२ थेसलोनिकी
Chapter 1
1
पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई,
2
परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति ।
3
भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
4
त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
5
यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।
6
तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो,
7
र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
8
जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
9
तिनीहरूले प्रभु र उहाँको शक्तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्नेछन्,
10
तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
11
यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्वासको हरेक काम शक्तिद्वारा पुरा गरून् ।
12
हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
Chapter 2
1
अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ,
2
कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर
3
तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन ।
4
यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्वरको विरोध गर्दछ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ ।
5
म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ ?
6
अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ ।
7
किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्न ।
8
त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ ।
9
शैतानका सबै शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ ।
10
त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् ।
11
यसकारण, तिनीहरूले झुटो विश्वास गरून् भनी परमेश्वरले भ्रमको काम पठाई रहनुभएको छ,
12
ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्वास नगर्ने सबैको न्याय होस् ।
13
प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्वरले आत्माको शुद्धतामा र सत्यताको विश्वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्नुभयो,
14
हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
15
यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
16
अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले,
17
हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।
Chapter 3
1
अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको थियो ।
2
र हामी दुष्ट र ईश्वरहीन मानिसहरूबाट छुटकारा हुन सकौँ, किनकि सबैसँग विश्वास छैन ।
3
तर हाम्रा प्रभु विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ ।
4
हामी तिमीहरूप्रति प्रभुमा विश्वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ ।
5
प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम, ख्रीष्टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।
6
अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।
7
तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बिचमा अल्छीपना देखाएनौँ,
8
न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्यौँ, रातदिन काम गर्यौँ ।
9
यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।
10
हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” ।
11
किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् ।
12
यस्ताहरूलाई हामी ख्रीष्ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् ।
13
तर तिमी भाइहरू हो, हृदयलाई जे असल छ त्यो गर्नबाट वञ्चित नगर,
14
यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।
15
उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
16
शान्तिका परमेश्वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् ।
17
यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्ने चिन्ह हो ।
18
हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।