१. सृष्टि
सबै कुराको सुरुवात यसरी भयो । परमेश्वरले सारा संसारमा र त्यसमा भएका सम्पूर्ण थोकहरू ६ दिनमा सृष्टि गर्नुभयो । परमेश्वरले पृथ्वीको सृष्टि गर्नुभयो जुन अन्धकार र शुन्य थियो, अनि त्यसमा कुनै पनि थोकहरू सृष्टि गरिएको थिएन । तर परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहनुभएको थियो ।
तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस् !” अनि उज्यालो भयो । अनि परमेश्वरले हेर्नुभयो र त्यो असल देख्नुभयो अनि त्यसलाई “दिन” भन्नुभयो । उहाँले त्यसलाई अन्धकारबाट अलग गर्नुभयो, जसलाई उहाँले “रात” भन्नुभयो । परमेश्वरले सृष्टिको पहिलो दिनमा दिन र रातलाई बनाउनुभयो ।
सृष्टिको दोस्रो दिनमा, परमेश्वरले भन्नुभयो र पृथ्वीमाथि आकाश सृष्टि गर्नुभयो । उहाँले पृथ्वीमाथि र पृथ्वीमुनि भएको पानीलाई अलग गरेर आकाश बनाउनुभयो ।
तेस्रो दिनमा, परमेश्वरले भन्नुभयो र पानीलाई सुख्खा भूमिबाट अलग गर्नुभयो । उहाँले सुख्खा भूमिलाई “पृथ्वी” भन्नुभयो, र पानीलाई “समुद्र” भन्नुभयो । आफूले सृष्टि गर्नुभएका सबै कुराहरू परमेश्वरले हेर्नुभयो र त्यो असल थियो ।
त्यसपछि परमेश्वरले भन्नुभयो, “पृथ्वीले हरेक प्रकारका वनस्पतिहरू उमारुन् ।” अनि त्यस्तै भयो । परमेश्वरले देख्नुभयो कि उहाँले बनाउनुभएका सबै थोकहरू असल थिए ।
सृष्टिको चौथो दिन, परमेश्वरले भन्नुभयो र सूर्य, चन्द्रमा र ताराहरू बनाउनुभयो । परमेश्वरले तिनीहरूलाई पृथ्वीलाई ज्योति दिन, अनि दिन र रात छुट्याउन, ऋतुहरू र वर्षहरू छुट्याउन को निम्ति बनाउनुभयो । अनि परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो ।
पाचौँ दिन, परमेश्वरले भन्नुभयो र पानीमा पौडीने सबै थोकहरू अनि सबै किसिमका पंक्षीहरू बनाउनुभयो । परमेश्वरले तिनीहरूलाई हेर्नुभयो र असल देख्नुभयो, अनि उहाँले तिनीहरूलाई आशिष् दिनुभयो ।
सृष्टिको छैठौँ दिनमा, परमेश्वरले भन्नुभयो, “त्यहाँ हरेक प्रकारका जमिनमा हिँड्ने जीवजन्तुहरू होऊन् ।” अनि परमेश्वरले भन्नुभए जस्तै भइहाल्यो । केही जनावरहरू घरपालुवा थिए, केही जमिनमा घस्रन्थे, अनि केही चाहिँ जङ्गली थिए । परमेश्वरले देख्नुभयो कि त्यो असल थियो ।
त्यसपछि परमेश्वरले भन्नुभयो, “हामी मानिसलाई हाम्रै स्वरूपमा हामी जस्तै हुनको निम्ति बनाऔँ । उनीहरूले समस्त पृथ्वीमा र पृथ्वीमा भएका जीवजन्तुहरूमाथि अधिकार गर्नेछन् ।”
त्यसैले परमेश्वरले भूमिबाट केही माटो लिनुभयो, र त्यसलाई मानिसको आकार दिनुभयो, अनि त्यसमा जीवनको स्वास् हालिदिनुभयो । यस मानिसको नाउँ आदम थियो । परमेश्वरले एउटा बगैँचा बनाउनुभयो जहाँ आदम रहन सक्थे । बगैँचाको हेरचाह गर्न परमेश्वरले उनलाई त्यहाँ राख्नुभयो ।
बगैँचाको बीच भागमा, परमेश्वरले दुईवटा विशेष रूखहरू रोप्नुभयो-जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख । परमेश्वरले आदमलाई भन्नुभयो कि सबै रूखका फलहरू निसंकोच मानेर खानु तर असल र खराबको ज्ञान दिने रूखको फल नखानू । यदि उसले त्यस रूखबाट फल खाएमा ऊ मर्ने थियो ।
अनि परमेश्वरले भन्नुभयो, “मानिस एक्लो रहन असल छैन ।” तर त्यहाँ भएको कुनै पनि जनावर आदमको सहयोगी बन्न सकेनन् ।
त्यसैले परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो । अनि परमेश्वरले आदमको करङहरू मध्येबाट एउटा करङ लिनुभयो र त्यसबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई आदमकहाँ ल्याउनुभयो ।
जब आदमले तिनलाई देखे, उनले भने, “अन्तत् ! यिनीचाहिँ म जस्तै छिन् ! यिनलाई ‘ स् त्री ’ भनी बोलाइनेछ किनभने यिनी पुरुषबाट बनाइएकी थिइन् ।” यसैकारण एउटा पुरुषले आफ्ना आमा र बुबालाई छाेडेर आफ्नी श्रीमतीसँग एक भएर रहन्छ ।
परमेश्वरले पुरुष र स् त्री लाई आफ्नै स्वरूपमा बनाउनुभयो । उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “धेरै सन्तानहरू जन्माओ र पृथ्वीमा भरिदैजाऔँ ।” अनि परमेश्वरले आफूले बनाउनुभएका सबै थोकहरू असल देख्नुभयो, अनि यी सबैद्वारा उहाँ प्रसन्न हुनुभयो । यी सबै सृष्टिको छैठौँ दिन सम्म भएका थिए ।
जब सातौँ दिन आयो, परमेश्वरले आफ्ना सबै कामहरू सिध्याइसक्नु भएको थियो । त्यसैले आफ्ना सबै कामहरूबाट उहाँले विश्राम लिनुभयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र पवित्र तुल्याउनुभयो, किनकि त्यस दिन उहाँले आफ्नो कामबाट विश्राम लिनुभयो । यसरी परमेश्वरले सारा संसार र त्यसमा भएका सबै कुराको सृष्टि गर्नुभयो ।
बाइबलको कथा : उत्पत्ती १-२ बाट