३९. महासभाको सम्मुख येशू
मध्यरातको समय थियो । सेनाहरूले सोध्पुछको निम्ति येशूलाई प्रधान पूजाहारीको घरमा लगे । पत्रुसले टाढैबाट तिनीहरूलाई पछ्याइरहेका थिए । जब येशूलाई घरभित्र लगियो, पत्रुसचाहिँ बाहिरै बसे र आगो ताप्दै आफैँलाई न्यानो पारे ।
येशूलाई घरभित्र, यहूदी अगुवाहरूले महासभाको सामुन्ने राखे । तिनीहरूले धेरै झूटा साक्षीहरू ल्याए, जसले उहाँको बारेमा झूट बोले । तथापि, तिनीहरूको बयान एक-अर्कासँग मिल्दोजुल्दो थिएन, तसर्थ यहूदी अगुवाहरूले उहाँलाई कुनै कुरामा दोषी प्रमाणित गर्न सकेनन् । येशूले केही बोल्नुभएन ।
अन्त्यमा, प्रधान पूजाहारीले सिधै येशूतिर हेरे र भने, “हामीलाई भन, के तिमी मसिह हौ, जीवित परमेश्वरका पुत्र ?”
येशूले भन्नुभयो, “म हुँ, तपाईंले मलाई परमेश्वरसँग बसिरहेको र स्वर्गबाट आउँदै गरेको देख्नुहुनेछ ।” प्रधान-पूजाहारीले रिसमा आफ्ना वस्त्रहरू च्याते र अरू धार्मिक अगुवाहरूलाई यसो भनेर कराए, “हामीलाई अरू कुनै गवाही चाहिँदैन ! तिमीहरूले यसले भनेको सुनेका छौँ, कि यिनी परमेश्वरका पुत्र हुन् । तिमीहरूको के निर्णय छ ?”
सबै यहूदी अगुवाहरूले जवाफ दिए, “यो मारिन योग्यको छ !” अनि तिनीहरूले येशूको आखाँमा पट्टी बाँधिदिए, उहाँलाई थुके, कुटे, र गिज्याए ।
जब पत्रुस घरबाहिर पर्खेर बसिरहेका थिए, एकजना नोकर्नीले उनलाई देखिन् र भनिन् , “तिमी पनि येशूसँगै थियौ !” पत्रुसले त्यो इन्कार गरे । पछि, अर्की स्त्रीले पनि त्यसै भनिन्, अनि पत्रुसले फेरि इन्कार गरे । अन्ततः मानिसहरूले भने, “हामीलाई थाहा छ कि तिमी येशूसँगै थियौ किनकि तिमीहरू दुवैजना गालीलका हौ ।”
अनि पत्रुसले यसो भनि वाचा गरे, “यदि मैले यस मानिसलाई चिनेको रहेछु भने परमेश्वरले मलाई श्राप दिऊन् !” तुरुन्तै, भाले बास्यो, अनि येशू फनक्क फर्कनुभयो र पत्रुसलाई हेर्नुभयो ।
पत्रुस त्यहाँबाट अन्तै गए र रोए । यसैबीच, त्यस विश्वासघाती यहूदाले यहूदी अगुवाहरूले येशूलाई मार्नको निम्ति दोष्याइरहेको देखे । यहूदा शोकले भरिए अनि त्यहाँबाट अन्तै गए र आत्महत्या गरे ।
अर्को बिहान सबेरै, यहूदी अगुवाहरूले येशूलाई रोमी राज्यपाल, पिलातसको सामु ल्याए । तिनीहरूले यो आशा गरेका थिए कि पिलातसले येशूलाई दोषी ठहराउनेछन् र उहाँलाई मृत्युदण्डको सजाय दिनेछन् । पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?”
येशूले जवाफ दिनुभयो, “तपाईंनै त्यसो भन्नुहुन्छ, तर मेरो राज्यचाहिँ संसारको राज्य होइन । यदी त्यसो हुँदो हो त, मेरा सेवकहरूले मेरो निम्ति लडाइँ गर्नेथिए । म संसारमा परमेश्वरको सत्यता बताउन आएको हुँ । सबैजना जसले सत्यतालाई प्रेम गर्छन्, तिनीहरूले मेरो कुरा सुन्छन् ।” पिलातसले भने, “सत्य के हो ?”
येशूसँग कुरा गरिसकेपछि, पिलातस बाहिर भीडकहाँ गए र भने, “म यस मानिसमा कुनै दोष भेट्टाउँदिन ।” तर यहूदी अगुवाहरू र भीडले यसो भन्दै कराए, “उसलाई क्रूसमा चढाउनुहोस् !” पिलातसले जवाफ दिए, “ऊ दोषी छैन ।” तर उनीहरू अझ चर्को स्वरमा कराउन लागे । त्यसपछि पिलातसले तेस्रोपटक भने, “ऊ दोषी छैन !”
भीडले अब दंगा मच्चाउन लाग्ने भयो भनी चाल पाएर पिलातस डराए । त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई क्रूसमा चढाउने आदेश दिए । रोमी सिपाहीहरूले येशूलाई कोर्रा लगाए र राजकीय पोशाक अनि काडाँहरूले बनाएको मुकुट उहाँलाई लगाइदिए । त्यसपछि तिनीहरूले उहाँलाई यसो भनेर गिज्याए, “हेर, यहूदीहरूका राजा !”
बाइबलको कथा: मत्ती २६:५७-२७:२६; मर्कूस १४:५३-१५:१५; लूका २२:५४-२३:२५; यूहन्ना १८:१२-१९:१६ बाट