरको घोषणा यस्तो छः 9 मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्य दर्शनहरू देख्छन् र झूटा जोखनाहरू भन्छन् । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ । 10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, "शान्ति," जब शान्ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।' 11 ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्ट गर्नलाई आँधीबेहरी म पठाउनेछु । 12 हेर, त्यो पर्खाल ढल्नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, "तिमीहरूले पोतेको चुन कहाँ छ?" 13 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो क्रोधमा एउटा डरलाग्दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ । 14 किनकि तिमीहरूले चुना पोतेको त्यो पर्खाललाई भत्काउनेछु र त्यसलाई म भूइँसम्मै लडाउनेछु, र त्यसको जग देखाउनेछु । यसरी त्यो ढल्नेछ र तिमीहरू सबै पनि त्यसको माझमा नष्ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । 15 किनकि म आफ्नो क्रोधमा त्यो पर्खाल र त्यसलाई चुनले पोत्नेहरूलाई नष्ट पार्नेछु । म तिमीहरूलाई भन्नेछु, "त्यो पर्खाल अब छैन न त त्यसलाई चुनले पोत्ने मानिसहरू नै छन्— 16 यरूशलेमको बारेमा अगमवाणी बोल्ने इस्राएलका यी अगमवक्ताहरू र त्यसको निम्ति शान्तिको दर्शन देख्नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्वरको घोषणा हो' ।" 17 यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्नै कल्पनाको अगमवाणी बोल्नेहरूतिर तेरो मुख फर्का, रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल् । 18 यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः धिक्कार ती स्त्रीहरू, जसले आफ्ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्न आकारका शिर ढाक्ने घुम्टा बनाउँछन् । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ र? 19 मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्यौ । 20 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिमीहरूका जादुका विरुद्धमा छु, जुन चरालाई झैं मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ । साँच्चै ती म तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु । अनि तिमीहरूले चरालाई झैं पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु । 21 म तिमीहरूका घुम्टा पनि च्यातिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु, यसरी तिनीहरू फेरि कहिल्यै तिमीहरूका हातमा पर्नेछैनन् । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । 22 किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्ट व्यक्तिका कामहरूलाई उत्साह दियौ ताकि आफ्नो प्राण बचाउन आफ्ना चालबाट ऊ फर्कनेछैन— 23 यसैकारण तिमीहरूले अब फेरि कहिल्यै झुटा दर्शन देख्नेछैनौ नत भविष्यवाणी गरिरहनेछौ, किनकि म आफ्ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।'"
Chapter 14
1 इस्राएलका धर्म-गुरुमध्ये कोही मकहाँ आए र मेरो सामुन्ने बसे । 2 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 3 "ए मानिसको छोरो, यी मानिसहरूले आफ्ना मूर्तिहरूलाई आफ्ना हृदयमा राखेका छन्, र आफ्नो अधर्मका ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारका सामु राखेका छन् । के तिनीहरूले मेरो बारेमा सोध्न पाउँछन् र? 4 यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्नो हृदयमा मूर्तिहरू राख्छन्, र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामुन्ने राख्छन्, र पनि अगमवक्ताकहाँ जान्छन्, म परमप्रभुले त्यसका मूर्तिहरूका संख्याअनुसार त्यसलाई जवाफ दिनेछु । 5 आफ्ना मूर्तिहरूको कारण आफ्ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’ 6 यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पश्चात्ताप गर र आफ्ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्दा कुराबाट आफ्ना मुख फर्काओ । 7 किनकि इस्राएलका घरानाको हरेक व्यक्ति र इस्राएलमा बस्ने हरेक विदेशी व्यक्ति जसले मलाई त्याग्छ, जसले आफ्ना मूर्तिहरू आफ्ना हृदयमा राख्छ र आफ्नो अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राख्छ, र त्यसपछि मलाई खोज्न कुनै अगमवक्ताकहाँ जान्छ, त्यसलाई म परमप्रभु आफैले जवाफ दिनेछु । 8 यसरी म आफ्नो मुख त्यस मानिसको विरुद्धमा लगाउनेछु, र त्यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्यसलाई म आफ्ना मानिसहरूका बिचदेखि बहिष्कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । 9 कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्तो सन्देश भन्छ भने, म परमप्रभुले त्यस अगमवक्ता छलमा पार्नेछु । म आफ्ना हात त्यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्यसलाई नाश गर्नेछु । 10 तिनीहरूका आफ्ना अपराध तिनीहरूले बोक्नेछन् । अगमवक्ताको अपराधचाहिं र उसँग सल्लाह लिनेको अपराधजस्तै हुनेछ । 11 यसकारण, इस्राएलका घरानाले मलाई पछ्याउनदेखि फेरि कहिल्यै बरालिनेछैनन् न त आफ्ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्यै आफैलाई अपवित्र पार्नेछन् । तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु । यो परमप्रभु परमेश्वरको घोषणा हो ।’" 12 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 13 "ए मानिसको छोरो, कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ, ताकि त्यसको विरुद्धमा आफ्नो हात पसारें र त्यसको खाद्य भण्डार म नाश गरें, र अनिकाल ल्याएँ र मानिस र पशु दुवैलाई नाश गरें भने, 14 तब नोआ, दानिएल र अय्यूब, यी तिन जना मानिसहरू त्यहाँ भए भने पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्छन् । यो परमप्रभु परमेश्वरको घोषणा हो । 15 मैले त्यस देशमा जङ्गली जनावरहरू पठाएँ, र तिनीहरूले त्यसलाई बाँझो तुल्याए र त्यो देश उजाड भयो, जहाँ जनावरहरूका कारणले कुनै मानिस गएन भने, 16 तब यी तिन जना मानिस त्यहाँ भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर घोषणा गर्नुहुन्छ, तिनीहरूले आफ्नै छोराछोरीलाई पनि बचाउन सक्दैनन् । तिनीहरूका आफ्नो जीवन मात्र बाँच्नेछ, तर देशचाहिं उजाड हुनेथियो । 17 अथवा मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ र यसो भनें, 'ए तरवार, देशभरि जा र त्यहाँबाट मानिसहरू र जनावरहरू दुवैलाई काट् ।' 18 तब यी तिन जना मानिस त्यो दैशको बिचमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीलाई बचाउन सक्दैनन् । तिनीहरूका आफ्नो जीवन मात्र बाँच्नेछ । 19 अथवा मैले यो देशको विरुद्धमा रूढी पठाएँ र रगत बगाएर त्यसका मानिसहरू र पशुहरूलाई मारेर मैले आफ्नो क्रोध पोखाएँ भने, 20 तब नोआ, दानिएल र अय्यूब त्यो देशमा भए भने पनि, जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूले आफ्ना छोराछोरीलाई बचाउन सक्दैनन् । तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्छन् । 21 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यरूशलेमको विरुद्धा मेरा चारवटा दण्डहरू— तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी पठाएर, त्यहाँका मानिस र पशुहरू दुवैलाई देशबाट नाश गरेर म धैरै खराब तुल्याउनेछु । 22 तापनि हेर्, त्यसमा कोही बाँकी हुनेछन्, र बचेकाहरू आफ्ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्केर जानेछन् । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्याएका ती दण्ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्त्वना हुनेछ । 23 बाँचेकाहरूका चाल र कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ, यसरी मैले त्यसको विरुद्धमा गरेका यी सबै कुरा, र ती मैले व्यर्थमा गरिनँ भनी तिमीहरूले जान्नेछौ । यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Chapter 15
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्दा दाखका बोटको कसरी असल हुन्छ? 3 के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्ड्याउनलाई त्यसबाट किला बनाउँछन् र? 4 हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्यसका दुई छेउ र बिचको भाग आगोले भस्म भयो भने, के त्यो कुनै कामको हुन्छ र? 5 हेर्, त्यो सिङ्गै हुँदा पनि केही कामको बन्न सकेन । निश्चय पनि आगोले भस्म भएपछि, अझै पनि त्यसबाट केही कामको कुरा बन्दैन । 6 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः वनमा भएका रूखहरूभन्दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्दाहरूसित पनि म त्यसरी नै काम गर्नेछु । 7 किनकि म आफ्नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । तिनीहरू आगोबाट बाहिर आए तापनि तिनीहरूलाई आगोले नै भस्म गर्नेछ । यसरी तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ जति बेला मैले आफ्नो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु । 8 तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्यागिएको उजाड-स्थान बनाउनेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।"
Chapter 16
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरूका बारेमा जानकारी दे, 3 र घोषणा भन्, 'यरूशलेमलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तेरो सुरु र तेरो जन्म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिं हित्ती थिई । 4 जन्मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री । 5 तँप्रति दयालु भएर तेरो निम्ति यी कुरामध्ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो । 6 तर म तेरो छेउबाट गएँ, र मैले तँलाई तेरो आफ्नै रगतमा लट्पटिरहेको देखें । यसैले तेरो रगतमा मैले तँलाई भनें, "बाँच् ।" तेरो रगतमा मैले तँलाई भनें, "बाँच् ।" 7 मैले तँलाई मैदानको बोटजस्तै बढ्न लगाएँ । तँ बढिस् र ठुलो भइस्, र गहनाहरूको गहना भइस् । तँ नाङ्गो र वस्त्रहीन भए तापनि तेरा स्तनहरू कडा भए, र तेरो कपाल बक्लो भयो । 8 म फेरि तेरो छेउबाट गएँ र मैले तँलाई देखें । हेर्, तेरो निम्ति प्रेम गर्ने समय आयो । यसैले मैले मेरो वस्त्रको छेउ तँमाथि ओढाएँ र तेरो नग्नता ढाकिदिएँ । तब मैले तँसित बाचा बाँधें र तँलाई करारमा ल्याएँ र तँ मेरो भइस्, यो परमप्रभु परमेश्वरको घोषणा हो । 9 यसैले मैले तँलाई पानीले नुहाए र तेरो रगत तँबाट मिचेर धोइदिएँ, र तेलले तेरो अभिषेक गरें । 10 तँलाई बुट्टादार वस्त्र पहिराएँ, र तेरो खुट्टामा छालाका जुत्ता लगाएँ । मैले तँलाई मलमलको कपडामा बेह्रें, र रेशमी लुगाले तँलाई ढाकें । 11 त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें, तेरा हातमा चुरा लगाएँ, र तेरो गलामा सिक्री पहिराएँ । 12 मैले तेरो नाकमा नत्थ लगाएँ र कानमा लुर्का लगाएँ, तेरो शिरमा सुन्दर मुकुट पहिराएँ । 13 यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्यन्तै सुन्दरी थिइस्, र तँ रानी भइस् । 14 तेरो सौन्दर्यको कारणले तेरो ख्याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्वरको घोषणा हो । 15 तर तेरो आफ्नो सौन्दर्यमा तैंले भरोसा राखिस् र तेरो ख्यातिको कारणले तैंले एक वेश्याले झैं काम गरिस् । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्नो काम तैंले गरिस्, ताकि तेरो सौन्दर्य उसको भयो । 16 तब आफ्ना केही वस्त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्यहीं नै तैंले वेश्याले झैं व्यवहार गरिस् । यस्तो नहुनुपर्थ्यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो । 17 मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्नो निम्ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्याले झैं काम गरिस् । 18 तैंले आफ्ना बुट्टादार कपडाहरू लिइस् र तिनीहरूलाई ढाकिस् र मेरो तेल र अत्तर तैंले तिनीहरूका अगि चढाइस् । 19 मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्धित बास्ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्वरको घोषणा हो । 20 अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस् । के तेरा वेश्यावृत्तिका कामहरू साना कुराहरू हुन्? 21 तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् । 22 तेरा यी सबै घृणित काम र वेश्यावृत्तिमा तैंले आफ्नो युवावस्थाका दिनहरू सम्झेको छैनस्, जति बेला तँ नाङ्गो, वस्त्रहीन र भएर आफ्नो रगतमा लट्पटिएकी थिइस् । 23 धिक्कार! तँलाई धिक्कार!— यो परमप्रभु परमेश्वरको घोषणा हो— यसकारण, यी सबै दुष्टताका साथै 24 तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस् । 25 हरेक चोकमा आफ्नो निम्ति एउटा अल्गो देवता-थान बनाइस् र तैंले आफ्नो सुन्दताको अपमान गरिस्, अनि त्यहाँबाट जाने सबैलाई आफ्ना खुट्टाहरू फैलाइस् र तैंले आफ्नो वेश्यावृत्तिका कामहरू बढाइस् । 26 यौनले उन्मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्यावृत्ति गरेको छस्, र वेश्यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस् । 27 हेर्, म आफ्नै हातले तँलाई हिर्काउनेछु र तेरो रोटी बन्द गर्नेछु । तेरो जीवन म तेरा शत्रुहरू, पलिश्तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्जित भएका थिए । 28 तैंले अश्शूरीहरूसित पनि वेश्यावृत्ति गरिस्, किनभने तँ तृप्त हुन सकिनस् । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्ट भइनस् । 29 कल्दीका व्यापारीहरूका देशमा पनि तैंले धैरै वेश्यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्तुष्ट बनाएन । 30 तेरो हृदय कति बिरामी छ— यो परमप्रभु परमेश्वरको घोषणा हो— कि एक निर्लज्ज वेश्याका कामहरू जस्ता यी सबै कुराहरू तैंले गरिस् ? 31 हरेक गल्लीको मोडमा आफ्नो डाँडाका थानहरू र हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् । तापनि तँ वेश्याजस्तो थिइनस्, किनभने ज्याला लिन तैंले इन्कार गरिस् । 32 तँ व्यभिचारी स्त्री, तँ आफ्नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस् । 33 मानिसहरूले त हरेक वेश्यालाई ज्याला दिन्छन्, तर तैंले चाहिं उल्टो आफ्ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्छेस् । 34 यसैले तँ र अरू स्त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्याला दिंदैन । 35 यसकारण ए वेश्या, परमप्रभुको वचन सुन् । 36 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्नता देखाएको छस्, र तेरा सबै घिनलाग्दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्ना छोराछोरीका रगत चढाएको छस्, 37 यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्मा गर्नेछु । तिनीहरूले तेरो नग्नता देखून् भनेर म तेरो नग्नता उघारिदिनेछु । 38 किनकि व्यभिचार र रगतको बगाएको निम्ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु । 39 तँलाई तिनीहरूका हातमा म सुम्पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्काउनेछन् र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन् र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन् । 40 तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्याउनेछन्, र तँलई ढुङ्गाले हान्नेछन्, र तिनीहरूले तँलाई आफ्ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन् । 41 तिनीहरूले तेरा घरहरू जलाउनेछन्, र धेरै जना स्त्रीले देख्ने गरी तँलाई धेरै किसिमका दण्ड दिनेछन्, किनकि म तेरो वेश्यावृत्ति रोक्नेछु, र तैंले आफ्ना प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस् । 42 तब तेरो विरुद्धमा भएको मेरो क्रोध म शान्त पार्नेछु । मेरो रिसले तँलाई छोड्नेछ किनकि म सन्तुष्ट हुनेछु, र पेरि कहिलै रिसाउनेछैनँ । 43 तैंले आफ्नो युवावस्थाका दिनलाई सम्झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्ड म आफैं तेरो आफ्नै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्दा व्यवहारहरूमा वेश्यवृति पनि थपेको छैनस् र? 44 हेर्, उखान भन्ने हरेकले तेरो विषयमा यो उखान भन्नेछः "जस्तो आमा उस्तै छोरी ।" 45 तँ आफ्नी आमाकी छोरी होस्, जसले आफ्नै पति र छोराछोरीलाई घृणा गरी, अनि आफ्नी दिदीहरूकी बहिनी होस् जसले आफ्नै पति र छोराछोरीलाई घृणा गरे । तेरी आमा हित्ती थिई, र तेरा बुबा एमोरी थियो । 46 तेरी दिदी सामरिया थिई र त्यसका छोरीहरू उत्तरमा बस्थे, तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी, अर्थात् सदोम र त्यसका छोरीहरू थिए । 47 तँ तिनीहरूका चालमा मात्र चलिनस् र तिनीहरूका घिनलाग्दा व्यवहारहरू र अभ्यासहरू मात्र नक्कल गरिनस् तर तेरा सबै चालमा तँ तिनीहरूभन्दा झन् भ्रष्ट भएको छस् । 48 जस्तो म जीवित छु, यो परमप्रभु परमेश्वरको घोषणा हो, तँ र तेरा छोरीहरूले जति धेरै दुष्टता गरेका छौ त्यति तेरी बहिनी सदोम र त्यसका छोरीहरूले गरेनन् । 49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन । 50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् । 51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्यसको साटोमा, तिनीहरूले गरेको भन्दा ज्यादै धेरै घिनलाग्दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् । 52 विशेषगरी तैंले आफ्नो निर्लज्जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्दा असल थिए भन्ने तैंले देखाइस् । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् । 53 किनकि म तिनीहरूका सुदिन— सदोम र त्यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ । 54 यी कुराहरूका कारणले तैंले आफ्ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् । 55 तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्नो पहिलेको अवस्थामा फर्किनेछौ । 56 तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्झना गरिनस्, 57 तेरो दुष्टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्यसका वरिपरिका पलिश्तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् । 58 तैंले आफ्नो निर्लज्जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्वरको घोषणा हो । 59 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तँलाई जस्तो व्यवहार गर्नु उचित हुन्छ त्यस्तै व्यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्छ ठानेकी छस् । 60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु । 61 तब तैंले आफ्ना चालहरू सम्झनेछस् र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन । 62 म आफैं मेरो करार तँसित स्थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । 63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्झनेछस्, र लज्जित हुनेछस्, यसरी आफ्नो लाजको कारण तैंले आफ्नो मुख फेरि कहिल्यै खोल्नेछैनस् । त्यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्छु — यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Chapter 17
1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्टान्त प्रस्तुत गर् । 3 यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्दर प्वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्पामा बस्यो । 4 त्यसले हाँगाहरूका टुप्पाहरू भाँच्यो र ती कनान देशमा लिएर गयो । त्यसले त्यो व्यापारीहरूका एउटा सहरमा रोप्यो । 5 त्यसले देशको केही बिउ लग्यो र ती मलिलो जमिनमा रोप्यो । त्यसले बैंसको बोटजस्तै प्रशस्त पानी भएको ठाउँमा त्यो रोप्यो । 6 तब त्यो उम्य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्तो भयो । त्यसका हाँगाहरू ऊतिर फर्किए र त्यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्यो एउटा दाखको बटो भयो र त्यसका हाँगाहरू र मुनाहरू पलाए । 7 तर त्यहाँ ठुला पखेटा र धेरै प्वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यो चीलतिर फर्कायो र आफ्ना हाँगाहरू त्यही चीलतिर नै फैलायो, यसरी त्यसले पानी पाउन सकोस् । 8 प्रशस्त पानीको छेउमा एउटा राम्रो जमिनमा त्यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’ 9 मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिंदैन र त्यसका फलहरू टिपिंदैनन्, र त्यो ओइलाउनेछैन र? त्यसलाई जरैसमेत उखेल्नलाई बलियो हात वा धेरै मानिसहरू आवश्यक हुनेछैन् । 10 यसैले हेर्, त्यसलाई रोपेपछि के त्यो बढ्छ र? पूर्वीय बतासले त्यसलाई हानेपछि के त्यो ओइलाउँदैन र? त्यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।" 11 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 12 "विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्छ भनी तिमीहरू जान्दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्यो । 13 तब त्यसले राजकीय वंशमध्येको एक जनालाई लियो, ऊसित एउटा करार गर्यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्यो, 14 यसरी त्यो राज्य निर्बल रहोस् र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस् । 15 तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्ना राजदूतहरू पठायो । के त्यो सफल हुनेछ र? के यस्ता कुराहरू गर्ने मानिस उम्कन सक्छ र? करार भङ्ग गरेपछि पनि के त्यो उम्कन सक्छ र? 16 जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्छ ठान्यो र जसको करारलाई उसले भङ्ग गर्यो । बेबिलोनको बिचमा ऊ मर्नेछ । 17 फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्छन् र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छन् । 18 किनकि त्यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्नो हात पसार्यो तापनि उसले यी कामहरू गर्यो । ऊ उम्कनेछैन । 19 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जस्तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्याइदिनेछु । 20 म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्ति म उसको न्याय गर्नेछु । 21 उसका शरणार्थी फौज सबै तरवारले मारिनेछन्, र बाँचेकाहरू चारैतिर तितरबितर हुनेछन् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । यो हुनेछ भनी मैले घोषणा गरेको हुँ । 22 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'यसैले त्यो देवदारुको सबैभन्दा टुप्पाको भाग म नै लिएर जानेछु, र म त्यसलाई त्यसका कोमल हाँगादेखि टाढा रोप्नेछु । त्यसलाई म भाँच्नेछु र त्यसलाई एउटा उच्च पर्वतमा रोप्नेछु । 23 त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्नेछु, ताकि त्यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्यो एउटा सुन्दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् । 24 तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्नेछन् । म अग्लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।
Chapter 18
1 फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः "'बाबुहरू अमिलो अङ्गूर खाने र छोराछोरीका दाँत कुडिंने'? 3 जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्यै यो उखान भन्ने अवसर हुनेछैन । 4 हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्नेछ । 5 एक जना धर्मी र न्याय तथा धर्मिकता कायम राख्ने मानिसको बारेमा के भण्न सकिन्छ— 6 उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्त्रीकहाँ जान्छ । के ऊ धर्मी मानिस हो? 7 यस्तो मानिसको बारेमा के भन्न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्नो खानेकुरा दिन्छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो? 8 यस्तो मानिसको बारेमा के भन्ने, जसले आफूले दिएको लोनको ब्याज धेरै लिंदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बिचमा विश्वस्तता कायम गर्छ । 9 एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्वाससित मेरा नियमहरू मान्छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्यो निश्चय नै बाँच्नेछ— यो परमप्रभु परमेश्वरको घोषणा हो । 10 तर मानौं, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्या गर्छ र यी माथि उल्लेखित कुनै पनि काम गर्छ, 11 (उसका बुबाले यी कुरामध्ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्छ, र आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्न सकिन्छ र? 12 यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्ना आँखा मूर्तिहरूतिर उचाल्छ, र घिनलाग्दा कामहरू गर्छ, 13 र उसले महंगो ब्याजमा रुपियाँ दिन्छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्तो मानिस जीवित रहनुपर्छ ? ऊ निश्चय पनि जीवित रहँदैन । ऊ निश्चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्दा कुराहरू गरेको छ । 14 तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्ना बुबाले गरेका सबै पापहरू देख्छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन । 15 त्यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्ना आँखा लगाउँदैन, र उसले आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्न सकिन्छ? 16 त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्धक खोस्दैन वा चोरीका सामानहरू लिंदैन, तर त्यसको साटोमा आफ्नो खानेकुरा भोकालाई दिन्छ, र नाङ्गालाई लुगाले ढाक्छ । 17 त्यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्छ, र मेरा विधिहरूअनुसार हिंड्छ । त्यो छोरो आफ्नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्चय नै बाँच्नेछ । 18 उसको बुबाले अरूबाट जबरदस्ती लिएर थिचोमिचो गरेको र आफ्नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्यही गरेको कारणले, हेर, ऊ आफ्नो अधर्ममा मर्नेछ । 19 तर तिमीहरू भन्छौ, 'छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नु किन नपर्ने?' किनकि छोराले न्याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्चय नै बाँच्नेछ । 20 जसले पाप गर्छ, मर्नेचाहिं उही हो । छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नेछैन, र बुबाले आफ्नो छोराको अधर्मको फल भोग्नेछैन । ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्टको दुष्ट्याइँ पनि उसमाथि नै रहनेछ । 21 तर कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्याग्छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्चय नै बाँच्नेछ, र मर्नेछैन । 22 उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्झना फेरि गरिनेछैन । उसले अभ्यास गरेको धर्मिकताको कारणले ऊ बाँच्नेछ । 23 के दुष्टको मृत्युमा म खुशी हुन्छु र—यो परमप्रभु परमेश्वरको घोषणा हो—र ऊ बाँचोस् भनी ऊ आफ्नो चाल छोडेर फर्केकोमा खुसी हुन्न र? 24 तर धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, के त्यो बाँच्नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ । 25 तर तिमीहरू भन्छौ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्यायपुर्ण छैनन्? अन्यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र? 26 जब धर्मी मानिसले आफ्नो धार्मिकता त्याग्छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ । 27 तर जब दुष्ट मानिसले आफूले गरेका दुष्ट कामबाट फर्कन्छ, र न्याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्नो जीवन बचाउनेछ । 28 किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्चय नै बाँच्नेछ, र ऊ मर्नेछैन । 29 तर इस्राएलको घरानाले भन्छ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्यायपुर्ण छैन? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन । 30 यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्ने ढुङ्गाहरू नबनून् । 31 तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्ना निम्ति नयाँ हृदय र नयाँ आत्मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना? 32 किनकि मर्नेको मृत्युमा म खुसी हुन्न—यो परमप्रभु परमेश्वरको घोषणा हो—यसैले पश्चात्ताप गर, र बाँच ।
Chapter 19
1 "अब तैंले इस्राएलका अगुवाहरूका विरुद्धमा विलाप गर्, 2 र भन्, 'तेरी आमा को थिई? एक सिंहिनी, त्यो सिंहका डमरुसँग बस्थी । त्यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बिचमा बस्थी । 3 आफ्ना डमरुमध्ये एउटालाई हुर्काएर जवान बनाउने त्यो नै थिई । त्यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्यो र त्यसले मानिसहरूलाई खायो । 4 तब जातिहरूले त्यसको बारेमा सुने । त्यो तिनीहरूको जालमा पर्यो, र तिनीहरूले त्यसलाई अङ्कुसेले समातेर मिश्रदेशमा लगे । 5 त्यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्नो आशा खेर गएको देखी । यसैले त्यसले आफ्नो अर्को डमरुलाई लिएर र त्यसलाई जवान सिंह हुनलाई हुर्काई । 6 त्यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिंड्डुल गर्न लाग्यो । त्यो एउटा बलियो जवान सिंह भएको थियो र त्यसले शिकारलाई फहराउन सिक्यो । त्यसले मानिसहरूलाई खान लाग्यो । 7 त्यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्यो र तिनीहरूका सहरहरू उजाड पार्यो । त्यो गर्जेको आवाजले त्यो देश र त्यसको पूर्णतालाई त्यागियो । 8 तर छेउछाउका इलाकाबाट जातिहरू त्यसको विरुद्धमा आए । तिनीहरूले त्यसमाथि पासो थापे । तिनीहरूको पासोमा त्यो पर्यो । 9 अङ्कुसेले समातेर तिनीहरूले त्यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्यसको आवाज फेरि कहिल्यै सुनिनेछैन । 10 तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोटजस्तै थिई । प्रशस्त पानीको कारणले त्यो फलवन्त र हाँगैहाँगाले पूर्ण थियो । 11 त्यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्दा माथि उठ्यो, र त्यसको उचाइचाहिं त्यसका पातहरूमा देखिन्थ्यो । 12 तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्यसका फललाई सुकाइदियो । त्यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्म पारिए । 13 यसैले अब त्यो उजाड-स्थानमा, सुक्खा र पानी नभएको ठाउँमा रोपियो । 14 किनकि त्यसका ठुला हाँगाहरूबाट आगो निस्क्यो, र त्यसका फलहरू भस्म पार्यो । त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।"
Chapter 20
1 सातौं वर्षको पाँचौं महिनाको दशौं दिनमा इस्राएलका धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्न आए र मेरो सामु बसे । 2 तब परमप्रभुको वचन यस भनेर मकहाँ आयो, 3 "ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।' 4 के तँ तिनीहरूको न्याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्याय गर्नेछस्? तिनीहरूका आफ्ना पुर्खाहरूका घिनलाग्दा कामको बारेमा तिनीहरूलाई जानकारी दे । 5 तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्नो हात उचालें । मैले भनें, "म परमप्रभु तिमीहरूका परमेश्वर हुँ"— 6 त्यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्ति मैले होसियारीसाथ छानेको देशमा ल्याउनेछु । त्यहाँ दूध र मह बग्दैथियो । यो सबै देशहरूभन्दा बढी सुन्दर गहना थियो । 7 मैले तिनीहरूलाई भनें, "हरेक मानिसले आफ्ना दृष्टिबाट घिनलाग्दा कुराहरू र मिश्रदेशका मूर्तिहरू हटाओस् । आफूलाई अशुद्ध नपार । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।" 8 तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्न इच्छुक भएनन् । हरेक मानिसले आफ्ना दृष्टिबाट ती घिनलाग्दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्यागे । यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्ने निश्चय मैले गरें । 9 आफ्नो नाउँको खातिर मैले यो काम गरें, यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्टिमा मेरो नाउँ अपवित्र नहोस् । तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें । 10 यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्थान ल्याएँ । 11 तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ । 12 म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून् भनेर तिनीहरू र मेरो बिचमा चिन्हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ । 13 तर इस्राएल घरानाले उजाड-स्थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्थान तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनेछु । 14 तर जुन जातिहरूका दृष्टिमा मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्याएँ, तिनीहरूका दृष्टिमा मेरो नाउँ अपवित्र नहोस् भनेर मेरो नाउँको खातिर मैले काम गरें । 15 यसैले मैले तिनीहरूलाई दिन लागेको देशमा म तिनीहरूलाई लानेछैनँ भनेर तिनीहरूसित उजाड-स्थान एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ । त्यो देश सबै देशहरूभन्दा सुन्दर गहनाको दूध र मह बग्ने देश हो । 16 मैले यो शपथ खाएँ किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे र मेरा विधिहरूमा हिंडेनन्, र तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूका हृदय तिनीहरूका मूर्तिहरूका पछि लागेका थिए । 17 तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें, र मैले उजाड-स्थान तिनीहरूको अस्तित्व मेटाइन । 18 उजाड-स्थान मैले तिनीहरूका छोराछोरीलाई भनें, "तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर । 19 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर । 20 मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।" 21 तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्, न त मेरा व्यवस्थाहरू पालन गरे । मानिसले ती पालन गर्यो भने त्यसद्वारा ऊ बाँच्नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्थान आफ्नो रिस तिनीहरूका विरुद्धमा खन्याउने निश्चय गरें । 22 तर मैले आफ्नो हात फर्काएँ, र मेरो नाउँको खातिर काम गरें यसरी मैले इस्राएलीहरूलाई निकालेर ल्याएको देखेका जातिहरूका दृष्टिमा त्यो अपवित्र नहोस् । 23 तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्थान एउटा शपथ खानलाई म आफैले पनि आफ्नो हात उठाएँ । 24 तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे । 25 तब मैले तिनीहरूलाई यस्ता विधानहरू पनि दिएँ जो असल थिएनन्, र यस्ता नियमहरू दिएँ जसद्वारा तिनीहरू बाँच्न सकेनन् । 26 तिनीहरूका उपहारहरूद्वारा मैले तिनीहरूलाई अशुद्ध घोषणा गरें— तिनीहरूले गर्भका हरेक जेठोको बलिदान चढाए र तिनीहरूलाई आगोमा हिंड्न लगाए—कि मैले तिनीहरूलाई त्रसित बनाउन सकूँ यसरी म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’ 27 यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्वासघाती बनेर मेरो निन्दा गरे । 28 जब मैले शपथ खाएर तिनीहरूलाई दिन्छु भनेको देशमा मैले तिनीहरूलाई ल्याएँ, तब जहाँ तिनीहरूले कुनै अग्लो डाँडा वा कुनै झ्याम्म पातहरू भएको रूख देखे, त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए । अनि आफ्ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्यहाँ तिनीहरूले आफ्ना सुगन्धित धूप पनि बाले र आफ्ना अर्घ-बलि चढाए । 29 तब मैले तिनीहरूलाई सोधें, "तिमीहरूले भेटी चढाउने गरेको अग्लो ठाउँ के हो?" आजको दिनसम्म त्यो ठाउँलाई बामा भनिन्छ । 30 यसकारण इस्राएलको घरानालाई यसो भन्: 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरू आफ्ना पुर्खाहरूका चालमा हिंडेर तिमीहरू आफूलाई पनि किन बिटुलो पार्छौ? घिनलाग्दा कुराहरूको खोजी गरेर किन तिमीहरू वेश्याहरूझैं काम गर्छौ? 31 जब तिमीहरू आफ्ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्म पनि तिमीहरूले आफ्ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ । 32 तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्छौ, "हामीहरू अरू जातिहरूजस्तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।" 33 जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— शक्तिशाली हात र पसारेको पाखुराद्वारा म तिमीहरूमाथि राज्य गर्नेछु र तिमीहरूमाथि क्रोध खन्याउनेछु । 34 तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्याउनेछु , र तिमीहरू छरपष्ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्याउनेछु । 35 तब म तिमीहरूलाई जातिहरूको उजाड-स्थान ल्याउनेछु, र त्यहाँ म तिमीहरूको न्याय आमने-सामनेमा गर्नेछु । 36 जसरी मिश्रदेशको उजाड-स्थान मैले तिमीहरूका पुर्खाहरूको न्याय गरें, त्यसरी नै म तिमीहरूको न्याय म गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो । 37 म तिमीहरूलाई मेरो लौरो मुनि छिर्न लाउनेछु, र तिमीहरूलाई करारमा भएका कुराहरू मान्न लगाउनेछु । 38 तिमीहरूका माझबाट विद्रोह गर्नेहरू र मेरो विरुद्धमा अपराध गर्नेहरूलाई म हटाउनेछु । तिनीहरू प्रवासी भएर बसेको देशबाट म तिनीहरूलाई बाहिर पठाउनेछु, तर तिनीहरू इस्राएल देशमा पस्नेछैनन् । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । 39 यसैले ए इस्राएलका घराना, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छः तिमीहरू हरेक आ-आफ्नो मूर्तिहरूतिर जानुपर्छ । तिमीहरू मेरो कुरा सुन्न इन्कार गर्छौ भने तिनीहरूकै पुजा गर, तर आफ्ना उपहारहरू र मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन । 40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको पहाडको टाकुरामा— यो परमप्रभु परमेश्वरको घोषणा हो— इस्राएलका जम्मै घरानाले त्यहाँ मेरो आराधना गर्नेछन् । त्यहीं नै म तिमीहरूका भेटीहरू, तिमीहरूका सबैभन्दा उत्तम उपहारहरू, तिमीहरूका सबै पवित्र थोकहरूको बलिदानहरू ग्रहण गर्नेछु । 41 जब म तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्याउँछ र तिमीहरू छरपष्ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु, तब म तिमीहरूलाई बास्ना आउने धूपझैं ग्रहण गर्नेछु । जातिहरूका दृष्टिमा म तिमीहरूका बिचमा आफैलाई पवित्र प्रकट गर्नेछु । 42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनी मैले आफ्ना हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ । 43 आफ्ना जुन व्यवहार र कामहरूले तिमीहरूले आफूलाई अशुद्ध पार्यौ, ती त्यहाँ तिमीहरूले सम्झनेछौ, र तिमीहरूले गरेका सबै दुष्ट कामहरूका निम्ति आफ्नै दृष्टिमा तिमीहरूले आफूलाई तुच्छ ठान्नेछौ । 44 यसरी, ए इस्राएलका घराना, तिमीहरूका दुष्ट कामहरू र तिमीहरूका भ्रष्टा कामहरूका कारणले होइन, तर मेरो नाउँको खातिर मैले तिमीहरूसित व्यवहार गर्दा, तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ— यो परमप्रभु परमेश्वरको घोषणा हो'।" 45 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 46 ए मानिसको छोरो, आफ्नो अनुहार दक्षिण देशतिर फर्का र दक्षिणको विरुद्धमा बपल् । नेगेभको वनको विरुद्धमा अगमवाणी भन् । 47 नेगेभको वनलाई भन्, 'यो परमप्रभुको घोषणा हो— परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, म तेरो माझमा आगो सल्काउनेछु । त्यसले तेरा माझमा भएका हरेक हरिया रूख र हरेक सुकेका रूखलाई भष्म गर्नेछ । त्यो दन्केको ज्वाला निभाइनेछैन । दक्षिणदेखि उत्तरसम्मका हरेक अनुहार जल्नेछन् । 48 जब म आगो सल्काउँछु र त्यसलाई निभइनेछैन, तब हरेक प्रणीले म परमप्रभुले हुँ भनी देख्नेछ ।’" 49 तब मैले भने, "धिक्कार! हे परमप्रभु परमेश्वर, तिनीहरूले मलाई यसो भन्दैछन्, ‘के उसले उखानहरू मात्र भनेको होइन र'?"
Chapter 21
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः 2 "ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् । 3 इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्नो तरवार त्यसको म्यानबाट थुत्नेछु र तेरा धर्मी मानिस र दुष्ट मानिस दुवैलाई काट्नेछु । 4 धर्मी र दुष्ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्यानबाट निस्कनेछ । 5 तब सबै प्राणीले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्यानबाट झिकेको छु । त्यो फेरि म्यानमा हालिनेछैन' । 6 तेरो बारेमा, ए मानिसको छोरो, तेरो पटुका चुडिंदा सुस्केरा हाल् । तीतो मन लिएर तिनीहरूले देख्ने गरी सुस्केरा हाल् । 7 तब तिनीहरूले तँलाई सोध्नेछन्, ‘के कारणले तिमी सुस्केरा हाल्दैछौ?' अनि तैंले यसो भन्नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्तै कमजोर हुनेछ । हेर, त्यो आउँदैछ र त्यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।" 8 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 9 "ए मानिसको छोरो, अगमवाणी बोल् र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः "भन्: एउटा तरवार, एउटा तरवार! त्यो धारिलो र चम्किलो हुनेछ । 10 धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ । बिजुलीझैं चम्कनलाई त्यसलाई टल्काइनेछ । के हामी मेरो छोराको राजदण्डमा आनन्दित हुनुपर्छ र? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ । 11 यसैले त्यो तरवारलाई टल्काउन दिइनेछ र तब हातले समाइनेछ । त्यो तरवार धारिलो बनाइएको छ र त्यो टल्काइएको छ र मार्ने व्यक्तिको हातमा त्यो दिइएको छ ।" 12 ए मानिसको छोरो, गुहार माग् र विलाप गर् । किनकि त्यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको छ । त्यो इस्राएलका सबै अगुवाको विरुद्धमा छ। तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन् । यसकारण आफ्नो तिग्रा ठटा । 13 किनकि जाँच आउनेछ, तर यहूदाको राजदण्ड रहेन भने नि?— यो परमप्रभु परमेश्वरको घोषणा हो । 14 अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्ट पनि आक्रमण गर्नेछ । एक-एक जनालाई मार्ने तरवार । यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्नलाई हो । 15 तिनीहरूका हृदयहरू गलाउन र तिनीहरूका ढल्नेहरूको संख्या बढाउन, तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु । बिजुलीजस्तै चम्कनलाई त्यो बनाइएको छ, मार्नलाई त्यो समातिएको छ । 16 ए तरवार, दाहिनेतिर हान् । र देब्रेतिर प्रहार गर् । तेरो धार जता फर्काइन्छ त्यतै जा । 17 किन म पनि आफ्ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।" 18 परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो, 19 "ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ । 20 अम्मोनीहरूको सहर रब्बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे । 21 किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ । त्यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्लाह लिनेछ, र त्यसले कलेजो जाँच्नेछ । 22 यसको विरुद्धमा भत्काउने मूढा राख्नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ । 23 युद्धको निम्ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्यो बेकारको जोखना हेरेजस्तो देखिनेछ । तर राजाले तिनीहरूलाई घेरा हल्नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ । 24 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले आफ्ना सबै पाप कामहरू देखिने गरी आफ्ना अपराधलाई प्रकट गरेर तिमीहरूका दोष मलाई सम्झना गराएका हुनाले— तिमीहरूले यसो गरेका हुनाले, तिमीहरू हातले समातिनेछौ । 25 ए इस्राएल अपवित्र र दुष्ट शासक, जसको दण्डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ, 26 परमप्रभु परमेश्वर तँलाई यसो भन्नुहुन्छः फेटा हटा र मुकुट उतार् । कुराहरू फेरि त्यस्तै हुनेछैनन् । खसालिएको व्यक्तिलाई उठाइनेछ, र उच्च सम्झने व्यक्तिलाई खसालिनेछ । 27 भग्नावशेष! भग्नावशेष! त्यसलाई म भग्नावशेष बनाउनेछु । न्याय गर्न नियुक्त व्यक्ति नआएसम्म त्यो फेरि पुनर्निर्माण गरिनेछैन । 28 यसैले, ए मानिसको छोरो, तँ अगमवाणी बोल् र यसो भन्, 'अम्मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः एउटा तरवार, एउटा तरवार तरवार थुतिएको छ । नष्ट गर्नलाई त्यसमा धार लगाइएको छ । त्यसैले त्यो बिजुलीझैं हुनेछ! 29 अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ । 30 त्यो तरवारलाई त्यसको म्यानमा हाल् । तँ सृष्ट गरिएको ठाउँमा, तेरा सुरुको देशमा म तेरो इन्साफ गर्नेछु । 31 म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु । 32 तँ आगोको लागि दाउरा हुनेछस् । तेरो रगत देशको माझमा बग्नेछ । तेरो सम्झना फेरि कहिल्यै हुनेछैन, किनकि म परमप्रभुले नै यो घोषणा गरेको छु' ।"
Chapter 22
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः 2 "अब ए मानिसको छोरो, के तँ न्याय गर्छस्? के तँ त्यो रगतको सहरको न्याय गर्छस्? त्यसका सबै घृणित कुराहरू त्यसलाई जानकारी दे । 3 तैंले यसको भन्नुपर्छ, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः आफ्नै अन्त्यको समय आओस् भनेर आफ्नो बिचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो । 4 तैंले बगाएको रगतको कारणले तँ दोषी भएको छस्, र तैंले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस् । तैंले आफ्ना दिनहरूको अन्त्य गरेको छस्, र तेरा वर्षहरूको अन्त्य आएको छ । यसैकारण म तँलाई जातिहरूका बिचमा गिल्ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु । 5 तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्ला गर्नेछन्— तँ अपवित्र सहर— अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् । 6 हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्यक्ति आफ्नै शक्तिले तँकहाँ आएका छन् । 7 तँभित्रै तिनीहरूले माताहरू र बाबुहरूसँग अपमानको व्यवहार गरेका छन्, र तिनीहरूले तेरो बिचमा भएका विदेशीहरूमाथि अत्याचार गरेका छन् । तेरो बिचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्यवहार गरेका छन् । 8 मेरा पवित्र कुराहरूलाई तैंले घृणा गरेको छस् र मेरा शबाथहरूलाई अपवित्र पारेको छस् । 9 रगत बगाउनलाई हत्या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्छन् । तिनीहरूले तेरो बिचमा दुष्ट काम गर्छन् । 10 तेरो भित्र भएका मानिसहरूले आफ्ना पिताको नङ्नता प्रकट गर्छन् । तेरो भित्र भएका मानिसहरूले रजस्वला भएकी स्त्रिसँग सम्भोग गरेर अशुद्ध भएका छन् । 11 आफ्नो छिमेकीकी पत्नीसँग घिनलाग्दा काम गर्ने मानिसहरू, र आफ्नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्नै बहिनीहरू—आफ्ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू —यी सबै जना तँभित्रै छन् । 12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्छन् र तैंले बढी ब्याज लिएर र धेरै मुनाफा कमाएको छस् , र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्वरको घोषणा हो । 13 हेर्, तैंले अन्यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्नो हातले प्रहार गरेको छु । 14 मैले तँसित व्यवहार गरेको दिनमा के तेरो हृदय स्थिर रहला, अनि तेरो हात दह्रिलो होला र? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्यसै गर्नेछु । 15 यसैले म तँलाई जातिहरूका बिचमा छरपष्ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु । 16 यसरी तँ जातिहरूका दृष्टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस्' ।" 17 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो, 18 "ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्ति थेग्रो भएको छ । ती सबै जना तिमीहरूका बिचमा काँसा, जस्ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन् । तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन् । 19 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरू सबै जना थेग्राजस्ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बिचमा जम्मा गर्न लागेको छु । 20 जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्मा गर्छन्, त्यसरी नै म पनि मेरो रिस र मेरो क्रोधमा तिमीहरूलाई जम्मा गर्नेछु, र म तिमीहरूलाई त्यहाँ हाल्नेछु र तिमीहरूलाई गाल्नेछु । 21 म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्नेछु, र तिमीहरू त्यसैभित्र गल्नेछौ । 22 जसरी भट्टीमा चाँदी गल्छ, र तिमीहरू त्यसभित्र गल्नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्नो क्रोध खन्याएको हुँ भनी तिमीहरूले जान्नेछौ' ।" 23 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 24 "ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्यहाँ वर्षा हुँदैन । 25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्यसको बिचमा भएका त्यसका अगमवक्ताहरूले एउटा षड्यन्त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्छन् र बहुमूल्य धन लुट्छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन् । 26 त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन् र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्छ ठान्छन्। तिनीहरूले पवित्र कुरा र तुच्छ कुराको बिचमा भिन्नता छुट्याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्छ भएको छु । 27 त्यसभित्र भएका त्यसका शासकहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरूजस्ता छन् । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन् । 28 त्यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्य दर्शन देख्छन् र तिनीहरूका निम्ति झूटा अगमवाणी बोल्छन् । तिनीहरू भन्छन्, “परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ,' जबकि परमप्रभु बोल्नुभएकै हुँदैन । 29 देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्यवहार गर्छन्, र विदेशीहरूसँग अन्यायपूर्वक थिचोमिचो गर्छन् । 30 यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ । 31 त्यसैले तिनीहरूमाथि म आफ्नो क्रोध खन्याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्लोमा हाल्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।"'
Chapter 23
1 'परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्यहाँ थिए । 3 आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्तन मिचिए र तिनीहरूको कुमारी अवस्थाको मुन्टाहरू खेलाइए । 4 तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो । 5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्यावृत्ति गरी । आफ्ना प्रेमी, प्रभावशाली अश्शूरीहरूसित त्यो मोहित भई, 6 नीलो वस्त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए । 7 यसरी तिनीहरू, सबै असल अश्शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्यो मोहित भएका हरेक व्यक्तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी । 8 किनकि त्यसले मिश्रदेशमा हुँदा पनि त्यसको वेश्यावृतिको व्यवहार छाडेकी थिईन । जति बेला त्यो एउटी जवान केटी थिई, त्यति बेला तिनीहरू त्योसित सुतेका थिए । त्यति बेला तिनीहरूले पहिलो पल्ट त्यसका कन्या स्तनहरू खेलाएका थिए । त्यति बेला तिनीहरूले त्यससित आफ्ना यौनका छाडा व्यवहार गर्न सुरु गरेका थिए । 9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई । 10 तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्त्रीहरूका माझमा त्यो कुख्यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए । 11 त्यसकी बहिनी ओहोलिबाले त्यो कुरा देखी, तर त्यो झन् बढी कामुक भई र आफ्नी दिदीभन्दा पनि बढी वेश्यावृत्तिको काम गर्न लागी । 12 अश्शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए । 13 त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्तै थिए । 14 त्यसपछि त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्ट गरेर बनाइएका कल्दीहरूका चित्रहरू त्यसले देखी, 15 आफ्ना कम्मर वरिपरि पटुका बाँधेका र आफ्ना शिरमा लट्कने फेटा बाँधेका । ती सबै जना कल्दी फौजका रथी अधिकारीहरूजस्ता, बेबिलोनियाका छोराहरूजस्तै देखिन्थे, जसको आफ्नो देश कल्दीया हो । 16 त्यसले उनीहरूलाई देख्ने बित्तिकै उनीहरूका निम्ति त्यो कामुक भई । यसैले कल्दिया देशमा उनीहरूकहाँ त्यसले दूतहरू पठाई । 17 त्यसपछि बेबिलोनीहरू त्यसकहाँ त्यसको कामुक ओच्छ्यानमा आए र आफ्ना छाडा यौनले तिनीहरूले त्यसलाई अशुद्ध पारे । त्यसले जे गरेकी थिई त्यसद्वारा त्यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्यो उनीहरूसँग टाढा भई । 18 जब त्यसले आफ्ना वेश्यावृत्तिका कामहरू गरी र आफ्नो नग्नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्यसकी दिदीसँग म टाढा भएको थिएँ, त्यसरी नै म त्योसँग पनि टाढा भएँ । 19 तब मिश्रदेशमा त्यो वेश्या हुँदाको, आफ्ना युवावस्थाका समयलाई सम्झेर त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई । 20 यसरी त्यो आफ्ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्कन्थ्यो । 21 मिश्रीहरूले तेरा स्तनका मुन्टाहरू खेलाउँदा र तेरा जवानीका स्तनहरू मिच्दा, तैंले आफ्ना जवानीका लज्जापूर्ण कामहरू यसरी नै गरिस् । 22 यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्याउनेछुः 23 बेबिलोनीहरू र सबै कल्दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्शूरहरू, बलिया, सुन्दर मानिसहरू, गभर्नरहरू, कमाण्डरहरू, ती सबै जना अधिकारीहरू र इज्जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई । 24 उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन् । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन् । तँलाई दण्ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्ना कामहरूले तँलाई दण्ड दिनेछन् । 25 मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन् । उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन् । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्म पार्नेछ । 26 उनीहरूले तेरा वस्त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन् । 27 यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्ना कुदृष्टि लगाउनेछैनस्, र मिश्रदेशको सम्झना फेरि तैंले गर्नेछैनस् ।' 28 किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् । 29 उनीहरूले तँसित घृणापूर्वक व्यवहार गर्नेछन् । तेरा सबै धन-सम्पत्ति उनीहरूले लानेछन्, र तँलाई नाङ्गो र उजाड पारेर छोड्नेछन् । अनि तँ कामुक र वेश्यावृत्तिमा संलग्न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ । 30 वेश्याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् । 31 तँ आफ्नी दिदीकै चालमा हिंडेकी छेस्, यसैले त्यसको दण्डको कचौरा म तेरो हातमा दिनेछु ।' 32 परमप्रभु यसो भन्नुहुन्छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ । 33 मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस् । तेरी दिदी सामरियाको कचौरा । 34 तैंले त्यो पिउनेछेस् र त्यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्ना स्तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।' 35 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्नो लज्जास्पद व्यवहार र यौनको अनैतिक कामहरूका दुष्परिणामहरू तैंले सहनुपर्नेछ' ।" 36 परमप्रभुले मलाई भन्नुभयो, "ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्याय गर्नेछस्? त्यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर, 37 किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्ना मूर्तिहरूसित व्यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् । 38 त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्: तिनीहरूले मेरो पवित्रस्थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् । 39 किनभने तिनीहरूले आफ्ना छोराछोरीलाई आफ्ना मूर्तिहरूका निम्ति बलि चढाएका, अनि त्यसै दिन तिनीहरू मेरो पवित्रस्थानलाई अशुद्ध पार्न त्यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्दिरको बिचमा यसो गरेका छन् । 40 अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्चै आए जसका निम्ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस् । 41 त्यहाँ तँ एउटा सुन्दर पलङ्गमा बसिस्, र त्यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस् । 42 यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए । 43 तब व्भिचारले दिक्क भएकी स्त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’ 44 जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्छन् त्यसरी उनीहरू त्यसकहाँ गए र त्यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्त्रीहरू, ओहोला र ओहोलिबासित सुते । 45 तर धार्मिक मानिसहरूले न्याय गर्नेछन् र व्यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्ड दिनेछन् अनि हत्या गर्नेहरूलाई सुनाउने दण्डले तिनीहरूले उनीहरूलाई दण्ड दिनेछन्, किनभने तिनीहरू व्यभिचारिणीहरू हुन् र तिनीहरूका हातमा हत्याको रगत छ । 46 यसैले परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्पिदिनेछु । 47 तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन् र तिनीहरूका घरहरू जलाउनेछन् । 48 किनकि देशबाट लज्जास्पद व्यवहारलाई म खतम गर्नेछु, र सबै स्त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून् । 49 यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्नेछेस्, र यसरी म नै परमप्रभु परमेश्वर हुँ भनी तैंले जान्नेछेस् ।
Chapter 24
1 नवौं वर्षको दशौं महिनाको र महिनको दशौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, आफ्नो निम्ति आजको दिन, आजकै मिति लेख्, किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ । 3 यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्टान्त तिनीहरू भन्। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पकाउने भाँडो राख् । त्यसलाई राख्, र त्यसमा पानी हाल् । 4 त्यसभित्र भएका खानेकुरा, हरेक असल टुक्रा— तिघ्रा र ह्याकुलो जम्मा गर र त्यसलाई असल हाडहरूले भर् । 5 बगालको सबभन्दा असल पशु छान्, त्यसमुनि हाडको थुप्रो लगा । त्यसलाई उमाल्ने ठाउँमा ल्या र त्यसमा हाडहरू पका । 6 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यो रगतको सहरलाई धिक्कार! त्यो खिया लागेको भाँडालाई र त्यसबाट त्यो खिया जानेछैन! त्यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् । 7 किनकि त्यसको रगत त्यसकै बिचमा छ । त्यसले त्यो रगत चिल्लो चट्टानमा बगाई । धूलाले ढाक्नलाई त्यसले त्यो रगत भूइँमा पोखाईन, 8 यसैले त्यसले साटो लिने क्रोध ल्याउँछ । त्यसको रगत ढाक्न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्यो पोखाइन । 9 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः त्यस रगतको सहरलाई धिक्कार । म दाउराको थुप्रोलाई पनि बढाउनेछु । 10 दाउरा थुपार् र आगो सल्का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे । 11 त्यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्यसको थेग्रो डढेर जाओस् ।’ 12 परिश्रमको कारणलर त्यो थकित भएकी छे, तर त्यसको बाक्लो थेग्रो आगोले पनि गएन । 13 तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्म म आफ्नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्तुष्ट हुन्नँ, तबसम्म तँ फेरि शुद्ध हुनेछैनस् । 14 म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्नेछैनँ, न त म त्यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्याय गर्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो । 15 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः 16 "ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन । 17 तैंले चूपचाप सुस्केरा हाल्नुपर्छ । मृतकको अन्तेष्टि नगर् । आफ्ना फेटा आफ्नो टाउकोमा बाँध र आफ्ना जुत्ता आफ्ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।" 18 यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्यही बेलुकी मेरी पत्नीको मृत्यु भयो । भोलिपल्ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो, मैले त्यही गरें । 19 मानिसहरूले मलाई सोधे, "यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्नुहुन्न?" 20 यसैले मैले तिनीहरूलाई भनें, "परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 21 ‘इस्राएलको घरानालाई यसो भन्: परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, म आफ्नो पवित्रस्थान—तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन् । 22 तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्नो अनुहारका रौं छोप्नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ । 23 त्यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्केरा हाल्नेछ । 24 यसरी इजकिएलचाहिं तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ' ।" 25 "तर ए मानिसको छोरो, तिनीहरूका आनन्द, गर्व, तिनेहरूले हेर्ने र इच्छा गर्ने तिनीहरूका मन्दिरलाई मैले कब्जा गरेको दिनमा— र मैले तिनीहरूका छोराछोरी लिएर जाँदा— 26 त्यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ । 27 त्यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्नेछस् र तँ बोल्नेछस्— तँ फेरि चूपचाप रहनेछैनस् । तँ तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।"
Chapter 25
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, अम्मोनका मानिसहरूतिर आफ्नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन् । 3 अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वरको वचन सुन । परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो पवित्रस्थान तुच्छा पारिंदा त्यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, "अहा!" भन्यौ, 4 यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्पत्तिझैं सुम्पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्नेछन्, र तिमीहरूकै बिचमा आफ्ना पालहरू खडा गर्नेछन् । उनीहरूले तिमीहरूका फल खानेछन् र तिमीहरूको दूध पिउनेछन् । 5 म रब्बालाई ऊँटहरू चर्ने खर्क र अम्मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ । 6 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्ना ताली बजाएका र आफ्ना खुट्टा बजारेका र आनन्दित बनेका छौ । 7 यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' । 8 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, "हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्तै छ ।" 9 यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्त पार्नेछु— 10 अम्मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्झना गरिनेछैन । 11 यसैले मोआबको विरुद्धमा न्याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' । 12 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो । 13 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्मै म त्यसलाई भग्नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्नेछन् । 14 मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो' । 15 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'पलिश्तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे । 16 यसैले परमप्रभु परमेश्वर भन्नुहुन्छः हेर्, पलिश्तीहरूका विरुद्धमा आफ्नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु । 17 किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।"
Chapter 26
1 यसैले यो एघारौं वर्षमा, महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले 'अहा! भनेको छ ।मानिसहरूका ढोकाहरू भत्केका छन् । त्यो मतिर फेर्केको छ । म भरपूर हुनेछु, किनभने त्यो भग्नावशेष भएको छ ।' 3 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर्, ए टुरोस, म तेरो विरुद्धमा छु, र समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा म ल्याउनेछु । 4 उनीहरूले टुरोसका पर्खालहरू भत्काउनेछन्, र त्यसका धरहराहरू ढाल्नेछन् । म त्यसको धूलो उडाउनेछु र त्यसलाई उजाड चट्टान बनाउनेछु । 5 त्यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— र त्यो जातिहरूका निम्ति लूटको माल हुनेछ । 6 मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन्, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् । 7 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्याउनेछु । 8 त्यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्ने किल्ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ । 9 तेरो पर्खालमा हिर्काउनलाई त्यसले मूढाहरू राख्नेछ, र त्यसका हतियारले तेरा धरहराहरू ढाल्नेछ । 10 त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्यो तेरा ढोकाहरूभित्र पस्छ । 11 त्यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्चिनेछ । त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्नेछन् । 12 उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् । 13 तेरो गीतको हल्ला म बन्द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्यै सुनिनेछैन । 14 म तँलाई उजाड चट्टान बनाउनेछु । तँ जालहरू सुकाउने ठाउँ बन्नेछस् । फेरि कहिल्यै तँलाई बनाइनेछैन, किनकि म परमप्रभु परमेश्वर नै बोलेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो । 15 परमप्रभु परमेश्वर टुरोस सहरलाई यसो भन्नुहुन्छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्केराले के टापुहरू काम्नेछैनन् र? 16 तब समुद्र किनारका सबै जना शासक आ-आफ्ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन् । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्नेछन्, र हरेक क्षण काम्नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन् । 17 तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्ट भइस् । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्दाहरूले आफ्ना नजिक बस्ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए । 18 अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्छन् । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन् ।' 19 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्छन्, 20 तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्वीमुनि, प्राचीन भग्नावशेषमा जस्तै, मृत-लोकमा जानेहरूसित बस्न लाउनेछु । जसको कारण तँ फेरि कहिल्यै जीवितहरूको देशमा फर्केर बस्नेछैनस् । 21 तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्वरको घोषणा हो ।"
Chapter 27
1 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर् । 3 र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्ने मानिसहरूमा व्यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छः 'ए टुरोस, तैंले भनेको छस्, "म सुन्दरतामा सिद्ध छु ।' 4 तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्दर बनाए । 5 तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्लाहरूबाट बनाए । तिनीहरूले तेरा लागि मस्तूल बनाउनलाई लेबनानको देवदारु ल्याए । 6 तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्याएका फलाँटबाट बनाए । साइप्रसका सल्लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्यसलाई हस्ती-हाडको जलप लगाए । 7 तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्यसैले तेरो झन्डाको काम गर्यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्ति प्रयोग भए । 8 सीदोन र अर्वादमा बस्ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए । टुरोसका ज्ञानीहरू तँसँग थिए । तिनीहरू तेरा नावीहरू थिए । 9 गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए । समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे । 10 फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए । 11 तेरा फौजका अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए । गमादका मानिसहरू तेरा धरहरामा थिए । तिनीहरूले आ-आफ्ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे । तिनीहरूले तेरो सुन्दरता पूर्ण बनाए । 12 तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्ता र सीसाजस्ता सामानका प्रशस्त धनसम्पत्ति भएको कारणले तर्शीश तेरो व्यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे । 13 यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे । 14 बेथ-तोगर्माका मानिसहरूले तेरो व्यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्चरहरू दिए । 15 तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्ती हाड र अब्नुसको काठ दाम रूपमा दिए । 16 तेरा धेरै उत्पादनमा अरामले व्यापार गर्यो । तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्यापारका सामानको रूपमा उपलव्ध गराए । 17 यहूदा र इस्राएलको देशले तँसित व्यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्ध गराए । 18 तेरा सबै उत्पादन, धेरै धन-सम्पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्कस थियो । 19 इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए । यी तेरा व्यापारका माल बने । 20 ददानले तँसित घोडाका जीनपोशको व्यापार गर्यो । 21 अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए । 22 हरेक असल मसला र सबै किसिमका बहुमूल्य रत्नहरू बेच्न शेबा र रामाहका व्यापारीहरू तँकहाँ आए । व्यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए । 23 शेबा, अश्शूर र किल्मदसँगै हारान, कन्नेह र अदनका व्यापारीहरूले तँसित व्यापार गरे । 24 नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू,र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्नेहरू यिनीहरू नै थिए । 25 तर्शीशका जहाजहरूले तेरा व्यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् । 26 तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्वंस पारेको छ । 27 तेरा धन-सम्पत्ति, सामान र व्यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्नेछन् । 28 समुद्रका सहरहरू तेरा नावीहरूका चित्कारको आवाजले थरथर हुनेछन् । 29 दाबिलो खियाउनेहरू सबै जना आफ्ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन् । 30 तब तिनीहरूले आफ्ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्वरले विलाप गर्नेछन् । तिनीहरूले आफ्ना टाउकोमा धुलो हाल्नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन् । 31 तिनीहरूले तेरो लागि आफ्नो कपाल मुण्डन गर्नेछन्, र आफूमा भाङ्ग्रा बाँध्नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन् । 32 तेरो निम्ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्त पारिएको छ । 33 जब समुद्र किनारमा तेरा व्यापारका माल जान्थे, तिनले धेरै जना मानिसलाई सन्तुष्ट पार्थे । तेरा धेरै धन-सम्पत्ति र व्यापारका मालले तैंले पृथ्वीका राजाहरूलाई धनी तुल्याइस् । 34 तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे । 35 किनारका सबै बासिन्दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे । 36 मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन् । तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस् ।
Chapter 28
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, "म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्नेछु!" तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् । 3 तँ आफैलाई दानिएलभन्दा पनि बुद्धिमान् होस् र कुनै गुप्त कुराले तँलाई छक्क पार्दैन भनी सम्झन्छस् । 4 तैंले बुद्धि र सिपले आफैंलाई सम्पन्न तुल्याएको छस् र आफ्नो भण्डारहरूमा सुन र चाँदी थुपारेको छस् । 5 ठुलो बुद्धि र आफ्नो व्यापारले तैंले आफ्नो धन-सम्पत्ति बढाएको छस् । यसैले आफ्नो धन-सम्पत्तिको कारणले तेरो हृदय अहंकारी छ । 6 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले, 7 विदेशीहरू, अरू जातिका डरलाग्दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु । तिनीहरूले आफ्ना तरवार तेरो बुद्धिको सौन्दर्यको विरुद्धमा थुत्नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् । 8 तिनीहरूले तँलाई तल खाडलमा पुर्याउनेछन्, र समुद्रको बिचमा मर्नेहरूझैं तेरो मृत्यु हुनेछ । 9 तँलाई मार्नेहरूका सामु के तँ अझै पनि "म देवता हुँ" भन्नेछस् र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् । 10 विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस्, किनकि मैले यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।" 11 परमप्रभुको वचन फेरि मकहाँ यसो भनेर आयो, 12 "ए मानिसको छोरो, टुरोसका राजाको निम्ति विलाप गर्, र त्यसलाई भन्: 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तँ सिद्धताको नमूना, अनि बुद्धिले पूर्ण र सुन्दरमा सिद्ध थिइस् । 13 परमेश्वरको बगैंचा अदनमा तँ थिइस् । हरेक बहुमूल्य पत्थरले तँ सिंगारिएको थिइस्: मानिक, पुष्पराज, पन्ना, पीतमणि, आनिक्स, बिल्लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस् । तेरा साज-सज्जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्टि भएको दिनमा नै ती तयार पारिएका थिए । 14 मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्वरको पवित्र डाँडामा राखें । अग्निमय पत्थरहरूका बिचमा तँ थिइस्, जहाँ तँ हिंड्थिस् । 15 तेरो सृष्ट गरिएको दिनदेखि तँमा अन्याय फेला नपरेसम्म, तेरो चालमा तँ दोषरहित थिइस् । 16 तेरा ठुलो व्यापारले तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस् । यसैले अशुद्ध भएको व्यक्तिलाई झैं मैले तँलाई परमेश्वरको डाँडाबाट बाहिर फालें, र मैले तँलाई नष्ट गरें, ए अभिभावक करूब, र मैले तँलाई अग्निमय पत्थरहरूका बिचदेखि धपाएँ । 17 तेरो सुन्दरताले गर्दा तेरो हृदय अहंकारी थियो । तेरो गौरवको कारणले तैंले आफ्नो बुद्धिलाई भ्रष्ट पारिस् । मैले तँलाई जमिनमा फालेको छु । मैले तँलाई राजाहरूका अगि राखेको छु, यसरी तिनीहरूले तँलाई देख्नेछन् । 18 तेरा धेरै पाप र बेईमान व्यापारको कारणले तैंले आफ्ना पवित्र ठाउँहरूलाई बिटुलो पारेको छस् । यसैले मैले तँबाटै एउटा आगो निकालेको छु । त्यसले तँलाई भस्म पार्नेछ। तँलाई नियालेर हेर्नेहरू सबैका दृष्टिमा म तँलाई जमिनमा खरानी तुल्याउनेछु । 19 मानिसहरूका माझमा तँलाई चिन्नेहरू तँलाई देखेर भयभीत हुनेछन् । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्यै रहनेछैनस्' ।" 20 त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, 21 "ए मानिसको छोरो, सीदोनतिर तेरो मुख फर्का, र त्यसको विरुद्धमा अगमवाणी गर् । 22 यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए सीदोन, म तेरो विरुद्धमा छु । तेरो माझमा मेरो महिमा हुनेछ । मैले तँभित्र न्याय गर्दा, म नै परमप्रभु हुँ भनी तेरा मानिसहरूले जान्नेछन् । तँभित्र म पवित्र प्रकट हुनेछु । 23 तँभित्र एउटा रूढी पठाउने, र त्यसका गल्लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । 24 तब इस्राएलका घरानालाई, त्यसका मानिसहरूलाई घृणा गर्न त्यसका वरिपरि कसैबाट पनि दुःख दिने सिउँडी र तीखा काँढाहरू फेरि कहिल्यै हुनेछैनन् । यसरी तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन् । 25 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘जब इस्राएलका घरानालाई तिनीहरू छरपष्ट भएका मानिसहरूका माझबाट म भेला गर्छु, र तब तिनीहरूलाई अलग गर्नेछु, यसरी जातिहरूले देख्न सक्छन् । त्यसपछि मेरो दास याकूबलाई मैले दिने देशमा तिनीहरूले आफ्ना मन्दिरहरू बनाउनेछन् । 26 त्यसपछि तिनीहरू त्यसभित्र सुरक्षित रहनेछन्, र मन्दिरहरू बनाउनेछन्, दाखबारी लगाउनेछन् । अनि तिनीहरूलाई घृणा गर्ने वरिपरिका सबैलाई मेले न्याय गर्दा, तिनीहरू त्यहाँ सुरक्षित रहनेछन् । तब तिनीहरूले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्' ।"
Chapter 29
1 दशौं वर्षको दशौं महिनामा उक्त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन् । 3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्छस्, "मेरो नदी मेरै हो । त्यो मैले आफ्नो निम्ति बनाएको हुँ ।" 4 किनभने म तेरो बङ्गारामा बल्छी लगाउनेछु, र तेरै कत्लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्नेछु । 5 तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्थान फाल्नेछु । तँ खुला मैदानमा ढल्नेछस् । तँलाई कसैले जम्मा गर्ने वा उठाउने छैन । पृथ्वीका प्राणीहरू र आकाशका चाराहरूका निम्ति आहारा हुन म तँलाई दिनेछु । 6 तब मिश्रदेशमा बस्नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्नेछन् । किनकि तिनीहरू इस्राएलका घरानाको निम्ति एउटा नर्कटको लट्ठी भएका छन् । 7 जब तिनीहरूले तँलाई आफ्नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् । 8 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, तेरो विरुद्धमा म तरवार ल्याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु । 9 यसैले मिश्रदेश उजाड र बग्नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, किनभने समुद्रको पशुले भनेको थियो, "नील नदी मेरै हो, किनकि मैले नै त्यो बनाएको हुँ ।" 10 यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्दोलदेखि आश्वानसम्म र कूश देशको सिमानासम्म नै तँ उजाड-स्थान हुनेछस् । 11 कुनै मानिसको खुट्टाले त्यहाँ टेक्नेछैन,अनि र कुनै पशुको खुट्टाले त्यहाँ टेक्नेछैन । चालीस वर्षसम्म त्यहाँ कोही बस्नेछैन । 12 किनकि म मिश्रदेशलाई बस्ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्मै उजाड रहनेछन् । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु । 13 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः चालीस वर्षको अन्तमा मिश्रीहरूलाई तिनीहरू छरपष्ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु । 14 म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्याउनेछु । तब तिनीहरू त्यहाँ एक तुच्छ राज्य भएर बस्नेछन् । 15 त्यो सारा राज्यहरूमा सबैभन्दा तुच्छ हुनेछ, अनि त्यो फेरि जातिहरूका माझमा कहिल्यै उच्च पारिनेछैन । म त्यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्यै जातिहरूमाथि राज्य गर्नेछैनन् । 16 इस्राएलका घरानाका निम्ति मिश्रदेश फेरि कहिल्यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्न जाँदा त्यहाँ तिनीहरूले गरेको अपराधका सम्झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्वर हुँ भनी जान्नेछन्' ।" 17 तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 18 ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्नो फौजले तयार राख्यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्यसले गरेको परिश्रमको सट्टा त्यसले र त्यसको सेनाले केही इनाम पाउन सकेनन् । 19 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्यसले उसका धन-सम्पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्यो त्यसको फौजको ज्याला हुनेछ । 20 त्यसले मेरो निम्ति गरेको परिश्रमको ज्यालाको रूपमा मिश्रदेश मैले त्यसलाई दिएको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो । 21 त्यस दिन म इस्राएलका घरानाको निम्ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।"
Chapter 30
1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 "ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः विलाप गर्, "आउने दिनको निम्ति हाय।" 3 त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्ति त्यो बादल लागेको, अन्त्यको दिन हुनेछ । 4 तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्नेछन् तब कूश देशमा पनि सङ्कष्ट आइपर्नेछ — जति बेला तिनीहरूले त्यसका धन-सम्पत्तिहरू लानेछन्, र जब त्यसका जगहरू भत्काइनेछन् । 5 कूश र पूत, लूद र सारा अरब देश,र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन् । 6 परमप्रभु यसो भन्नुहुन्छः मिश्रदेशलाई सहयोग गर्नेहरूचाहिं पतन हुनेछन्, र त्यसको बलको घमण्ड तल जानेछ । मिग्दोलदेखि आश्वानसम्मै तिनीहरूका फौज तरवारले ढालिनेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो । 7 उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा हुनेछन् । 8 जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् । 9 त्यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्रदेशको अन्त्यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्यो आउँदेछ । 10 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः "'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्त्य गरिदिनेछु । 11 त्यो र त्यससँग भएको त्यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्याइनेछन् । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्ना तरवार थुत्नेछन्, र मारिएकाहरूका सङ्ख्याले यो देशलाई भर्नेछन् । 12 नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु । त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ । 13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्यर्थका मूर्तिहरूको अन्त्य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु । 14 तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु । 15 किनकि मिश्रदेशको किल्ला, पेलुसियममाथि मेरो क्रोध खन्याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्ट गर्नेछु । 16 तब म मिश्रदेशमा आगो लगाउनेछु, र पेलुसियम ठुलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ । 17 हेलीओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् । 18 तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्यो दिनले आफ्नो उज्यालो दिनेछैन, र त्यसको बलको घमण्ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्नेछ, र त्यसका छोरीहरू कैदमा जानेछन् । 19 म मिश्रदेशलाई दण्डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।" 20 एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 21 "ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्यो बलियो होस् । 22 यसकारण परमप्रभु परमेश्वर योस भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु । 23 तब मिश्रीलाई जातिहरूका बिचमा म छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । 24 म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्न सकूँ । त्योचाहिं बेबिलोनको राजाको अगि मरणान्त चोट लागेको मानिसझैं पीडाले सुस्केरा हाल्नेछ । 25 किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्यसले मिश्रदेशको विरुद्धमा त्योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् । 26 यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।"
Chapter 31
1 एघारौं वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरा, मिश्रदेशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्तामा, तँ कोजस्तो छस्? 3 हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए । 4 धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए । 5 मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए । 6 आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे । 7 त्यसको महान्तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए । 8 परमेश्वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन । 9 मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे । 10 यसैकारण परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो । 11 त्यसको दुष्टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्यक्तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु । 12 सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए । 13 आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए । 14 प्रशस्त पानीको छेउको त्यो अग्लो रूखभन्दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् । 15 परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: त्यो देवदारु चिहानमा गएको दिन, मैले पृथ्वीमा शोक ल्याएँ । मैले त्यसमाथि गहिरो पानीले ढाकें, र मैले समुद्रको पानी थुनें । मैले विशाल पानीलाई रोकें, र त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ । यसैले त्यसको कारणले मैदानका सबै रूखले विलाप गरे । 16 मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ । यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ । यी लेबनानका चुनिएका र उत्कृष्ट रूखहरू थिए। ती प्रशस्त पानी पिएका रूखहरू थिए । 17 किनकि तिनीहरू त्योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए । 18 अदनको कुन चाहिं रूख महिमा र महान्तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्वरको घोषणा गर्नुहुन्छ ।”
Chapter 32
1 बाह्रौं वर्षको बाह्रौं महिनाको पहिलो दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्बन्धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् । 3 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् । 4 तँलाई म देशमा त्याग्नेछु । म तँलाई मैदानमा फल्नेछु र आकाशका सबै चरालाई तँमाथि बस्न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ । 5 किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु । 6 तब पर्वतहरूमाथि म तेरो रगत खन्याउनेछु, र खोंचहरू तेरो रगतले भरिनेछ । 7 त्यसपछि जब तँलाई म नष्ट गर्नेछु, तब म आकाश ढाक्नेछु र त्यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन । 8 आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो । 9 यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु । 10 तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्येक व्यक्ति हर घडी काँप्नेछ । 11 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ । 12 तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ । 13 किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई म सर्वनाश गर्नेछु । मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन, न त पशुहरूका खुरले त्यो हल्लाउनेछ । 14 तब म तिनीहरूका पानीलाई शान्त पार्नेछु र तिनीहरूका नदीलाई तेलझैं बगाउनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो । 15 जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्नेछन् । 16 त्यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् । मिश्रदेश र त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’” 17 अनि बाह्रौं वर्षमा, महिनाको पन्ध्रौं दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 18 “ए मानिसको छोरा, मिश्रदेश भीडका निम्ति रो, र त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा । 19 ‘के तँ अरू कुनै व्यक्तिभन्दा धेरै सुन्दर छस् र? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’ 20 तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्जा गर्नेछन् । 21 चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश र त्यसका मित्रराष्ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन्! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’ 22 अश्शूर देश आफ्ना सारा मानिससँगै त्यहाँ छ । त्यसको चिहानले त्यसलाई घेर्दछ । तिनीहरू सबै जना तरवारले मारिएका थिए । 23 त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ । 24 एलाम आफ्नो सबै भीडसँगै त्यहाँ छ । त्यसको चिहानले त्यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतंक ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन् । 25 मारिएकाहरूका बिचमा तिनीहरूले एलाम र त्यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्यसको चिहानले त्यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतंक ल्याएका थिए । यसैले मारिएकाहरूका बिचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बिचमा छ । 26 मेशेक, तूबल, र तिनीहरूका सारा भीड त्यहाँ छन्! तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ । तिनीहरू सबै जना खतना नभएका र तरवारले मारिएकाहरू हुन्, किनभने तिनीहरूले जीवितहरूको देशमा आतंक ल्याएका थिए । 27 युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए । 28 यसैकारण तँ, मिश्रदेश, खतना नभएकाहरूका बिचमा टुक्रिनेछस्! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् । 29 एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवासँगै त्यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन् । 30 उत्तरका शासकहरू सबै जना र छेडिएकाहरूसँगै तल गएका सबै सिदोनीहरू त्यहाँ छन् । तिनीहरू शक्तिशाली थिए र अरूलाई भयभीत पारे, तर अब खतना नभएकै अवस्थामा तरवारद्वारा छेडिएकाहरूसँगै तिनीहरू त्यहाँ लाजमा परेका छन् । तल खाडलमा जानेहरूसँगै तिनीहरू आफ्नो लाज आफैं बोक्छन् । 31 फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो । 32 जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्नेछन्, य परमप्रभु परमेश्वरको घोषणा हो ।”
Chapter 33
1 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्छन् र उसलाई आफ्ना रक्षक बनाउँछन् । 3 त्यसले देशमा तरवार आउँदा त्यसलाई हेर्छ, र मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ! 4 मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्येकको रगत आफ्नै शिरमा पर्नेछ । 5 कसैले तुरहीको आवाज सुन्छ र ध्यान दिंदैन भने, त्यसको रगतको जिम्मेवार त्यो आफै हुनेछ । तर त्यसले ध्यान दिन्छ भने त्यसले आफ्नो ज्यान बचाउनेछ । 6 तर त्यो रक्षकले तरवार आउँदै गरेको देख्छ, तर त्यसले तुरही फुक्दैन, जसको कारणले मानिसहरूलाई सजग पारिंदैन, र तरवार आउँछ र कसैको जीवन लिन्छ भने, त्यो मानिस आफ्नै पापमा मर्छ, तर त्यसको रगतको सटो म त्यो रक्षकबाट लिनेछु ।’ 7 अब, ए मानिसको छोरा, मैले तँलाई नै इस्राएलको घरानाको निम्ति रक्षक बनाएको छु । तैंले मेरो मुखबाट वचन सुन्नेछस् र तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस् । 8 मैले दुष्ट मानिसलाई भनें ‘ए दुष्ट मानिस, तँ निश्चय नै मर्नेछस् ।’ तर त्यो दुष्ट मानिसलाई सजग गराउनलाई त्यसको चालको बारेमा तैंले त्यसलाई भनिनस् भने, त्यो दुष्ट मानिस आफ्नो पापमा मर्नेछ, तर त्यसको रगतको साटो म तँबाट लिनेछु । 9 तर तैंले त्यो दुष्ट मानिस उसको दुष्ट चालको बारेमा बनिस् ताकि त्यसबाट त्यो फर्किन सकोस्, र त्यो आफ्नो चालबाट फर्केन भने, त्यो आफ्नो पापमा मर्नेछ, तर तँ आफूले आफ्नो प्राण बचाउनेछस् । 10 यसैले, ए मानिसको छोरो, इस्राएलको घरानालाई भन्, ‘तिमीहरू यसो भन्छौ, “हाम्रा अपराधहरू र पापहरू हामीमाथि आएका छन्, र हामी तीनमा सडिरहेका छौं! हामी कसरी बाँच्न सक्छौं?”’ 11 तिनीहरूलाई भन्, ‘यो परमप्रभु परमेश्वरको घोषणा हो, म जिउँदो भएको हुनाले, म दुष्टहरूको मृत्युमा प्रसन्न हुन्नँ, किनकि दुष्टले आफ्नो चालबाट पश्चात्ताप गरी फर्कन्छ भने त्यो बाँच्ने छ! पश्चात्ताप गर् । तेरा दुष्ट चालबाट पश्चात्ताप गर् । ए इस्राएलको घराना तँ किन मर्ने?’ 12 यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन! दुष्ट मानिसले आफ्नो पापबाट पश्चात्ताप गर्छ भने त्यसको दुष्टताले त्यो नष्ट हुनेछैन! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन । 13 मैले धर्मीलाई यसो भनें, “त्यो निश्चय नै बाँच्नेछस्!” र त्यसले आफ्नो धार्मिकतामा विश्वास गरेर अन्याय गर्छ भने, त्यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्यसले गरेको दुष्टताको कारणले त्यो मर्नेछ । 14 यसैले मैले दुष्टलाई यसो भनें, “तँ निश्चय नै मर्नेछस्”, तर त्तसपछि त्यसले आफ्नो पापको पश्चात्ताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने, 15 र त्यसले ऋणको निम्ति आफूले दुष्टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्यो निश्चय नै जिउनेछ । त्यो मर्नेछैन । 16 त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्चय नै जिउनेछ । 17 तर तेरा मानिसहरू भन्छन्, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” तर तिमीहरूका चाल पो न्यायपूर्ण छैनन्! 18 जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ, तब त्यो त्यही पापमा मर्नेछ! 19 जब कुनै दुष्ट मानिस आफ्नो दुष्टताबाट फर्केर न्यायपूर्ण र धर्मी काम गर्छ भने, यी कुराहरूका कारणले त्यो जिउनेछ! 20 तर तिमीहरू भन्छौ, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” ए इस्राएलको घराना, म तिमीहरूको चालअनुसार नै हरेकको न्याय गर्नेछु!’” 21 हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्यो, “त्यो सहरलाई कब्जा गरिएको छ!” 22 त्यो भगुवा आउनभन्दा अगिल्लो साँझमा परमप्रभुको हात ममाथि थियो, र बिहानीको झिसमिसेमा त्यो मकहाँ आउँदासम्म मेरो मुख खोलिएको थियो । यसैले मेरो मुख खोलियो । म फेरि चुप भइनँ! 23 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 24 “ए मानिसको छोरो, इस्राएलको भूमिमा भग्नावशेषमा बसोबास गर्नेहरू यसो भन्दैछन्, ‘अब्राहम मात्र एक जना मानिस थिए, र उनले यो देश अधिकार गरे, तर हामीहरू धेरै जना छौं! यो देश हामीलाई सम्पत्तिको रूपमा दिइएको छ ।’ 25 यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू रगत खान्छौ, र तिमीहरू आफ्ना मुर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ, अनि तिमीहरू मानिसहरूका रगत बगाउँछौ । के तिमीहरूले यस देशमाथि अधिकार गर्ने? 26 तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ र घिनलाग्दा कुरा गरेका छौ । हरेक मानिसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ । के साँच्चै तिमीहरूले यस देशमाथि अधिकार गर्ने?’ 27 तैंले तिनीहरूलाई यस्तो भन्नू, ‘परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: जस्तो म जीवित छु, भग्नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन्, र मैदानमा भएकाहरूलाई म जीवित पशुहरूकहाँ आहराको रूपमा दिनेछु, र किल्लाहरू र गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन् । 28 तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’ 29 यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्ने जान्नेछन् । 30 यसैले, ए मानिसको छोरा, मन्दिरहरूका पर्खालहरू र ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन्, र हेरकले अर्को मानिस, र हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्छ, ‘जाऔं र परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौं!’ 31 यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्नेछन् र तेरा वचनहरू सुन्नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् । 32 किनकि तिनीहरूका निम्ति तँ मनपर्ने गीत, र बाजामा बजाइएको एउटा सुन्दर धुनझैं छस्, यसैले तिनीहरूका तेरा वचन सुन्नेछन्, तर तिनीहरू कसैले पनि ती पालना गर्नेछैनन् । 33 यसैकारण यी सबै कुरा हुँदा – हेर, त्यो हुन आउनेछ – तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्नेछन् ।”
Chapter 34
1 तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो, 2 “ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर गोठालाहरूलाई यसो भन्नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र? 3 तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ । 4 रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ । 5 तब तिनीहरू गोठालाबिना छरपष्ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने । 6 मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन । 7 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः 8 यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् । 9 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः 10 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् । 11 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु, 12 जसरी गोठाला आफ्नो छरपष्ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्नो बगलाको खोजी गर्छ । त्यसरी नै म आफ्नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु । 13 तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्नै देशमा ल्याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्नेछु । 14 तिनीहरूलाई असल खर्कमा म राख्नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् । 15 मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो, 16 म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु । 17 यसैले, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु । 18 के असल खर्कमा चर्नु पर्याप्त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ? 19 के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ? 20 यसकारण, परमप्रभु परमेश्वर तिनीहरूलाई यसो भन्नुहुन्छ: हेर, मोटा र दुब्ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु, 21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्छौ । 22 म आफ्नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु! 23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ । 24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु । 25 त्यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्थान सुरक्षित बस्नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्नेछन् । 26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्का झरी हुनेछन् । 27 तब मैदानका रूखहरूले आफ्ना फल उब्जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । 28 तिनीहरू फेरि जातिहरूका निम्ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन । 29 किनकि प्रशस्त अन्न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन । 30 तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसँग छु भनी जान्नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्वरको घोषणा हो । 31 किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्वर हुँ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’”
Chapter 35
1 त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर् । 3 त्यसलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु । 4 तेरा सहरहरूलाई म भग्नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । 5 किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् । 6 यसकारण, यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्नेछ । 7 सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्यक्तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु । 8 मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्नेछन् । 9 तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् । 10 तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो । 11 यसकारण यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु । 12 यसरी म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्साथ यसो भन्दा, “तिनीहरू नष्ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु । 13 तैंले जे भनिस् त्यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें । 14 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु । 15 इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
Chapter 36
1 “अब, ए मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गर् र यसो भन्, ‘ए इस्राएलका पर्वतहरू, परमप्रभुको वचन सुन । 2 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: शत्रुले तिमीहरूका बारेमा यसो भनेका छ, “आहा! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन् ।”’ 3 यसकारण अगमवाणी गर र यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू उजाड भएका हुनाले र तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले तिमीहरू अरू जातिहरूका अधिकारमा परेका छौ । तिमीहरू निन्दनीय ओठहरू र जिब्राहरू, अनि मानिसहरूका वर्णनका विषय बनेका छौ । 4 यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्यागिएका सहरहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 5 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः निश्चय नै अरू जातिहरूका विरुद्धमा, एदोम र मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा, र आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु ।’ 6 यसकारण, इस्राएल देशलाई अगमवाणी गर र पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर्, मेरो क्रोध र रिसमा म यो घोषणा गर्दैछु किनभने तिमीहरूले जातिहरूका अपमान सहेका छौ । 7 यसकारण, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म आफ्नो हात उठाएर यो शपथ खान्छु, कि तेरो वरिपरिका जातिहरूले आफ्नो लाज आफै बोक्नेछन् । 8 तर, ए इस्राएलका पहाडहरू, तिमीहरूले हाँगाहरू बढाउनेछौ र तिमीहरूले मेरा मानिस इस्राएलका लागि फल दिनेछौ, किनभने तिनीहरू छिटै तिमीहरूकहाँ फर्केर आउनेछन् । 9 किनकि हेर, म तिमीहरूका निम्ति हुँ, र म तिमीहरूलाई कृपा दृष्टिले व्यवहार गर्नेछु । तिमीहरूको खनजोत गरिने र बीउ छरिनेछ । 10 यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्ख्या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्नावशेषहरू पुनःनिर्माण गरिनेछन् । 11 ए पर्वतहरू, तिमीहरूमा मानिस र पशुका सङ्ख्यालाई म वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जानेछन् । त्यसपछि पहिलेझैं तिमीहरूमा म बसोबास गराउनेछु, र तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु, ककिनकि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ । 12 तिमीहरूमा हिंड्नलाई मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई म ल्याउनेछु । तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूका उत्तराधिकार हुनेछौ, र तिमीहरूले तिनीहरूका छोराछोरीलाई मर्न दिनेछैनौ । 13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन्, “तिमीहरूले मानिसहरू नष्ट गर्छौ, र आफ्नो जातिलाई शोकमा पार्छौ,” 14 यसकारण तिमीहरूले फेरि मानिसहरूलाई भष्म गर्नेछैनौ, र तिनीहरूले आफ्ना जातिलाई मृत्युको शोकमा पार्नेछैनौ । यो परमप्रभु परमेश्वरको घोषणा हो । 15 न त म तिमीहरूलाई जातिहरूको अपमान फेरि सुन्न दिनेछु । तिमीहरूले फेरि कहिल्यै मानिसहरूको लाजलाई सहनुपर्नेछैन न त तिमीहरूको जातिको पतन हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’” 16 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 17 “ए मानिसको छोरा, जब इस्राएलको घराना आफ्नो देशमा बसोबास गरे, तब तिनीहरूले त्यस देशलाई आफ्ना चालहरू र कामहरूले अशुद्ध पारे । मेरा सामु तिनीहरूका चालहरू स्त्रीको रजस्वलाको अशुद्धताझैं थिए । 18 यसैले तिनीहरूले त्यो देशमा बगाएका रगत र आफ्ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले मैले तिनीहरूका विरुद्धमा आफ्नो क्रोध खन्याएँ । 19 मैले तिनीहरूलाई जातिहरूका बिचमा छरपष्ट पारें । तिनीहरू देशहरूमा तितरबितर भए । तिनीहरूका चालहरू र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें । 20 त्यसपछि तिनीहरू जातिहरूकहाँ गए, र तिनीहरू जहाँ-जहाँ गए, तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारे । मानिसहरूले तिनीहरूका विषयमा यसो भने, ‘के यिनीहरू साँच्चै नै परमप्रभुका मानिसहरू हुन्? किनकि यिनीहरू त उहाँको देशबाट बाहिर फालिएका छन् ।’ 21 तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्यो । 22 यसकारण इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए इस्राएलको घराना, यो मैले तेरो निम्ति गरेको होइन, तर मेरो पवित्र नाउँको खातिर हो, जसलाई तिमीहरू जहाँ गयौ, त्यहाँ तिमीहरूले अशुद्ध पारेका छौ । 23 किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई म पवित्र बनाउनेछु । जातिहरूका बिचमा तिमीहरुले त्यसलाई अशुद्ध बनयौ । तब म पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो । 24 तिमीहरूलाई जातिहरू निकाल्नेछु र हरेक देशबाट तिमीहरूलाई भेला पार्नेछु र तिमीहरूका आफ्नो देशमा तिमीहरूलाई म ल्याउनेछु । 25 त्यसपछि तिमीहरूमाथि म पवित्र पानी छर्किनेछु, यसरी तिमीहरू आफ्ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ, र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पर्नेछु । 26 तिमीहरूका अन्तस्करणमा म तिमीहरूलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनेछु, र तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय म निकाल्नेछु । किनभने म तिमीहरूलाई मासुको हृदय दिनेछु । 27 तिमीहरूमा म आफ्नो आत्मा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिंड्न र मेरा आज्ञाहरू पालन गर्न सक्षम तुल्याउनेछु । 28 तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ । तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु । 29 किनकि म तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु । म अन्नलाई आज्ञा गर्नेछु र त्यसलाई बढाउनेछु । तिमीहरूमा म अनिकाल पेरि कहिलै ल्याउनेछैनँ । 30 रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ । 31 त्यसपछि आफ्ना दुष्ट चालहरू र आफ्ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ । 32 यो परमप्रभु परमेश्वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्जित र अपमानित होओ । 33 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु । 34 किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन । 35 तब तिनीहरूले भन्नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।” 36 तब म नै परमप्रभु, मैले नै भग्नावशेषलाई बनाएँ र त्यागिएका ठाउँहरूलाई पुनः स्थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु । 37 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलको घरानालाई मानिसहरूका बगालझैं वृद्धि गरिदिन तिनीहरूले मलाई फेरि बिन्ती गर्नेछन् । 38 जस्तो बलिदानको निम्ति बगाललाई अलग गरिन्छ, जस्तो तोकिएका चाडहरूमा यरूशलेममा बगाल हुन्छन्, त्यस्तै भग्नावशेष भएका सहरहरू मानिसहरूका बगालले भरिनेछन् र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
Chapter 37
1 परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्नुभयो । त्यो हाडहरूले भरिएको थियो । 2 त्यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो । हेर, त्यहाँ बेसीमा तिनीहरूका सङ्ख्या धेरै थिए । हरे, ती धेरै सुक्खा थिए । 3 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्?” यसैले मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त तपाईंले मात्र जान्नुहुन्छ ।” 4 तब उहाँले मलाई भन्नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन । 5 परमप्रभु परमेश्वर यी हाडहरूलाई यसो भन्नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्न लागेको छु, र तिमीहरू जीवित हुनेछौ । 6 म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्नेछु र तिमीहरूमा सास हाल्नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।’” 7 यसैले जस्तो मलाई आज्ञा गरियो तेस्तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो । 8 मैले हेरें र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्यो र छालाले तिनीहरूलाई ढाके । तर तिनीहरूमा अझै पनि सास थिएन । 9 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’” 10 यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें । तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए । त्यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठुलो फौज खडा भए । 11 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो , यी हडाहरूचाहिं इस्राएलका सम्पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्कृत भएका छौं ।’ 12 यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्याउनेछु । 13 ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्नेछौ । 14 तिमीहरूभित्र म आफ्नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्नेछौ, तब तिमीहरूलाई आफ्नै देशमा म विश्राम दिनेछु । म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’” 15 अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 16 “यसैले अब, ए मानिसको छोरो, आफ्नो निम्ति एउटा लौरो लि र त्यसमा लेख्, ‘यहूदा र त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ त्यसपछि अर्को लौरो लि र त्यसमा लेख्, ‘योसेफ, एफ्राइमको हाँगो र तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ 17 ती दुवै लौरोलाई जोडेर एउटै बना, ताकि ती तेरो हातमा एकै होऊन् । 18 जब तेरा मानिसहरूले तँलाई खोज्छन् र यसो भन्छन्, ‘के यी कुराहरूको अर्थ तपाईं हामीलाई भन्नुहुन्न?’ 19 तब तिनीहरूलाई यसो भन्, ‘परम्प्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, एफ्राइमको हातमा भएको योसेफको हाँगो र त्यसको सहयोगी इस्राएलका कुलहरूलाई लिएर म यहूदाको हाँगोसँग जोड्दैछु, ताकि तिनीहरू एकै हाँगो बनाउनेछन्, र तिनीहरू मेरो हातमा एक हुनेछन् ।’ 20 तिनीहरूका आँखाका सामु तैंले लेखेका ती हाँगाहरूलाई आफ्नो हातमा समात् । 21 तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट म तिनीहरूलाई निकाल्दैछु । तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु । 22 देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन् । तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन् । 23 त्यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु । 24 मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्नेछन्, र ती पालना गर्नेछन् । 25 मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ । 26 तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्नेछु । 27 मेरो बासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् । 28 तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्नेछन् । त्यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्छ ।’”
Chapter 38
1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का । अनि त्यसको विरुद्ध अगमवाणी गर् । 3 यसो भन्, ‘परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु । 4 यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु । 5 फारस, कूश र लिबिया तिनीहरूसँगै हुनेछन् । ती सबै जनाले ढाल बोकेका र टोप लगाएका हुनेछन् । 6 गोमर र त्यसका सबै फौज, र उत्तरका टाढा ठाउँहरूबाट बेथ-तोगर्मा, र त्यसका सबै फौज । धेरै जना मानिस तँसँग हुनेछन्! 7 तयार हो! आफूलाई र आफूसित भेला भएका तेरा फौजलाई तयार राख्, र तिनीहरूका कमाण्डर हो । 8 धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्त भएको हो र जुन धेरै समयसम्म भग्नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्नेछन् । 9 यसैले जसरी आँधी माथि जान्छ त्यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्ने बादलझैं हुनेछन् । 10 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्नेछन्, र तैंले दुष्ट युक्तिहरू रच्नेछस् ।’ 11 तब तैंले यसो भन्नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् । 12 लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्नो हात उठाउनेछु ।’ 13 शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’ 14 यसकारण, ए मानिसको छोरो , अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्छन्, के तैंले तिनीहरूका बारेमा जान्नेछैनस्? 15 तँ टाढा उत्तरको आफ्नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् । 16 जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्न सकून् । 17 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे? 18 यसैले यो परमप्रभु परमेश्वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ । 19 मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ । 20 तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् । 21 यो परमप्रभु परमेश्वरको घोषणा हो, मेरा सबै पर्वतहरूमा म त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु । हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ । 22 तब त्यसलाई म रूढी र रगतले न्याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु । 23 म आफ्नो महान्ता र आफ्नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’”
Chapter 39
1 “अब, ए मानिसको छोरो, गोगको विरुद्ध अगमवाणी गर् र यसो भन्, ‘परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: हेर्, मेशेक र तूबलको मुखिया गोग, म तेरो विरुद्धमा छु । 2 तँलाई म फर्काउनेछु र तँलाई लानेछु । टाढा उत्तरबाट म तँलाई माथि ल्याउनेछु र तँलाई इस्राएलका पर्वतहरूमा पुर्याउनेछु । 3 तब तेरो देब्रे हातमा भएको धनुलाई म हिर्काउनेछु र तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्नेछु । 4 तँ र तेरा सबै फौज, अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन् । तँलाई म शिकारी चराहरू र जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु । 5 यो परमप्रभु परमेश्वरको घोषणा हो, तँ खुला मैदानमा मर्नेछस्, किनकि म आफैंले यो घोषणा गर्छु । 6 तब म मगोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् । 7 किनकि मेरा मानिस, अर्थात् इस्राएलका बिचमा आफ्नो पवित्र नाउँलाई चिनाउनेछु, र मेरो पवित्र नाउँलाई फेरि म अशुद्ध हुन दिनेछैन । जातिहरूले म नै परमप्रभु, इस्राएलमा परम पवित्र हो भनी जान्नेछन् । 8 हेर्, त्यो दिन आउँदैछ, र त्यो हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो । 9 इस्राएलका सहरहरूमा बस्नेहरू बाहिर जानेछन् र तिनीहरूले आगो सल्काउन र ती बाल्नको निम्ति हतियारहरू अर्थात् साना ढालहरू र ठुला ढालहरू, धनुहरू, काँडहरू, लाठीहरू र भालाहरू प्रयोग गर्नेछन् । तिनीहरूले सात वर्षसम्म यिनैले आगो बाल्नेछन् । 10 तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्न इच्छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।” 11 त्यसपछि त्यो दिन यस्तो हुनेछ । गोगको निम्ति इस्राएलमा म एउटा चिहान तयार गर्नेछु जुनचाहिं समुद्रको पुर्वपट्टि यात्रा गर्नेहरूको निम्ति एउटा बेसी हो । त्यसले त्यहाँबाट भएर जान इच्छा गर्नेहरूको बाटो छेक्नेछ । त्यहाँ तिनीहरूले गोगलाई त्यसका सारा भीडसहित गाड्नेछन् । तिनीहरूले त्यसलाई हामोन-गोगको बेसी नामाकरण गर्नेछन् । 12 किनकि देशलाई शुद्ध गर्नलाई इस्राएलको घरानाले तिनीहरूलाई सात महिनासम्म गाड्नेछन् । 13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । म महिमित भएको त्यो दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो । 14 अनि तिनीहरूले मानिसहरूलाई निरन्तर त्यो देशबाट जानको निम्ति नियुक्त गर्नेछन् । तिनीहरूले त्यहाँबाट भएर जानेहरूको खोजी गर्नेछन् । भूमिलाई शुद्ध गर्नलाई तिनीहरूले त्यहाँ मरेका र त्यो देशमा रहेका लासहरूलाई खोजी गरेर गाड्नेछन् । सातौं महिनाको अन्त्यमा तिनीहरूले आफ्नो खोजी सुरु गर्नेछन् । 15 यी मानिसहरू ती देशबाट हिंड्दा, जब तिनीहरूले मानिसको हाड देख्छन्, तब चिहान खन्नेहरू आएर त्यसलाई हामोन-गोगको बेसीमा लगेर नगाडेसम्मलाई त्यहाँ तिनीहरूले एउटा चिन्ह राख्नेछन् । 16 त्यहाँ हामोनाहको नाउँमा एउटा सहर हुनेछ । यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन् । 17 ए मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ । मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ । 18 तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् । 19 तब तिमीहरू अघाउन्जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ । 20 तिमीहरू मेरो टेबलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्त हुनेछौ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’ 21 जातिहरूका बिचमा म आफ्नो महिमा स्थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्नेछन् । 22 त्यो दिनदेखि इस्राएलको घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन् । 23 जातिहरूले यो जान्नेछन्, कि इस्राएलको घरानाले आफ्ना अपराधले मलाई धोका दिएका हुनाले तिनीहरू कैदमा गए । यसैले मैले तिनीहरूबाट आफ्नो मुहारलाई लुकाएँ र तिनीहरूका शत्रुहरूका हातमा तिनीहरूलाई दिएँ, ताकि तिनीहरू सबै तरवारले मारिए । 24 जब मैले आफ्नो मुहार तिनीहरूबाट लुकाएँ, तब मैले तिनीहरूकै अशुद्धता र पापअनुसार तिनीहरूसँग व्यवहार गरें । 25 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अब म आफ्नो पवित्र नाउँको निम्ति जोशसाथ काम गर्दा म याकूबको सुदिन फर्काउनेछु, र इस्राएलका सारा घरानामाथि दया देखाउनेछु । 26 तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन । 27 जब मानिसहरूबाट म तिनीहरूलाई पुनःस्थापित गर्नेछु र तिनीहरूका शत्रुहरूका देशहरूबाट म तिनीहरूलाई भेला गराउनेछु, तब धेरै जातिहरूका नजरमा म आफैंलाई पवित्र देखाउनेछु । 28 तब म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्, किनकि मैले नै तिनीहरूलाई जातिहरूका बिचमा कैदमा पठाएँ, तर तिनीहरूलाई म तिनीहरूकै देशमा भेला गराउनेछु । तिमध्ये कसैलाई पनि म जातिहरूका बिचमा छोड्नेछैन । 29 इस्राएलको घरानामा मैले आफ्नो आत्मा खन्याउँदा, म फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
Chapter 40
1 हाम्रो निर्वासनको पच्चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो । 2 परमेश्वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए । 3 अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्थे । तिनको हातमा सूतीको डोरी र नाप्ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए । 4 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्नो मन लगा, किनकि तँलाई यहाँ ल्याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैंले देख्ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।” 5 त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो । तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्ने लौरोजति चौडा र एक लौरो अग्लो थियो । 6 त्यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो । 7 रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो । 8 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो । 9 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो । 10 त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो । 11 त्यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्यो तेह्र हात थियो । 12 ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्यो एक हात उच्च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए । 13 तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्चीस हात थियो । 14 रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे । 15 ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो । 16 ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए । 17 त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए । 18 ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए, त्यसको चौडाइ ढोकाको लमाइझैं थियो । त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो । 19 त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो । 20 त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे । 21 त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्चीस हात थियो । 22 त्यसका झ्यालहरू, दलान, कोठाहरू र त्यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्दो थियो । त्यहाँ र त्यसको दलानसम्म सात खुट्किला थिए । 23 उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो । 24 त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए । 25 ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 26 त्यो ढोकाको र दलानसम्म सात खुट्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए । 27 दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो । 28 अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो । 29 त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 30 भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्चीस हात र चौडाइमा पाँच हात थिए । 31 यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्यहाँसम्म आठवटा खुट्किला थिए । 32 तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो । 33 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो र त्यहाँसम्म आठ खुट्किला थिए । 35 त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो । 36 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए र त्यहाँसम्म आठ खुट्किला थिए । 38 सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे । 39 हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो । 40 चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुईवटा टेबल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुईवटा टेबल थिए । 41 ढोकाको छेउमा दुवैपट्टि चार-चारवटा टेबल थिए । त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे । 42 त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए । त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे । 43 दलानको चारैतिर चार-अङ्कुल चौडा दुईवटा चुच्चा भएका अङ्कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबलहरूमाथि राखिन्थे । 44 भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो । 45 तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्छन् । 46 उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।” 47 अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्दिरको अगाडि थियो । 48 अनि ती मानिसले मलाई मन्दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए । 49 दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।
Chapter 41
1 त्यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए । 2 ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्यो चालिस हात लामो र बिस हात चौडा थियो । 3 त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताका चौडाइ सात हात थियो । 4 तब तिनले कोठाको लमाइ बिस हात नापे । मन्दिरको सभामन्दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।” 5 त्यसपछि ती मानिसले मन्दिरको भित्ता नापे । त्यो छ हात बाक्लो थियो । मन्दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए । 6 छेउका कोठाहरू तिन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तिस कोठा थिए । छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन । 7 ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्यति नै फराकिलो भए, र त्यो मन्दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्याङ थियो । 8 अनि मैले मन्दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए । त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो । 9 छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो । 10 यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो । 11 भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो । 12 पश्चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो । 13 अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो । 14 पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो । 15 अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान, 16 भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तिनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए । 17 भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो । 18 त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्जित थिए । हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः 19 एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो । ती मन्दिरको सबैतिर खोपिएका थिए । 20 जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्दिरको बाहिरी भित्तामा खोपिएका थिए । 21 पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए । हेर्दा तिनीहरूको बनावट, 22 पवित्र-स्थानको अगाडिको काठको वेदीजस्तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो । त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए । अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ ।” 23 पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए । 24 यी ढोकाहरूमा दुईवटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा । 25 पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो । 26 दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए । यी मन्दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए ।
Chapter 42
1 त्यसपछि ती मानिसले मलाई उत्तरी भागको बाहिरी चोकमा लगे, र तिनले मलाई बाहिरी चोक र उत्तरतिरको बाहिरी भित्तामा भएका बर्दलीहरूमा मलाई ल्याए । 2 यी बार्दलीहरूको लमाइ एक सय हात र चौडाइ पचास हात थियो । 3 यी बार्दलीमध्ये केही भित्री चोकतिर फर्केका थिए र तिनीहरू पवित्र-स्थानबाट बिस हात टाढा थिए । त्यहाँ बार्दलीहरूका तिन तह थिए, र माथिहरू तलतिर फर्केका थिए, ती दुईको बिचमा खुला भाग थियो । केही बार्दलीहरूचाहिं बाहिरी चोक तिर फर्केका थिए । 4 ती बार्दलीहरूका अगाडि दश हात चौडा र एक सय हात लामो बाटो थियो । ती बार्दलीहरूका ढोकाहरू उत्तरतर्फ थिए । 5 तर माथिल्ला बार्दलीहरू साना थिए, किनभने बाटोहरूले भवनको तल्लो र बिचको तहमा भन्दा ती बार्दलीहरूले धेरै ठाउँ ओगटेको थियो । 6 किनकि तेस्रो तल्लाका बार्दलीहरूमा खम्बाहरू थिएनन्, तर चोकमा भने खम्बाहरू थिए । यसकारण तल्लो र बिचको तहका बार्दलीहरूका तुलनामा माथिल्लो तल्लाका बार्दलीहरू साँघुरा थिए । 7 बाहिरी भित्ता कोठाहरूबाट भएर बाहिरी चोकसम्म पुग्थे, र चोकचाहिं कोठाहरूको अगाडि थियो । त्यो भित्ताको लमाइ पचास हात थियो । 8 बाहिरी चोकका कोठाहरूको लमाइ पचास हात थियो, र पवित्र-स्थानतिर फर्केका कोठाहरूको लमाइ एक सय हात थियो । 9 पूर्वपट्टिबाट तल्ला कोठाहरूका निम्ति बाहिर चोकतिरबाट एउटा ढोका थियो । 10 पवित्र-स्थानको भित्री चोकको अगाडिको बाहिरी चोकको पूर्वीय भागको चोकमा पनि कोठाहरू थिए । 11 ती कोठाहरूका अगाडि बाटो थियो । ती कोठाहरूको वनावट उत्तरी भागका कोठाहरूजस्ता थिए । तिनीहरूका लमाइ, चौडाइ, बाहिर निस्कने ढोका, वनावट र ढोकाहरू उस्तै थिए । 12 दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो । 13 तब ती मानिसले मलाई भने, “बाहिरी चोकको अगाडि भएका उत्तरी कोठाहरू र दक्षिणी कोठाहरू पवित्र कोठाहरू हुन् । त्यहाँ परमप्रभुसँग नजिकबाट काम गर्ने पुजारीहरूले अति पवित्र भोजन खान्छन् । त्यहाँ तिनीहरूले अति पवित्र कुराहरू अर्थात् अन्नबलि, पापबलि, र दोषबलि राख्छन्, किनकि यो पवित्र ठाउँ हो । 14 पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्त्र लगाउनुपर्छ ।” 15 ती मानिसले भित्री मन्दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे । 16 तिनले पूर्वी भागलाई एउटा नाप्ने लौरोले नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो । 17 तिनले उत्तरी भागलाई नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो । 18 तिनले दक्षिणी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो । 19 तिनी फर्केर पश्चिमी भागलाई पनि नापे, नाप्ने लौरोले नाप्दा त्यो पाँच सय हात थियो । 20 तिनले त्यो चारैपट्टि नापे । पवित्र ठाउँलाई साधारण ठाउँबाट अलग गर्नको निम्ति त्यसको वरिपरि एउटा भित्ता थियो, जुन पाँच सय हात लामो र पाँच सय हात चौडा थियो ।
Chapter 43
1 त्यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे । 2 हेर, इस्राएलका परमेश्वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो । 3 त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्तो थियो, र मैले आफ्नो शिर घोप्टो पारें । 4 यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्दिरभित्र आयो । 5 तब आत्माले मलाई उचाल्नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्दिरलाई भरिरहेको थियो । 6 ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें । 7 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु । इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्वासहीनता वा उच्च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् । 8 तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक, र तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर, अनि म र तिनीहरूका बिचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् । तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए, यसैले मैले तिनीहरूलाई आफ्नो क्रोधमा नाश गरें । 9 अब तिनीहरूले आफ्ना विश्वासहीनता र तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन्, र म तिनीहरूका बिचमा सदासर्वदालाई रहनेछु । 10 ए मानिसको छोरो, यस मन्दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् । 11 तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्जित छन् भने यस मन्दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू । अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून् । 12 मन्दिरको नियम यही हो: पहाडको टुप्पोदेखि त्यसको वरिपरिको क्षेत्र पवित्र हुनुपर्छ । हेर, मन्दिरको नियम यही नै हो । 13 वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन्—लामो हातको नाप एक हात र चार अङ्कुलको चौडाइ बराबर हुन्छ । वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्यसको चौडाइ एक हात हुनेछ । त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ । योचाहिं वेदीको आधार हो । 14 भूँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिं एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठुलो किनारसम्म चार हात, र ठुलो किनारचाहिं एक हात चौडा छ । 15 होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन् । 16 अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ । 17 त्यसको चारैतिर त्यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्यसको किनार आधा हात चौडा छ । नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा छ ।” 18 त्यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिनीहरूले वेदी बनाएको दिनमा, र त्यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् । 19 सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पुजारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्वरको घोषणा हो । 20 तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्चित गर्नू । 21 अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्यसलाई जलाउनू । 22 अनि दोस्रो दिनमा तैंले एउटा निष्खोट बोकोलाई पापबलिको रूपमा चढाउनु । पुजारीहरूले साँढेले वेदीलाई शुद्ध गरेजस्तै वेदीलाई शुद्ध गर्नेछन् । 23 त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु । 24 ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् । 25 सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्यो निष्खोट साँढे र बगालको त्यो निष्खोट भेडो तयार गरून् । 26 तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ । 27 तिनीहरूले यी दिनहरू पुरा गर्नैपर्छ, र आठौं दिन र त्यसपछि पुजारीहरूले तिमीहरूका होमबलि र तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन्, र म तिमीहरूलाई ग्रहण गर्नेछु, यो परमप्रभु परमेश्वर घोषणा हो ।”
Chapter 44
1 त्यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो । 2 परमप्रभुले मलाई भन्नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ । 3 इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।” 4 तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्दिरलाई ढाक्यो, र मैले आफ्नो शिर घोप्टो पारें । 5 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई घोषणा गर्ने सबै कुरा, परमप्रभुको मन्दिरका सबै विधि र त्यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् र ती आफ्ना आँखाले हेर् र कानले सुन् । मन्दिरका भित्र आउने ढोकाको र बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर् । 6 तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्, 7 तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्दिरलाई अशुद्ध बनयौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ । 8 मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ । 9 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस् । 10 तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् । 11 तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्छन् र तिनीहरूको सेवा गर्छन् । 12 तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने । यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु, कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो । 13 तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्नेछन् । 14 तर म तिनीहरूलाई मेरो मन्दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु । 15 अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो । 16 तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन् । 17 यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्दिरभित्र आउन तिनीहरूले ऊनको वस्त्र लगाउनुहुँदैन । 18 तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ । तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन । 19 जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्त्र खोल्नुपर्छ । तिनीहरूले ती खोल्नैपर्छ र ती पवित्र कोठामा राक्नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् । 20 तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्न हुन्छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून् । 21 भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन , 22 त्यसले विधवा वा सम्बन्ध-विच्छेद भएकी स्त्रीलाई आफ्नी पत्नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् । 23 किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् । 24 कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् । 25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्ना बुबा, आमा, छोरो , छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् । 26 कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्नेछन् । 27 अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्वरको घोषणा हो । 28 तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु । 29 तिनीहरूले अन्नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ । 30 सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्ट अन्नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् । 31 जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पुजारीहरूले खानुहुँदैन ।
Chapter 45
1 उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिठ्ठा हाल्छौ, तब तिमीहरूले परमप्रभुको निम्ति एउटा जग्गा अलग गर्नू । यो दानको जग्गा पच्चीस हजार हात लामो र दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ । त्यो र त्यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ । 2 यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ । 3 यस क्षेत्रबाट तिमीहरूले पच्चीस हजार हात लमाइ र दश हजार हात चौडाइ नाप्नू । त्योचाहिं पवित्र-स्थान, र महा-पवित्र स्थान हुनेछ । 4 योचाहिं परमप्रभुको सेवा गर्ने पुजारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ । 5 यसरी त्यो पच्चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्यो हुनेछ । 6 सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा र पच्चीस हजार हात लामो होस् । त्योचाहिं पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ । यो सहर इस्राएलका सबै घरानाको हुनेछ । 7 शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ । 8 यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् । 9 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: अब अति भयो, इस्राएलका शासकहरू हो! हिंसा र झैं-झगडा हटाओ । न्याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ! यो परमप्रभु परमेश्वरको घोषणा हो । 10 तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ! 11 एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्दो हुनेछ । 12 शेकेलचाहिं बिस गेरा होस् । साठी शेकेलको एक मीना हुनेछ । 13 तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ । 14 तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ (एक कोर दश बाथ हुन्छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो । 15 इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो । 16 देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् । 17 चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्चित गर्न पापबलि, अन्नबलि, होमबलि, र मेलबलिको प्रबन्ध गर्नेछन् । 18 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु । 19 पुजारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् । 20 हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौं दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्दिरको निम्ति प्रायश्चत गर्नेछौ । 21 पहिलो महिनाको चौधौं दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ । 22 त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् । 23 सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको । 24 अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ । 25 सातौं महिनाको पन्ध्रौं दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्: पापबलि, होमबलि, अन्नबलि, र तेलको बलि ।
Chapter 46
1 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: भित्री चोकको पूर्वपट्टि फर्किएको ढोका कामको हप्ताको छ दिनसम्म बन्द हुनेछ, तर शबाथको दिनमा त्यो खोलिनेछ र औंसीको दिनमा त्यो खोलिनेछ । 2 बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन । 3 शबाथ र औंसीमा देशका मानिसहरूले पनि यही ढोकामा परमप्रभुको आराधना गर्नेछन् । 4 शासकले परमप्रभुलाई शबाथ दिनमा चढाउने होमबलि छवटा निष्खोट थुमा र एउटा निष्खोट भेडो हुनेछ । 5 भेडोसँग चढाइने अन्नबलि एक एपा हुनेछ, र थुमासँग चढाइने अन्नबलि तिनले दिन चाहेजति हुनेछ, र अन्नको हरेक एपासँग एक हीन तेल होस् । 6 औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे, छवटा थुमा, र एउटा निष्खोट भेडो चढाउन् । 7 तिनले साँढेको निम्ति एक एपा, भेडोको निम्ति एक एपा, र थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्नबलि चढाउन्, र अन्नको हरेक एपाको निम्ति एक हीन तेल होस् । 8 जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ । 9 तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन्, तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ, र दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ । कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन, किनकि त्यो सिधै अगाडि जानुपर्छ । 10 शासक तिनीहरूका बिचमा हुनुपर्छ । तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ, र तिनीहरू बाहिर निस्कँदा, उनी पनि बाहिर निस्कनुपर्छ । 11 चाडहरूमा साँढेको निम्ति एक एपा, र भेडोको निम्ति एक एपा, र थुमाहरूका तिनले दिने गरेजति अन्नबलि होस्, र हरेक एपाको निम्त एक हीन तेल होस् । 12 जब शासकले स्वइच्छा भेटी चढाउँछन्, चाहे त्यो परमप्रभुको निम्ति होमबलि होस् वा मेलबलि, पूर्वपट्टि फर्केको ढोका तिनको निम्ति खोलिनेछ । तिनले शबाथ दिनमा झैं होमबलि वा मेलबलि चढाउनुपर्छ । तब तिनी बाहिर जानुपर्छ, र तिनी बाहिर गएपछि, त्यो ढोका बन्द गरिनेछ । 13 यसका अतिरक्त, तिमीहरूले दैनिक रूपमा परमप्रभुलाई एक वर्षे निष्खोट भेडो होमबलिको रूपमा चढाउनु । यो तिमीहरूले हरेक बिहान गर्नुपर्छ । 14 त्योसँगै तिमीहरूले हरेक बिहान अन्नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् । 15 तिनीहरूले थुमा, अन्नबलि र तेललाई हरेक बिहान तयार गर्नेछन् । यो सधैंको होमबलि हुनेछ । 16 परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ । त्यो तिनका छोराहरूका सम्पत्ति, अर्थात् उत्तराधिकार हुनेछ । 17 तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्छन् भने, स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ, र त्यसपछि त्यो उक्त शासकलाई फिर्ता हुनेछन् । तिनको उत्तराधिकार निश्चय पनि तिनका छोराहरूकै हुनेछ । 18 शासकले मानिसहरूका उत्तराधिकार कब्जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन। तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर-बितर हुनेछैनन् ।’” 19 त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्चिमतर्फ एउटा ठाउँ थियो । 20 तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्यसो गरे मानिसहरू पवित्र हुनेछन् ।” 21 तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें । 22 बाहिरी चोकको चार कुनामा चारवटा स-साना, चालिस हात लामो र तिस हात चौडा चोकहरू थिए । चारै चोकका एउटै नाप थियो । 23 ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो, र ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए । 24 ती मानिसले मलाई भने, “यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन् ।”
Chapter 47
1 त्यसपछि ती मानिसले मलाई फेरि मन्दिरको ढोकामा लगे, र पूर्वपट्टि मन्दिरको मन्दिरको सँघारमुनिबाट पानी बगिरहेको थियो, किनकि मन्दिरको अगाडिको भाग पूर्व फर्केको थियो, र पानीचाहिं मन्दिरको दक्षिणतिर, वेदीको दाहिनेतिर बगिरहेको थियो । 2 यसैले तिनले मलाई उत्तरी ढोकाबाट बाहिर निकाले, र पूर्वपट्टि फर्किएको ढिकाको वरिपरि डोर्याए, र त्यो ढोकाबाट दक्षिणतिर पानी बगिरहेको थियो । 3 ती मानिस पूर्वतिर गइरहँदा, तिनको हातमा एउटा नाप्ने टाँगो थियो । तिनले एक हजार हात नापे र तिनले मलाई त्यो पानीको बाटोहुँदै गोलिगाँठोसम्म पानी आउने ठाउँमा ल्याए । 4 त्यसपछि तिनले फेरि एक हजार हात नापे र मलाई पानीको बाटोहुँदै घुँडासम्म पानी आउने ठाउँमा ल्याए । अनि तिनले अर्को एक हजार हात नापे र मलाई कम्मरसम्म पानी आउने ठाउँमा ल्याए । 5 त्यसपछि तिनले एक हजार हात नापे, तर त्यहाँ एउटा नदी थियो जसलाई मैले तर्न सकिनँ किनभने पानी बढेको थियो र पौडिन मिल्ने गरी गहिरो थियो । त्यो तर्न नसकिने नदी थियो । 6 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, के तँ यो देख्न सक्छस्?” र तिनले मलाई बाहिर ल्याए र त्यो नदीको किनारमा हिंडाए । 7 जब म हिंड्दै थिएँ, नदीको दुवैपट्टिको किनारमा धेरै वटा रूखहरू थिए । 8 ती मानिसले मलाई भने, “यो पानी पूर्वी इलाकातिर र तल अराबामा जान्छ । यो पानी खारा समुद्रमा बगेर जान्छ र त्यसलाई ताजा बनाउँछ । 9 झुण्डमा बस्ने हरेक जीवित प्राणी त्यो पानी जहाँ-जहाँ जान्छ त्यहीं नै बस्नेछ । त्यहाँ धेरै माछा हुनेछन्, किनकि यो पानी त्यहाँ बग्छ । त्यसले नुनिलो पानीलाई ताजा बनाउनेछ । त्यो नदी जहाँ-जहाँ जान्छ हरेक कुरा बाँच्नेछ । 10 तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्तो महासमुद्रमा प्रशस्त माछाहरू हुन्छन् । 11 तर खारा समुद्रका दलदल र सिमसार भने ताजा बनाइनेछैन । तिनीहरू नून दिनका निम्ति रहनेछन् । 12 यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् । 13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ । 14 मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ । 15 महासमुद्रदेखि हेतलोनको बाटो भएर सदादसम्म उत्तरी भागमा देशको निम्ति सिमाना यही हुनेछ । 16 अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बिचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ । 17 यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ । 18 पूर्वपट्टि त्यो सिमाना हौरान र दमस्कसको बिचमा गिलाद र इस्राएल देशको बिचमा भएको यर्दन नदीको छेउमा हुनेछ । तिमीहरूले पूर्वी समुद्रको सिमानाबाट नाप्नुपर्छ । पूर्वी सिमानाचाहिं पूर्वी समुद्रसम्म हुनेछ । 19 अनि दक्षिण भागमा त्यो सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्मै, त्यसपछि मिश्रदेशको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्म जानेछ । योचाहिं दक्षिणको सिमाना हुनेछ । 20 अनि पश्चिमको सिमानाचाहिं लेबो-हमातको विपरित, महासमुद्रसम्म हुनेछ । योचाहिं पश्चिमको सिमाना हुनेछ । 21 यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ । 22 यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ । 23 अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
Chapter 48
1 कुलहरूका नाम यी नै हुन् । दानको कुलले देशको एक भाग पाउनेछ । त्यसको सिमाना इस्राएलको उत्तरी सिमाना भएर हेतलोन र लेबो-हमात हुँदै जानेछ । त्यसको सिमाना हसर-एनानसम्म र उत्तरमा दमस्कसको सिमाना र त्यसपछि हमातसम्म जानेछ । दानको सिमाना पूर्वदेखि महासमुद्रसम्म जानेछ । 2 दानको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, आशेरले एक भाग पाउनेछ । 3 आशेरको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, नप्तालीले एक भाग पाउनेछ । 4 नाप्तालीको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, मनश्शेले एक भाग पाउनेछ । 5 मनश्शेको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, एफ्राइमले एक भाग पाउनेछ । 6 एफ्राइमको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, रूबेनले एक भाग पाउनेछ । 7 रूबेनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, यहूदाले एक भाग पाउनेछ । 8 तिमीहरूले पवित्र रूपमा अलग गर्नुपर्ने जमिन यहूदाको सिमानासँग जोडिएको हुनेछ र त्यो पूर्वदेखि पश्चिमसम्म जान्छ । त्यो पच्चीस हजार हात चौडा हुनेछ । त्यसको लमाइ एउटा कुलको पूर्वदेखि पश्चिमसम्मको भागसँग बराबर हुनेछ, र मन्दिरचाहिं त्यसको बिचमा हुनेछ । 9 तिमीहरूले परमप्रभुको निम्ति पवित्र रूपमा अलग गर्ने यो जमिन पच्चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ । 10 पवित्र रूपमा अलग यो जमिनको काम यस्तो हुनेछ: पुजारीहरूका लागि उत्तर भागमा पच्चीस हजार हात लामो, पश्चिममा दश हजार हात चौडा, पूर्वमा दश हजार हात चौडा र दक्षिणमा पच्चीस हजार हात लामो जमिन हुनेछ । त्यसको बिचमा परमप्रभुको पवित्र ठाउँ हुनेछ । 11 सादोक वंशका पुजारीहरूका निम्ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्वस्ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् । 12 तिनीहरूका निम्ति यो अति पवित्र रूपमा जमिनको एक भाग दानको रूपमा अलग हुनेछ । यो लेवीहरूको सिमानालाई छुनेछ । 13 पुजारीहरूको जमिनको सिमानासँग जोडिएर लेवीहरूको जमिन पच्चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ । यी दुई जमिनका सम्पूर्ण क्षेत्र पच्चीस हजार हात लामो र बीस हजार हात चौडा हुनेछ । 14 तिनीहरूले त्यो बेच्नु वा सट्नु हुँदैन । इस्राएलको जमिनको यी पहिलो फलहरूमध्ये एउटा पनि यी सिमानबाट छुट्याउनुहुँदैन, किनकि यो सबै परमप्रभुको निम्ति पवित्र छ । 15 बाँकी जग्गामा, पाँच हजार हात चौडा र पच्चीस हजार हात लामो भागचाहिं, सहर, घरहरू र खर्कको जमिनको रूपमा प्रयोग हुनेछ । सहरचाहिं त्यसको बिचमा हुनेछ । 16 सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्चिमतिर ४,५०० हात लामो हुनेछ । 17 सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ । त्यो उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात, र पश्चिमतिर २५० हात हुनेछ । 18 पवित्र रूपमा अलग गर्ने जमिनको बाँकी क्षेत्र पूर्वमा दश हजार हात र पश्चिममा दश हजार हात हुनेछ । त्यो अलग गरिएको पवित्र जमिनको सिमानसँग जोडिएर जानेछ, र त्यसको उब्जनी त्यस सहरमा काम गर्ने मानिसहरूका निम्ति भोजन हुनेछ । 19 त्यस सहरमा काम गर्ने मानिसहरू अर्थात् इस्राएलका सबै कुलका मानिसहरूले त्यो जमिनमा खेती गर्नेछन् । 20 पवित्र रूपमा अलग गरिएको सबै जमिनको नाप पच्चीस हजार लामो र पच्चीस हजार चौडा हुनेछ । यसरी सहरको लागि छुट्याइएको जमिनसँग जोडिएको जमिनलाई तिमीहरूले पवित्र रूपमा अलग गर्नेछौ । 21 पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्चीस हजार हात हुनेछ र पश्चिममा पश्चिमी सिमानासम्म पच्चीस हजार हात हुनेछ । बिचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्यसको बिचमा पवित्र मन्दिर हुनेछ । 22 लेवीहरूका जमिनदेखि फैलेको जमिन र त्यसको बीचको सहरको क्षेत्र शासकको निम्ति हुनेछ । त्यो यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बिचमा हुनेछ । यो जमिन शासकको निम्ति हुनेछ । 23 बाँकी रहेका कुलहरूका बारेमा तिनीहरूका भाग पनि पूर्व देखि पश्चिमसम्म रहनेछ । बेन्यामीनले एउटा भाग पाउनेछ । 24 बेन्यामीनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, शिमियोनले एक भाग पाउनेछ । 25 शिमियोनको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, इस्साखारले एक भाग पाउनेछ । 26 इस्साखारको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, जबूलूनले एक भाग पाउनेछ । 27 जबूलूनको सिमानाको दक्षिणतिर, पूर्वदेखि पश्चिमसम्म, एक भाग गादको जमिन हुनेछ । 28 गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म, र मिश्रदेशका खोलाको छेउ-छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ । 29 जमिन यही हो जसको निम्ति तिमीहरूले चिठ्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्वरको घोषणा हो । 30 सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ, 31 इस्राएलका कुलहरूका नाउँमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका रूबेन, अर्को ढोका यहूदा र अर्को ढोका लेवीको लागि हुनेछ । 32 पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका योसेफ, अर्को ढोका बेन्यामीन, र अर्को ढोका दानको लागि हुनेछ। 33 दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ । 34 पश्चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नाप्तालीको लागि हुनेछ । 35 सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ । त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ, “परमप्रभु त्यहाँ हुनुहुन्छ ।”