एफिसि
Chapter 1
1
पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको एक प्रेरितबाट परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्ट येशूमा विश्वासयोग्य भएकाहरूलाई,
2
हाम्रा पिता परमेश्वर र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3
परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
4
यस संसारको सृष्टिभन्दा पहिले नै हामी ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले चुन्नुभयो । उहाँको दृष्टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्नुभयो ।
5
प्रेममा परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्न हुनुभयो ।
6
नतिजा यो हो, कि परमेश्वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ ।
7
अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ ।
8
पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रशस्त मात्रामा हामीलाई दिनुभएको थियो ।
9
परमेश्वरले आफ्नो इच्छा अनुसार ख्रीष्टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो ।
10
उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्टमा परमेश्वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।
11
येशू ख्रीष्टमा हामी परमेश्वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।
12
उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्वरले यो गर्नुभयो । हामी ख्रीष्टमा भरोसा राख्ने पहिलो व्यक्तिहरू थियौँ ।
13
ख्रीष्टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।
14
हामीले हाम्रो उत्तराधिकार प्राप्त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।
15
यसकारण प्रभु येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,
16
मैले तिमीहरूको लागि परमेश्वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन ।
17
म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
18
म यो प्रार्थना गर्दछु, कि हाम्रो बोलावटको निश्चयता के हो भनेर जान्नको निम्ति तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, र उहाँको निम्ति अलग गरिएकाहरूका बिचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्न सकोस् ।
19
हामी विश्वास गर्नेहरूमा उहाँको शक्तिको अत्याधिक महानताको विषयमा तिमीहरूले जान्न सकोस् भनेर म प्रार्थना गर्दछु । यो महानता उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो ।
20
यो यही शक्ति हो जुन परमेश्वरले ख्रीष्ट येशूलाई मृत्युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्टमा कार्य गर्दैथियो ।
21
उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्टलाई राख्नुभएको छ ।
22
परमेश्वरले सबै कुराहरू येशू ख्रीष्टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ ।
23
उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।
Chapter 2
1
तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ ।
2
यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ । यो त्यसको आत्मा हो, जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्दछ ।
3
हामी एकपल्ट यी सबै अविश्वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्थ्यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।
4
तर परमेश्वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।
5
जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्टमा नयाँ जीवनमा ल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ ।
6
ख्रीष्ट येशूमा हामीलाई परमेश्वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ ।
7
आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ ।
8
किनकि तिमीहरू अनुग्रहबाट विश्वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्वरको उपहार हो ।
9
कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।
10
किनकि हामीहरू परमेश्वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ ।
11
त्यसकारण यो कुरा सम्झ, कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौ । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे ।
12
किनकि त्यो समयमा तिमीहरू ख्रीष्टबाट अलगिएका थियौ । इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ । तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ । तिमीहरूको भविष्यको कुनै निश्चयता थिएन । तिमीहरू परमेश्वर बिना यस संसारमा थियौ ।
13
तिमीहरू एक समय परमेश्वरबाट टाढा भएकाहरू, अब येशू ख्रीष्टको रगतद्वारा ख्रीष्ट येशूमा परमेश्वरसँग नजिक ल्याइएका छौ ।
14
किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् ।
15
अर्थात्, उहाँमा नै एउटा नयाँ मानिस सृष्टि गर्न, उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो । उहाँले मिलाप गराउनुभयो ।
16
उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो । क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो ।
17
येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो ।
18
किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।
19
त्यसकारण, तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको सँगी नागरिकहरू हौ र परमेश्वरको परिवारका सदस्यहरू हौ ।
20
तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ ।
21
येशू ख्रीष्टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ ।
22
अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।
Chapter 3
1
यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्टको एक कैदी हुँ ।
2
तिमीहरूका निम्ति परमेश्वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु ।
3
मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्त रूपमा लेखेको कुरा एउटा गुप्त सत्यता हो ।
4
जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्टिको बारेमा तिमीहरूले बुझ्न सक्ने छौ ।
5
यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
6
यो गुप्त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् ।
7
उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु ।
8
परमेश्वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
9
सबै मानिसहरूलाई परमेश्वरको गुप्त योजनाको बारेमा मैले स्पष्ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो ।
10
परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।
11
हाम्रा प्रभु, ख्रीष्ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ ।
12
किनभने ख्रीष्टमा, उहाँमाथि हाम्रो विश्वासको कारण हामीले साहस र आत्मविश्वास पाएका छौँ ।
13
यसकारण, तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्दछु । त्यो तिमीहरूका निम्ति महिमा हो ।
14
यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,
15
जसको पछाडि स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ ।
16
उहाँको महिमाको प्रशस्तता अनुसार तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माको शक्तिद्वारा उहाँले तिमीहरूलाई मजबूत गराऊन् भनेर म प्रार्थना गर्दछु ।
17
तिमीहरूको विश्वासद्वारा येशू ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून् भनेर म प्रार्थना गर्दछु । उहाँको प्रेममा तिमीहरूले जरा गाडी जग बसाल्न सकोस् भनेर म प्रार्थना गर्दछु ।
18
ताकि, उहाँको प्रेममा सबै विश्वासीहरू सँगै ख्रीष्टको प्रेमको चौडाई, लम्बाई, उचाई र गहिराई तिमीहरूले बुझ्न सकोस् ।
19
तिमीहरूले ख्रीष्टको प्रेमको महानतालाई बुझ्न सकोस् भनेर म प्रार्थना गर्दछु, जुन ज्ञान भन्दा उत्तम छ । तिमीहरू परमेश्वरको समपूर्णताले भरिन सक भनेर यसो गर ।
20
अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्नुहुने उहाँलाई,
21
ख्रीष्ट येशूमा भएका सबै पुस्ताहरूद्वारा र मण्डलीमा उहाँलाई सदासर्वदा युग-युग सम्म महिमा होस् ! आमेन ।
Chapter 4
1
यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु ।
2
ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।
3
आत्माको एकतालाई शान्तिको बन्धनमा राख्नलाई उत्कृष्ट तरिकाले प्रयत्न गर ।
4
शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै निश्चित आशामा बोलाइएका थियौ ।
5
प्रभु एउटै हुनुहुन्छ, विश्वास एउटै हो, र बप्तिसमा पनि,
6
र सबैका पिता, परमेश्वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
7
हामी हरेकलाई ख्रीष्टको वरदानको नापअनुसार वरदान दिइएको छ ।
8
जसरी धर्मशास्त्रले भन्दछः “जब उहाँ उच्च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”
9
“उहाँ उच्च स्थानमा जानुभयो” भन्ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो ?
10
उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।
11
ख्रीष्टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।
12
ख्रीष्टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।
13
विश्वासको एकता र परमेश्वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।
14
हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।
15
बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ ।
16
ख्रीष्टले विश्वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।
17
त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।
18
तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्वरको जीवनबाट अलग गरिएका छन् ।
19
तिनीहरूमा शर्म छैन । अशुद्ध कुराहरूमाथि कामुकता र हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन् ।
20
तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्टको बारेमा जानेका होइनौ ।
21
तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी म ठान्दछु । ख्रीष्टमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी म ठान्दछु ।
22
तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्ट भइरहेका छौ ।
23
तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।
24
परमेश्वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो ।
25
त्यसैले असत्यतालाई त्याग । “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ ।
26
“रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।
27
दुष्टलाई मौका नदेओ ।
28
चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् ।
29
तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
30
र परमेश्वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।
31
सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्टता तिमीहरूले त्याग्नुपर्छ ।
32
एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।
Chapter 5
1
त्यसकारण परमेश्वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
2
र ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्वरको निम्ति सुगन्धित सुवास्ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
3
जस्तो विश्वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।
4
नकि अश्लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।
5
तिमीहरूले यो निश्चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।
6
तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्वरको क्रोध आउनेछ ।
7
यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।
8
किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।
9
किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ ।
10
परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।
11
अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
12
किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।
13
सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,
14
किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।”
15
त्यसकारण तिमी कसरी हिँड्छौ भन्ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
16
समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
17
मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
18
र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।
19
एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।
20
येशू ख्रीष्टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्वरलाई धन्यवाद चढाओ ।
21
ख्रीष्टको आदरको लागि एकअर्काको अधिनमा रहो ।
22
पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
23
किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।
24
तर जसरी मण्डली ख्रीष्टप्रति समर्पित छ, त्यसरी नै पत्नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।
25
पतिहरू हो, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्नीहरूलाई प्रेम गर ।
26
उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।
27
दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
28
यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।
29
कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ ।
30
किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
31
“यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”
32
यो एउटा महान् गुप्त सत्यता हो, तर मैले ख्रीष्ट र उहाँको मण्डलीको बारेमा बताइरहेको छु ।
33
तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्नीले पतिलाई सम्मान गर्नुपर्छ ।
Chapter 6
1
छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।
2
“आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।
3
“ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्न सक ।”
4
र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।
5
दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।
6
आफ्ना मालिकले देख्ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्वरको इच्छालाई पूरा गर ।
7
मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।
8
तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् ।
9
र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्ने कुरा जान ।
10
अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्यको शक्तिमा बलियो होओ ।
11
परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
12
किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्टात्माहरूको विरूद्धमा हो ।
13
यसकारण परमेश्वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्ट समयमा दुष्टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
14
यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर ।
15
आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर ।
16
सबै परिस्थितिहरूमा विश्वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्टका सबै अग्निवाणहरू निभाउन सक्नेछौ ।
17
र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्वरको वचन हो ।
18
सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्नसाथ यही मन सँगै सतर्क भइराख ।
19
र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ ।
20
सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
21
तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।
22
मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
23
परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् ।
24
कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।