१. सृष्टि
सबै कुराको सुरुवात यसरी भयो । परमेश्वरले सारा संसारमा र त्यसमा भएका सम्पूर्ण थोकहरू ६ दिनमा सृष्टि गर्नुभयो । परमेश्वरले पृथ्वीको सृष्टि गर्नुभयो जुन अन्धकार र शुन्य थियो, अनि त्यसमा कुनै पनि थोकहरू सृष्टि गरिएको थिएन । तर परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहनुभएको थियो ।
तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस् !” अनि उज्यालो भयो । अनि परमेश्वरले हेर्नुभयो र त्यो असल देख्नुभयो अनि त्यसलाई “दिन” भन्नुभयो । उहाँले त्यसलाई अन्धकारबाट अलग गर्नुभयो, जसलाई उहाँले “रात” भन्नुभयो । परमेश्वरले सृष्टिको पहिलो दिनमा दिन र रातलाई बनाउनुभयो ।
सृष्टिको दोस्रो दिनमा, परमेश्वरले भन्नुभयो र पृथ्वीमाथि आकाश सृष्टि गर्नुभयो । उहाँले पृथ्वीमाथि र पृथ्वीमुनि भएको पानीलाई अलग गरेर आकाश बनाउनुभयो ।
तेस्रो दिनमा, परमेश्वरले भन्नुभयो र पानीलाई सुख्खा भूमिबाट अलग गर्नुभयो । उहाँले सुख्खा भूमिलाई “पृथ्वी” भन्नुभयो, र पानीलाई “समुद्र” भन्नुभयो । आफूले सृष्टि गर्नुभएका सबै कुराहरू परमेश्वरले हेर्नुभयो र त्यो असल थियो ।
त्यसपछि परमेश्वरले भन्नुभयो, “पृथ्वीले हरेक प्रकारका वनस्पतिहरू उमारुन् ।” अनि त्यस्तै भयो । परमेश्वरले देख्नुभयो कि उहाँले बनाउनुभएका सबै थोकहरू असल थिए ।
सृष्टिको चौथो दिन, परमेश्वरले भन्नुभयो र सूर्य, चन्द्रमा र ताराहरू बनाउनुभयो । परमेश्वरले तिनीहरूलाई पृथ्वीलाई ज्योति दिन, अनि दिन र रात छुट्याउन, ऋतुहरू र वर्षहरू छुट्याउन को निम्ति बनाउनुभयो । अनि परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो ।
पाचौँ दिन, परमेश्वरले भन्नुभयो र पानीमा पौडीने सबै थोकहरू अनि सबै किसिमका पंक्षीहरू बनाउनुभयो । परमेश्वरले तिनीहरूलाई हेर्नुभयो र असल देख्नुभयो, अनि उहाँले तिनीहरूलाई आशिष् दिनुभयो ।
सृष्टिको छैठौँ दिनमा, परमेश्वरले भन्नुभयो, “त्यहाँ हरेक प्रकारका जमिनमा हिँड्ने जीवजन्तुहरू होऊन् ।” अनि परमेश्वरले भन्नुभए जस्तै भइहाल्यो । केही जनावरहरू घरपालुवा थिए, केही जमिनमा घस्रन्थे, अनि केही चाहिँ जङ्गली थिए । परमेश्वरले देख्नुभयो कि त्यो असल थियो ।
त्यसपछि परमेश्वरले भन्नुभयो, “हामी मानिसलाई हाम्रै स्वरूपमा हामी जस्तै हुनको निम्ति बनाऔँ । उनीहरूले समस्त पृथ्वीमा र पृथ्वीमा भएका जीवजन्तुहरूमाथि अधिकार गर्नेछन् ।”
त्यसैले परमेश्वरले भूमिबाट केही माटो लिनुभयो, र त्यसलाई मानिसको आकार दिनुभयो, अनि त्यसमा जीवनको स्वास् हालिदिनुभयो । यस मानिसको नाउँ आदम थियो । परमेश्वरले एउटा बगैँचा बनाउनुभयो जहाँ आदम रहन सक्थे । बगैँचाको हेरचाह गर्न परमेश्वरले उनलाई त्यहाँ राख्नुभयो ।
बगैँचाको बीच भागमा, परमेश्वरले दुईवटा विशेष रूखहरू रोप्नुभयो-जीवनको रूख अनि असल र खराबको ज्ञान दिने रूख । परमेश्वरले आदमलाई भन्नुभयो कि सबै रूखका फलहरू निसंकोच मानेर खानु तर असल र खराबको ज्ञान दिने रूखको फल नखानू । यदि उसले त्यस रूखबाट फल खाएमा ऊ मर्ने थियो ।
अनि परमेश्वरले भन्नुभयो, “मानिस एक्लो रहन असल छैन ।” तर त्यहाँ भएको कुनै पनि जनावर आदमको सहयोगी बन्न सकेनन् ।
त्यसैले परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो । अनि परमेश्वरले आदमको करङहरू मध्येबाट एउटा करङ लिनुभयो र त्यसबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई आदमकहाँ ल्याउनुभयो ।
जब आदमले तिनलाई देखे, उनले भने, “अन्तत् ! यिनीचाहिँ म जस्तै छिन् ! यिनलाई ‘ स् त्री ’ भनी बोलाइनेछ किनभने यिनी पुरुषबाट बनाइएकी थिइन् ।” यसैकारण एउटा पुरुषले आफ्ना आमा र बुबालाई छाेडेर आफ्नी श्रीमतीसँग एक भएर रहन्छ ।
परमेश्वरले पुरुष र स् त्री लाई आफ्नै स्वरूपमा बनाउनुभयो । उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र भन्नुभयो, “धेरै सन्तानहरू जन्माओ र पृथ्वीमा भरिदैजाऔँ ।” अनि परमेश्वरले आफूले बनाउनुभएका सबै थोकहरू असल देख्नुभयो, अनि यी सबैद्वारा उहाँ प्रसन्न हुनुभयो । यी सबै सृष्टिको छैठौँ दिन सम्म भएका थिए ।
जब सातौँ दिन आयो, परमेश्वरले आफ्ना सबै कामहरू सिध्याइसक्नु भएको थियो । त्यसैले आफ्ना सबै कामहरूबाट उहाँले विश्राम लिनुभयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र पवित्र तुल्याउनुभयो, किनकि त्यस दिन उहाँले आफ्नो कामबाट विश्राम लिनुभयो । यसरी परमेश्वरले सारा संसार र त्यसमा भएका सबै कुराको सृष्टि गर्नुभयो ।
बाइबलको कथा : उत्पत्ती १-२ बाट
२. संसारमा पापको प्रवेश
परमेश्वरले उनिहरूकै लागि बनाउनुभएको सुन्दर बगैँचामा आदम र हव्वा धेरै खुशीका साथ बसिरहेका थिए । दुवैजना कुनै वस्त्रबिना नै बस्थे, तापनि यस कुरामा उनीहरूलाई कुनै लाज थिएन, किनकि संसारमा कुनै पाप थिएन । उनीहरू प्राय बगैँचामा डुल्ने र परमेश्वरसँग कुराकानी गर्दथे ।
तर त्यस बगैंचामा एउटा धूर्त सर्प थियो । उसले स्त्रीलाई सोध्यो, “के साँच्चै परमेश्वरले तिमीलाई यहाँ भएका मध्ये कुनै पनि रूखको फल नखानु भन्नुभएको छ ?”
स्त्रीले जवाफ दिइन्, “परमेश्वरले हामीलाई असल र खराबको ज्ञान छुट्याउने रूखको फल बाहेक अरू कुनैपनि रूखको फल खान हुन्छ भन्नुभएको छ । परमेश्वरले हामीलाई भन्नुभएको छ, यदि तिमीले त्यस रूखको फल खाएमा अथवा छोए मात्रै पनि तिमी मर्नेछौ ।”
त्यस सर्पले स्त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन ! तिमीहरू मर्ने छैनौ । परमेश्वरलाई थाहा छ कि तिमीले त्यस रूखको फल खाने बित्तिकै, तिमी पनि परमेश्वरजस्तै हुनेछौ अनि उहाँ जस्तै असल र खराब जान्नेछौ ।”
स्त्रीले त्यो फल हेर्नमा सुन्दर र स्वादिलो देखिन् । उनी पनि बुद्धिमान् हुन चाहना गरिन्, त्यसैले उनले बगैंचाबाट केही फलहरू टिपिन् र खाइन् । उनले केही फल आफ्नो पतिलाई पनि दिइन्, जो उनीसँगै थिए, र उसले पनि त्यो फल खाए ।
अचानक, उनीहरूका आँखाहरू खोलिए, अनि आफूहरू नाङ्गो भएको उनीहरूले चाल पाए । उनीहरूले पातहरूलाई बुनेर वस्त्र बनाई आफ्ना शरीरलाई ढाक्न खोजे ।
तब मानिस र उनकी पत्नीले परमेश्वर बगैँचाबाट भएर हिँड्दै गर्नुभएको आवाज सुने । उनीहरू दुवैजना परमेश्वरबाट लुके । अनि परमेश्वरले मानिसलाई बोलाएर भन्नुभयो, “तँ कहाँ छस् ?” आदमले जवाफ दिए, “मैले तपाईं बगैंचामा हिँड्दै गर्नुभएको सुनेँ, अनि म डराएँ, किनकि म नाङ्गो थिएँ । त्यसैले म लुकेँ ।”
अनि परमेश्वरले सोध्नुभयो, “त नाङ्गो छस् भनेर तँलाई कसले भन्यो ? के मैले नखानु भनेको फल तैँले खाइस् ?” मानिसले जवाफ दियो, “तपाईंले दिनुभएको स्त्रीले मलाई यो फल दिइन् ।” अनि परमेश्वरले स्त्रीलाई सोध्नु भयो , “तैँले यो के गरिस् ?” स्त्रीले जवाफ दिइन, “त्यो सर्पले मलाई झुक्यायो ।”
परमेश्वरले सर्पलाई भन्नुभयो, “तँ श्रापित भएको छस् ! तँ तेरो पेटले घस्रने छस् र तैले माटो खानेछस् । तँ र स्त्रीले एक अर्कालाई घृणा गर्नेछौ र तेरो र स्त्रीको सन्तानले पनि एक-अर्कालाई घृणा गर्नेछन् । यस स्त्रीको सन्तानले तेरो शिर कुच्याउने छ, अनि तैँले उसको कुर्कुच्चा डस्नेछस् ।”
त्यसपछि परमेश्वरले स्त्रीलाई भन्नुभयो, “म तेरो सुत्केरी वेदना धेरै बढाइदिनेछु । तापनि तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँमाथि अधिकार गर्नेछ ।”
परमेश्वरले मानिसलाई भन्नुभयो, “तैँले आफ्नी श्रीमतीको कुरा सुनेर मेरो आज्ञा नमानेको हुनाले यो भूमि तेरो कारणले श्रापित भएको छ । खानको निम्ति तैँले कडा परिश्रम गर्नुपर्नेछ । त्यसपछि तँ मर्नेछस् , र तेरो शरीर माटोमै मिल्नेछ ।” मानिसले आफ्नी श्रीमतीको नाउँ हव्वा राखे, जसको अर्थ हो “जीवन दिने”, किनकि तिनी सबै जातिका मानिसहरूका आमा कहलाइन् । अनि परमेश्वरले आदम र हव्वालाई पशुको छालाको लुगा बनाई लगाइदिनुभयो ।
अनि परमेश्वरले भन्नुभयो, “अब मानिसहरू पनि हामीजस्तै असल र खराब जान्ने भएका छन्”, त्यसैले तिनीहरूले अब जीवनको रूखको फल खाएर तिनीहरू सधैँभरि जीवित रहन नपाऊन् भनि परमेश्वरले आदम र हव्वालाई त्यस सुन्दर बगैँचाबाट निकालिदिनुभयो । परमेश्वरले जीवनको रूखको निगरानी गर्नको लागि शक्तिशाली स्वर्गदूतहरूलाई बगैँचाको मूलढोकामा पहरेदारको रूपमा खटाउनुभयो ।
बाइबलको कथा : उत्पत्ति ३ बाट
३. जलप्रलय
धेरै समयपछि, संसारमा धेरै मानिसहरू भए । उनीहरू ज्यादै दुष्ट र हिंसात्मक हुँदै गएका थिए । यो अब यति धेरै खराब भयो कि परमेश्वरले सारा संसारलाई एउटा विशाल जलप्रलयले नष्ट गर्ने निधो गर्नुभयो ।
तर नोआले परमेश्वरबाट निगाह पाए । दुष्ट मानिसहरूका बीचमा उनी एउटा धर्मी व्यक्ति थिए । परमेश्वरले नोआलाई आफूले पठाउन लाग्नुभएको जलप्रलयको बारेमा बताउनुभयो । उहाँले नोआलाई एउटा ठुलो जहाज बनाउन लगाउनुभयो ।
परमेश्वरले नोआलाई करिब १४० मिटर लामो, २३ मिटर चौडाई, र १३.५ मिटर अग्लो जहाज बनाउन भन्नुभयो । नोआले त्यस जहाजलाई काठको प्रयोग गरी ३ तहमा बनाउनुपर्ने थियो जहाँ धेरै कोठाहरू, छत र झ्यालहरू हुनुपर्थ्यो । त्यस जहाजमा नोआ, उनका परिवार, र हरेक किसिमका जमिनमा बस्ने जनावरहरू जलप्रलयको समयमा सुरक्षित रहनु पर्ने थियो ।
नोआले परमेश्वरको आज्ञा माने । नोआ र उनका तीन छोराहरूले परमेश्वरले भन्नुभएजस्तै जहाज बनाए । जहाज एकदमै ठूलो भएकोले त्यसलाई बनाउन धेरै वर्ष लागेको थियो । नोआले मानिसहरूलाई जलप्रलयको चेतावनी दिए र तिनीहरूलाई परमेश्वरतर्फ फर्किन सचेत गराए, तर तिनीहरूले उनको कुरामा विश्वास गरेनन् ।
परमेश्वरले नोआलाई, उनका परिवार र जनावरहरूलाई चाहिनेजति खानेकुरा जम्मा गर्न लगाउनुभयो । जब सबै कुरा तयार भयो, परमेश्वरले नोआलाई अब समय आएको छ भन्नुभयो र ऊ, उनकी श्रीमती, उनका तीन छोराहरू र उनीहरूका पत्नीहरू सबैलाई जहाजमा जान भन्नुभयो (उनीहरू जम्मा गरी आठ जना थिए) ।
परमेश्वरले भाले र पोथी गरी सबै किसिमका पशुपंक्षीको एक-एक जोडी नोआकहाँ पठाउनुभयो ताकि जलप्रलयको समयमा ती सबै जहाजमा सुरक्षित रहून् । उहाँले बलिको निम्ति चाहिने पशुपंक्षी हरेकको सात-सात जोडी भाले र पोथी गरी पठाउनुभयो । जब उनीहरू सबै जहाजभित्र गए, तब परमेश्वर स्वयंमले जहाजको ढोका बन्द गरिदिनुभयो ।
त्यसपछि पानी पर्न सुरु भयो । चालीस दिन र चालीस रातसम्म निरन्तर पानी परि नै रह्यो । पृथ्वी मुनिबाट पनि पानी बेगसँग उर्लेर आयो । सारा संसार र अग्ला चुचुराहरू समेत पानीमा डुबेको थियो ।
सुख्खा जमिनमा जिउने सबै थोक मरे, केवल जहाजभित्र भएका मानिस र पशुपंक्षीहरू जीवित रहे । जहाज पानीमा तैरिदैँ रह्यो र भित्र भएका सबैलाई डुब्नबाट जोगाएर राख्यो ।
पानी थामिएको पाँच महिनासम्म जहाज तैरिरह्यो, र त्यस बिचमा पानी सुक्दै गइरहेको थियो । अनि एकदिन एउटा पाहाडको टुप्पोमा जहाज रोकियो, तर पृथ्वी अझसम्म पनि पानीमा डुबिरहेको थियो । तीन महिनापछि, अन्य पहाडका माथिल्ला भागहरू देखिन थाले ।
अरू चालीस दिनपछि नोआले एउटा कागलाई पानी सुकेको छ कि छैन भनी हेर्न बाहिर पठाए । काग यता-उता गर्दै सुख्खा जमिनको खोजीमा उड्न लाग्यो, तर कतै पनि भेट्टाउन सकेन ।
पछि नोआले एउटा ढुकुरलाई पठाए । तर त्यसले पनि कुनै सुख्खा जमिन भेट्टाउन सकेन, त्यसैले त्यो नोआकहाँ फर्केर आयो । त्यसको एक हप्तापछि उनले फेरि त्यस ढुकुरलाई बाहिर पठाए, अनि त्यसले आफ्नो चुच्चोमा एउटा जैतुनको हाँगा लिएर आयो । पानी सुक्दै गइरहेको थियो, र बिरुवाहरू फेरि पलाउदैँ गएका थिए ।
अर्को एक हप्ता पर्खेपछि नोआले तेस्रो पटक त्यस ढुकुरलाई बाहिर पठाए । यस पटकचाहिँ त्यसले आराम गर्ने ठाउँ पायो र त्यो फर्केर आएन । पानी सुक्दै गइरहेको थियो ।
दुई महिनापछि परमेश्वरले नोआलाई भन्नुभयो, “तँ र तेरा परिवार सबै पशुपंक्षीहरू जहाजबाट बाहिर निस्किन सक्छौ । तिमीहरूले धेरै सन्तानहरू जन्माओ र फेरि सारा पृथ्वीमा भरिदै जाओ ।” अनि नोआ र उनका परिवार जहाजबाट बाहिर आए ।
जहाजबाट बाहिर आएपछि नोआले परमेश्वरको लागि एउटा वेदी बनाए अनि त्यस वेदीमा बलिको लागि राखिएका केही जनावरहरूको बलि चढाए । परमेश्वर त्यस बलिद्वारा प्रशन्न हुनुभयो अनि नोआ र उनका परिवारलाई आशिष् दिनुभयो ।
परमेश्वरले प्रतिज्ञा गर्नुभयो, “अब फेरि म कहिल्यै पनि मानिसको दुष्टताको खातिर यस पृथ्वीलाई श्रापित तुल्याउने छैन, अथवा जलप्रलयद्वारा संसारलाई नष्ट गर्नेछैन, यद्यपि मानिसको हृदयका भावनाहरू बाल्यकालदेखि नै खराब हुन्छन् ।”
अनि परमेश्वरले प्रतिज्ञाको चिन्ह स्वरूप पहिलो इन्द्रेणी बनाउनुभयो । हरेक पटक जब आकाशमा इन्द्रेणी देखा पर्छ, परमेश्वरले आफ्ना मानिसहरूसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।
बाइबलको कथा : उत्पत्ति ६-८ बाट
४. अब्राहामसँग परमेश्वरको करार
जलप्रलयको धेरै वर्षपछि, संसारमा मानिसहरूको संख्या फेरि वृद्धि हुँदै गयो, र तिनीहरू सबै एउटै भाषा बोल्ने गर्दथे । तर परमेश्वरले आज्ञा गर्नुभए बमोजिम पृथ्वीमा भरिनुको साटो उनीहरू एकसाथ भेला भएर एउटा सहर निर्माण गर्न लागे ।
तिनीहरू धेरै घमण्डी थिए, अनि परमेश्वरले भन्नुभएको कुरालाई तिनीहरूले वास्ता गरेनन् । तिनीहरूले स्वर्गसम्म पुग्नको लागि अग्लो धरहरा निर्माण गर्न थाले । यदि उनीहरू अझै एकसाथ दुष्ट कामहरू गर्दै गए भने उनीहरू अझै बढी अधर्मी हुनसक्ने परमेश्वरले देख्नुभयो ।
त्यसैले परमेश्वरले उनीहरूका भाषालाई अन्य थुप्रै भाषाहरूमा बदलिदिनुभयो अनि मानिसहरूलाई सारा संसारभरि तितर-बितर पारिदिनुभयो । उनीहरूले बनाउन सुरु गरेको सहरको नाउँ “बाबेल” थियो, जसको अर्थ “अलमल्लमा पर्नु” थियो ।
सयौँ वर्षपछि, परमेश्वर अब्राम नाउँ गरेका एकजना व्यक्तिसँग बोल्नुभयो । परमेश्वरले उनलाई भन्नुभयो, “तेरो देश र घरानालाई छोड् र मैले तँलाई देखाउन लागेको ठाउँमा जा । म तँलाई आशिष् दिनेछु र तँलाई दिएको ठाउँलाई एउटा महान् राष्ट्र बनाउनेछु । म तेरो नाउँ महान् तुल्याउनेछु । म तेरो नाउँलाई ठूलो पार्नेछु । तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु अनि तँलाई श्रापदिनेहरूलाई म श्राप दिनेछु । पृथ्वीमा भएका सारा घरानाहरू तेरो कारण आशिषित् हुनेछन् ।”
अनि अब्रामले परमेश्वरको आज्ञा माने । उनले आफ्नी श्रीमती साराइ, आफ्ना सारा नोकरहरू र आफ्नो सबै थोक लिएर परमेश्वरले देखाउनुभएको देश कनान तिर लागे ।
जब अब्राम कनानमा आइपुगे, परमेश्वरले भन्नुभयो, “आफ्नो चारैतिर हेर । तँ र तेरा सन्तानलाई तैँले देख्नसके जति सबै देश पैतृक सम्पत्तिको रूपमा तँलाई दिनेछु ।” अनि अब्राम त्यस देशमा बस्न लागे ।
एकदिन, अब्रामले सर्वोच्च परमेश्वरका पूजाहारी, मल्कीसेदेकलाई भेटे । मल्कीसेदेकले अब्रामलाई आशिष् दिएर भने, “आकाश र पृथ्वीका मालिक, सर्वोच्चका परमेश्वरले तिमीलाई आशिष् दिऊन् ।” अनि अब्रामले मल्कीसेदेकलाई आफ्नो सारा सम्पत्तिको दशौं हिस्सा दिए ।
धेरै वर्ष बितिगए तर अब्राम र साराइको कुनै सन्तान भएको थिएन । परमेश्वर अब्रामसँग बोल्नुभयो र फेरि प्रतिज्ञा गर्नुभयो कि उसको एउटा छोरा हुनेछ र उसका सन्तानहरू आकाशका तारा सरह हुनेछन् । अब्रामले परमेश्वरको प्रतिज्ञामा विश्वास गरे । परमेश्वरले अब्रामलाई धर्मी ठहराउनुभयो किनकि अब्रामले परमेश्वरको प्रतिज्ञामा विश्वास गरे ।
अनि परमेश्वरले अब्रामसँग एउटा करार बाँध्नुभयो । करारचाहिँ दुई पक्षबीचको सम्झौता हो । परमेश्वरले भन्नुभयो, “तेरो आफ्नै शरीरबाट म तँलाई एउटा छोरा दिनेछु । कनान देश म तेरा सन्तानहरूलाई दिनेछु ।” तर अब्रामसँग अझै पनि एउटै छोरा थिएन ।
बाइबलको कथा : उत्पत्ति ११-१५ बाट
५. प्रतिज्ञाको सन्तान
कनानमा बसाई सरेको १० वर्ष बितिसक्दा पनि अब्राम र सराइको कुनै सन्तान भएको थिएन । त्यसैले अब्रामकी पत्नी सराइले उनलाई भनिन्, “परमेश्वरले मेरो कोख बन्द गरिदिनुभएको छ र अब सन्तान पाउनको निम्ति म बुढी भइसकेको छु, यसकारण मेरो दासी हागारसँग विवाह गर्नुहोस् र तिनले मेरो निम्ति एउटा सन्तान दिनेछिन् ।”
यसकारण, अब्रामले हागारसँग विवाह गरे । हागारले एउटा छोरा जन्माइन, अनि अब्रामले त्यसको नाउँ इश्माएल राखे । तर साराइले हागारको डाह गर्न लागिन । इश्माएल तेह्र बर्षको हुँदा, परमेश्वर फेरि अब्रामसँग बोल्नुभयो ।
परमेश्वरले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ । म तँसँग एउटा करार बाँध्नेछु ।” अनि अब्रामले भुइँमा घोप्टो परि दण्डवत गरे । परमेश्वरले फेरि भन्नुभयो , “तँ धेरै राष्ट्रहरूका पिता हुनेछस् । कनान देशलाई म तँ र तेरा सन्तानहरूका हातमा सुम्पिदिनेछु र म सधैभरि तिनीहरूका परमेश्वर हुनेछु । तैँले आफ्नो घरानाका सबै पुरुषहरूको खतना गर्नुपर्नेछ ।”
“तेरी श्रीमती साराइले एउटा छोरा जन्माउनेछिन् - त्योचाहिँ प्रतिज्ञा गरिएको सन्तान हुनेछ । तैँले त्यसको नाउँ इसहाक राख्नु । त्योसँग म मेरो करार बाँध्नेछु, र त्यसको एउटा विशाल राष्ट्र हुनेछ । म इश्माएललाई पनि विशाल राष्ट्र दिनेछु तर म मेरो करारचाहिँ इसहाकसँग नै बाँध्नेछु ।” त्यसपछि परमेश्वरले अब्रामको नाउँ अब्राहाम राखिदिनुभयो, जसको अर्थ हो धेरैका पिता । परमेश्वरले साराइको पनि नाउँ अब ‘सारा’ राखिदिनुभयो, जसको अर्थ हो “राजकुमारी”।
त्यस दिन अब्राहामले आफ्ना घरानाका सबै पुरुषहरूको खतना गरिदिए । त्यसको करिब एक वर्षपछि, अब्राहाम सय वर्षका र सारा नब्बे वर्षकी हुँदा, साराले अब्राहामको छोरा जन्माइन् । परमेश्वरले भन्नुभएझै उनीहरूले त्यसको नाउँ इसहाक राखे ।
जब इसहाक बालकै थिए, परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्नुभयो र भन्नुभयो, “तेरो एउटै छोरा इसहाकलाई लिएर जा र त्यसलाई मेरो निम्ति बलि चढा ।” अब्राहामले परमेश्वरले भन्नुभएको कुरालाई माने र आफ्नो छोरालाई बलिदान दिन तयार भए ।
जब अब्राहाम र इसहाक वेदीको तर्फ जादै थिए, इसहाकले सोधे, “बुबा, हामीसँग बलिको निम्ति दाउराहरू त छन्, तर थुमा चाहिँ खै त ?” अब्राहामले जवाफ दिए, “हे मेरो छोरा परमेश्वरले नै बलिको निम्ति थुमा जुटाउनु हुनेछ, ।”
जब उनीहरू वेदीको स्थानमा पुगे, अब्राहामले आफ्नो छोरालाई बाँधे र उसलाई वेदीमा राखे । जब उनले आफ्नो छोरालाई बलि दिन आँटेका थिए, परमेश्वरले भन्नुभयो, “पर्ख ! त्यस केटालाई केही नगर्नू ! अब मलाई थाहा भयो कि तैँले मेरो भय राख्छस् किनभने तैँले मेरो निम्ति आफ्नो एउटै छोरा पनि बाँकी राखिनस्” ।
त्यहाँ नजिकै अब्राहामले एउटा थुमालाई झाडीमा अल्झिरहेको देखे । परमेश्वरले त्यस थुमालाई इसहाकको सट्टा बलिदानको निम्ति त्यहाँ राखिदिनु भएको थियो । अब्राहामले खुशीका साथ त्यस थुमालाई बलि चढाए ।
अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तैँले मेरो निम्ति आफ्ना सबैथोक दिन तयार भएकोले, अनि तेरो एउटै मात्र छोरा पनि बाँकी नराखेको हुनाले, म तँलाई आशिष् दिने प्रतिज्ञा गर्दछु । तेरा सन्तानहरू आकाशका ताराहरूभन्दा बढी हुनेछन् । तैँले मेरो आज्ञा मानेको हुनाले, संसारका सबै घरानाहरू तेरो घरानाद्वारा आशिषित् हुनेछन् ।
बाइबलको कथा : उत्पत्ति १६-२२ बाट
६. परमेश्वरले इसहाकलाई दिनुभयो
अब्राहाम वृद्ध हुँदा, उनका छोरा, इसहाक, एक परिपक्क मानिस भैसकेका थिए । त्यसैले अब्राहामले आफ्नो एक नोकरलाई आफ्ना आफन्तहरू भएको देशमा इसहाकको निम्ति एउटी श्रीमती खोजेर ल्याउन पठाए ।
अब्राहामका आफन्तहरू बस्ने देशतिरको लामो यात्रा पश्चात, परमेश्वरले त्यस नोकरलाई रिबेका नाउँकी एकजना स्त्रीकहाँ ल्याउनुभयो । उनी अब्राहामका भाइकी नातिनी थिइन् ।
रिबेका आफ्ना परिवारलाई छाेडी त्यस नोकरसँग इसहाकको घरमा जान राजी भइन् । उनी पुग्ने बित्तिकै इसहाकले उनीसँग विवाह गरे ।
धेरै समयपछि, अब्राहामको मृत्यु भयो अनि परमेश्वरले उनीसँग बाँध्नुभएको सबै करार अब इसहाकमा सर्यो । परमेश्वरले अब्राहामका असंख्य सन्तान हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो, तर इसहाककी पत्नी रिबेकाको कुनै सन्तान हुनसकेको थिएन ।
इसहाकले रिबेकाको निम्ति प्रार्थना गरे, अनि परमेश्वरले उनको कोखमा जुम्ल्याह बच्चाहरू दिनुभयो । ती दुई बच्चाहरूले रिबेकाको गर्भभित्र हुँदै एक-अर्कासँग लडन्त गर्न लागे, त्यसैले रिबेकाले परमेश्वरसँग यो के भइरहेको हो भनी सोधिन् ।
परमेश्वरले रिबेकालाई भन्नुभयो, “तिमीभित्र भएका यी दुई छोराहरूबाट दुई राष्ट्रहरू आउनेछन् । तिनीहरू एक-आपसमा लड्नेछन् र जेठा छोराले कान्छा छोराको सेवा गर्नेछ ।”
जब रिबेकाको छोराहरू जन्मिए, जेठो छोरा रातो र रौँ नै रौँ भएको थियो अनि तिनीहरूले त्यसको नाउँ एसाव राखे । तर कान्छाचाहिँ आफ्ना हातले जेठाको कुर्कुच्चा समात्दै निस्क्यो र तिनीहरूले त्यसको नाउँ याकूब राखे ।
बाइबलको कथा : उत्पत्ति २४:१-२५:२६ बाट
७. परमेश्वरले याकूबलाई आशिष् दिनुभयो
जब ती बालकहरू हुर्किदै गए, याकूब घरमै बस्न रूचाउँथे, तर एसावलाई चाहिँ शिकार गर्न मनपर्थ्यो । रिबेका याकूबलाई माया गर्थिन, तर इसहाकले एसावलाई माया गर्दथे ।
एकदिन, जब एसाव शिकारबाट घर फर्के, उनी साह्रै भोकाएका थिए । एसावले याकूबलाई भने, “तिमीले बनाएको केही खानेकुरा मलाई पनि देऊ ?” याकूबले जवाफ दिए, “पहिले मलाई तपाईंको ज्येष्ठ अधिकार दिनुहोस् ।” अनि एसावले आफ्नो ज्येष्ठ अधिकार याकूबलाई दिए र याकूबले उनलाई केही खानेकुरा दिए ।
इसहाकले आफ्नो आशिष् एसावलाई दिन चाहन्थे । तर उनले त्यसो गर्नुभन्दा अघि, रिबेका र याकूब मिलेर, याकूबलाई एसावजस्तै बनाएर उनीहरूले इसहाकलाई झुक्याए । इसहाक वृद्ध भईसकेका थिए र केही पनि देख्न सक्दैन थिए । याकूबले एसावको लुगा लगाए र बाख्राका पाठाको छालाले आफ्नो घाँटी र हातहरू ढाकेका थिए ।
याकूब इसहाककहाँ आए र भने, “म एसाव हुँ । तपाईंको आशिष् थाप्न म आएको छु ।” जब इसहाकले बाख्राको रौँ छामे र लुगाहरूको बास्ना सुघे, त्यो एसाव नै हुनुपर्छ भन्ने उनले ठाने ।
एसावले याकूबलाई घृणा गर्दथे किनकि याकूबले उसको ज्येष्ठ अधिकार र उसले पाउनुपर्ने आशिष् खोसेका थिए । त्यसैले उनले बुबाको मृत्युपछि याकूबलाई मार्ने योजना बनाए ।
तर रिबेकाले एसावको योजनाको बारेमा थाहा पाइन् । त्यसैले इसहाक र रिबेकाले याकूबलाई त्यस ठाउँबाट टाढा आफ्ना आफन्तहरूकहाँ पठाइदिए ।
याकूब धेरै वर्षसम्म रिबेकाको घरानासँग बसे । त्यो समयावधिमा उनले विवाह गरे र उनका बाह्रजना छोराहरू र एउटी छोरी भए । परमेश्वरले उनलाई ज्यादै धनी बनाउनुभएको थियो ।
बीस वर्षसम्म आफ्नो घर कनान भन्दा टाढा बसिसकेपछि, याकूब आफ्नो परिवार, आफ्ना नोकरहरू र आफ्ना सारा गाईवस्तु साथमा लिएर कनान फर्के ।
याकूब ज्यादै डराएका थिए किनकि एसावले उनलाई अझै मार्न चाहन्छन् भनी उनले सोचेका थिए । त्यसैले याकूबले धेरै गाईवस्तु उपहार स्वरूप एसावकहाँ पठाए । गाईवस्तु लिएर गएका नोकरहरूले एसावलाई भने, “तपाईंको दास, याकूबले तपाईंलाई यी गाईवस्तु पठाउनुभएको छ । उहाँ चाँडै नै आउँदै हुनुहुन्छ ।”
तर एसावले याकूबलाई पहिल्यै क्षमा दिइसकेका थिए अनि उनीहरू एक-अर्कालाई फेरि देख्न पाउँदा खुशी भए । त्यसपछि याकूब कनानमा शान्तिसँग बसे । त्यसपछि इसहाक मरे, अनि याकूब र एसावले उनलाई गाडे । परमेश्वरले अब्राहामसँग वाचा गर्नुभएको करार अब इसहाकबाट याकूबमा सर्यो ।
बाइबलको कथा : उत्पत्ति २५:२७-३३:२० बाट
८. परमेश्वरले योसेफ र उनका घरानालाई बचाउनुभयो
धेरै वर्षपछि, जब याकूब बुढा भइसकेका थिए, उनले आफ्नो सबैभन्दा प्यारो छोरा, योसेफलाई बगालहरूको हेरचाह गरिराखेका आफ्ना दाजुहरूकहाँ जाँच गर्न पठाए ।
योसेफका दाजुहरूले उनलाई घृणा गर्थे किनभने तिनीहरूमध्ये उनी आफ्ना बुबाका सबैभन्दा प्यारा थिए अनि योसेफले आफू उनीहरूका शासक भएको सपना देखेका थिए । जब योसेफ उनका दाजुहरूकहाँ आइपुगे, उनीहरूले उसको अपहरण गरे र केही दास व्यापारीहरूको हातमा बेचिदिए ।
योसेफका दाजुहरूले घर फर्किन अघि योसेफका लुगाहरू च्याते र त्यसलाई बाख्राको रगतमा डुबाइदिए । अनि उनीहरूले त्यो लबेदा आफ्नो बुबालाई देखाए ताकि योसेफलाई कुनै जङ्गली जनावरले मारेछ भनीे सोचून् । यो देखेर याकूब धेरै दुःखी भए ।
ती दास व्यापारीहरूले योसेफलाई मिश्रदेशमा लगे । मिश्र देश नील नदिको छेउमा पर्थ्यो, यो अति विशाल र शक्तिशाली राष्ट्र थियो । ती व्यापारीहरूले योसेफलाई एकजना धनी सरकारी कर्मचारीको हातमा बेचिदिए । योसेफले आफ्नो मालिकको राम्ररी हेरचाह गरे र परमेश्वरले उसलाई आशिष् दिनुभयो ।
योसेफका मालिककी स्वास्नी योसेफसँग सुत्न चाहिन तर परमेश्वरको विरुद्ध यसरी पाप गर्न उनले इन्कार गरे । यसले गर्दा उनी रिसाइन र योसेफको विरुद्धमा झुटा आरोप लगाइन, जसको कारण योसेफलाई समातियो र झ्यालखानामा हालियो । झ्यालखानामा हुँदा पनि योसेफले परमेश्वरमा भरोसा राखे र परमेश्वरले योसेफलाई आशिष् दिनुभयो ।
दुई वर्षपछि, निर्दोष भएतापनि योसेफ अझै झ्यालखाना मै थिए । एक रात मिश्रीहरूका राजा फारोले दुईवटा सपना देखे र त्यसले उनलाई साह्रै सतायो । उनका कुनै सल्लाहकारहरूले पनि त्यस सपनाको रहस्य बताउन सकेनन् ।
परमेश्वरले योसेफलाई सपनाको अर्थ बताउन सक्ने वरदान दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई झ्यालखानाबाट बोलाउन लगाए । योसेफले फारोको सपनाको अर्थ बताइदिए र भने, “परमेश्वरले अबको सात वर्षसम्म प्रशस्तै गरी अन्नहरू दिनुहुनेछ र त्यसपछिको सात वर्ष अनिकाल पर्नेछ ।”
योसेफसँग फारो यति प्रसन्न भए कि उनले योसेफलाई सारा मिश्र देशभरिका दोश्रो शक्तिशाली व्यक्ति नियुक्त गरे ।
योसेफले मानिसहरूलाई प्रशस्त फसलको सात वर्षमा धेरै अन्न थुपार्न लगाए । अनि सात वर्षे अनिकालको समयमा योसेफले ती अन्नहरू बेचे ताकि मानिसहरूका निम्ति चाहिने जति खानेकुरा पुगोस् ।
अनिकाल मिश्र देशमामा मात्र नभइ कनानमा देशमा पनि परेको थियो जहाँ याकूब र उनका घराना बस्थे ।
त्यसैले याकूबले आफ्ना जेठा छोराहरूलाई मिश्र देशमा खानेकुरा लिन पठाए । दाजुहरू खानेकुरा किन्न मिश्र देशमा जाँदा तिनीहरूले योसेफलाई चिनेनन्, तर योसेफले तिनीहरूलाई चिनिहाले ।
अनि आफ्ना दाजुहरू परिवर्तन भएका छन् कि छैनन् भनी जाँच गरेपछि योसेफले तिनीहरूलाई भने, “म तपाईंहरूको भाइ योसेफ हुँ, नडराउनुहोस् । तपाईंहरूले मलाई दासको रूपमा बेचेर दुष्ट काम गर्न खोज्नुभयो, तर परमेश्वरले दुष्टतालाई असल कामको निम्ति चलाउनुभयो । आउनुहोस् र मिश्र देशमा बस्नुहोस् ताकि तपाईंहरू र तपाईंका घरानाहरूलाई मैले जुटाउन सकूँ ।”
जब योसेफका दाजुहरू घर फर्के र योसेफ अझै जिउदै रहेको खबर आफ्ना बुबा याकूबलाई सुनाए, उनी धेरै खुशी भए ।
याकूब बुढा भएतापनि आफ्ना सारा घरानालाई लिएर उनी मिश्रदेशमा गए र त्यहिँ बस्न लागे । मर्नुभन्दा अघि याकूबले आफ्ना सबै छोराहरूलाई आशिष् दिए ।
परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभएको करार अब्राहामबाट इसहाकमा सर्यो, अनि याकूबमा, अनि याकूबका बाह्र छोराहरू र उनीहरूका घरानामा । ती बाह्र छोराहरूका सन्तानहरूबाट नै इस्राएलका बाह्र कुलहरू भए ।
बाइबलको कथा : उत्पत्ति ३७-५० बाट
९. परमेश्वरबाट मोशालाई बोलावट
योसेफको मृत्युपछि, तिनका सबै आफन्तहरू मिश्र देशमै बस्न थाले । तिनीहरूका सन्तानहरू पनि धेरै वर्षसम्म निरन्तर रूपमा त्यहिँ बसोबास गर्न लागे र उनीहरूका धेरै सन्तान भए । तिनीहरूलाई ‘इस्राएली’ भनिन्थ्यो ।
सयौं वर्षपछि इस्राएलीहरूको संख्यामा धेरै वृद्धि भइसकेको थियो । मिश्रीहरूले योसेफ र तिनले उनीहरूप्रति गरेका सबै असल कामहरू बिर्सिसकेका थिए । उनीहरू इस्राएलीहरूसँग डराउन लागे किनकि उनीहरू संख्यामा ज्यादै धेरै थिए । त्यसैले त्यस समयमा मिश्रदेशमा राज्य गरिरहेका फारोले इस्राएलीहरूलाई मिश्रीहरूका दास बनाए ।
मिश्रीहरूले इस्राएलीहरूलाई धेरै भवनहरू र पुरै सहर समेत बनाउन लगाए । कडा परिश्रमले उनीहरूको जीवनलाई कठिन बनायो, तर परमेश्वरले उनीहरूलाई आशिष् दिनुभयो, र उनीहरूका सन्तानहरू अझै बढ्दै गए ।
इस्राएलीहरूले धेरैभन्दा धेरै बालकहरू जन्माइरहेका फरोले देखे, त्यसैले उनले आफ्ना मानिसहरूलाई सबै इस्राएलीहरूका भर्खर जन्मिएका छोराहरूलाई नील नदीमा फ्याँकी मार्ने आदेश दिए ।
कुनै एक इस्राएली आइमाईले एउटा छोरा जन्माइन् । उनले र उनका पतिले आफूले सक्दो समयसम्म त्यस बालकलाई लुकाएर राखे ।
जब त्यस बालकको आमा-बुबाले उसलाई अरू धेरै समय लुकाउन सकेनन्, उसलाई मारिनबाट जोगाउन तिनीहरूले एउटा कोक्रो बनाई बालकलाई त्यसभित्र राखिदिए र नील नदीको किनारमा नर्कटको झाडीको बीचमा छोडिदिए । बालककी दिदीले उसलाई के हुने रहेछ भनी हेरिरहिन् ।
फारोकी छोरीले त्यस कोक्रोलाई देखिन् अनि त्यसभित्र के रहेछ भनी खोलेर हेरिन् । जब उनले बालकलाई देखिन्, उनले त्यसलाई आफ्नै छोराको रूपमा राखिन् । उनले एक इस्राएली आइमाईलाई त्यस बालकको हेरचाह गर्न ज्याला दिएर राखिन् तर त्यस आइमाई बालकको अाफनै आमा थिइन् भन्ने कुरा उनलाई थाहा थिएन । जब त्यो बालक अब दूध खान नपर्ने जति ठूलो भयो, त्यस आइमाईले उसलाई फारोकी छोरीकहाँ पठाइदिइन् जसले उसको नाउँ मोशा राखिन् ।
एकदिन, जब मोशा ठूला भइसकेका थिए, एक मिश्रीले एक इस्राएली दासलाई कुटिरहेको देखे । मोशाले आफ्नो इस्राएली व्यक्त्तिलाई बचाउन खोजे ।
जब मोशाले आफूलाई कसैले देख्दैन भन्ने सोचे र त्यस मिश्रीलाई मारेर त्यसलाई गाडीदिए । तर मोशाले त्यस मिश्रीको हत्या गरेको कसैले देखेको थियो ।
जब फारोले मोशाले गरेको हत्याको बारेमा थाहा पाए, उनले मोशालाई मार्न खोजे । त्यसैले फारोका सैनिकहरूबाट बच्नलाई मोशा मिश्रदेशबाट भागेर उजाड स्थानतर्फ गए ।
मिश्रदेशदेखि टाढा त्यस उजाड स्थानमा मोशा एक गोठालो बने । उनले त्यस ठाउँकी एकजना स्त्रीसँग विवाह गरे र उनका दुई छोराहरू भए ।
एकदिन जब मोशा आफ्ना भेडाहरूको हेरचाह गरिरहेका थिए, उनले एउटा पोथ्रा देखे जुन आगोले जलिरहेको थियो । तर त्यो पोथ्रा जलेर भस्म भएन । त्यो पोथ्रालाई अझ राम्रोसँग नियाल्न मोशा त्यसको नजिकै गए । जब उनी त्यस जलिरहेको पोथ्राको नजिक आइपुगे, परमेश्वरले भन्नुभयो, “मोशा, तेरा जुत्ताहरू खोल । किन कि तँ पवित्र भूमिमा उभिरहेको छस् ।”
परमेश्वरले भन्नुभयो, “मैले मेरा मानिसहरूका कष्टलाई देखेको छु । म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले इस्राएलीहरूलाई मिश्रदेशको दासत्वबाट छुटाएर ल्याउनेछस् । म तिनीहरूलाई कनानको देश दिनेछु, त्यो देश जुन मैले अब्राहाम, इसहाक र याकूबसँग प्रतिज्ञा गरेको थिए ।”
मोशाले सोधे, “मानिसहरूले मलाई कसले पठाउनुभएको हो भनी सोधे भने, म के भनौँ?” परमेश्वरले भन्नुभयो, “म हुँ, जो म हुँ । तिनीहरूलाई यसो भनिदिनु, ‘म हुँ’ भन्नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । तिनीहरूलाई यो पनि भनिदिनु, ‘म याहोवे हुँ, तिमीहरूका पितापूर्खा अब्राहाम, इसहाक, र याकूबका परमेश्वर’ । मेरो नाउँ सदा-सर्वदाको निम्ति यही नै हो ।”
मोशा डराएका थिए र फारोकहाँ जान चाहिरहेका थिएनन् किनकि आफू ठिकसँग बोल्न नसक्ने उनले सोचेका थिए, त्यसैले परमेश्वरले मोशाका भाइ हारूनलाई उनको साथमा सहायताको निम्ति पठाउनुभयो । फारो हठी हुनेछन् भनी परमेश्वरले मोशा र हारूनलाई सचेत गराउनुभयो ।
बाइबलको कथा : प्रस्थान १-४ बाट
१०. दश विपत्तिहरू
मोशा र हारून फारोकहाँ गए । उनीहरूले भने, “इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे !’” फारोले उनीहरूको कुरा सुनेनन्, तर इस्राएलीहरूलाई छाेडीदिनुको साटो तिनीहरूलाई झन् बढी कडा परिश्रम गर्न लगाए !
फारोले इस्राएलीहरूलाई छोड्न इन्कार गरिनै रहे, त्यसैले परमेश्वरले मिश्रदेशमा डरलाग्दा दशवटा विपत्तिहरू पठाइदिनुभयो । परमेश्वरले यी विपत्तिहरूद्वारा फारोलाई उहाँ फारो र सबै मिश्री देवहरूभन्दा शक्तिशाली हुनुहुन्छ भनी देखाउनुभयो ।
परमेश्वरले नील नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो, तर फारोले अझै पनि इस्राएलीहरूलाई जान दिएनन् ।
परमेश्वरले सारा मिश्रदेशभरि नै भ्यागुताहरू पठाउनुभयो । फारोले मोशालाई भ्यागुताहरू हटाइदिन विन्ती गरे । तर सबै भ्यागुताहरू मरेपछि फारोले आफ्नो हृदय फेरि कठोर पारे र इस्राएलीहरूलाई जान दिएनन् ।
त्यसैले परमेश्वरले भुसुनाहरूको महामारी पठाउनुभयो । अनि त्यसपछि उहाँले झिंगाको हुलैहुल पठाउनुभयो । फारोले मोशा र हारूनलाई बोलाए र यदि उनीहरूले त्यस महामारीलाई रोकेको खण्डमा इस्राएलीहरू जान दिने बताए । जब मोशाले प्रार्थना गरे, परमेश्वरले सारा झिंगाहरू मिश्रबाट हटाइदिनुभयो । तर फारोले फेरि आफ्नो हृदयलाई कठोर तुल्याए र इस्राएलीहरूलाई जान दिएनन् ।
त्यसपछि, परमेश्वरले मिश्रीहरूका सबै गाईवस्तुहरूमा महामारी निम्त्याउनुभयो र तिनीहरू सबै मरे । तर फारोको हृदय कठोर भयो र उनले इस्राएलीहरूलाई जान दिएनन् ।
अनि परमेश्वरले मोशालाई फारोको अगाडि हावामा खरानी फाल्न भन्नुभयो । जब उनले त्यसो गरे, मिश्रीहरूका शरीरमा कष्टकर खटिराहरू देखा परे, तर इस्राएलीहरूलाई केही भएन । परमेश्वरले फारोको हृदय कठोर तुल्याइदिनुभयो, र फारोले इस्राएलीहरूलाई जान दिएनन् ।
यसो भइसकेपछि परमेश्वरले असिना वर्षाउनुभयो जसले मिश्रदेशका धेरैजसो अन्नबाली नष्ट पार्यो र बाहिर निस्कने जो कोही पनि मारिए । फारोले मोशा र हारूनलाई बोलाए र भने, “मैले पाप गरेको छु । तिमीहरू यहाँबाट जान सक्छौ ।” अनि मोशाले प्रार्थना गरे र आकाशबाट असिना पर्न बन्द भयो ।
तर फारोले फेरि पनि पाप गरे अनि आफ्नो हृदयलाई कठोर तुल्याए । उनले इस्राएलीहरूलाई स्वतन्त्र हुन दिएनन् ।
त्यसैले परमेश्वरले सलहहरूका हुललाई मिश्रदेशमा पठाई दिनुभयो । यी सलहहरूले असिनाद्वारा बचेका सबै बाली खाइदिए ।
अनि परमेश्वरले अन्धकारलाई पठाउनुभयो जुन तीन दिनसम्म रहिरह्यो । त्यो यति अन्धकार थियो कि मिश्रीहरू आफ्ना घर छाेडेर बाहिर निस्किन सक्दैन थिए । तर इस्राएलीहरू बसेको ठाउँमा चाहिँ उज्यालो थियो ।
यी नौ वटा विपत्तिहरू भइसकेतापनि फारोले अझैपनि इस्राएलीहरूलाई मिश्रदेशबाट जान दिएनन् । फारोले परमेश्वरको कुरा नसुनेको कारणले अब उहाँले एउटा अन्तिम विपत्ति ल्याउने योजना गर्नुभयो । यस विपत्तिले चाहिँ फारोको मन परिवर्तन गर्यो ।
बाइबलको कथाः प्रस्थान ५-१० बाट
११. निस्तार चाड
परमेश्वरले फारोलाई यदि अझै पनि उनले इस्राएलीहरूलाई मिश्रदेशबाट जान नदिएको खण्डमा मानिस र पशुका जेठा पुरुष सन्तानलाई मारिदिने चेतावनी दिनुभयो । जब फारोले यो सुने, अझै पनि परमेश्वरलाई विश्वास गर्न र उहाँको आज्ञा मान्न उनले इन्कार गरे ।
परमेश्वरले उहाँमा विश्वास गर्नेहरूको लागि आफ्नो जेठो सन्तानलाई बचाउन सक्ने एउटा बाटो प्रदान गरिदिनुभयो । हरेक परिवारले एउटा खोट रहित थुमालाई छानेर त्यसलाई मार्नुपर्ने थियो ।
परमेश्वरले इस्राएलीहरूलाई त्यस थुमाको रगत तिनीहरूका घरको मुल ढोकामा लगाउन, अनि त्यसको मासु पोलेर खमिर नहालेको रोटीसँग खान भन्नुभयो । अनि फेरि त्यो खाइसकेपछि उनीहरूलाई मिश्रदेश छाेड्न तयार हुन पनि उहाँले भन्नुभयो ।
इस्राएलीहरूले परमेश्वरले भन्नुभए जस्तै गरे । मध्यरातमा परमेश्वर मिश्र भएर जानुभयो र पहिले जन्मेका छोरा सबैलाई मार्नुभयो ।
सबै इस्राएलीहरूका घरको ढोकामा रगत पोतिएको थियो, त्यसैले परमेश्वरले ती घरहरूलाई छाेडेर जानुभयो । ती भित्र भएका सबैजना सुरक्षित थिए । थुमाको रगतको कारण उनीहरू बचाइएका थिए ।
तर मिश्रीहरूले परमेश्वरमाथि विश्वास गरेनन् न त उहाँको आज्ञा नै माने । त्यसैले परमेश्वरले तिनीहरूका घरलाई छाेड्नु भएन । परमेश्वरले मिश्रीहरूका पहिले जन्मेका छोराहरू सबैलाई मार्नुभयो ।
सारा मिश्रीहरूका जेठा छोराहरू मरे, कैदीको जेठो छोरादेखि फारोको जेठो छोरासम्म, सबैजना मरे । मिश्रदेशमा धेरै मानिसहरू वेदनाको कारण रुदैँ र कराउँदै थिए ।
त्यसै रात फारोले मोशा र हारूनलाई बोलाए र भने, “इस्राएलीहरूलाई लेओ, अनि तुरुन्तै मिश्रदेश छाेडेर गइहाल !” मिश्रीहरूले पनि इस्राएलीहरूलाई तुरुन्तै मिश्रदेश छोडेर जान आग्रह गरे ।
बाइबलको कथाः प्रस्थान ११:१-१२:३२ बाट
१२. प्रस्थान
इस्राएलीहरू मिश्रदेश छाेडेर जान पाउँदा धेरै खुशी थिए । तिनीहरू अब दासहरू रहेनन्, र तिनीहरू प्रतिज्ञा गरिएको देशमा जाँदै थिए ! मिश्रीहरूले इस्राएलीहरूलाई उनीहरूले मागेका सबै थोक दिए, सुन-चाँदी र अरू बहुमुल्य वस्तुहरू समेत दिए । देशका अन्य केही मानिसहरूले परमेश्वरमा विश्वास गरे र उनीहरू पनि मिश्रदेशबाट निस्केर इस्राएलीहरूसँगै गए ।
परमेश्वरले दिनमा बादलको अग्लो खाँबोद्वारा तिनीहरूलाई डोर्याउनुभयो, त्यो तिनीहरूको अघि-अघि जान्थ्यो, जुन रातमाचाहिँ आगोको खाँबो बन्थ्यो । परमेश्वर सधैँ तिनीहरूसँग हुनुहुन्थ्यो अनि यात्राको क्रममा तिनीहरूलाई बाटो देखाउनुभयो । इस्राएलीहरूले गर्नुपर्ने एउटै मात्र काम केवल उहाँलाई पछ्याउनुपर्ने थियो ।
त्यसको केही समयपछि, फारो र उनका मानिसहरूले आफ्ना विचार परिवर्तन गरे र इस्राएलीहरूलाई फेरि आफ्ना दासहरू बनाउन चाहे । परमेश्वरले फारोलाई हठी तुल्याइदिनुभयो ताकि मानिसहरूले उहाँ नै एउटै सत्य परमेश्वर हुनुहुन्छ भनी देखुन् र यो जानून् कि उहाँ अर्थात याहोवे, फारो र उनका देवहरूभन्दा धेरैशक्तिशाली हुनुहुन्छ ।
त्यसकारण फारो र उनका फौजले इस्राएलीहरूलाई फेरि आफ्ना दास बनाउनको निम्ति खेद्दै आए । जब इस्राएलीहरूले मिश्री फौज आउँदै गरेको देखे, तिनीहरूले आफैँलाई फारोका सेनाहरू र लाल समुद्रको बीचमा फसेको चाल पाए । तिनीहरू धेरै डराए र यसो भन्दै कराए, “हामीले किन मिश्रदेश छाड्याैँ ? अब हामी मर्छौँ !”
मोशाले इस्राएलीहरूलाई भने, “नडराओ ! आज परमेश्वर तिमीहरूका निम्ति लडिदिनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।” अनि परमेश्वरले मोशालाई भन्नुभयो, “मानिसहरूलाई लाल समुद्रतर्फ बढ्न भन् ।”
अनि परमेश्वरले बादलको खाँबोलाई इस्राएली र मिश्रीहरूका बिचमा राखिदिनुभयो ताकि मिश्रीहरूले इस्राएलीहरूलाई देख्न नसकून् ।
परमेश्वरले मोशालाई उसको हात समुद्र तिर उचाली पानीलाई दुई भाग बनाउन भन्नुभयो । अनि परमेश्वरले दाहिने र देब्रेतिर शक्तिशाली हावा चलाएर समुद्रको बिचबाट एउटा बाटो बनाउनु भयो ।
इस्राएलीहरू सुख्खा भूमिमाथि पानीको पर्खालको विचबाट समुद्रमा लाम लगाएर हिँडे ।
अनि परमेश्वरले त्यस बादललाई बाटोबाट हटाइदिनुभयो ताकि मिश्रीहरूले इस्राएलीहरू भाग्दै गरेका देख्न सकून् । मिश्रीहरूले तिनीहरूको पछि लाग्ने निर्णय गरे ।
यसकारण उनीहरू समुद्रको बाटो भएर इस्राएलीहरूको पछि लागे, तर परमेश्वरले मिश्रीहरूलाई अत्याइदिनुभयो र उनीहरूका घोडचढीहरूलाई अड्काइदिनुभयो । उनीहरूले कराएर भने, “भाग ! परमेश्वर इस्राएलीहरूको पक्षमा भएर लडिरहनु भएकोछ !”
सबै इस्राएलीहरू सकुशल समुद्रको पल्लो छेऊमा पुगेपछि, परमेश्वरले फेरि मोशालाई आफ्नो हात पसार्न भन्नुभयो । जब उनले त्यसो गरे, फेरि समुद्र जस्ताको त्यस्तै भयो । सारा मिश्रीफौजहरू डुबे ।
जब इस्राएलीहरूले सबै मिश्रीहरूको मृत्यु भएको देखे, तिनीहरूले परमेश्वरमा भर गरे र मोशा एक अगमवक्ता रहेछन् भनी विश्वास गरे ।
इस्राएलीहरूले धेरै उत्साहका साथ आनन्द पनि मनाए किनभने परमेश्वरले तिनीहरूलाई मृत्यु र दासत्वबाट बचाउनुभएको थियो ! अब तिनीहरू परमेश्वरको सेवा गर्न स्वतन् त्र थिए । इस्राएलीहरूले आफ्नो नयाँ स्वतन् त्रताको उत्सव मनाउन र परमेश्वरको प्रशंसा गर्न धेरै गीतहरू गाए किनकि परमेश्वरले तिनीहरूलाई मिश्रीफौजबाट बचाउनुभएको थियो ।
इस्राएलीहरूलाई परमेश्वरले मिश्रीहरूको विरुद्ध विजय दिनुभयो र तिनीहरूलाई दासत्वबाट बचाउनुभएको सम्झनाको निम्ति हरेक बर्ष निस्तार चाड मनाउन भन्नुभयो । तिनीहरूले सो पर्व एक निष्खोट थुमा मारेर त्यसलाई खमिर नहालेको रोटीसँग खाएर मनाए ।
बाइबलको कथाः प्रस्थान १२:३३-१५:२१ बाट
१३. इस्राएलसँग परमेश्वरको करार
इस्राएलीहरू लाल समुद्र पार गरेपछि परमेश्वरले तिनीहरूलाई उजाड स्थानबाट भएर सिनै पर्वतमा डोर्याउनुभयो । यो त्यहि पर्वत थियो जहाँ मोशाले जलिरहेको पोथ्रा देखेका थिए । मानिसहरूले आफ्ना पालहरू पर्वतको तलतिर टाँगे ।
परमेश्वरले मोशा र इस्राएलका मानिसहरूलाई भन्नुभयो, “यदि तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करार पालना गर्यौ भने, तिमीहरू मेरा सम्पति, पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ ।”
तीन दिनपछि, मानिसहरूले आफैलाई आत्मिकरूपमा तयार भएपछि, परमेश्वर गर्जन, चट्याङ, धुँवा र चर्को विगुलको ध्वनिका साथ सिनै पर्वतको टाकुरामा ओर्लिआउनुभयो । त्यस पर्वतमा उक्लिन मोशालाई मात्र अनुमति थियो ।
अनि परमेश्वरले तिनीहरूलाई त्यो करार दिनुभयो र भन्नुभयो, म “याहोवे हुँ, तिमीहरूका परमेश्वर, जसले तिमीहरूलाई मिश्रदेशको दासत्वबाट बचायो । तिमीहरूले अरू कुनै देवताहरू नपूज्नू ।”
“कुनै किसिमका मूर्तिहरू नबनाउनू वा तिनीहरूलाई नपूज्नू, किनकि म, याहोवे, डाही परमेश्वर हुँ । मेरो नाउँ व्यर्थमा नलेओ । शबाथको दिन पवित्र राख्न नभूल्नू । त्योचाहिँ, तिम्रा सबै कामहरू ६ दिनसम्म गर, तर सातौँ दिनचाहिँ तिमीहरूका निम्ति विश्राम गर्ने र मलाई सम्झने दिन हो ।”
“आफ्ना आमा-बुबाको आदर गर्नू । हत्या नगर्नू । व्यभिचार नगर्नू । चोरी नगर्नू । झुट नबोल्नू । आफ्नो छिमेकीको स्वास्नी, उसको घर, अथवा उसका केही कुराको लोभ नगर्नू ।”
अनि परमेश्वरले यी दश आज्ञाहरू दुईवटा ढुङ्गाको पाटीमा लेख्नुभयो र ती मोशालाई दिनुभयो । परमेश्वरले अरू पनि थुप्रै व्यवस्था र कानुनहरू पालन गर्न दिनुभयो । यदि तिनीहरूले यी व्यवस्थाहरू पालन गरेमा परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुने र तिनीहरूको रक्षा गर्नुहुने प्रतिज्ञा गर्नुभयो । यदि तिनीहरूले यी आज्ञाहरू भंग गरेमा तिनीहरूलाई परमेश्वले दण्ड दिनुहुने थियो ।
परमेश्वरले इस्राएलीहरूलाई आफूले चाहनुभएको जस्तो पालको निर्माण गर्न विस्तृत नमुना पनि दिनुभयो । त्यसलाई भेट हुने पाल भनिन्थ्यो र यसका दुईओटा कोठाहरू थिए, जुन एक ठूलो पर्दाले छुट्याइएको थियो । प्रधान पूजाहारीमात्र त्यस पर्दा पछाडिको कोठामा जान पाँउथे, किनकि परमेश्वर त्यहाँ रहनुहुन्थ्यो ।
कसैले पनि परमेश्वरको आज्ञा भंग गरेमा उसले एउटा पशु भेट हुने पालको अगाडि रहेको वेदीमा ल्याएर परमेश्वरलाई बलिकोरूपमा चढाउन सक्थ्यो । एक पूजाहारीले त्यस पशुलाई मार्थे र वेदीमा राखेर जलाइदिन्थे । बलि चढाइएको पशुको रगतले त्यस व्यक्तिको पाप ढाक्ने थियो र परमेश्वरको नजरमा त्यस व्यक्ति शुद्ध हुनेथियो । परमेश्वरले मोशाका भाइ हारून र उनका सन्तानलाई आफ्नो पूजाहारी हुन नियुक्त गर्नुभयो ।
सबै मानिसहरूलाई परमेश्वरले दिनुभएको आज्ञा केवल एउटै परमेश्वरलाई पूज्न र उहाँका विशेष मानिसहरू हुन भनि मान्न राजी भए । तर तिनीहरूले वाचा गरेको केही समयपछि नै, तिनीहरूले डरलाग्दो पाप गरे ।
धेरै दिनसम्म, मोशा परमेश्वरसँग बात-चित गर्नको निम्त सिनै पर्वतको टाकुरामा गएका थिए । मानिसहरू उनी फर्कने प्रतीक्षा गर्दा-गर्दा थाके । त्यसैले तिनीहरूले हारूनकहाँ सुनहरू ल्याए र तिनीहरूका निम्ति एउटा मूर्ति बनाउन लगाए !
हारूनले बाछाको आकारमा सुनको एउटा मूर्ति बनाए । मानिसहरूले त्यस मूर्तिलाई पूज्न र बलिहरू चढाउन थाले ! तिनीहरूले गरेको त्यस पापको कारण परमेश्वर धेरै रिसाउनुभयो र तिनीहरूलाई नाश पार्ने योजना बनाउनुभयो । तर मोशाले परमेश्वरसँग तिनीहरूको निम्ति प्रार्थना चढाए र परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र तिनीहरूलाई नाश पार्नुभएन ।
मोशा तल झरेपछि जब उनले त्यस मूर्ति देखे, उनी यति रिसाए कि परमेश्वरले उसलाई दिनुभएको दश आज्ञाका पाटीहरू फालेर फुटाइदिए ।
अनि मोशाले त्यस मूर्तिलाई कुटेर धुलो पारे, त्यो धुलोलाई केही पानीमा हाले र मानिसहरूलाई त्यो पानी पिउन लगाए । परमेश्वरले मानिसहरूमा महामारी ल्याइदिनुभयो र उनीहरूमध्ये धेरैजना मरे ।
मोशा फेरि पर्वतमाथि चढे र ती मानिसहरूलाई परमेश्वरले क्षमा गरिदिनुहुनको निम्ति प्रार्थना गरे। परमेश्वरले मोशाको बिन्ती सुन्नुभयो र उनीहरूलाई क्षमा दिनुभयो । आफूले फुटाएका पहिलेका दश आज्ञाका पाटीहरूलाई मोशाले फेरि ढुङ्गाको एक नयाँ पाटीमा लेखेर पुन स्थापित गरे । अनि परमेश्वरले इस्राएलीहरूलाई सिनै पर्वतबाट प्रतिज्ञा गरिएको देशतिर डोर्याउनुभयो ।
बाइबलको कथाः प्रस्थान १९-३४ बाट
१४. उजाड स्थानमा भौँतारिदै
सिनै पर्वतमा आफ्नो करार दिइसक्नुभएपछि परमेश्वरले इस्राएलीहरूलाई प्रतिज्ञाको देशतर्फ डोर्याउन थाल्नुभयो, जसलाई कनानको देश पनि भनिन्थ्यो । बादलको खाँबोले तिनीहरूलाई अघि-अघि कनानतर्फ डोर्याउँदै लग्यो र इस्राएलीहरूले त्यसलाई पछ्याए ।
परमेश्वरले अब्राहाम, इसहाक र याकूबसँग त्यस देश तिनीहरूका सन्तानहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो, तर त्यस समयमा त्यहाँ थुप्रै समुदायका मानिसहरू बसोबास गरिरहेका थिए । उनीहरूलाई कनानीहरू भनिन्थ्यो । कनानीहरूले परमेश्वरलाई पूज्दैनथे न त उहाँको आज्ञा नै मान्थे । उनीहरूले झूटा देवहरूलाई पूज्थे र धेरै अधर्मी कार्यहरू गर्ने गर्दथे ।
परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो, “तिमीहरूले त्यहाँ रहेका सबै कनानीहरूलाई प्रतिज्ञाको देशबाट हटाउनु र तिनीहरूसँग कुनै प्रकारको सम्झौता वा विवाह नगर्नु । तिनीहरूका मूर्तिहरूलाई पूर्णरूपले ध्वस्त पारिदिनु । यदि तिमीहरूले मेरो आज्ञा पालना गरेनौ भने, तिमीहरूले मेरो सट्टामा तिनीहरूका मूर्तिहरु पूज्नेछौ ।”
जब इस्राएलीहरू कनानको सीमानामा आइपुगे, मोशाले इस्राएलका प्रत्येक कूलबाट एक-एक जना गरि बाह्रजना मानिसहरू छाने । उनले ती मानिसहरूलाई त्यस देशको खबर बुझ्न जासूसका रूपमा पठाए । कनानीहरू बलिया छन् या निर्धा छन् भन्ने विषयमा चियो गर्नको निम्ति पनि तिनीहरूलाई पठाइएको थियो ।
ती बाह्रजना मानिसहरू चालीस दिनसम्म कनानमा घुमिरहे र त्यसपछि तिनीहरू फर्केर आए । तिनीहरूले मानिसहरूलाई भने, “त्यहाँको भूमि त धेरै मलिलो र प्रशस्तै फसल हुने खालको रहेछ !” तर दशजना जासूसहरूले यसो भने, “त्यो शहर त धेरै बलियो छ र त्यहाँका मानिसहरू पनि अजङ्गका छन् ! यदि हामीले तिनीहरूमाथि आक्रमण गर्यो भनेता निश्चय नै तिनीहरूले हामीलाई परास्त गर्नेछन् र मार्नेछन् !”
तब तुरुन्तै अर्का दुई जासूसहरू, कालेब र यहोशूले चाहिँ यसो भने, “यो सहि हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्चय नै हामीले तिनीहरूलाई परास्त गर्न सक्छौँ ! परमेश्वर हाम्रो निम्ति लडिदिनुहुनेछ ।”
तर मानिसहरूले कालेब र यहोशूको कुरा सुनेनन् । उनीहरू मोशा र हारूनसँग रिसाए र भने, “तपाईंहरूले किन हामीलाई यस्तो भयानक ठाउँमा ल्याउनुभयो ? लडाईंमा मारिनु र आफ्नी श्रीमती र बालबच्चाहरूलाई दास बनाइनुभन्दा त बरू हामी मिश्रदेशमै बसेको भए हुनेथियो ।” फेरि मिश्रदेशमा फर्काएर लैजानको लागि इस्राएलीहरूले एकजना नयाँ अगुवाको माग गरे ।
यो देखेर परमेश्वर धेरै रिसाउनुभयो र भेट हुने पालमा आउनुभयो । परमेश्वरले भन्नुभयो, “मेरो विरुद्धमा विद्रोह गरेका कारण तिमीहरू सबैजना यस उजाड स्थानमा भौँतारिदै हिँड्नेछौ । कालेब र यहोशू बाहेक २० बर्षभन्दा माथिका सबै यहिँ मर्नेछन् र प्रतिज्ञाको मुलुकभित्र छिर्न पाउनेछैनन् ।”
जब मानिसहरूले यो कुरा सुने, आफूले पाप गरेकोमा तिनीहरू साह्रै दुःखी भए । तिनीहरूले आफ्ना हतियारहरू लिए र कनानका मानिसहरूलाई आक्रमण गर्न गए । मोशाले तिनीहरूलाई त्यहाँ नजान चेतावनी दिए किनकि परमेश्वर तिनीहरूको साथमा हुनुहुन्थ्यो, तर तिनीहरूले उनको कुरा सुनेनन् ।
त्यस लडाईंमा परमेश्वर इस्राएलीहरूसँग जानुभएन, त्यसैले तिनीहरू पराजित भए र धेरैजना मारिए । त्यसपछि इस्राएलीहरू कनानबाट फर्के र चालिस वर्षसम्म उजाड स्थानमा भौँतारिरहे ।
चालिस वर्षसम्म उजाड स्थानमा भैँतारिरहँदा परमेश्वरले नै इस्राएलीहरूलाई जुटाइदिनुभयो । उहाँले तिनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यस रोटीलाई “मन्न” भनिन्थ्यो । उहाँले तिनीहरू बसेको पालमा खानाको निम्ति मासुपनि होस् भन्ने हेतुले बट्टाईका झुण्ड पनि पठाइदिनुभयो । ती सबै समयभरि परमेश्वरले तिनीहरूका लुगा र जुत्ता च्यातिनबाट जोगाइदिनुभयो ।
परमेश्वरले तिनीहरूलाई चट्टानबाट पानी दिनुभयो । यति हुँदा-हुँदै पनि, इस्राएलीहरूले परमेश्वर र मोशाको विरुद्धमा आरोप लगाए र गनगन गरे तापनि, अब्राहाम, इसहाक र याकूबसँग आफूले बाँध्नुभएको प्रतिज्ञामा परमेश्वर विश्वासयोग्य हुनुहुन्थ्यो ।
एकपटक, जब मानिसहरूसँग पिउनको निम्ति पानी थिएन, परमेश्वरले मोशालाई भन्नुभयो, “चट्टानलाई भन् र त्यसबाट पानी आउनेछ ।” तर मोशाले सबै मानिसहरूको सामुन्ने बोल्नुको सट्टा चट्टानमा दुई पटक लठ्ठीले हिर्काएर परमेश्वरको अनादर गरे । चट्टानबाट पानी त आयो तर परमेश्वर मोशासँग रिसाउनुभयो र भन्नुभयो, “तँ प्रतिज्ञाको मुलुकभित्र पस्न पाउनेछैनस् ।”
उजाड स्थानमा भौँतारिएको चालिस वर्षपछि, परमेश्वरको विरुद्धमा विद्रोह गर्ने सबै इस्राएलीहरू मरिसकेका थिए । त्यसपछि परमेश्वरले फेरि मानिसहरूलाई प्रतिज्ञा गरिएको मुलुकको छेउमा लग्नुभयो । मोशा अब बूढा भइसकेका थिए, त्यसैले परमेश्वरले यहोशूलाई ती मानिसहरूको नेतृत्व गर्न छान्नुभयो । परमेश्वरले मोशालाई यो पनि प्रतिज्ञा गर्नुभयो कि एकदिन उहाँले मोशाजस्तै अर्को एकजना अगमवक्ता पठाउनुहुनेछ ।
अनि परमेश्वरले मोशालाई पहाडको टुप्पोमा जान भन्नुभयो, ताकि उनले प्रतिज्ञा गरिएको मुलुक हेर्न सकून् । मोशाले प्रतिज्ञा गरिएको मुलुक देख्न पाए तर परमेश्वरले मेशालाई प्रवेश गर्न दिनुभएन । त्यसपछि मोशाको मृत्यु भयो, र तीस दिनसम्म इस्राएलीहरूले उनको निम्ति शोक मनाए । यहोशू तिनीहरूका नयाँ अगुवा भए । यहोशू एक असल अगुवा थिए किनकि उनी परमेश्वरमा भरपर्थे ।
बाइबलको कथा: लेवी १६-१७, गन्ती १० -१४;२०;२७, व्यवस्था ३४ बाट
१५. प्रतिज्ञाको मुलुक
अन्तत, इस्राएलीहरूको प्रतिज्ञाको मुलुक कनानभित्र प्रवेश गर्ने समय आएको थियो । यहोशूले दुईजना जासूसहरूलाई कनानी शहर यरीहोमा पठाए, जुन बलिया किल्लाहरूद्वारा संरक्षित थियो । त्यस शहरमा राहाब नाउँ गरेकी एकजना व्यभिचारी स्त्री बस्थिन् जसले ती जासूसहरूलाई लुक्न र पछि तिनीहरूलाई भाग्न सहायता गरिन् । उनले परमेश्वरमाथि विश्वास गरेको कारणले यी सबै कार्यहरू गरिन् । तिनीहरूले यरीहो शहरलाई ध्वस्त पार्दा राहाब र उनको परिवारलाईचाहिँ सुरक्षित राख्ने वाचा गरे ।
इस्राएलीहरू प्रतिज्ञाको मुलुकभित्र पस्नु अघि यर्दन नदी पार गर्नुपर्ने थियो । परमेश्वरले यहोशूलाई भन्नुभयो, “पहिला पूजाहारीहरूलाई जान देऊ ।” जब पूजाहारीहरू यर्दन नदीभित्र पसे, बगिरहेको पानी बग्न रोकियो त्यसकारण इस्राएलीहरू अब नदीको पल्लो छेऊ, सुख्खा भूमितर्फ जान सके ।
यर्दन नदी पार गरिसकेपछि, परमेश्वरले यहोशूलाई यरीहोको शक्तिशाली शहरमाथि आक्रमण गर्ने तरिका बताइदिनुभयो । मानिसहरूले परमेश्वरको आज्ञापालन गरे । परमेश्वरले भन्नुभएजस्तै, सिपाहीहरू र पूजाहारीहरूले ६ दिनसम्म लगातार यरीहोको शहरलाई घेरा हाली त्यसको वरिपरि परिक्रमा गरे ।
अनि सातौँ दिनमा इस्राएलीहरूले अरू सात पटक शहरको वरिपरि परिक्रमा गरे । जब तिनीहरूले अन्तिम पटक शहरको परिक्रमा गर्दै थिए, सैनिकहरूले चर्को स्वरले कराए र पूजाहारीहरूले आफ्ना तुरही फुके ।
अनि यरीहोका चारैपट्टिका पर्खालहरू ढले । इस्राएलीहरूले परमेश्वरले भन्नुभएजस्तै शहरमा भएका सबै थोकहरू नष्ट गरे । तिनीहरूले केवल राहाब अनि उनका परिवारलाई मात्र छोडिदिए, उनीहरू पछि गएर इस्राएलीहरूकै हिस्सा बने । जब कनानमा बसिरहेका अरू मानिसहरूले इस्राएलीहरूद्वारा यरीहो शहर ध्वस्त पारिएको थाहा पाए, इस्राएलीहरूले अब अरू शहरहरूलाई पनि आक्रमण गर्नेछन् भनी तिनीहरू भयभित भए ।
परमेश्वरले इस्राएलीहरूलाई कनानमा बसोबास गरिरहेका कुनैपनि समूहका मानिसहरूसँग कुनै पनि सन्धि नगर्न आज्ञा दिनुभएको थियो । तर कनानका एक गिबोनी नाउँ गरेका जातका मानिसहरूले यहोशूप्रति छल गरे र आफूहरू कनान देशभन्दा टाढा ठाउँबाट आएका हुन् भनी ढाँटे । तिनीहरूले यहोशूसँग शान्ति-सन्धि गर्न प्रस्ताव राखे । यहोशू र इस्राएलीहरूले परमेश्वरलाई ती गिबोनीहरू कहाँबाट आएका हुन् भनी सोधेनन् । अनि यहोशूले तिनीहरूसँग शान्ति–सन्धि गरे ।
जब इस्राएलीहरूले आफूहरू ती गिबोनीहरूद्वारा छलिएको थाहा पाए, तिनीहरू अत्यन्तै क्रोधित भए, तर तिनीहरूसँग राखेको सन्धि कायमै राखे किनभने त्योचाहिँ परमेश्वरको अघि गरिएको प्रतिज्ञा थियो । केहि समयपछि, कनानमा भएका अरू जातिका राजा, अम्मोनीहरूले, गिबोनीहरूले इस्राएलीहरूसँग शान्ति-सन्धि गरेको सुने, त्यसैले तिनीहरूले आफ्ना सैनिकहरूलाई एकिकृत गरेर एउटा विशाल फौज बनाए र गिबोनमाथि आक्रमण गरे। गिबोनीहरूले यहोशूलाई सहायताको निम्ति सन्देश पठाए ।
त्यसैले यहोशूले इस्राएलका सैनिकहरूलाई भेला गराए र गिबोनीहरूकहाँ पुग्न पुरै रात हिँडे । झिसमिसे उज्यालोमा तिनीहरूले अचानक अम्मोनी फौजहरूमाथि आक्रमण गरे ।
त्यस दिन परमेश्वर इस्राएलीहरूको निम्ति लडिदिनुभयो । उहाँले अम्मोनीहरूलाई अन्योलमा पारिदिनुभयो र ठूलाठूला असिनाहरू वर्षाइदिनुभयो, जसद्वारा धेरै अम्मोनीहरू मरे ।
परमेश्वरले सूर्यलाई आकाशको एकै ठाउँमा स्थिर पारी राखिदिनुभयो, ताकि इस्राएलीहरूसँग अम्मोनीहरूलाई परास्त गर्नको लागि प्रशस्त समय रहोस् । त्यस दिन, इस्राएलको निम्ति परमेश्वरले महान् विजय दिनुभयो ।
परमेश्वरले ती फौजहरूलाई परास्त गर्नुभएपछि कनानका अरू धेरै जातिहरू एकिकृत भई इस्राएललाई आक्रमण गरे । यहोशू र इस्राएलीहरूले पनि आक्रमण गरे र तिनीहरूलाई ध्वस्त पारे ।
यो लडाईंपछि परमेश्वरले इस्राएलका प्रत्येक कुललाई तिनीहरूका आफ्नै प्रान्त प्रतिज्ञा गरिएको मुलुकमा दिनुभयो । अनि परमेश्वरले सारा इस्राएल र त्यसका सीमानामा समेत शान्ति दिनुभयो ।
जब यहोशू वृद्ध भए, उनले इस्राएलका सारा मानिसहरूलाई एकसाथ भेला गराए । अनि उनले ती मानिसहरूलाई सिनै पर्वतमा इस्राएलीहरूसँग परमेश्वरले राख्नुभएको करार पालना गर्नुपर्ने बाध्यताको स्मरण गराए । मानिसहरूले परमेश्वरमा विश्वासयोग्य हुने र उहाँका व्यवस्था पालन गर्ने प्रतिज्ञा गरे ।
बाइबलको कथा: यहोशू १-२४ बाट
१६. छुटकारा दिनेहरू
यहोशूको मृत्युपछि, इस्राएलीहरू अनाज्ञाकारी भए अनि बाँकी रहेका कनानीहरूलाई न त्यहाँबाट धपाए न ता परमेश्वरको आज्ञा नै माने । इस्राएलीहरूले याहोवे, एउटै साँचो परमेश्वरलाई पूज्नको साटो कनानी देवहरूलाई पूज्न थाले । इस्राएलीहरूको कुनै राजा थिएन, त्यसैले सबैले आफूलाई जे ठिक लाग्छ, त्यही गरे ।
परमेश्वरलाई अटेर गरिनै रहेका हुनाले उहाँले शत्रुहरूलाई इस्राएलीहरूमाथि विजय दिएर दण्ड दिनुभयो । यी शत्रुहरूले इस्राएलीहरूका समानहरू लुटे, तिनीहरूका सम्पतिहरू नाश गरिदिए र धेरैलाई मारिदिए । धेरै वर्षसम्म परमेश्वरको अनाज्ञाकारी भएकाले र आफ्ना शत्रुहरूद्वारा थिचोमिचोमा परेकाले, इस्राएलीहरूले पश्चाताप गरे र छुट्काराको निम्ति परमेश्वरलाई प्रार्थना गरे ।
अनि परमेश्वरले तिनीहरूका निम्ति एकजना छुट्कारा दिने मानिस पठाइदिनुभयो, जसले तिनीहरूलाई शत्रुहरूबाट बचाए र देशमा शान्ति ल्याए । तर फेरि मानिसहरूले परमेश्वरलाई भुले र मूर्तिहरू पूज्न शुरू गरे । त्यसैले परमेश्वरले मिद्यानीहरू (नजिकै बस्ने एक जाति जो इस्राएलीहरूका शत्रु थिए) लाई तिनीहरूमाथि विजयी हुनदिनुभयो ।
सात वर्षसम्म मिद्यानीहरूले इस्राएलीहरूका सबै अन्नबाली लगे । इस्राएलीहरू यति त्रसित थिए कि मिद्यानीहरूले आफूलाई नभेट्टाऊन् भनेर तिनीहरू गुफाहरूमा लुक्ने गर्दथे । आखिरमा तिनीहरूले बचाऊको निम्ति परमेश्वरलाई पुकारे
एकदिन, गिदोन नाउँ भएका इस्राएलका एकजना मानिस गुप्त रूपमा अन्न कुट्दै थिए ताकि मिद्यानीहरू आएर अन्न लुट्न नपाऊन् । त्यसैबेला याहोवेको एक दूत गिदोनकहाँ आएर भने, “परमेश्वर तँसँग हुनुहुन्छ, वीर योद्धा । जाऊ र इस्राएललाई मिद्यानीहरूका हातबाट बचाऊ ।”
गिदोनका बुबाकहाँ मूर्तिलाई अर्पण गरी बनाइएको एउटा वेदी थियो । परमेश्वरले गिदोनलाई त्यस मूर्तिलाई भत्काउन लगाउनुभयो । तर गिदोन मानिसहरूदेखि डराएका थिए, त्यसैले रात नपरुन्जेल उनले पर्खिरहे । अनि उनले त्यस वेदीलाई भत्काइदिए र त्यसलाई टुक्रा-टुक्रा पारिदिए । उनले मूर्तिको निम्ति बनाइएको वेदीको नजिकै परमेश्वरको निम्ति एउटा नयाँ वेदी बनाए र परमेश्वरको निम्ति बलि चढाए ।
अर्को बिहान कसैले तिनीहरूको वेदी भत्काइदिएको मानिसहरूले देखे र उनीहरू धेरै रिसाए । गिदोनलाई मार्नको निम्ति तिनीहरू उसको घर गए, तर उनका बुबाले तिनीहरूलाई भने, “तिमीहरू किन आफ्ना देवतालाई सहयोग गर्न खोज्छौ ? यदि ऊ देवता हो भनेता, उसले आफैँलाई बचाओस !” तिनले यसो भनेको कारण मानिसहरूले गिदोनलाई छोडीदिए ।
त्यसपछि मिद्यानीहरू फेरि इस्राएलीहरूलाई लुट्न आए । तिनीहरू यति धेरै थिए कि तिनीहरूलाई गन्न पनि साध्य थिएन । तिनीहरूसँग लडाईं गर्नको निम्ति गिदोनले इस्राएलीहरूलाई एकसाथ भेला गरे । गिदोनले परमेश्वरसँग दुईवटा चिन्हहरू मागे ताकि इस्राएलको बचाऊको लागि परमेश्वरले उसलाई चलाउनुभएको हो भनी उनी निश्िचत हुन सकून् ।
पहिलो चिन्हको लागि, गिदोनले एउटा कपडा भुईँमा ओछ्याए र परमेश्वरलाई बिहानको शीत भुईँमा नभईकन केवल त्यस कपडामा मात्र पारिदिनहुन अनुरोध गरे । परमेश्वरले त्यसै गरिदिनुभयो । अर्को पटकचाहिँ उनले भुईँ भिजाइदिनुहुन र कपडालाईचाहिँ सुख्खा पारिदिनुहुन परमेश्वरलाई अनुरोध गरे । परमेश्वरले त्यो पनि गरिदिनुभयो । यी दुई चिन्हहरूले गिदोनलाई मिद्यानीहरूबाट इस्राएलीहरूलाई\ बचाऊनको निम्ति परमेश्वरले नै उसलाई चलाउनुभएको हो भनि विश्वस्त गरायो ।
३२,००० इस्राएली सैनिकहरू गिदोनकहाँ आए, तर परमेश्वरले उसलाई यो संख्या अति धेरै भयो भन्नुभयो । त्यसैले गिदोनले लडाईं गर्न डराएका २२,००० जनालाई घर पठाईदिए । परमेश्वरले गिदोनलाई मानिसहरूको संख्या अझै धेरै भएको बताउनुभयो । त्यसैले गिदोनले ३०० सैनिकहरूलाई बाहेक बाँकी सबैलाई घर पठाईदिए ।
त्यस रात परमेश्वरले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूको पालमा जा र जब तैँले तिनीहरूले भनेको कुरा सुन्नेछस्, तँ फेरि डराउनेछैनस् ।” त्यसकारण त्यस रात गिदोन तल पालमा झरे अनि एकजना मिद्यानी सैनिकले आफ्ना मित्रलाई सपनामा देखेका केही कुराहरू भन्दै गरेको सुने । त्यस व्यक्तिले यसो भनिरहेका थिए, “यो सपनाको अर्थ हो कि, गिदोनका फौजले मिद्यानी फौजलाई परास्त गर्नेछन !” जब गिदोनले त्यो सुने, उनले परमेश्वरको आराधना गरे ।
त्यसपछि गिदोन आफ्ना सैनिकहरूकहाँ फर्के र प्रत्येकलाई एक-एकवटा तुरही, माटाको गाग्रो र राँको दिए । तिनीहरूले मिद्यानीहरू सुतिरहेको शिविरलाई घेरा हाले । गिदोनका ३०० मानिसहरूले आफ्ना राँकोहरू गाग्रोभित्र राखेका थिए ताकि मिद्यानीहरूले राँकोको प्रकाश देख्न नसकून् ।
अनि गिदोनका सबै सैनिकहरूले एकैपटक राँको देखाउँदै आफ्ना गाग्राहरू फुटाए । तिनीहरूले आफ्ना तुरहीहरू फुके र कराए, “याहोवे र गिदोनको निम्ति तरवार !”
परमेश्वरले मिद्यानीहरूलाई अन्योलमा पारिदिनुभयो, त्यसैले तिनीहरूले आक्रमण गर्न थाले र एक-अर्कालाई मार्न लागे । तुरुन्तै अरू इस्राएलीहरूलाई तिनीहरूका घरहरूबाट मिद्यानीहरूलाई खेद्न बोलाइयो । तिनीहरूले थुप्रैलाई मारे र बाँकी रहेकाहरूलाई इस्राएलीहरूको भूमिबाट बाहिर धपाइदिए । त्यस दिन १,२०,००० मिद्यानीहरू मरे । इस्राएललाई परमेश्वरले बचाऊनुभएको थियो ।
मानिसहरूले गिदोनलाई तिनीहरूका राजा बनाउन चाहेका थिए । गिदोनले तिनीहरूलाई त्यसो गर्न दिएनन्, तर तिनीहरूले मिद्यानीहरूबाट लिएका सुनका केही औँठीहरू मागे । मानिसहरूले गिदोनलाई धेरै मात्रामा सुन दिए ।
अनि गिदोनले ती सुनलाई प्रधान पूजाहारीले लगाउनेजस्तै एक विशेष वस्त्र बनाउनको निम्ति प्रयोग गरे । तर मानिसहरूले त्यसलाई पूज्न थाले मानौँ कि त्यो एक मूर्ति नै थियो । त्यसैले परमेश्वरले फेरि इस्राएललाई दण्ड दिनुभयो किनकि तिनीहरूले मूर्तिलाई पूजे । परमेश्वरले तिनीहरूका शत्रुहरूलाई उनीहरूमाथि विजयी हुनदिनुभयो । आखिरमा तिनीहरूले परमेश्वरलाई सहायताको निम्ति पुकारे, अनि परमेश्वरले तिनीहरूलाई अर्को एकजना छुट्कारा दिने मानिस पठाइदिनुभयो ।
यस प्रकारको खाका धेरैपटक दोर्होरियो इस्राएलीहरूले पाप गर्दथे, परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुन्थ्यो, तिनीहरूले पश्चाताप गर्दथे र परमेश्वरले तिनीहरूलाई बचाउनको निम्ति छुटकारा दिने मानिसहरू पठाउनुहुन्थ्यो । धेरै वर्षको अन्तरालमा, परमेश्वरले धेरै छुटकारा दिनेहरू पठाउनुभयो जसले इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाए ।
अन्त्यमा, मानिसहरूले अरू राष्ट्रहरूमा भएझै परमेश्वरसँग एकजना राजाको माग गरे । तिनीहरू यस्तो राजा चाहन्थे जो अग्ला र बलिया हुन्, अनि तिनीहरूलाई लडाईंमा अगुवाई गर्न सकून् । परमेश्वरले यो अनुरोध मन पराउनु भएको थिएन तरपनि उहाँले तिनीहरूलाई खोजेजस्तै राजा दिनुभयो ।
बाइबलको कथा: न्यायकर्ता १-३; ६-८ बाट
१७. दाऊदसँग परमेश्वरको करार
शाऊल इस्राएलका पहिलो राजा थिए । उनी मानिसहरूले चाहेका जस्तै अग्ला र सुन्दर मानिस थिए । पहिलेका केही वर्ष शाऊल इस्राएलमाथि शासन गर्ने एक असल राजा थिए । तर पछि उनी एक दुष्ट मानिस बने र परमेश्वरको अनाज्ञाकारी भए, त्यसैले परमेश्वरले अर्कै मानिसलाई चुन्नुभयो जो एकदिन उसको सट्टामा राजा हुँदैथियो ।
परमेश्वरले दाऊद नाउँ गरेको एक जवान इस्राएलीलाई शाऊलपछि राजा हुनको निम्ति चुन्नुभयो । दाऊद बेथलेहम नाउँ गरेको गाँउमा बस्ने एक गोठाला थिए । आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्दै गर्दा धेरै पटक उनले आफ्ना भेडाहरूमाथि आक्रमण गर्न खोज्ने सिंह र भालुजस्ता जनावरलाई मारेका थिए । दाऊद नम्र र धर्मी मानिस थिए जसले परमेश्वरमा भर गर्दथे र उहाँको आज्ञा मान्थे ।
दाऊद एक महान् सिपाही र अगुवा बने । जब दाऊद जवान थिए, उनले गोल्यत नाउँ गरेको एकजना अजङ्गका मानिससँग लडाईं गरे । गोल्यत एक तालिम प्राप्त, धेरै बलियो र करिब तीन मिटर जति अग्लो मानिस थियो ! तर परमेश्वरले गोल्यतलाई मार्न दाऊदलाई सहायता गर्नुभयो र इस्राएललाई बचाऊनुभयो । त्यसपछि, दाऊदले इस्राएलका शत्रुहरूमाथि धेरै विजय प्राप्त गरे, जसकारण उनले मानिसहरूबाट प्रशंसा पाए ।
शाऊल दाऊदप्रति मानिसहरूको प्रेमको डाही भए । धरैपटक शाऊलले दाऊदलाई मार्न खोजे, त्यसैले उनी शाऊलदेखि लुके । एकदिन शाऊल दाऊदलाई मार्न उनको खोजीमा हिँडीरहेका थिए । शाऊल एउटा गुफाभित्र पसे जहाँ दाऊद शाउलबाट लुकेर बसिरहेका थिए, तर शाऊलले उनलाई देखेनन् । यतिखेर दाऊद शाऊलको अति नजिक थिए र उनलाई मार्न पनि सक्थे, तर उनले त्यसो गरेनन् । बरू दाऊदले, उनको हत्या गरि आफू राजा बन्न चाहदैनथे भनि प्रमाणित गर्नको निम्ति शाऊलको वस्त्रका केहि भाग च्याते ।
आखिरमा, शाऊल लडाईंमा मरे, र दाऊद इस्राएलका राजा भए । उनी एक असल राजा थिए, र मानिसहरूले उनलाई प्रेम गर्दथे । परमेश्वरले दाऊदलाई आशिष् दिनुभयो र उनलाई सफल बनाउनुभयो । दाऊदले धेरै लडाईंहरू लडे र परमेश्वरले उनलाई इस्राएलका शत्रुहरूलाई हराउन सहायता गर्नुभयो । दाऊदले येरुशलेम कब्जा गरे र त्यसलाई उनको राजधानी शहर बनाए । दाऊदको शासनकालमा इस्राएल एक शक्तिशाली र सम्पन्न राष्ट्र बन्यो ।
दाऊद एक मन्दिरको निर्माण गर्न चाहन्थे जहाँ सारा इस्राएलीहरूले परमेश्वरको आराधना गर्न सक्थे र उहाँलाई बलिहरू चढाउन सक्थे । करिब ४०० वर्षसम्म मानिसहरूले परमेश्वरको आराधना गर्ने र बलिहरू चढाउने काम भेट हुने पालमा गर्दै आएका थिए, जो मोशाले निर्माण गरेका थिए ।
तर परमेश्वरले नातान नाउँ गरेका एकजना अगमवक्तालाई दाऊदकहाँ यो खबर पठाउनुभयो, “तँ लडाईंको मानिस भएको हुनाले, मेरो निम्ति तैँले यस मन्दिरको निर्माण गर्नेछैनस् । तेरो छोराले यसको निर्माण गर्नेछ । तर, म तँलाई प्रशस्त आशिष् दिनेछु । तेरा सन्तानहरूमध्ये एकजनालेचाहिँ सदाको निम्ति राजाको रूपमा मेरा मानिसहरूमाथि राज्य गर्नेछ !” सदा-सर्वदा राज्य गर्नसक्ने दाऊदको एउटैमात्र सन्तानचाहिँ “मसिह” हुनुहुन्थ्यो । “मसिह” परमेश्वरले चुन्नुभएको एकजना हुनुहुन्थ्यो जसले संसारका मानिसहरूलाई तिनीहरूका पापबाट बचाऊनुहुने थियो ।
जब दाऊदले यी कुराहरू सुने, उनले तुरुन्तै परमेश्वरलाई धन्यवाद दिए र उहाँको प्रशंसा गरे किनभने उहाँले दाऊदलाई त्यो महान् आदर र धेरै आशिषहरूको प्रतिज्ञा गर्नुभएको थियो । दाऊदलाई यी कुरा कहिले हुन्छ भनेर थाहा थिएन तर जब यी कुराहरू भए, इस्राएलीहरूले मसिह आउन अघि करिब १,००० वर्ष समय कुर्नुपर्ने थियो, ।
दाऊदले धेरै वर्षसम्म न्याय र विश्वासयोग्यताको साथ राज्य गरे, अनि परमेश्वरले उसलाई आशिष् दिनुभयो । तथापि, आफ्नो जीवनकालको अन्त्यतिर उनले परमेश्वरको विरुद्धमा डरलाग्दो पाप गरे ।
एकदिन, जब दाऊदका सबै सैनिकहरू लडाईंको निम्ति आफ्ना घरबाट टाढा गएका थिए, उनले आफ्नो दरबारबाट बाहिर हेरे र एकजना सुन्दरी स्त्री लाई नुहाइरहेको देखे । उनको नाउँ बेतशेबा थियो ।
अन्त्यै हेर्नुको सट्टा, दाऊदले कसैलाई त्यस स् त्री लाई उनीकहाँ ल्याउन पठाए । दाऊद तिनीसँग सुते र तिनलाई उसको घरमा फिर्ता पठाइदिए । केही समयपछि बेतशेबाले दाऊदलाई आफू गर्भवती भएको सन्देश पठाइन् ।
बेतशेबाको पति, उरियाह नाउँ गरेका मानिस, दाऊदका सेनाहरूमध्येका एक उत्तम सैनिक थिए । दाऊदले उरियाहलाई लडाईंबाट फिर्ता बोलाए र उसलाई आफ्नी पत्नी कहाँ जान अनुरोध गरे । तर उरियाले लडाईंमा बाँकी रहेका आफ्ना सिपाहीहरूलाई छाेडेर आफ्नो घर जान इन्कार गरे । त्यसैले दाऊदले उरियाहलाई लडाईंमा फिर्ता पठाए र प्रधान सेनापतिलाई जहाँ शत्रुहरू सबैभन्दा मजबुत छन्, त्यहिँ उसलाई राख्ने आदेश दिए ताकि तिनी मारिऊन् ।
उरियाह मारिएपछि दाऊदले बेतशेबालाई विवाह गरे । पछि, उनले दाऊदको निम्ति छोरा जन्माइन् । दाऊदले गरेका कामप्रति परमेश्वर धेरै क्रोधित हुनुभयो, त्यसैले उहाँले नातान अगमवक्तालाई उनको पाप कति दुष्ट थियो भनी बताइदिन दाऊदकहाँ पठाउनुभयो । दाऊदले आफ्नो पापको निम्ति पश्चाताप गरे र परमेश्वरले उनलाई क्षमा दिनुभयो । आफ्नो बाँकी जीवनभरि दाऊदले कष्टको घडीमा पनि परमेश्वरलाई पछ्याए र आज्ञाकारी भए ।
तर दाऊदले गरेको पापको दण्ड स्वरूप, उनको बालकैको छोरा मर्यो । दाऊदको बाँकी जीवनभरि उनको परिवारमा कलह भैरह्यो र दाऊदको तागत पनि हरायो जसकारण उनी अत्यन्तै कमजोर भए । दाऊद परमेश्वर मा विश्वासयोग्य नभएतापनि परमेश्वर आफ्ना प्रतिज्ञाहरूमा अझै विश्वासयोग्य हुनुहुन्थ्यो । पछि, दाऊद र बेतशेबाको अर्को छोरा भयो र तिनीहरूले त्यसको नाउँ सोलोमन राखे ।
बाइबलको कथाः १ शमुएल १०; १५-१९; २४; ३१; २ शमुएल ५; ७; ११-१२ बाट
१८. विभाजित राज्य
धेरै वर्षपछि, दाऊदको मृत्यु भयो र उनका छोरा सोलोमनले इस्राएलमाथि शासन गर्न थाले । परमेश्वर सोलोमनसँग बोल्नुभयो र उसलाई सबैभन्दा बढी के कुराको चाहना छ भनी सोध्नुभयो । सोलोमनले ज्ञान-बुद्धि मागे अनि परमेश्वर प्रसन्न हुनुभयो र उसलाई संसारकै सबैभन्दा बुद्धिमान मानिस तुल्याउनुभयो । सोलोमनले धेरै कुराहरू सिके र एक बुद्धिमान न्यायकर्ता भए । परमेश्वरले उनलाई धेरै सम्पन्न पनि बनाउनुभयो ।
यरुशलेममा, सोलोमनले त्यस मन्दिरको निर्माण गरे जुन उनका पिता दाऊदले बनाउने योजना गरेका थिए र त्यसको लागि सामानहरू जम्मा गरेका थिए । मानिसहरूले अब परमेश्वरलाई पूज्ने र भेट हुने पालको सट्टा मन्दिरमा बलिहरू चढाए । परमेश्वर त्यस मन्दिरमा उपस्थित हुनुहुन्थ्यो । अनि उहाँ आफ्ना मानिसहरूसँग रहनुभयो ।
तर सोलोमनले अन्य देशका स् त्रीहरूलाई प्रेम गरे । उनले करिब १,००० जना स् त्रीहरूसँग विवाह गरे, र परमेश्वरको अनाज्ञाकारी भए । यी स् त्रीहरूमध्ये धेरैजना अन्य देशहरूबाट आएका थिए अनि आफूसँगै आफ्ना देवताहरू पनि ल्याएका थिए जसलाई तिनीहरूले पूजिनै रहे । जब सोलोमन वृद्ध भए, उनले पनि तिनीहरूका देवताहरूलाई पूज्न थाले ।
परमेश्वर सोलोमनसँग रिसाउनुभएको थियो अनि उसको अविश्वासनियताको कारण दण्ड स्वरूप, उहाँले सोलोमनको मृत्यु पश्चात इस्राएल राष्ट्रलाई दुई राज्यमा विभाजन गरिदिने प्रतिज्ञा गर्नुभयो ।
सोलोमनको मृत्युपछि उनका छोरा, रहोवाम, इस्राएलका राजा भए । रहोवाम एक मूर्ख मानिस थिए । इस्राएल राष्ट्रका सारा मानिसहरू उनलाई राज्याभिषेक गर्न एकसाथ भेला भए । तिनीहरूले रहोवामलाई सोलोमन राजाले कडा परिश्रम गर्न लगाएको र धेरै कर तिर्न लगाएको भनी गुनासो गरे ।
रहोवामले मूर्खतापूर्वक उनीहरूलाई जवाफ दिए, “मेरा बुबाले कडा परिश्रम गर्न लगाउनुभएको भनी तिमीहरूले सोचेका छौ, तर म तिमीहरूलाई उहाँले भन्दा बढी परिश्रम गर्न लगाउनेछु र उहाँले भन्दा बढी सजाय दिनेछु ।”
इस्राएल राष्ट्रका कुलहरूमध्ये दश कुलहरूले रहोबामको विरुद्धमा विद्रोह गरे । केवल दुई कुल मात्र उनीप्रति विश्वासयोग्य भए । यी दुई कुलहरू नै यहूदाको राष्ट्र भए ।
रहोबामको विरुद्धमा विद्रोह गरेका इस्राएलका अरू दश कुलले, यरोबाम नाउँ गरेका एकजना मानिसलाई आफ्नो राजा हुन नियुक्त गरे । उनीहरूले आफ्नो राज्य देशको उत्तरी भागमा खडा गरे र त्यसलाई इस्राएलको राज्य भनियो ।
यरोबामले परमेश्वरको विरुद्धमा विद्रोह गरे र मानिसहरूलाई पाप गर्न लगाए । यहूदाको राज्यमा भएको मन्दिरमा गएर परमेश्वरको आराधना गराउनको साटो उनले मानिसहरूका निम्ति आराधना गर्न दुईवटा मूर्तिहरू बनाइदिए ।
यहूदा र इस्राएलका राज्यहरू दुश्मन भए र घरीघरी एक-अर्काको विरुद्धमा लडाईं गरिरहे ।
इस्राएलको नयाँ राज्यमा, सबै राजाहरू दुष्ट थिए । यी राजाहरूमध्ये धरैजना अरू इस्राएलीहरूद्वारा मारिए जो उनीहरूको ठाँउमा राजा हुन चाहेका थिए ।
इस्राएल राज्यका सबै राजाहरू र धेरैजसो मानिसहरूले मूर्तिपूजा गरे । उनीहरूका मूर्तिपूजाको कामहरूमा धेरैजसो व्यभिचार र कहिलेकहीँ त बाल बलि समेत सामिल गरे ।
यहूदाका राजाहरू दाऊदका सन्तानहरू थिए । यी राजाहरूमध्ये कोही असल मानिसहरू थिए जसले न्यायपुर्वक राज्य गरे र परमेश्वरलाई पूजे । तर यहूदाका धेरैजसो राजाहरू दुष्ट र भ्रष्ट थिए अनि तिनीहरूले पनि मूर्तिपूजा गरे । केही राजाहरूले त झूटा देवताहरूको निम्ति आफ्नै बालबच्चाको समेत बलि दिए । यहूदाका धेरैजसो मानिसहरूले पनि परमेश्वरको विरुद्धमा विद्रोह गरे र अरू देवताहरूलाई पूजे ।
बाइबलको कथा: १ राजा १-६; ११-१२ बाट
१९. अगमवक्ताहरू
इस्राएलीहरूको इतिहास भरिनै, परमेश्वरले तिनीहरूकहाँ अगमवक्ताहरू पठाइदिनुभयो । अगमवक्ताहरूले परमेश्वरबाट सन्देशहरू सुन्थे र उहाँका सन्देशहरू मानिसहरूलाई बताइदिन्थे ।
आहाब राजाले इस्राएलमा शासन गरिरहेका बेलामा एलिया एक अगमवक्ता थिए । आहाब एक दुष्ट मानिस थिए जसले मानिसहरूलाई बाल नाउँ गरेको देवताको मूर्तिपूजा गर्न प्रोत्साहन गर्ने गर्दथे । एलियाले आहाबलाई भने, “मेरो वचन विना सारा इस्राएलको राज्यभरि न त शीत पर्नेछ न पानी नै पर्नेछ ।” यसले आहाबलाई धेरै क्रोधित बनायो ।
परमेश्वरले एलियालाई आहाबबाट लुक्नलाई उजाड स्थानमा एउटा खोल्सा भएको ठाउँमा जान भन्नुभयो, जसले उनलाई मार्न चाहिरहेका थिए । हरेक बिहान र हरेक बेलुका, कागले उनलाई रोटी र मासु ल्याइदिन्थ्यो । आहाब र उनका सैनिकहरूले एलियाको खोजी गरे तर तिनीहरूले उनलाई भेट्टाउन सकेनन् । त्यहाँको सुख्खापन यति उग्र थियो कि त्यो खोल्सा आखिरीमा सुकेर गयो ।
त्यसैले एलिया एक छिमेकी देशमा गए । त्यस देशमा एकजना विधवा र उनको छोरा अनिकालले गर्दा खानेकुरा खानबाट वन्चित भइसकेका थिए । तर तिनीहरूले एलियाको ख्याल राखे, र परमेश्वरले तिनीहरूको निम्ति जुटाइदिनुभयो । तिनीहरूको आरीको पिठो र ढुङग्रोको तेल कहिल्यै रित्तिएन । पुरै अनिकालको समयभरि तिनीहरूसँग खानेकुरा थियो । एलिया त्यहाँ केहि वर्षसम्म रहे ।
साढे तीन वर्षपछि, परमेश्वरले एलियालाई इस्राएलको राज्यमा फर्केर जान र आहाबसँग कुरा गर्न भन्नुभयो किनकि उहाँले फेरि वृष्टि पठाउन लाग्नुभएको थियो । जब आहाबले एलियालाई देखे, उनले भने, “तिमी नै हौ यो सबै समस्या निम्त्याउने व्यक्ति !” एलियाले भने, “समस्या निम्त्याउने व्यक्ति तपाईं हुनुहुन्छ ! तपाईंले एउटै सत्य परमेश्वर, याहोवेलाई त्याग्नुभएको छ र बाललाई पूज्नुभएको छ । इस्राएलको राज्यका सारा मानिसहरूलाई कर्मेल डाँडामा भेला गराउनुहोस् ।”
इस्राएल राज्यका मानिसहरू, र बालका ४५० जना अगमवक्ताहरू समेत लिएर सबैजना कर्मेल पहाडमा आए । एलियाले मानिसहरूलाई भने, “तिमीहरू कहिलेसम्म आफ्नो मन बदली रहन्छौ ? यदि याहोवे परमेश्वर हुनुहुन्छ भने, उहाँको सेवा गर ! यदि बाल परमेश्वर हो भने, उसको सेवा गर !”
अनि एलियाले बालका अगमवक्ताहरूलाई भने, “एउटा साँढे मार र त्यसलाई बलिको रूपमा तयार गर, तर त्यसलाई आगोले नजलाउनु । म पनि त्यसै गर्नेछु । जुन परमेश्वरले आगोले जवाफ दिनुहुन्छ, त्यही परमेश्वर सत्य हुनुहुन्छ ।” त्यसैले बालका पूजाहारीहरूले बलि तयार गरे तर आगोचाहिँ लगाएनन् ।
अनि बालका अगमवक्ताहरूले यसो भन्दै प्रार्थना गरे, “हे बाल, हामीलाई सुन्नुहोस् !” । दिनभरि तिनीहरूले प्रर्थना गरे र कराए र आफैँलाई चक्कूले समेत् काटे, तर कुनै उत्तर आएन ।
दिनको अन्त्यतिर, एलियाले परमेश्वरको निम्ति एउटा बलि तयार गरे । अनि उनले मानिसहरूलाई बाह्र ठूला गाग्रा पानी ल्याएर बलिको मासुमाथि, काठहरू र भुईँसमेत गरि वेदी वरपरका सबै भाग पूर्णरूपले नभिजेसम्म खन्याउन लगाए ।
अनि एलियाले प्रार्थना गरे, “याहोवे अब्राहाम, इसहाक र याकूबका परमेश्वर, आज हामीहरूलाई तपाईं नै इस्राएलको परमेश्वर हुनुहुन्छ र म तपाईं को दास हुँ भनि देखाऊनुहोस् । मलाई उत्तर दिनुहोस् ताकि यी मानिसहरूले यो जानून् कि तपाईं नै एकमात्र सत्य परमेश्वर हुनुहुन्छ ।”
तब तुरुन्तै, आकाशबाट आगो खस्यो र मासु, काठ, ढुङ्गाहरू, माटो अनि वेदी वरपर भएका पानी समेत जलाइदियो । जब मानिसहरूले यो देखे, तिनीहरू भुईँमा घोप्टो परे र भने, “याहोवे परमेश्वर हुनुहुन्छ ! याहोवे परमेश्वर हुनुहुन्छ !”
अनि एलियाले भने, “बालका कोही पनि अगमवक्ताहरूलाई उम्किन नदेओ !” त्यसैले मानिसहरूले बालका अगमवक्ताहरूलाई पक्रे र तिनीहरूलाई त्यहाँबाट अन्तै लगेर मारिदिए ।
अनि एलियाले राजा आहाबलाई भने, “तुरुन्तै शहरमा फर्की जानुहोस्, किनभने पानीको वर्षा हुँदैछ ।” एकैछिनपछि आकाश कालो भएर आयो, र ठूलो पानी पर्न थाल्यो । याहोवेले खडेरीको अन्त्य गर्नुभएको थियो र उहाँ नै एकैमात्र सत्य परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्नुभयो ।
एलियाको समयपछि, परमेश्वरले एलिशा नाउँ गरेका मानिसलाई उहाँको अगमवक्ताको रूपमा छान्नुभयो । परमेश्वरले एलिशाद्वारा थुप्रै आश्चर्यकर्महरू गर्नुभयो । तीमध्ये एक आश्चर्यकर्म नामानकहाँ हुनआयो, जो शत्रुहरूका एक सैन्य उच्चाधिकारी थिए र एउटा डरलाग्दो छालाको रोगले ग्रस्त थिए । उनले एलिशाको बारेमा सुनेका हुनाले उनीकहाँ गए र आफूलाई निको पारिदिन अनुरोध गरे । एलिशाले नामानलाई सात पल्टसम्म आफैँलाई यर्दन नदीमा डुबाउन भने ।
पहिले त नामान रिसाएका थिए र यसो गर्न राजी थिएनन् किनकि यो त एक मुर्खता जस्तै देखिएको थियो । तर पछि उनले आफ्नो मन परिवर्तन गरे र आफैँलाई सात पल्टसम्म यर्दन नदीमा डुबाए । जब नामान अन्तिमपटक माथि आए, उनको छाला पूर्णरूपमा निको भइसकेको थियो ! परमेश्वरले उसलाई निको पार्नुभएको थियो ।
परमेश्वरले अरू धेरै अगमवक्ताहरू पठाउनुभयो । तिनीहरू सबैले मानिसहरूलाई मूर्तिपूजालाई त्याग्न र अरूमाथि न्याय र दया देखाउन आग्रह गरे । अगमवक्ताहरूले मानिसहरूलाई यदि उनीहरूले दुष्ट काम गर्न छाेडेनन् र परमेश्वरको अनाज्ञाकारी भए भने, परमेश्वरले उनीहरूलाई दोषी ठहर्याउनुहुने, र उनीहरूलाई दण्ड दिनुहुने चेतावनी दिए ।
धेरैजसो समय, मानिसहरूले परमेश्वरलाई सुनेनन् । तिनीहरूले अक्सर अगमवक्ताहरूको दुर्व्यवहार गरे र कहिलेकहीँ त तिनीहरूलाई मारे पनि । एकपल्ट, यर्मिया अगमवक्तालाई सुख्खा इनारमा राखियो र मर्नलाई त्यहीँ छाेडियो । उनी इनारको पिँधमा भएको हिलोमा भासिए, तर राजाले तिनीमाथि दया देखाए र आफ्ना नोकरहरूलाई यर्मिया मर्नुभन्दा अघि इनारबाट निकाल्न लगाए ।
मानिसहरूले अगमवक्ताहरूलाई घृणा गरेतापनि उनीहरूले परमेश्वरको निम्ति बोलीनै रहे । पश्चाताप नगरेमा परमेश्वरले मानिसहरूलाई नाश गर्नुहुनेछ भनी उनीहरूले चेतावनी दिइनैरहे । उनीहरूले मानिसहरूलाई परमेश्वरको मसिह आउनुहुने प्रतिज्ञाको पनि स्मरण गराए ।
बाइबलको कथा: १ राजा १६-१८; २ राजा ५; यर्मिया ३८ बाट
२०. निर्वासन र फिर्ती
इस्राएलको राज्य र यहूदाको राज्य, दुवैले परमेश्वरको विरुद्धमा पाप गरे । परमेश्वरले तिनीहरूसँग सिनै पर्वतमा बाँध्नुभएको करार तिनीहरूले भंग गरे । परमेश्वरले तिनीहरूलाई पश्चाताप गर्न र पुनः उहाँलाई पूज्न भनी चेतावनी दिनको निम्ति आफ्ना अगमवक्ताहरूलाई पठाउनुभयो, तर तिनीहरू आज्ञाकारी हुन इन्कार गरे ।
त्यसैले परमेश्वरले दुवै राज्यहरूलाई तिनीहरूका शत्रुहरूद्वारा नष्ट हुन दिएर दण्ड दिनुभयो । एक शक्तिशाली र क्रुर राष्ट्र अश्शूरी साम्राज्यले इस्राएलको राज्य ध्वस्त पार्यो । अश्शूरीहरूले इस्राएल राष्ट्रका धेरै मानिसहरूलाई मारे, उनीहरूका बहुमुल्य सामानहरू सबै लगे, र देशका धेरै भागहरू जलाइदिए ।
अश्शूरीहरूले सबै अगुवाहरू, धनी मानिसहरू, र सीप भएका मानिसहरूलाई जम्मा पारी र उनीहरूलाई अश्शूरको देशमा लिएर गए । केवल नमारिएका अति गरीब इस्राएलीहरू मात्र इस्राएलको राज्यमा बाँकी रहे ।
अनि अश्शूरीहरूले इस्राएलको राज्यमा विदेशीहरूलाई ल्याएर राखे । विदेशीहरूले भत्किएका शहरहरूको पुनर्निर्माण गरे इस्राएलीहरूसँग विवाह गरे, जति त्यहाँ छोडिएका थिए । विदेशीहरूलाई विवाह गरेका इस्राएली सन्ततीहरूलाई ‘सामरी’ भनियो ।
यहूदाका मानिसहरूले परमेश्वरमाथि विश्वास नगरेका र उहाँको आज्ञाकारी नभएकाले कसरी उहाँले इस्राएलको राज्यलाई दण्ड दिनुभयो भनी देखे । तापनि तिनीहरूले अझै कनानी देवताहरूका मूर्तिहरू पूजे । परमेश्वरले तिनीहरूलाई चेतावनी दिन अगमवक्ताहरू पठाउनुभयो, तर तिनीहरूले सुन्न इन्कार गरे ।
अश्शुरीहरूले इस्राएल नष्ट गरेको १०० वर्षपछि परमेश्वरले बेबिलोनका राजा, नबूकदनेसरलाई यहूदाको राज्यमा आक्रमण गर्न पठाउनुभयो । बेबिलोन एक शक्तिशाली साम्राज्य थियो । यहूदाका राजाले नबूकदनेसरको दास हुन र हरेक वर्ष उनलाई धेरै पैसा तिर्न सहमत भए ।
तर केही वर्षपछि, यहूदाका राजाले बेबिलोनको विरुद्धमा विद्रोह गरे । त्यसैले, बेबिलोनीहरू फेरि आए र यहूदाको राज्यलाई आक्रमण गरे । तिनीहरूले यरुशलेमको शहर कब्जा गरे, मन्दिर भत्काइदिए, अनि शहर र मन्दिरमा भएका सबै सम्पत्तिहरू लगे ।
विद्रोह गरेको कारण यहूदाका राजालाई दण्ड स्वरूप नबूकदनेसरका सिपाहीहरूले उनका छोराहरूलाई उनकै सामु मारिदिए अनि उनलाई अन्धा तुल्याइदिए । त्यसपछि, तिनीहरूले राजालाई झ्यालखानामै मर्नको निम्ति बेबिलोन लगे ।
नबूकदनेसर र उनका फौजले बाली रोप्नको निम्ति गरीब भन्दा गरीबहरूलाई बाहेक यहूदाको राज्यका प्रायः सबै मानिसहरूलाई बेबिलोनमा लगे । समयको यस अवधि जहाँ परमेश्वरका मानिसहरू प्रतिज्ञाको मुलुक छाेड्न बाध्य भए, यसैलाई निर्वासन भनिएको हो ।
परमेश्वरले मानिसहरूलाई तिनीहरूका पापको कारण निर्वासनमा टाढा लगी दण्ड दिनुभएतापनि उहाँले तिनीहरूलाई र आफ्ना प्रतिज्ञाहरूलाई भुल्नुभएको थिएन । परमेश्वरले निरन्तररूपमा अगमवक्ताहरूद्वारा आफ्ना मानिसहरूको रेखदेख गर्ने र बोल्ने काम जारी राख्नुभयो । सत्तरी वर्षपछि तिनीहरू फेरि प्रतिज्ञाको मुलुकमा फर्कनेछन् भनी उहाँले प्रतिज्ञा गर्नुभयो ।
करिब सत्तरी वर्षपछि फारसीहरूका राजा, कोरेसले बेबिलोनलाई परास्त गरे, त्यसैले फारसी साम्राज्यले बेबिलोनी साम्राज्यलाई प्रतिस्थापित गर्यो । अब इस्राएलीहरूलाई यहूदीहरू भनिन्थ्यो र तिनीहरूमध्ये धेरैजसोले आफ्नो पुरै जीवन बेबिलोनमा बिताएका थिए । केवल केही वृद्ध यहूदीहरूलाई मात्र यहूदाको मुलुकको ख्याल थियो ।
फारसी साम्राज्य एक शक्तिशाली साम्राज्य थियो तर तिनीहरू आफूले कब्जा गरेका मानिसहरू प्रति कृपालु थिए । कोरेस फारसीहरूका राजा भएको केही समयपछि, उनले जो कोही यहूदीहरू यहूदा फर्किजान चाहन्छन् भने फरसी साम्राज्य छाेडी यहूदा फर्कन सक्ने आदेश जारी गरिदिए । उनले तिनीहरूलाई मन्दिरको पुनर्निर्माण गर्न रुपिँया-पैसा समेत् दिए ! त्यसैले सत्तरी वर्षको निर्वासनपछि, यहूदीहरूको सानो समूह यहूदाको शहर येरुशलेम फर्के ।
जब मानिसहरू येरुशलेममा आइपुगे, तिनीहरूले मन्दिर र शहरको वरिपरि पर्खालको पुननिर्माण गरे । तिनीहरूमाथि अझै पनि अरू नै राज्यले शासन गरिरहेको भएतापनि, एकपटक पुनःतिनीहरूले प्रतिज्ञाको मुलुकमा बस्न र त्यस मन्दिरमा आराधना चढाउन पाए ।
बाइबलको कथा: २ राजा १७; २४-२५; २ इतिहास ३६; एज्रा १-१०; नेहम्याह १-१३ बाट
२१. परमेश्वरले मसिहको प्रतिज्ञा गर्नुभयो
सबै कुराको सुरूवात भएदेखिनै, परमेश्वरले मसिहलाई पठाउने योजना गर्नुभएको थियो । मसिह आउनेबारे सबैभन्दा पहिलो प्रतिज्ञा आदम र हव्वाकहाँ आयो । परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि हव्वाको वंशबाट एकजना सन्तान जन्मने छ जसले सर्पको शिर कुच्याउनेछ । हव्वालाई छक्याउने त्यो सर्प शैतान थियो । त्यस प्रतिज्ञाको अर्थचाहिँ मसिहको आगमनले शैतानलाई पूर्णरूपमा परास्त गर्नेथियो ।
परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो कि ऊ द्वारा संसारका सबै जातिका मानिसहरूले आशिष् पाउनेछन् । त्यो आशिष् मसिहको आगमन संगै पुरा हुनेथियो । उहाँले संसारका सबै जातिका मानिसहरूलाई उद्धारको बाटो प्रदान गरिदनुहुने थियो ।
परमेश्वरले मोशालाई भविष्यमा उहाँले मोशाजस्तै अर्को एकजना अगमवक्ता खडा गर्ने प्रतिज्ञा गर्नुभयो । यो मसिह र उहाँको आगमनको सम्बन्धमा अर्को एउटा प्रतिज्ञा थियो ।
परमेश्वरले दाऊद राजालाई प्रतिज्ञा गर्नुभयो कि उसको आफ्नै वंशको सन्तानले परमेश्वरका मानिसहरूमाथि सदा-सर्वदा राज्य गर्नेछ । त्यसको अर्थ मसिह दाऊदकै वंशको एकजना हुनुहुनेछ ।
यर्मिया अगमवक्ताद्वारा, परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि उहाँले एउटा नयाँ करार स्थापित गर्नुहुनेछ, जुनचाहिँ उहाँले सिनै पर्वतमा स्थापित गर्नुभएजस्तो करार थिएन । यस नयाँ करारमा, परमेश्वरले आफ्ना व्यवस्थाहरू मानिसहरूका हृदयमा लेखिदिनुहुनेछ, मानिसहरूले परमेश्वरलाई व्यक्तिगत रूपले जान्नेछन्, तिनीहरू उहाँका मानिसहरू हुनेछन् , र परमेश्वरले तिनीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ । मसिहले नयाँ करारको शुरूवात गर्नुहुनेछ ।
परमेश्वरका अगमवक्ताहरूले यसो पनि भने कि मसिह एक अगमवक्ता, एक पूजाहारी र एक राजा हुनुहुनेछ । अगमवक्ता त्यो मानिस हो जसले परमेश्वरको वचनहरू सुन्छ र परमेश्वरका वचनहरू मानिसहरूका माझमा घोषणा गरिदिन्छ । परमेश्वरले पठाउनेछु भनी प्रतिज्ञा गर्नुभएको मसिहचाहिँ एकमात्र सिद्ध अगमवक्ता हुनुहुन्थ्यो ।
इस्राएली पूजाहारीहरूले मानिसहरूको तर्फबाट तिनीहरूको पापको खातिर दण्डको सट्टा क्षमाको निम्ति बलिहरू चढाइदिने गर्दथे । पूजाहारीहरूले मानिसहरूका निम्ति परमेश्वरसँग प्रार्थना पनि गरिदिन्थे । मसिह एकमात्र सिद्ध प्रधान पूजाहारी हुनुहुन्थ्यो जसले आफैँलाई एक सिद्ध बलिको रूपमा परमेश्वरकहाँ अर्पण गर्नुहुनेथियो ।
राजा त्यो हो जसले कुनै राज्यमाथि शासन गर्छ र मानिसहरुको न्याय गर्छ । मसिह एकमात्र सिद्ध राजा हुनुहुन्थ्यो जो आफ्नो पुर्खा दाऊदको सिंहासनमा बस्नुहुने थियो । उहाँले सदा-सर्वदाको निम्ति सारा संसारमाथि राज्य गर्नुहुने थियो, र सदैव इमान्दारी र सही निर्णयका साथ न्याय गर्नुहुनेथियो ।
परमेश्वरका अगमवक्ताहरूले मसिहको बारेमा अन्य धेरै कुराहरूको भविष्यवाणी गरे । मलाकी अगमवक्ताले मसिह आउनुअघि एकजना महान् अगमवक्ता आउनेछन् भनी भविष्यवाणी गरे । यशैया अगमवक्ताले मसिह कन्याबाट जन्मनुहुनेछ भनी भविष्यवाणी गरे । मीका अगमवक्ताले उहाँ बेथलेहेमको गाउँमा जन्मनुहुनेछ भने ।
यशैया अगमवक्ताले भने कि, मसिह गालीलमा बस्नुहुनेछ, मन भाँचिएकाहरूका हृदयलाई बाँध्नुहुनेछ, बन्धनमा परेकाहरूलाई स्वतन्त्रता दिनुहुनेछ र कैदमा परेकाहरूलाई छुट्कारा दिनहुनेछ । मसिहले रोगी-बिरामीहरूलाई र सुन्न, देख्न, बोल्न वा हिँड्न नसक्नेहरूलाई निको पार्नुहुनेछ भनी भविष्यवाणी गरे ।
यशैया अगमवक्ताले यो पनि भविष्यवाणी गरे कि मसिहलाई विनाकारण घृणा र तिरस्कार गरिनेछ। अरू अगमवक्ताहरूले मसिहलाई मार्नेहरूले उहाँको लुगामा चिठ्ठा हाल्नेछन् र एकजना मित्रले उहाँलाई धोका दिनेछन् भनी भविष्यवाणी गरे। जकरिया अगमवक्ताले त्यस मित्रलाई, मसिहलाई धोका दिए बापत तीस चाँदीका सिक्का भुक्तानी स्वरूप तिरिनेछ भनी भविष्यवाणी गरे।
अगमवक्ताहरूले मसिहको मृत्युको सम्बन्धमा पनि भविष्यवाणी गरे । यशैयाले भविष्यावाणी गरे कि मानिसहरूले मसिहलाई थुक्नेछन्, गिज्याउनेछन्, र कुट्नेछन् । तिनीहरूले उहाँलाई भालाले घोच्नेछन् र धेरै कष्ट र पिडाका साथ उहाँ मर्नुहुनेछ, तथापि उहाँले केही कसुर गर्नुभएको थिएन ।
अगमवक्ताहरूले यो पनि भने कि उहाँ कुनै पाप बिनाको सिद्ध हुनुहुनेछ । उहाँ अरू मानिसहरूका पापको दण्ड बोक्नको खातिर मर्नुहुनेछ । उहाँको दण्डले मानिस र परमेश्वरबीच शान्ति ल्याउनेथियो । यसैकारण, मसिहलाई कुल्चनु परमेश्वरकै चाहना थियो ।
अगमवक्ताहरूले भविष्यवाणी गरे कि, मसिह मर्नुहुनेछ र परमेश्वरले नै उहाँलाई मृत्युबाट बौरी उठउनुहुनेछ । मसिहको मृत्यु र बौरी उठाइबाट, परमेश्वरले पापीहरूलाई बचाउने र नयाँ करारको थालनी गर्ने उहाँको योजना पूरा गर्नुहुनेछ ।
परमेश्वरले मसिहको सम्बन्धमा अगमवक्ताहरूलाई धेरै कुराहरू प्रकट गर्नुभयो, तर मसिह ती कुनै अगमवक्ताहरूको समयमा आउनुभएन । यी अन्तिमका भविष्यवाणीहरू दिइएको ४०० वर्षभन्दा बढी समयपछि परमेश्वरले मसिहलाई संसारमा पठाउनुभयो ।
बाइबलको कथा: उत्पत्ति ३:१५; १२:१-३; व्यवस्था १८:१५; २ शामुएल ७; यर्मिया ३१; यशैया ५९:१६; दानिएल ७; मलाकी ४:५; यशैया ७:१४; मीका ५:२; यशैया ९:१-७; ३५:३-५; ६१; ५३; भजनसंग्रह २२:१८; ३५:१९; ६९:४; ४१:९; जकरिया ११:१२-१३; यशैया ५०:६; भजनसंग्रह १६:१०-११ बाट
२२. यूहन्नाको जन्म
विगतमा, परमेश्वर आफ्ना मानिसहरूसँग आफ्ना स्वर्गदूत र अगमवक्ताहरूको माध्यमबाट बोल्ने गर्नुहुन्थ्यो । तर ४०० वर्ष सम्म उहाँ तिनीहरूसँग बोल्नुभएन । अचानक एक स्वर्गदूत जकरिया नाउँ गरेका एकजना पूजाहारीकहाँ परमेश्वरको सन्देश लिएर आए । जकरिया र उनकी पत्नी एलिशिबा, परमेश्वरका भक्त मानिसहरू थिए, तर तिनले कुनै सन्तान पाउन सकेकी थिइनन् ।
त्यस स्वर्गदूतले जकरियालाई भने, “तिम्री पत्नीको एउटा छोरा हुनेछ । तिमीले उसको नाउँ यूहन्ना राख्नु । उनी पवित्र आत्माले भरिनेछन्, र मसिहको निम्ति बाटो तयार गर्नेछन् !” जकरियाले प्रतिक्रिया दिए, “मेरी पत्नी र म त सन्तान पाउनलाई वृद्ध भैसकेका छौँ ! यो हुनेछ भनेर म कसरी थाहा गर्न सक्छु ?”
स्वर्गदूतले जकरियालाई जवाफ दिए, “म परमेश्वरबाट तिमीकहाँ यो खुशीको समाचार सुनाउन पठाइएको हो । तिमीले मलाई विश्वास नगरेको कारणले बालक नजन्मिएसम्मको निम्ति तिमी बोल्न नसक्ने हुनेछौ ।” तुरुन्तै, जकरिया बोल्न नसक्ने भए । अनि त्यस दूतले जकरियालाई छाेडेर गए । त्यसपछि जकरिया आफ्नो घर फर्के र उनकी पत्नी गर्भवती भइन् ।
जब एलिशिबा गर्भवती भएको ६ महिना भएको थियो, त्यही स्वर्गदूत अचानक एलिशिबाकी आफन्तकहाँ देखा परे, जसको नाउँ मरियम थियो । उनी एक कन्या थिइन् जसको योसेफ नाउँ गरेका मानिससँग मगनी भएको थियो । स्वर्गदूतले भने, “तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ । तिमीले उहाँको नाउँ येशू राख्नेछौ । उहाँ परम-प्रधान परमेश्वरका पुत्र हुनुहुनेछ र सदा-सर्वदा राज्य\ गर्नुहुनेछ ।”
मरियमले जवाफ दिइन्, “यो कसरी हुनसक्छ, जबकी म त एक कन्या हुँ ?” स्वर्गदूतले भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र पवित्रआत्माको शक्तिको छायाँ तिमीमाथि पर्नेछ । त्यसैले त्यस बालक पवित्र, परमेश्वरको पुत्र हुनेछन् ।” मरियमले स्वर्गदूतले भनेको कुरामा विश्वास गरिन् र त्यसलाई स्वीकारिन् ।
मरियमले स्वर्गदूतसँग बातचित गरेको केही समयपछि नै उनी एलिशिबाकहाँ भेट्न गइन् । एलिशिबाले मरियमको अभिवादन सुन्ने बित्तिकै, उनको पेटभित्र भएको बालक उफ्रियो । परमेश्वरले उनीहरूको निम्ति गरिदिनुभएको कार्यमा ती स्त्रीहरू रमाए । एलिशिबाकहाँ तीन महिनासम्म बसेपछि, मरियम घर फर्किन् ।
एलिशिबाले बालक छोरा जन्माएपछि, स्वर्गदूतले आज्ञा गरे बमोजिम जकरिया र एलिशिबाले उनको नाउँ ‘यूहन्ना’ राखे । अनि परमेश्वरले फेरि जकरियालाई बोल्न सक्ने बनाइदिनुभयो । जकरियाले भने, “परमेश्वरको प्रशंसा होस् , किनकि उहाँले आफ्ना मानिसहरूलाई सम्झनुभएको छ ! तिमी, मेरो छोरा, परम्-प्रधान परमेश्वरका अगमवक्ता कहलाइनेछौ जसले मानिसहरूलाई कसरी उनीहरूले आफ्ना पापको क्षमा पाउन सक्नेछन् भनी बताउनेछ !”
बाइबलको कथा: लुका १ बाट
२३. येशूको जन्म
योसेफ नाउँ भएका एकजना धर्मी मानिससँग मरियमको मगनी भएको थियो । जब मरियम गर्भवती भएको उनले थाहा पाए, उनको गर्वमा भएको बालक आफ्नो होइन भन्ने कुरा उनलाई थाहा थियो । योसेफ मरियमलाई शर्ममा पार्न चाहदैनथे, त्यसैले उनले गुप्त रूपमा मरियमलाई त्याग्ने योजना बनाए । तर उनले त्यसो गर्नुभन्दा अघि, उनको सपनामा एक स्वर्गदूत उनीकहाँ आए ।
उनलाई स्वर्गदूतले भने, “योसेफ, मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्न नडराऊ । किनभने उनीभित्र भएको बालक पवित्र-आत्माबाट आउनुभएको हो । उनीले एक छोरा जन्माउनेछिन् । उहाँको नाउँ येशू राख्नु (जसको अर्थ हो, ‘याहोवेले बचाउनुहुन्छ’), किनकि उहाँले मानिसहरूलाई तिनीहरूका पापदेखि बचाउनुहुनेछ ।”
त्यसैले योसेफले मरियमसँग विवाह गरे र उनलाई आफ्नी पत्नीको रूपमा आफ्नो घरमा लगे, तर बालकको जन्म नभएसम्म योसेफ मरियमसँग सुतेनन् ।
मरियमको बच्चा जन्माउने समय नजिक आएकेै बेला, रोमी सरकारले सबैजनालाई जनगणनाको निम्ति आफ्ना पुर्खाहरू बसेको शहरमा जाने आदेश जारी गर्यो । योसेफ र मरियमले उनीहरू बसेको ठाउँ नासरतदेखि बेथलेहेमसम्मको लामो यात्रा गर्नुपर्ने थियो, किनभने उनीहरूका पुर्खा दाऊदको शहर बेथलेहेम थियो ।
जब उनीहरू बेथलेहेममा आइपुगे, त्यहाँ बस्नको निम्ति कुनै ठाँउ थिएन । उनीहरूले भेट्टाउन सकेको एउटैमात्र ठाउँ गाईवस्तुहरूको गोठ थियो । बालक त्यहिँ जन्मियो र मरियमले उनलाई डुँडमा राखिन् , किनभने बालकलाई राख्न उनीहरूसँग कुनै ठाउँ थिएन । उनीहरूले बालकको नाउँ ‘येशू’ राखे ।
त्यस रात, नजिकैको खेतमा केही गोठालाहरू आफ्ना गोठको रखवाली गर्दै थिए । अचानक, चम्किरहेका एकजना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र यो देखेर तिनीहरू डराए । स्वर्गदूतले भने, “नडराओ, किनभने मसँग तिमीहरूका निम्ति केही खुशीका समाचारहरू छन् । तिमीहरूका मसिह बेथलेहेममा जन्मिनुभएको छ !”
“बालकलाई खोज्न जाओ, र तिमीहरूले उहाँलाई कपडामा बेरिएको र डुँडमा सुतिरहेको भेट्टउनेछौँ ।” अचानक, आकाशहरू परमेश्वरको प्रशंसा गरिरहेका स्वर्गदूहरूद्वारा यसो भन्दै भरियो “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति !”
केही छिनपछि, गोठालाहरू येशू जन्मिनु भएको ठाउँमा आइपुगे र स्वर्गदूतले भनेजस्तै उहाँलाई डुँडमा सुतिरहेको भेट्टाए । उनीहरू अति उत्साहित थिए । मरियम पनि धेरै खुशी थिइन् । गोठालाहरू, उनीहरूले देखे-सुनेका सबै कुराहरूको निम्ति परमेश्वरलाई प्रशंसा चढाउँदै आफ्ना भेडाहरू भएको खेतमा फर्के ।
केही समयपछि, टाढा पूर्वका ज्ञानी मानिसहरूले आकाशमा अनौठो तारा देखे । त्यसको अर्थ यहूदीहरूका एकजना नयाँ राजाको जन्म भएछ भनी उनीहरूले थाहा गरे । त्यसैले त्यस राजालाई हेर्नको निम्ति उनीहरूले लामो यात्रा गरे । उनीहरू बेथलेहेममा आए अनि येशू र उहाँका आमा-बुबा बसिरहनुभएको ठाउँ पत्ता लगाए ।
जब ती ज्ञानी मानिसहरूले येशूलाई उहाँकी आमासँग देखे, उनीहरूले घोप्टो परी दण्डवत गरे र उहाँको आराधना गरे । उनीहरूले येशूलाई बहुमूल्य उपहारहरू चढाए । त्यसपछि उनीहरू आ-आफ्ना घर फर्के ।
बाइबलको कथा: मत्ती १; लूका २ बाट
२४. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभयो
जकरिया र एलिशिबाका छोरा यूहन्ना हुर्किए अनि एक अगमवक्ता भए । उनी उजाड स्थानमा बस्थे, वनमह र सलह खान्थे, र ऊँटको रौँबाट बनेको लुगा लगाउँदथे ।
धेरै मानिसहरू उजाड स्थानमा यूहन्नाको वचन सुन्न आए । उनले तिनीहरूलाई यसो भनी प्रचार गरे, “पश्चाताप गर, किनभने परमेश्वरको राज्य नजिकै आएको छ !”
जब मानिसहरूले यूहन्नाको सन्देश सुने, तिनीहरूमध्ये धेरैले आफ्ना पापदेखि पश्चाताप गरे, अनि यूहन्नाले उनीहरूलाई बप्तिस्मा दिए । धेरै धार्मिक अगुवाहरू पनि यूहन्नाबाट बप्तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पाप स्वीकार र पश्चाताप गरेनन् ।
यूहन्नाले ती धार्मिक अगुवाहरूलाई भने, “हे दुष्टका सन्तानहरू हो ! पश्चाताप गर र आफ्ना चालचलनबाट फर्क । असल फल नफलाउने हरेक रूख काटेर आगोमा फालिन्छ ।” यूहन्नाले अगमवक्ताहरूले भनेका कुरा यसरी पुरा गरे, “हेर, म आफ्नो दूतलाई तिमीभन्दा अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
केही यहूदीहरूले यूहन्नालाई के उनी नै त्यो मसिह हुन् भनी सोधे । यूहन्नाले जवाफ दिए, “म मसिह होइन, तर म पछि कोही आउँदैहुनुहुन्छ । उहाँ यति महान् हुनुहुन्छ कि उहाँको जुत्ताको फित्ता समेत खोल्न म योग्यको छैन ।”"
अर्को दिन, येशू यूहन्नाद्वारा बप्तिस्मा लिनको निम्ति आउनुभयो । जब यूहन्नाले उहाँलाई देखे, उनले भने, “हेर ! संसारको पाप उठाई लैजाने परमेश्वरको थुमा ।”
यूहन्नाले येशूलाई भने, “ तपाईं लाई बप्तिस्मा दिन योग्यको म छैन । बरू तपाईं ले मलाई बप्तिस्मा दिनुपर्छ ।” तर येशूले जवाफ दिनुभयो, “तिमीले मलाई बप्तिस्मा दिनुपर्छ, किनकि यो गर्नु सहि छ ।” त्यसैले यूहन्नाले उहाँलाई बप्तिस्मा दिए, तथापि येशूले कहिल्यै पाप गर्नुभएको थिएन ।
बप्तिस्मा भएपछि जब येशू पानीबाट बाहिर आउनुभयो, परमेश्वरको आत्मा ढुकुरको रूपमा देखा पर्नुभयो अनि तल आउनुभयो र उहाँमाथि बस्नुभयो । त्यतिनै खेर, स्वर्गबाट परमेश्वरको आवाज यसो भन्दै बोल्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्, र यिनीसँग म अत्यन्तै प्रशन्न छु ।”
परमेश्वरले यूहन्नालाई भन्नुभएको थियो, “पवित्र आत्मा तल ओह्रलीआउनुहुनेछ र तिमीले बप्तिस्मा दिएको कोहीमाथि बस्नुहुनेछ । त्यो व्यक्तिचाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ ।” त्यहाँ केवल एकमात्र परमेश्वर हुनुहुन्छ । तर जब यूहन्नाले येशूलाई बप्तिस्मा दिए, उनले पिता परमेश्वर बोल्नुभएको सुने, परमेश्वरका पुत्र देखे, जो येशू हुनुहुन्छ, र उनले पवित्र आत्मालाई देखे ।
बाइबलको कथाः मत्ती ३; मर्कूस १:९-११; लूका ३:१-२३ बाट
२५. शैतानद्वारा येशूको परीक्षा
येशूको बप्तिस्मा भएपछि, तुरुन्तै पवित्र आत्माले उहाँलाई उजाड स्थानतिर डोर्याउनुभयो, र त्यहाँ उहाँले चालीस दिन र चालीस रातसम्म उपवास बस्नुभयो । त्यसपछि शैतान येशूकहाँ आयो र उहाँलाई पापमा पार्नको निम्ति परीक्षा गर्यो ।
शैतानले यसो भन्दै येशूको परीक्षा गर्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा परिणत गर्नुहोस् ताकि तपाईं त्यसलाई खान सक्नुहुन्छ !”
येशूले जवाफ दिनुभयो, “परमेश्वरको वचनमा यसो लेखिएको छ, ’बाँच्नको निम्ति मानिसलाई केवल रोटीमात्र होइन, तर परमेश्वरको हरेक वचन चाहिन्छ !’”
त्यसपछि शैतानले येशूलाई मन्दिरको सबैभन्दा अग्लो भागमा लग्यो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, तल हाम्फाल्नुहोस्, किनकि लेखिएको छ, परमेश्वरले तपाईंको विषयमा आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि कही तपाईंले आफ्नो पाउ ढुङ्गामा बजार्नुहुनेछ कि भनी तिनीहरूले तपाईंलाई आफ्ना हातमा उठाउनेछन् ।”
तर येशूले शैतानलाई वचनहरूबाट जवाफ दिनुभयो । येशूले भन्नुभयो, “परमेश्वरको वचनमा, उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुभएको छ कि, ‘परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू ।’”
त्यसपछि शैतानले येशूलाई संसारका सारा राज्यहरू र त्यसका सारा महिमाहरू देखायो र भन्यो, “यदि तपाईंले घोप्टो परी मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईंलाई दिनेछु ।”
येशूले जवाफ दिनुभयो, “ ए शैतान ! मबाट टाढा हटिजा, परमेश्वरको वचनमा उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुहुन्छ, ‘तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर, र उहाँकै मात्र सेवा गर ।’”
येशूले शैतानको परीक्षाहरूमा आफैँलाई सुम्पनुभएन, त्यसैले शैतानले उहाँलाई छोडेर गयो । अनि स्वर्गदूतहरू आए र येशूको स्याहार गरे ।
बाइबलको कथाः मत्ती ४:१-११; मर्कूस १:१२-१३; लूका ४:१-१३ बाट
२६. येशूले आफ्नो सेवकाइ शुरू गर्नुभयो
शैतानका परीक्षाहरूमा विजयी हुनुभएपछि, येशू पवित्र आत्माको शक्तिमा गालीलको प्रान्तमा फर्कनुभयो, जहाँ उहाँ बस्नुहुन्थ्यो । येशू सिकाउदै एक ठाउँबाट अर्को ठाउँ जानुभयो । सबैजनाले उहाँको बारेमा असल बोल्थे ।
येशू नासरतको गाउँमा जानुभयो, जहाँ उहाँले आफ्नो बाल्यकाल बिताउनुभएको थियो । शबाथको दिनमा, उहाँ आराधना गरिने स्थानमा जानुभयो । मानिसहरूले पढ्नको निम्ति उहाँको हातमा यशैया अगमवक्ताको पत्र दिए । येशूले पत्र खोल्नुभयो अनि त्यसको एक भाग मानिसहरूका निम्ति पढिदिनुभयो ।
येशूले पढ्नुभयो, “परमेश्वरको आत्मा ममाथि हुनुहुन्छ, किनकि गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ मन भाँचिएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुट्कारा दिन, अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई छुट्कारा दिन, र प्रभुको ग्रहणयोग्य वर्षको प्रचार गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ ।”
अनि येशू तल बस्नुभयो । सबैको आँखा उहाँमाथि अडिएको थियो । तिनीहरूलाई थाहा थियो, कि उहाँले भर्खरै पढ्नुभएको खण्डले मसिहको बारेमा भनेको थियो । येशूले भन्नुभयो, “पवित्रशास्त्रको यस वचन आज तिमीहरूका सुनाइमा पूरा भएको छ ।” सबै मानिसहरू चकित थिए । “के यिनी योसेफका छोरा होइनन् र ?” तिनीहरूले भने ।
अनि येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, कुनै पनि भविष्यवक्तालाई आफ्नो देशमा ग्रहणयोग्य हुँदैन ।” एलियाको समयमा, इस्राएलमा अनेकौँ विधवाहरू थिए । तर जब साढे तीन वर्षसम्म पानी परेन, परमेश्वरले एलियालाई इस्राएलमा भएका विधवालाई सहायता गर्न पठाउनुभएन, तर बरू अन्य राष्ट्रको विधवाकहाँ पठाउनुभयो ।
येशूले भन्दै जानुभयो, “अनि एलिशा अगमवक्ताको समयमा, छालाको रोग भएका धेरै मानिसहरू इस्राएलमा थिए । तर एलिशाले तिनीहरू कसैलाई निको पारेनन् । उनले केवल इस्राएलका नामानको छालाको रोग निको पारे ।” येशूलाई सुनिरहेका मानिसहरू यहूदीहरू थिए । त्यसैले जब तिनीहरूले उहाँले यसो भन्नुभएको सुने, तिनीहरू उहाँप्रति रिसले चुर भए ।
नासरतका मानिसहरूले येशूलाई आराधनाको स्थानबाट घिसारेर बाहिर निकाले र डाँडाको डिलमा लगी उहाँलाई त्यहाँबाट खसालेर मार्न खोजे । तर येशू भीडको बीचबाट भएर निस्कनुभयो र नासरत छाेड्नुभयो ।
त्यसपछि येशू गालीलका प्रान्तहरूमा जानुभयो, अनि ठूलो भीडहरू उहाँकहाँ आए । तिनीहरूले धेरै मानिसहरू ल्याए उनीहरू रोगी अथवा लङ्गडा थिए, जसमा तिनीहरू पनि समेटिएका थिए जो देख्न, हिँड्न, वा बोल्न सक्दैनथे, अनि येशूले तिनीहरूलाई निको पार्नुभयो ।
धेरै भूतात्मा लागेका मानिसहरूलाई येशूकहाँ ल्याइयो । येशूको आज्ञामा, ती भूतात्माहरू मानिसहरूबाट निस्केर आए, अनि तिनीहरू अक्सर यसो भनी चिच्याउँथे, “ तपाईं त परमेश्वरको पुत्र हुनुहुन्छ !” भीडका मानिसहरू अचम्भित भए र परमेश्वरको आराधना गरे ।
त्यसपछि येशूले बाह्रजना मानिसहरूलाई छान्नुभयो जसलाई उहाँका चेलाहरू भनियो । ती चेलाहरू येशूसँगै हिँड्थे र उहाँबाट सिक्थे ।
बाइबलको कथाः मत्ती ४:१२-२५; मर्कूस १:१४-१५, ३५-३९; ३:१३-२१; लूका ४:१४-३०, ३८-४४ बाट
२७. असल सामरीको कथा
एकदिन, यहूदी व्यवस्थाका निपुण एकजना गुरू येशूकहाँ उहाँको परीक्षा गर्न यसो भनी आए, “गरुज्यू, अनन्त जीवनको हकदार हुन म के गरूँ ?” येशूले जवाफ दिनुभयो, “परमेश्वरको व्यवस्थामा के लेखिएको छ ?”
त्यस व्यवस्थाका निपुण मानिसले परमेश्वरको व्यवस्थाले यसो भन्छ भनी जवाफ दिए, “तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा शक्तिले र आफ्नो समझले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तो प्रेम गर ।” येशूले जवाफ दिनुभयो, “तिमीले ठिक भन्यौ ! त्यसै गर र तिमी बाँच्नेछौ ।”
तर त्यस व्यवस्थाको निपुण मानिसले आफैँलाई धर्मी ठहराउन चाह्यो, त्यसैले उसले सोध्यो, “मेरो छिमेकी को हो ?”
येशूले त्यस मानिसलाई एउटा कथा भनेर जवाफ दिनुभयो, “एकजना यहूदी मानिस यरूशलेमको बाटो भएर यरिहोतर्फ जाँदै थिए ।”
“यात्रा गर्दैगर्दा, त्यस मानिसलाई लुटेराहरूको एक समूहले लुट्यो । तिनीहरूले ऊसँग भएका सबै थोकहरू लगे र उसलाई अधमरो हुनेगरी कुटे । त्यसपछि तिनीहरूले त्यस मानिसलाई छाेडेर त्यहाँबाट गए ।”
“त्यसको केही समयपछि, एकजना यहूदी पूजाहारी पनि संयोगवश त्यही बाटो भएर जाँदै थिए । जब यस धार्मिक अगुवाले त्यस लुटिएको र घायल पारिएको मानिसलाई देखे, उनी बाटोको पल्लो छेऊतिर गए र त्यस मानिसबाट तर्के, र आफ्नो बाटो लागे ।”
“त्यसो भएको धेरै समय नबित्दै, एकजना लेवी पनि त्यस बाटो भएर झरे । (लेवीहरू यहूदीहरूका एक कुल थिए जसले, मन्दिरमा पूजाहारीहरूलाई सहायता गर्दथे) । त्यस लेवी पनि बाटोको पल्लो छेऊतिर गए र त्यस लुटिएको र घायल परिएको मानिसको वास्ता गरेनन् ।”
“त्यस बाटोबाट भएर जाने अर्को व्यक्ति एकजना सामरी थिए । (सामरीहरू यहूदीहरूका ती सन्तानहरू थिए, जसले अरू राष्ट्रका मानिसहरूलाई विवाह गरेका थिए । सामरीहरू र यहूदीहरूले एक (अर्कालाई घृणा गर्दथे) । तर जब त्यस सामरीले त्यस यहूदी मानिसलाई देखे, उनको मन दयाको भावले भरियो । त्यसैले उनले त्यस यहूदीप्रति सहानुभूति देखाए र उनका घाउहरूमा पट्टी लगाइदिए ।”
“अनि त्यस सामरीले त्यस यहूदीलाई आफ्नो गधामाथि चढायो र उसलाई बाटो छेऊको एक पौवामा लगेर त्यस सामरीले उसको स्याहार गर्यो ।”
“अर्को दिन, त्यस सामरीले आफ्नो यात्रालाई निरन्तरता दिनुपर्ने थियो । उसले त्यहाँको पौवाको मालिकलाई केही पैसा दिए र भने, ‘उसको ख्याल गर्नू, अनि यदि तिमीलाई योभन्दा बढी खर्च लागेमा, म फर्केर आउँदा, सो खर्च तिरिदिनेछु ।’”
त्यसपछि येशूले व्यवस्थाका त्यस निपुण व्यक्तिलाई सोध्नुभयो, “तिमीलाई के लाग्छ ? तीमध्ये कुनचाहिँ त्यस लुटिएको र घायल पारिएको मानिसको छिमेकी हो ?” उसले जवाफ दियो, “त्यही, जो उनीप्रति दयालु थियो ।” येशूले तिनलाई भन्नुभयो, तिमी पनि जाऊ र त्यसै गर ।”
बाइबलको कथाः लूका १०:२५-३७ बाट
२८. धनी जवान शासक
एकदिन, एकजना धनी जवान शासक येशूकहाँ आए र सोधे, “असल गुरू, अनन्त जीवन पाउनको निम्ति मैले के गर्नुपर्छ?” येशूले उसलाई भन्नुभयो, “किन तिमी मलाई ‘असल’ भन्दछौ ? एकजना मात्रै असल हुनुहुन्छ जो हुनुहुन्छ, अनि उहाँचाहिँ परमेश्वर हुनुहुन्छ । तर यदि तिमी अनन्त जीवन चाहन्छौ भने, परमेश्वरका आज्ञाहरू पालन गर ।”
“तीमध्ये कुन-कुन चाहिँ मैले पालन गर्नुपर्छ?” उसले सोध्यो । येशूले भन्नुभयो, “हत्या नगर्नू । व्यभिचार नगर्नू । नचोर्नू । झूटो नबोल्नू । आफ्नो आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई तिमीले आफैँलाई झैँ प्रेम गर्नू ।”
तर त्यस जवान मानिसले आफैलाई ठिक प्रमाणित गर्नको निम्ति भन्यो, “मैले यी सबै आज्ञाहरू म सानो केटो छँदादेखि नै गर्दैआएको छु । मैले अझै के गर्नुपर्छ ताकि म सदाको निम्ति जिऊन सकूँ ?” येशूले त्यस मानिसलाई हेर्नुभयो र टिठाउनुभयो ।
येशूले जवाफ दिनुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, जाऊ र तिमीसँग भएका सबै थोक बेच अनि त्यसबाट आएको पैसा गरीबहरूलाई देऊ, र स्वर्गमा तिमीले धन पाउनेछौ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
जब त्यस जवान मानिसले येशूले भन्नुभएको कुरा सुने, उनी धेरै दुःखित भए, किनकि उनी ज्यादै धनी थिए अनि आफूले अधिकार जमाएको सारा थोक दिन चाहँदैन थिए । उनी त्यहाँबाट फर्के र गए ।
अनि येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “धनी मानिसहरूलाई परमेश्वरको राज्यमा छिर्न धेरै कठिन छ ! हो, धनी मानिसलाई परमेश्वरको राज्यमा छिर्न भन्दा त एउटा ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
जब चेलाहरूले येशूले भन्नुभएको कुरा सुने, उनीहरू छक्क परे अनि भने, “उसोभए कसले चाहिँ मुक्ति पाउन सक्छ त ?”
येशूले ती चेलाहरूतिर हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्वरका निम्ति, सबै कुरा सम्भव छन् ।”
पत्रुसले येशूलाई भने, “हामीले सबै कुराहरू छाेडी तपाईंलाई पछ्याएका छौँ । हाम्रो निम्ति इनाम के हुनेछ ?”
येशूले जवाफ दिनुभयो, “जसले मेरो नाउँको खातिर आफ्ना घर, दाजुभाइ, दिदीबहिनी, बुबा, आमा, छोराछोरी, अथवा धन-सम्पत्ति छोडेका छन्, उनीहरू सबैले सय गुणा बढी पाउनेछन् अनि उनीहरूले अनन्त जीवन पनि पाउनेछन् । तर धेरैजना जो पहिला छन्, उनीहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन् ।”
बाइबलको कथा: मत्ती १९:१६-३०; मर्कूस १०:१७-३१; लूका १८:१८-३० बाट
२९. निर्दयी नोकरको दृष्टान्त
एकदिन, पत्रुसले येशूलाई सोधे, “मालिक, मेरो भाइले मेरो विरुद्धमा पाप गर्छ भने मैले उसलाई कतिपटक क्षमा दिऊँ ? के सात पटक ?” येशुले भन्नुभयो, “सात पटक होइन, तर सात गुणा सत्तरी पटक !” यसको आशय येशूले हामीलाई सधैँ क्षमा गर्नुपर्छ भन्न खोज्नुभएको हो । त्यसपछि येशूले यो कथा भन्नुभयोः
“परमेश्वरको राज्यचाहिँ एकजना राजा जस्तो हो, जसले आफ्ना नोकरहरूसँग हिसाब-किताब सुल्झाउन चाह्यो । उनका नोकरहरूमध्ये एकजनाले करिब २,००,००० वर्षसम्मको मजदुरीको ऋण बोकेका थिए ।”
“त्यस नोकरले आफ्नो ऋण तिर्न नसक्ने हुनाले राजाले त्यस नोकरलाई भने, ‘यस मानिस र यसका परिवारलाई दासको रूपमा बेचिदेओ, ताकि यसले आफ्नो ऋण चुक्ता गर्न सकोस् ।’”
“त्यस नोकरले राजाको सामु आफ्नो घुँडा टेक्यो र भन्यो, ‘कृपया मसँग धैर्य हुनुहोस्, अनि मैले तपाईंलाई तिर्न बाँकी रहेको सबै रकम म तपाईंलाई तिरिदिनेछ ।’ राजालाई त्यस नोकरप्रति दया जाग्यो, त्यसैले उनले त्यस नोकरका सारा ऋणहरू चुक्ता गरिदिए अनि उसलाई जान दिए ।”
““तर जब त्यो नोकर राजाको नजरबाट बाहिर गयो, त्यसले अर्को एकजना संगी-नोकरलाई भेट्टायो जो उसको चार महिनासम्म मजदुरीको ऋणी थियो । त्यस नोकरले आफ्नो संगी-नोकरलाई समात्यो र भन्यो, ‘तैँले मबाट लिएको ऋण तिरिहाल् !’”
“त्यस संगी-नोकरले आफ्नो घुँडा टेक्यो र भन्यो, ‘कृपया मसँग धैर्य हुनुहोस् । तपाईंलाई तिर्न बाँकी रहेको सबै पैसा म तिरिदिनेछु ।’ तर त्यस नोकरले त आफ्नो संगी नोकरले ऋण नचुकाउन्जेल त्यसलाई झ्यालखानामा हालिदियो ।”
“त्यो घटना देखिरहेका केही अन्य नोकरहरूलाई यो घटनाले धेरै निराश तुल्यायो । तिनीहरू राजाकहाँ गए र उनलाई सबै कुरा बताइदिए ।”
“राजाले त्यस नोकरलाई बोलाए र भने, ‘तँ दुष्ट नोकर ! मलाई बिन्ती गरेको कारण मैले तेरो ऋण चुक्ता गरिदिँए । तैँले पनि त्यसै गर्नुपर्ने थियो ।’ राजा धेरै क्रोधित भए र त्यस दुष्ट नोकरले आफ्नो ऋण नतिरुन्जेलसम्म झ्यालखानमा हालिदिए ।”
अनि येशूले भन्नुभयो, “यदि तिमीहरूले आफ्नो हृदयदेखि नै आफ्नो भाइलाई क्षमा दिएनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरू हरेकलाई त्यसै गर्नुहुनेछ ।”
बाइबलको कथा: मत्ती १८:२१-३५ बाट
३०. येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो
मानिसहरूलाई प्रचार गर्न र शिक्षा दिन येशूले आफ्ना चेलाहरूलाई विभिन्न ठाँउहरूमा पठाउनुभयो । जब उनीहरू येशू हुनुभएको ठाँउमा फर्केर आए, उनीहरूले गरेका कामहरू उहाँलाई बताइदिए । त्यसपछि येशूले उनीहरूलाई आफूसँग समुन्द्रको पल्लो छेऊ, एक शान्त ठाँउमा गएर केही समय आराम गर्न बोलाउनुभयो । त्यसैले, उनीहरू एउटा डुंगामा चढे र समुन्द्रको पल्लो छेऊतर्फ गए ।
तर त्यहाँ धेरै मानिसहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई डुंगामा चढी अन्तै जानुभएको देखेका थिए । यी मानिसहरू पनि उहाँहरूभन्दा पहिले समुन्द्रको पल्लो छेऊमा पुग्ने दाउले किनारै किनार भएर दौडे । तसर्थ, जब येशू र चेलाहरू त्यस ठाउँमा आइपुग्नुभयो, मानिसहरूको ठूलो भीड त्यहाँ पहिले नै उहाँहरूलाई पर्खेर बसिरहेको थियो ।
त्यस भीडमा स्त्री र बालकहरूलाई नगनीकन, करिब ५,००० भन्दा बढी पुरुषहरू थिए । येशूले ती मानिसहरूलाई दया देखाउनुभयो । येशूको निम्ति, ती मानिसहरू गोठालोविनाका भेडाहरू सरह थिए । त्यसैले उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो र रोगी मानिहरूलाई निको पार्नुभयो ।
दिनको अन्त्यतिर, चेलाहरूले येशूलाई भने, “अब त ढिला भइसक्यो र यहाँ नजिकै कुनै बस्ती पनि छैनन् । यी मानिसहरूलाई अन्तै पठाइदिनुहोस् ताकि यिनीहरूले खानको निम्ति केही पाउन सकून् ।”
तर येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले नै यिनीहरूका निम्ति खानाको बन्दोवस्त गरिदेओ !” उनीहरूले जवाफ दिए, “त्यो त हामी कसरी गर्न सक्छौँ ? हामीसँग त केवल पाँच रोटी र दुईवटा साना माछाहरू मात्र छन् ।”
येशूले भीडमा भएका मानिसहरूलाई पचास-पचास जनाको झुण्डमा बस्न लगाउनू भनि चेलाहरूलाई अह्राउनुभयो ।
अनि येशूले ती पाँच रोटी र दुईवटा माछा लिनुभयो, माथि स्वर्गतिर हेर्नुभयो, अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो ।
त्यसपछि येशूले रोटी र माछालाई टुक्रा-टुक्रा पारी भाँच्नुभयो । उहाँले ती टुक्राहरू मानिसहरूलाई बाँडिदिनको निम्ति चेलाहरूलाई दिनुभयो । चेलाहरूले खानेकुरा बाँडिनै राखे, र त्यो कहिल्यै सिद्धिएन ! सबै मानिसहरूले खाए र तृप्त भए ।
त्यसपछि, चेलाहरूले उब्रिएका खानेकुरा जम्मा पारे, अनि त्योचाहिँ करिब बाह्र डाला भन्दा बढी हुनआयो ! ती सबै खानेकुरा पाँच रोटीका टुक्रा र दुईवटा माछाबाट आएको थियो ।
बाइबलको कथा: मत्ती १४:१३-२१; मर्कूस ६:३१-४४; लूका ९:१०-१७; यूहन्ना ६:५-१५ बाट
३१. येशू पानीमाथि हिँड्नुभयो
अनि भीडलाई बिदा गरेर येशूले चेलाहरूलाई डुङ्गामा चढी समुन्द्रको पल्लो छेऊतिर जाऊ भन्नुभयो । भीडलाई बिदा गरिसकेपछि उहाँ प्रार्थना गर्नको निम्ति डाँडातिर उक्लनुभयो । येशू त्यहाँ एक्लै हुनुहुन्थ्यो, अनि राती अबेरसम्म प्रार्थना गरिरहनुभयो ।
चेलाहरू आफ्ना डुङ्गा खियाउँदै थिए, तर राती अबेरसम्ममा पनि उनीहरू समुन्द्रको बीच भागसम्म मात्र पुगेका थिए । धेरै कठिनको साथ उनीहरू डुङ्गा खियाउँदै थिए किनभने शक्तिशाली आँधी उनीहरूको विपरीत चलिरहेको थियो ।
येशूले प्रार्थना गरी सिध्याउनुभएपछि उहाँ चेलाहरूकहाँ जानुभयो । उहाँ समुन्द्रको पानीमाथि हिँड्दै उनीहरू भएको डुङ्गातिर जानुभयो ।
जब चेलाहरूले येशूलाई देखे, उनीहरू अति भयभित भए किनभने आफूले कुनै भूत देखिरहेको उनीहरूले ठाने । उनीहरू डराएका छन् भनी येशूलाई थाहा थियो, त्यसैले उहाँले तिनीहरूलाई बोलाउनुभयो र भन्नुभयो, “नडराओ । म हुँ !”
तब पत्रुसले येशूलाई भने, “गुरूज्यू, यदि तपाईंनै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि भएर आउने आज्ञा गर्नुहोस् ।” येशूले पत्रुसलाई भन्नुभयो, “आऊ!”
त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर निस्के र पानीमाथि येशू उभिनुभएको ठाँउतर्फ हिँड्न लागे । तर केही छिन हिँडेपछि, उनले आफ्ना आँखाहरू येशूदेखि अन्तै लगे अनि छालहरूतिर हेर्न र आँधीलाई महसुस गर्न थाले ।
तब पत्रुस डराए र डुब्न लागे । उनी यसो भन्दै कराए, “गुरूज्यू, मलाई बचाउनुहोस् !” तुरुन्तै येशूले आफ्ना हातहरू बढाएर पत्रुसलाई समात्नुभयो । अनि उहाँले पत्रुसलाई भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शंका गर्यौ ?”
पत्रुस र येशू डुङ्गामा चढे, पछि आँधी तुरुन्तै रोकियो अनि पानी शान्त भयो । चेलाहरू चकित भए । उनीहरूले यसो भन्दै येशूको आराधना गरे, “साँच्चै, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।”
बाइबलको कथा: मत्ती १४:२२-३३; मर्कूस ६:४५-५२; यूहन्ना ६:१६-२१ बाट
३२. येशूले भूतात्मा लागेको मानिस र रोगी स्त्रीलाई निको पार्नुभयो
एकदिन, येशू र उहाँका चेलाहरू डुङ्गामा चढी समुन्द्रको पारिपट्टि गदरिनी मानिसहरू भएका क्षेत्रमा जानुभयो ।
जब उहाँहरू तालको पल्लो छेऊमा पुग्नुभयो, एकजना भूतात्मा लागेको मानिस येशूकहाँ दौड्दै आयो ।
यस मानिस यति बलियो थियो, कि कसैले पनि उसलाई सम्हाल्न सक्दैनथ्यो । मानिसहरूले उनको हात र खुट्टाहरू साङ्गलाले बाँधिदिएका थिए, तर उसले ती साङ्गलाहरू चुँडाउने गर्थ्यो ।
त्यो मानिस त्यस इलाकाको चिहानहरू भएको ठाँउतिर बस्ने गर्थ्यो । त्यो मानिस हरेक दिन-हरेक रात कराउने गर्दथ्यो । उसले कुनै वस्त्र लगाउँदैनथ्यो र आफैँलाई बारम्बार ढुङ्गाले हान्ने गर्दथ्यो ।
त्यस मानिस येशूकहाँ आएर, उहाँको अघि आफ्नो पर्यो । येशूले त्यस भूतात्मालाई भन्नुभयो, “यस मानिसबाट बाहिर आइज !”
भूतात्मा लागेको मानिस चर्को स्वरमा करायो, “ तपाईं मबाट के चाहनुहुन्छ, येशू, परमप्रभु परमेश्वरका पुत्र ? कृपया मलाई नसताउनुहोस् !” अनि येशूले त्यस भूतात्मालाई सोध्नुभयो, “तेरो नाउँ के हो?” उसले जवाफ दियो, “मेरो नाउँ ‘लिजन’ हो किनकि हामीहरू धेरै छौँ ।” (‘लिजन’ चाहिँ हजारौँ रोमी सैनिकहरूको फौजको समूह थियो ।)
ती भूतात्माहरूले येशूलाई बिन्ती गरे, “कृपया हामीलाई यस इलाकाबाट बाहिर ननिकाल्नुहोस् !” त्यस ठाउँमा सुंगुरहरूको एउटा हुल नजिकैको डाँडामा चरिरहेका थियो । त्यसैले, ती भूतहरूले येशूलाई बिन्ती गरे, “बरू कृपया हामीलाई ती सुंगुरहरूभित्र पठाइदिनुहोस् !” येशूले भन्नुभयो, “जाओ !”
ती भूतहरू त्यस मानिसबाट बाहिर आए र सुंगुरहरू भित्र पसे । ती सुंगुरहरू हुर्रिदै भीरबाट समुन्द्रमा खसे र डुबे । त्यस बथानमा करिब २,००० सुंगुरहरू थिए ।।
जब ती सुंगुरहरूको हेरचाह गर्ने मानिसहरूले त्यस घटना देखे, तिनीहरू बस्तीतिर भागे अनि सबैजनालाई येशूले गर्नुभएको काम बताइदिए । मानिसहरू त्यस बस्तीबाट निस्केर आए र भूतात्माहरू भएको त्यस मानिसलाई देखे । उनी शान्तसँग बसिरहेका थिए, लुगा लगाएका थिए, र साधारण मानिस जसरी व्यवहार गरिरहेका थिए ।
मानिसहरू अति डराएका थिए त्यसैले तिनीहरूले येशूलाई त्यहाँबाट निस्कीजान आग्रह गरे । त्यसैले येशू डुंङ्गामा पस्नुभयो र जानको निम्ति तयार हुनुभयो । भूतात्मा लागेको त्यस मानिसले पनि येशूसँगै जान बिन्ती गर्यो ।
तर येशूले त्यस मानिसलाई भन्नुभयो, “होइन, तिमी आफ्नो घर फर्केर जाऊ अनि आफ्ना मित्रहरू र परिवारलाई परमेश्वरले तिम्रा लागि गर्नुभएका सबै कार्यहरू र कसरी उहाँले तिमीमाथि दया देखाउनुभयो सो उनीहरूलाई बताइदेऊ भनी म चाहन्छु ।”
त्यसैले त्यस मानिस त्यहाँबाट गयो र सबैलाई येशूले उसको निम्ति गर्नुभएको कार्यको बखान गर्यो । उसको कथा सुन्ने सबैजना आश्चर्यचकित भए र छक्क परे ।
येशू समुन्द्रको पारिपट्टि फर्कनुभयो । उहाँ त्यस ठाउँमा आउनुभएपछि, एउटा ठूलो भीड उहाँको चारैतिर जम्मा भयो अनि उहाँलाई घेरेर धकेल्न लागे । त्यस भीडमा एकजना स्त्री थिइन् जसले बाह्र वर्षसम्म रक्तस्राबको पीडा भोगिरहेकी थिइन् । उनले आफ्नो सारा पैसा निको हुनको निम्ति वैद्यहरूलाई तिरिसकेकी थिइन् तर उनको अवस्था झन् जटिल हुँदै थियो ।
येशूले धेरै रोगी मानिसहरूलाई निको पार्नुभएको थियो भन्ने कुरा तिनले सुनेकी थिइन् । तिनले सोचिन्, “मलाई निश्चय छ, कि यदि मैले येशूको वस्त्रमात्र छुन सकेँ भनेपनि, म निको हुनेछु !” त्यसैले उनी येशूको पछाडि आइन् र उहाँको वस्त्र छोइन् । तिनले यो छुने बित्तिकै, उनको रक्तस्राव रोक्कियो ।
तुरुन्तै, येशूले आफ्नो शक्ति उहाँबाट निस्केर गएको चाल पाउनुभयो । त्यसैले उहाँ पछाडि फर्कनुभयो र सोध्नुभयो, “मलाई कसले छोयो ?” चेलाहरूले जवाफ दिए, “तपाईंको वरिपरि मानिसहरूका भीड छन्, जसले घचेट्दैछन् र ठेलमठेला गरिरहेकाछन् र पनि मलाई कसले छोयो भनी किन सोध्नुहुन्छ ?”
त्यस स्त्री येशूको अघि काँप्दै र अति डराउँदै घोप्टो परिन् । अनि उनले के गरेको सो उहाँलाई बताइदिइन् र उनी निको भएको कुरा बताइदिइन् । येशूले उनलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तसित जाऊ ।”
बाइबलको कथा: मत्ती ८:२८-३४; ९:२०-२२; मर्कूस ५:१-२०; ५:२४(ख)-३४; लूका ८:२६-३९; ८:४२(ख)-४८ बाट
३३. किसानको कथा
एकदिन, येशू समुन्द्र किनारको छेऊमा ठूलो भीडमा मानिसहरूलाई शिक्षा दिइराख्नुभएको थियो । उहाँको कुरा सुन्न यति धेरै मानिसहरू आए कि बोल्नको निम्ति पर्याप्त ठाउँ होस् भनेर येशू समुन्द्रको छेऊमा भएको डुङ्गामाथि चढ्नुभयो । उहाँ डुङ्गामा बस्नुभयो र मानिसहरूलाई सिकाउन लाग्नुभयो ।
येशूले यो कथा भन्नुभयो, “एकजना किसान बिउ छर्नको निम्ति बाहिर निस्क्यो । जसै ऊ बिउ छर्दै थियो, केही बिउ बाटोमै झरे, अनि चराहरू आए र ती सबै बिउहरू खाइदिए ।”
“अरु केही बिउहरू ढुङ्गेनी जमीनमा परे, जहाँ माटो ज्यादै थोरै मात्रामा थियो । ती ढुङ्गेनी जमीनमा परेका बिउहरू चाँडै नै उम्रे, तर तिनका जराहरू माटोभित्र जान सक्ने थिएन । जब घाम लाग्यो अनि गर्मी हुन लाग्यो, ती विरुवाहरू ओइलाएर मरे ।”
“अरू केही बिउहरू काँढेदार झाडीहरू भएको ठाउँमा पर्यो । ती बिउहरू बढ्न त बढे, तर काँढाहरूले ती विरुवाहरूलाई निसासिदियो । त्यसैले काँढाहरू भएको जमीनमा उम्रेका विरुवाहरूले कुनै फल फलाएन ।”
“अरू बिउहरू असल माटो भएको जमीनमा पर्यो । यी बिउहरू उम्रे र तिनले ३०, ६० वा अझ १०० गुणा बढी फल दिए । जसको कान छ, त्यसले सुनोस् !”
यस कथाले चेलाहरूलाई अलमल्लमा पार्यो । त्यसैले येशूले बुझाउनुभयो, “बिउचाहिँ परमेश्वरको वचन हो । बाटोचाहिँ त्यो व्यक्ति हो जसले परमेश्वरको वचन त सुन्छ, तर त्यसलाई बुझ्दैन, अनि दुष्टले ऊबाट त्यस वचन खोसेर लैजान्छ ।”
“ढुङ्गेनी जमीनचाहिँ त्यो व्यक्ति हो जसले परमेश्वरको वचन सुन्छ र यसलाई हर्षकासाथ ग्रहण गर्छ । तर जब उसले कठिन परिस्थिति अथवा खेदोको सामना गर्छ, ऊ त्यसबाट पछि हट्दछ ।”
“काँढेदार जमीन चाहिँ त्यो व्यक्ति हो जसले परमेश्वरको वचन सुन्छ, तर जसै समय बित्दै जान्छ, जीवनको फिक्री, धनसम्पति, र आनन्दले परमेश्वरप्रतिको उसको प्रेमलाई निसास्सि दिन्छ । फलस्वरूप, उसले सुनेको शिक्षाले कुनै फल फलाउँदैन ।”
“तर असल माटोचाहिँ त्यो व्यक्ति हो, जसले परमेश्वरको वचन सुन्छ, त्यसलाई विश्वास गर्छ, र फल फलाउँछ ।”
बाइबलको कथा: मत्ती १३:१-८, १८-२३; मर्कूस ४:१-८, १३-२०; लूका ८:४-१५ बाट
३४. येशूले अरू कथाहरू सिकाउनुभयो
परमेश्वरको राज्यको विषयमा येशूले अरू थुप्रै कथाहरू भन्नुभयो । उदाहरणका लागि, उहाँले भन्नुभयो, “परमेश्वरको राज्य एउटा रायोको बिउजस्तै हो, जुन कसैले आफ्नो खेतमा लगायो । तिमीहरूलाई थाहै छ, कि रायोको बिउ बिउहरूमा सबैभन्दा सानो हुन्छ ।”
“तर जब रायोको बिउ उम्रिन्छ, तब त्यो बगैँचाका विरुवाहरूमा सबैभन्दा ठूलो हुन्छ, यति ठूलो कि चराहरू पनि आएर त्यसका हाँगाहरूमा आराम गर्छन् ।”
येशूले अर्को कथा भन्नुभयो, “परमेश्वरको राज्य खमिरजस्तो हो जुन एउटी स्त्रीले रोटी बनाउने पीठोको डल्लासँग मिसाइन्, र त्यो खमीरले पीठोको सबै डल्लालाई खमिरी बनाइदियो ।”
“परमेश्वरको राज्य एक गाढधनजस्तो पनि हो, जुन कुनै मानिसले जमिनभित्र लुकाएर राखेको थियो । कुनै अर्को एकजना व्यक्तिले त्यस गाढधन भेट्टायो र फेरि त्यसलाई गाड्यो । अनि ऊ खुसीले यति प्रफुल्ल भयो, कि उसले गएर आफूसँग भएका सबैथोक बेच्यो र त्यसबाट आएको पैसाले त्यो खेत किन्यो ।”
“परमेश्वरको राज्य शुद्ध मूल्यवान मोतीजस्तो पनि हो । जब कुनै एक मोती व्यापारीले त्यसलाई भेट्टायो, उसले आफूसँग भएका सबैथोक बेच्यो र त्यसबाट आएको पैसा त्यस मोती किन्नमा खर्च गर्यो ।”
अनि येशूले केही मानिसहरूलाई एउटा कथा भन्नुभयो, जसले आफ्ना असल कामहरूमा भरोसा गर्दथे र अरू मानिसहरूलाई घृणा गर्दथे । उहाँले भन्नुभयो, “दुईजना मानिसहरू मन्दिरमा प्रार्थना गर्न गए । तीमध्ये एउटा कर उठाउने मानिस थियो, र अर्कोचाहिँ एकजना धार्मिक अगुवा थियो ।”
“त्यस धार्मिक अगुवाले यसो भन्दै प्रार्थना गर्यो, ‘धन्यवाद, परमेश्वर, म अरू मानिसहरू जस्तो पापी छैन (जस्तैः लुटेराहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू, अथवा अझ त्यो कर उठाउने मानिस जस्तो ।’”
“म हरेक हप्ता दुईपटक उपवास बस्छु र मैले पाएको सबै पैसा र सबै थोकको दशौँ हिस्सा तपाईंलाई दिन्छु ।”
“तर त्यस कर उठाउने मानिसचाहिँ धार्मिक अगुवाभन्दा टाढै बस्यो, र स्वर्गतिर आफ्नो आँखा पनि उठाएन । बरू, उसले मुड्कीले आफ्नो छाती पिट्यो अनि प्रार्थना गर्यो, ‘परमेश्वर, कृपया ममाथि दया देखाउनुहोस् किनकि म एक पापी हुँ ।’”
त्यसपछि येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, परमेश्वरले त्यस कर उठाउने व्यक्तिको प्रार्थना सुन्नुभयो र उसलाई धर्मी ठहराउनुभयो । तर उहाँलाई त्यस धार्मिक अगुवाको प्रार्थना मनपरेन । हरेक जसले आफूलाई उच्च ठान्दछ, परमेश्वरले त्यसलाई होच्याउनुहुनेछ, तर जसले आफूलाई होच्याउछ त्यसलाई उच्च पारिनेछ ।”
बाइबलको कथा: मत्ती १३:३१-३३, ४४-४६; मर्कूस ४:३०-३२; लूका १३:१८-२१; १८:९-१४ बाट
३५. दयालु बुबाको कथा
एकदिन, येशूले थुप्रै कर उठाउनेहरू र अरू पापी मानिसहरूलाई शिक्षा दिइराख्नुभएको थियो । तिनीहरू उहाँको कुरा सुन्न भेला भएका थिए ।
त्यहाँ उपस्थित केही धार्मिक अगुवाहरूले येशूले पापीहरूलाई पनि मित्रसरह व्यवहार गरिरहनुभएको देखे, अनि तिनीहरूले एक-अर्कासँग उहाँको आलोचना गर्न थाले । त्यसैले येशूले तिनीहरूलाई यो कथा भन्नुभयो ।
“एकजना मानिस थिए, जसका दुई छोराहरू थिए । कान्छो छोराले आफ्नो बुबालाई भन्यो, ‘बुबा, मलाई अहिल्यै मेरो पैतृक सम्पतिको हिस्सा चाहियो !’ त्यसैले, त्यस बुबाले आफ्नो सम्पत्ति उसका दुई छोराहरूका बीचमा भाग लगाइदिए ।”
“चाँडैँ नै कान्छो छोराले आफूसँग भएको सबै थोक जम्मा पार्यो र त्यहाँबाट टाढा गयो अनि आफ्नो सबै रुपैयाँ-पैसा जीवनको मोजमस्तीमा खेर फाल्यो ।”
“केही समयपछि, कान्छो छोरा भएको त्यस देशमा अनिकाल आइपर्यो, र खानेकुरा किन्नको लागि ऊसँग पैसा थिएन । त्यसैले उसले आफूले भेट्टाउन सक्ने एउटैमात्र काम गर्न लाग्यो, सुंगुरलाई चारा खुवाउने । उसको अवस्था यस्तो दयनीय र भोको थियो कि उसले सुंगुरको खानेकुराहरू खान्थ्यो ।”
“अन्त्यमा, त्यस कान्छो छोराले आफैँलाई भन्यो, ‘म यो के गरिरहेछु ? मेरा बुबाका सबै नोकरहरूसँग खानको निम्ति प्रशस्त छन्, यद्यपि मचाहिँ यहाँ भोकले मर्नै आँटेको छु । म मेरा बुबाकहाँ फर्किजानेछु र उहाँको एक नोकर बन्न पाऊँ भनी अनुरोध गर्नेछु ।’”
“तसर्थ, त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ जान लाग्यो । जसै त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ आउँदै थियो, उसका बुबाले उसलाई टाढैबाट देखे र उसको निम्ति दया देखाए । उनी आफ्नो छोरा भएतिर दौड्दैँ गए अनि उनलाई अंकमाल र चुम्बन गरे ।”
“त्यस छोराले भन्यो, ‘बुबा, मैले परमेश्वरको र तपाईंको विरुद्धमा पाप गरेको छु । म तपाईंको छोरा हुन योग्यको छैन ।’”
“तर उनका बुबाले आफ्ना नोकरहरूमध्ये एकजनालाई भने, ‘झट्टै जाऊ र सबैभन्दा असल कपडा लिएर आऊ अनि मेरो छोरालाई पहिराइदेऊ ! उसको औँलामा औँठी लगाइदेऊ र उसका खुट्टामा जुत्ता लगाइदेऊ । अनि सबैभन्दा असल पशुलाई मार ताकि हामी भोज गर्न सकौँ र उत्सव मनाऔँ, किनभने मेरो छोरा मरेको थियो, तर अब ऊ जीवित भएको छ ! ऊ हराएको थियो, तर अब ऊ भेटिएको छ !’”
“त्यसैले मानिसहरूले उत्सव मनाउन शुरू गरे । केही समयपछि, जेठो छोरा खेतमा काम गरेर घर फर्किआयो । उसले नाच-गान भइरहेको सुन्यो अनि के भइरहेछ भनी अचम्म मान्यो ।”
“जब त्यस जेठो छोराले उसको भाइ फर्केर आएको कारणले उनीहरू उत्सव मनाइरहेछन् भन्ने थाह पायो, ऊ अति रिसायो र घरभित्र जान चाहेन । उसका बुबा बाहिर आए र उसलाई भित्र आएर सबैसँग उत्सव मनाउनको निम्ति आग्रह गर्यो, तर उसले त्यसो गर्न इन्कार गर्यो ।”
“जेठो छोराले आफ्नो बुबालाई भन्यो, ‘सबै वर्षहरु मैले विश्वासयोग्य भएर तपाईंको निम्ति काम गरेको छु ! म कहिल्यै तपाईंको अनाज्ञाकारी भएको छैन, तरपनि तपाईंले मेरा मित्रहरूसँग भोज मनाउनको निम्ति एउटा सानो पशु पनि दिनुभएको छैन । तर जब तपाईंको यस छोरा, जसले तपाईंको पैसा पापकर्म गर्नमा खर्च गर्यो, घर आयो, तपाईंले त्यसको निम्ति सबैभन्दा उत्तम पशु मार्नुभयो !’”
“बुबाले जवाफ दिए, ‘मेरो छोरा, तिमी त सधैँभरि मसँगै छौ, अनि मसँग भएका सबैथोक तिम्रै हो । तर हामीलाई उत्सव मनाउनु सही छ, किनकि तिम्रो भाइ मरेको थियो, तर अब जीवित भएको छ । ऊ हराएको थियो, तर अब भेट्टाइएको छ !’”
बाइबलको कथा: लूका १५:११-३२ बाट
३६. येशूको रूप परिवर्तन
एकदिन, येशूले उहाँका तीनजना चेलाहरू पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानुभयो । (यी यूहन्ना येशूलाई बप्तिस्मा दिने व्यक्ति होइनन् ।) उनीहरू एक अग्लो पहाडमाथि प्रार्थना गर्न गए ।
जब येशू प्रार्थना गर्दैहुनुहुन्थ्यो, उहाँको अनुहार सूर्यझैँ चम्किलो भयो र उहाँका कपडा ज्योतिझैँ सेतो भयो ।
त्यसपछि त्यहाँ मोशा र एलिया अगमवक्ता देखा परे । यी मानिसहरू त्यस घटना हुनुभन्दा सयौँ वर्षअगाडि बाँचेका थिए । उनीहरूले येशूसँग उहाँको मृत्युको बारेमा कुरा गरे, जुन चाँडै नै यरूशलेममा हुनेवाला थियो ।
जब मोशा र एलिया येशूसँग कुराकानी गरिरहेका थिए, पत्रुसले येशूलाई भने, “हामीलाई यहीँ रहन असल छ । हामी तीनवटा बासस्थानहरू बनाऔँ, एउटा तपाईंको लागि, एउटा मोशाको लागि, र एउटा एलियाको लागि ।” त्यतिबेला आफू के भन्दैछु सो पत्रुसलाई थाहा थिएन ।
जब पत्रुस बोल्दै थिए, एउटा उज्यालो बादल तल आएर उनीहरूलाई घेर्यो र बादलबाट परमेश्वरको आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन् जसलाई म प्रेम गर्छु । म ऊसँग प्रसन्न छु । उसको कुरा सुन्नू ।” ती तीन चेलाहरू डराए र भुईँमा लडे ।
अनि येशूले तिनीहरूलाई छुनुभयो र भन्नुभयो, “नडराओ, उठ ।” जब तिनीहरूले वरिपरि हेरे, त्यहाँ केवल येशूमात्र हुनुहुन्थ्यो ।
येशू र ती तीन चेलाहरू फेरि पहाडबाट तल झर्नुभयो । अनि येशूले तिनीहरूलाई भन्नुभयो, “यहाँ भएको घटनाको बारेमा अहिले कसैलाई केही नभन्नू । म चाडैँनै मर्नेछु र त्यसपछि फेरि जीवित हुनेछु । त्यसपछि, तिमीहरूले मानिसहरूलाई भन्न सक्नेछौ ।”
बाइबलको कथा: मत्ती १७:१-९; मर्कूस ९:२-८; लूका ९:२८-३६ बाट
३७. येशूले लाजरसलाई मृत्युबाट बिउताउनुभयो
एकदिन, येशूले लाजरस ज्यादै विरामी भएको खबर पाउनुभयो । लाजरस र उनका दुईजना दिदीहरू, मरियम र मार्था येशूका नजिकका मित्रहरू थिए । जब येशूले यो समाचार सुन्नुभयो, उहाँले भन्नुभयो, “यस बिरामी मृत्युमा गएर टुंगिनेछैन, तर यो त परमेश्वरको महिमाको निम्ति हो ।” येशूले उहाँका मित्रहरूलाई प्रेम गर्नुहुन्थ्यो, तर उहाँ अझ दुई दिनसम्म त्यस ठाउँमा रहनुभयो, जहाँ उहाँ बसिराख्नुभएको थियो ।
दुई दिनपछि, येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “आओ, अब हामी यहूदिया फर्कौं ।” चेलाहरूले जवाफ दिए, “तर गुरू,” “केही समय अघिमात्र त्यहाँका मानिसहरूले तपाईंलाई मार्न खोजेका थिए !” येशूले भन्नुभयो, “हाम्रो मित्र लाजरस निद्रामा परेको छ, अनि मैले उसलाई उठाउनै पर्छ ।”
येशूका चेलाहरूले जवाफ दिए, “प्रभु, यदि लाजरस सुतिरहेका छन् भने, उनी उठ्नेछन् ।” अनि येशूले तिनीहरूलाई सरल ढङ्गमा भनिदिनुभयो, “लाजरस मरेको छ । म त्यहाँ नभएकोमा खुशी छु, किनकि अब तिमीहरूले केही अद्भूत कुरा देख्नेछौ जसकारण तिमीहरूले ममाथि विश्वास गर्न सक्नेछौ ।”
जब येशू लाजरसको घरमा पुग्नुभयो, लाजरस चार दिनअघि नै मरिसकेका थिए । येशूलाई भेट्नको निम्ति मार्था बाहिर आइन् र भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुमात्र भएको भए, मेरो भाई मर्ने थिएन । तर म विश्वास गर्छु कि तपाईंले परमेश्वरसँग जेसुकै मागेपनि उहाँले तपाईंलाई दिनुहुनेछ ।”
येशूले जवाफ दिनुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । जजसले ममाथि विश्वास गर्छन्, उनीहरू कहिल्यै मर्नेछैनन् । के तिमी यो विश्वास गर्छौ ?” मार्थाले जवाफ दिइन्, “हो, प्रभु ! म विश्वास गर्छु कि तपाईंनै मसिह, परमेश्वरका पुत्र हुनुहुन्छ ।”
अनि मरियम आइपुगिन् । उनी येशूको पाउ परिन् र भनिन् , “प्रभु, यदि तपाईं यहाँ हुनुभएको मात्र भएपनि, मेरो भाइ मर्ने थिएन ।” येशूले उनीहरूलाई सोध्नुभयो, “तिमीहरूले लाजरसलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “चिहानमा । आएर हेर्नुहोस् ।” अनि येशू रूनुभयो ।
त्यो चिहान एउटा गुफा थियो, जसको मुखमा ढुङ्गाले ढाकिएको थियो । जब येशू चिहानमा आइपुग्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यस ढुङ्गालाई त्यहाँबाट हटाइदेओ ।” तर मार्थाले भनिन् , “ऊ मरेको चार दिन भइसक्यो । त्यहाँबाट दुर्गन्ध आउनेछ ।”
येशूले भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइनँ, कि तिमीले ममाथि विश्वास गर्यो भने परमेश्वरको महिमा देख्नेछौ ?” त्यसैले तिनीहरूले ढुङ्गा हटाइदिए ।
अनि येशूले माथि स्वर्गतिर हेर्नुभयो र भन्नुभयो, “पिता, तपाईंले मेरो कुरा सुन्नुभएकोलागि धन्यवाद । म जान्दछु कि तपाईंले सधैँ मेरो कुरा सुन्नुहुन्छ, तर म यो कुरा यहाँ उभिरहेका सबै मानिसहरूका खातिर भन्दैछु, ताकि तिनीहरूले विश्वास गरून् कि तपाईंलेनै मलाई पठाउनुभएको हो । त्यसपछि येशूले कराएर भन्नुभयो, “लाजरस, बाहिर आऊ !”
अनि लाजरस बाहिर आए ! ऊ अझै कात्रोमा बेरिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “उसलाई त्यस कात्रोबाट निस्कन सहायता गर र उसलाई जान देऊ !” यस आश्चर्यकर्मको कारणले धेरै यहूदीहरूले येशूमा विश्वास गरे ।
तर यहूदीहरूका धार्मिक अगुवाहरू डाही भए, त्यसैले तिनीहरूले कसरी येशू र लाजरसलाई मार्ने भनी योजना बनाउन एकसाथ भेला भए ।
बाइबलको कथा: यूहन्ना ११:१-४६ बाट
३८. येशूलाई धोखा
हरेक वर्ष, यहूदीहरूले निस्तार चाड मनाउने गर्दथे । यो एक उत्सव थियो जुन कैयौँ शताब्दीअघि कसरी परमेश्वरले उनीहरूका पुर्खाहरूलाई मिश्रदेशको दासत्वबाट बचाउनुभएको थियो भन्ने सम्झनामा मनाइने गरिन्थ्यो । येशूले पहिलो पटक खुलारूपमा प्रचार र शिक्षा दिन थाल्नुभएको करिब तीन वर्षपछि, उहाँले आफ्ना चेलाहरूलाई उनीहरूसँग येरूशलेममा निस्तार चाड मनाउन चाहनुभएको कुरा भन्नुभयो, अनि यो पनि भन्नुभयो कि उहाँ त्यहाँ मारिनुहुनेथियो ।
येशूका चेलाहरूमध्ये यहूदा नाउँ गरेका एकजना मानिस थिए । यहूदा चेलाहरूका पैसाको थैलीको जिम्मेवाल थिए, तर उनी पैसालाई प्रेम गर्दथे र अक्सर थैलीबाट पैसा चोर्ने गर्दथे । येशू र चेलाहरू येरूशलेममा आइपुग्नुभएपछि, यहूदा यहूदी अगुवाहरूकहाँ गए र पैसा लिएर येशूलाई धोका दिने प्रस्ताव राखे । यहूदी अगुवाहरूले येशू मसिह हुनुहुन्छ भनी अस्वीकार गर्थे र उहाँलाई मार्ने षडयन्त्र रचिरहेका थिए भन्ने कुरा उसलाई थाहा थियो ।
प्रधान पूजाहारीको नेतृत्वमा, यहूदी अगुवाहरूले येशूलाई विश्वासघात गर्नको निम्ति यहूदालाई तीस वटा चाँदीका सिक्काहरू दिए । अगमवक्ताहरूले भविष्यवाणी गरेजस्तै गरी यो कुरा हुनआयो । यहूदाले यस कुरामा मञ्जुर गरे, पैसा लिए, र त्यहाँबाट गए अनि येशूलाई पक्रन सहायता गर्नको निम्ति मौकाहरू खोज्न थाले ।
येरूशलेममा, येशूले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनुभयो । निस्तार चाडको भोजको समयमा, येशूले केही रोटीहरू लिनुभयो र त्यसलाई भाँच्नुभयो । उहाँले भन्नुभयो, “यो लेओ र खाओ । यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । यो मेरो सम्झनामा गर्ने गर ।” यसप्रकारले, येशूले भन्नुभयो, कि उहाँको शरीर उनीहरूका निम्ति बलिदान हुनेछ ।
अनि येशूले कचौरा लिनुभयो र भन्नुभयो, “यो पिओ । यो नयाँ करारको मेरो रगत हो, जुन पाप क्षमाको निम्ति बहेको छ । तिमीहरूले हरेकपटक यो पिउँदा मेरो सम्झनामा गर्ने गर ।”
त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये एकजनाले मलाई धोखा दिनेछौ ।” चेलाहरू छक्क परे, र कसले त्यस प्रकारको काम गर्छ भनी सोधे । येशूले भन्नुभयो, “जसलाई म रोटीको यस टुक्रा दिन्छु, त्यो नै विश्वासघाती हो ।” अनि येशूले त्यस रोटीको टुक्रा यहूदालाई दिनुभयो ।
यहूदाले रोटी लिएपछि, शैतान ऊभित्र पस्यो । यहूदा त्यहाँबाट निस्केर येशूलाई पक्राउन सहायता गर्नको निम्ति यहूदी अगुवाहरूकहाँ गए । त्यो रातको समय थियो ।
भोजनपछि, येशू र उहाँका चेलाहरू हिँड्दै जैतून डाँडामा जानुभयो । येशूले भन्नुभयो, “तिमीहरूले आज राती मलाई त्याग्नेछौ । जसो लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र सबै भेडाहरू तितर-वितर हुनेछन् ।’”
पत्रुसले जवाफ दिए, “अरु सबैले तपाईंलाई त्यागेता पनि, म त्याग्नेछैन !” अनि येशूले पत्रुसलाई भन्नुभयो, “शैतानले तिमीहरू सबैलाई चाहन्छ, तर मैले तिमीहरूको निम्ति प्रार्थना गरिदिएको छु, पत्रुस तिम्रो विश्वास चुक्नेछैन । तापनि, आज राती भाले बास्नभन्दा अघि, तिमीले मलाई चिन्दिनँ भनी तीनपटक इन्कार गर्नेछौ ।”
अनि पत्रुसले येशूलाई भने, “म मर्नुपरेतापनि, म कहिल्यै तपाईंलाई इन्कार गर्नेछैन !” अरू सबै चेलाहरूले पनि त्यसै भने ।
अनि येशू उहाँका चेलाहरूसँग गेतसमनी भनिने ठाउँमा जानुभयो । येशूले उहाँका चेलाहरूलाई परीक्षामा नपरून् भनी प्रार्थना गर्न भन्नुभयो । अनि येशू आफैँ प्रार्थना गर्न जानुभयो ।।
येशूले तीन पटक प्रार्थना गर्नुभयो, “हे पिता, सम्भव छ भने, कृपया मलाई यस कचौराको कष्ट पिउन नपरोस् । तर मानिसहरूका पाप-क्षमाको निम्ति त्यहाँ अरू कुनै बाटो छैन भने, तपाईंको इच्छा पूरा भएको होस् ।” येशू धेरै विचलित हुनुहुन्थ्यो र उहाँका पसिना रगतका थोपाझैँ थिए । परमेश्वरले स्वर्गदूतलाई उहाँकहाँ शक्ति दिनलाई पठाइदिनुभयो ।
प्रार्थनाको समयपछि, येशू उहाँका चेलाहरूकहाँ फर्किआउनुभयो, तर उनीहरू निदाइरहेका थिए । जब उहाँ तेस्रोपटक फर्कनुभयो, येशूले भन्नुभयो, “उठ ! मलाई धोखा दिने यहाँ आइपुगेको छ ।”
यहूदी अगुवाहरू, सैनिकहरू र तरवार र लाठो बोकिरहेका ठूलो भीडको साथमा यहूदा आए । उनी येशूकहाँ आएर भने, “प्रणाम, गुरूज्यू,” अनि उहाँलाई चुम्बन गरे । यो यहूदी अगुवाहरूलाई उनीहरूले कसलाई पक्रनुपर्ने हो भनी ठम्याउनको निम्ति संकेत थियो । अनि येशूले भन्नुभयो, “यहूदा, के चुम्बनले तिमी मलाई धोखा दिन्छौ ?”
जब सेनाहरूले येशूलाई पक्रे, पत्रुसले तरवार निकाले र प्रधान-पूजाहारीको एकजना नोकरको कान काटिदिए । येशूले भन्नुभयो, “तरवार परै राख ! मेरो रक्षाको निम्ति मैले पितालाई स्वर्गदूतहरूको फौजनै माग्न सक्ने थिँए । तर मैले मेरा पिताको आज्ञा मान्नै पर्छ ।” अनि येशूले त्यस मानिसको कान निको पारिदिनुभयो । येशू पक्राउ पर्नुभएपछि, सबै चेलाहरू भागे ।
बाइबलको कथा: मत्ती २६:१४-५६; मर्कूस १४:१०-५०; लूका २२:१-५३; यूहन्ना १२:६; १८:१-११ बाट
३९. महासभाको सम्मुख येशू
मध्यरातको समय थियो । सेनाहरूले सोध्पुछको निम्ति येशूलाई प्रधान पूजाहारीको घरमा लगे । पत्रुसले टाढैबाट तिनीहरूलाई पछ्याइरहेका थिए । जब येशूलाई घरभित्र लगियो, पत्रुसचाहिँ बाहिरै बसे र आगो ताप्दै आफैँलाई न्यानो पारे ।
येशूलाई घरभित्र, यहूदी अगुवाहरूले महासभाको सामुन्ने राखे । तिनीहरूले धेरै झूटा साक्षीहरू ल्याए, जसले उहाँको बारेमा झूट बोले । तथापि, तिनीहरूको बयान एक-अर्कासँग मिल्दोजुल्दो थिएन, तसर्थ यहूदी अगुवाहरूले उहाँलाई कुनै कुरामा दोषी प्रमाणित गर्न सकेनन् । येशूले केही बोल्नुभएन ।
अन्त्यमा, प्रधान पूजाहारीले सिधै येशूतिर हेरे र भने, “हामीलाई भन, के तिमी मसिह हौ, जीवित परमेश्वरका पुत्र ?”
येशूले भन्नुभयो, “म हुँ, तपाईंले मलाई परमेश्वरसँग बसिरहेको र स्वर्गबाट आउँदै गरेको देख्नुहुनेछ ।” प्रधान-पूजाहारीले रिसमा आफ्ना वस्त्रहरू च्याते र अरू धार्मिक अगुवाहरूलाई यसो भनेर कराए, “हामीलाई अरू कुनै गवाही चाहिँदैन ! तिमीहरूले यसले भनेको सुनेका छौँ, कि यिनी परमेश्वरका पुत्र हुन् । तिमीहरूको के निर्णय छ ?”
सबै यहूदी अगुवाहरूले जवाफ दिए, “यो मारिन योग्यको छ !” अनि तिनीहरूले येशूको आखाँमा पट्टी बाँधिदिए, उहाँलाई थुके, कुटे, र गिज्याए ।
जब पत्रुस घरबाहिर पर्खेर बसिरहेका थिए, एकजना नोकर्नीले उनलाई देखिन् र भनिन् , “तिमी पनि येशूसँगै थियौ !” पत्रुसले त्यो इन्कार गरे । पछि, अर्की स्त्रीले पनि त्यसै भनिन्, अनि पत्रुसले फेरि इन्कार गरे । अन्ततः मानिसहरूले भने, “हामीलाई थाहा छ कि तिमी येशूसँगै थियौ किनकि तिमीहरू दुवैजना गालीलका हौ ।”
अनि पत्रुसले यसो भनि वाचा गरे, “यदि मैले यस मानिसलाई चिनेको रहेछु भने परमेश्वरले मलाई श्राप दिऊन् !” तुरुन्तै, भाले बास्यो, अनि येशू फनक्क फर्कनुभयो र पत्रुसलाई हेर्नुभयो ।
पत्रुस त्यहाँबाट अन्तै गए र रोए । यसैबीच, त्यस विश्वासघाती यहूदाले यहूदी अगुवाहरूले येशूलाई मार्नको निम्ति दोष्याइरहेको देखे । यहूदा शोकले भरिए अनि त्यहाँबाट अन्तै गए र आत्महत्या गरे ।
अर्को बिहान सबेरै, यहूदी अगुवाहरूले येशूलाई रोमी राज्यपाल, पिलातसको सामु ल्याए । तिनीहरूले यो आशा गरेका थिए कि पिलातसले येशूलाई दोषी ठहराउनेछन् र उहाँलाई मृत्युदण्डको सजाय दिनेछन् । पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?”
येशूले जवाफ दिनुभयो, “तपाईंनै त्यसो भन्नुहुन्छ, तर मेरो राज्यचाहिँ संसारको राज्य होइन । यदी त्यसो हुँदो हो त, मेरा सेवकहरूले मेरो निम्ति लडाइँ गर्नेथिए । म संसारमा परमेश्वरको सत्यता बताउन आएको हुँ । सबैजना जसले सत्यतालाई प्रेम गर्छन्, तिनीहरूले मेरो कुरा सुन्छन् ।” पिलातसले भने, “सत्य के हो ?”
येशूसँग कुरा गरिसकेपछि, पिलातस बाहिर भीडकहाँ गए र भने, “म यस मानिसमा कुनै दोष भेट्टाउँदिन ।” तर यहूदी अगुवाहरू र भीडले यसो भन्दै कराए, “उसलाई क्रूसमा चढाउनुहोस् !” पिलातसले जवाफ दिए, “ऊ दोषी छैन ।” तर उनीहरू अझ चर्को स्वरमा कराउन लागे । त्यसपछि पिलातसले तेस्रोपटक भने, “ऊ दोषी छैन !”
भीडले अब दंगा मच्चाउन लाग्ने भयो भनी चाल पाएर पिलातस डराए । त्यसैले उनले आफ्ना सिपाहीहरूलाई येशूलाई क्रूसमा चढाउने आदेश दिए । रोमी सिपाहीहरूले येशूलाई कोर्रा लगाए र राजकीय पोशाक अनि काडाँहरूले बनाएको मुकुट उहाँलाई लगाइदिए । त्यसपछि तिनीहरूले उहाँलाई यसो भनेर गिज्याए, “हेर, यहूदीहरूका राजा !”
बाइबलको कथा: मत्ती २६:५७-२७:२६; मर्कूस १४:५३-१५:१५; लूका २२:५४-२३:२५; यूहन्ना १८:१२-१९:१६ बाट
४०. येशू क्रुसमा टाँगिनुभयो
येशूको गिल्ला गरेपछि, सिपाहीहरूले उहाँलाई क्रूसमा चढाउनको निम्ति त्यहाँबाट अन्तै लगे । तिनीहरूले उहाँलाई क्रूस बोक्न लगाए जसमाथि उहाँलाई टाँगिने थियो ।
ती सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए र उहाँका हात र पाउलाई क्रूसमा राखी त्यसमाथि किला ठोकिदिए । तर येशूले भन्नुभयो, “पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस् , किनकि यिनीहरू के गर्दैछन्, सो जान्दैनन् ।” पिलातसले ती सिपाहीहरूलाई एउटा पाटीमा “यहूदीहरूका राजा” लेखे र त्यसलाई क्रूसमा येशूको शिरमाथि राख्ने हुकुम दिए ।
सिपाहीहरूले येशूको वस्त्रमा चिठ्ठा हाले । तिनीहरूले यसो गर्दा त्यो अगमवाणी पूरा भयो, जसले भनेको थियो, “तिनीहरूले मेरा वस्त्रहरू आफैँमा बाँडे, र मेरो कपडाको निम्ति चिठ्ठा हाले ।”
येशूलाई दुई लुटेराहरूको बीचमा क्रूसमा चढाइएको थियो । तीमध्ये एकजनाले येशूलाई गिल्ला गर्यो, तर अर्कोचाहिँले भन्यो, “के तिमीलाई परमेश्वरको कुनै डर छैन ? हामी दोषी छौँ, तर यी मानिस त निर्दोष छन् ।” अनि उसले येशूलाई भन्यो, “कृपया मलाई तपाईंको राज्यमा सम्झनुहोस् ।” येशूले जवाफ दिनुभयो, “आजै, तिमी मसँग स्वर्गमा हुनेछौ ।”
यहूदी अगुवा र भीडमा भएका अरू मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँलाई भने, “यदि तिमी परमेश्वरका पुत्र हौँ भने, क्रूसबाट तल ओर्लिआऊ अनि आफैँलाई बचाऊ ! त्यसपछि हामी तिमीमाथि विश्वास गर्नेछौँ ।”
अनि समस्त इलाकाभरि अन्धकार छायो, यद्यपि त्यो मध्यदिनको समय थियो । त्यो अन्धकार मध्यान्हको तीन बजेसम्म रहिरह्यो ।
त्यसपछि येशू चर्को स्वरले कराउनुभयो, “अब सिद्धियो ! पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु ।” अनि उहाँले आफ्नो शिर निहुर्याउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो । जब उहाँ मर्नुभयो, त्यहाँ भुईँचालो गयो अनि मन्दिरमा मानिसहरूलाई परमेश्वरको उपस्थितिबाट अलग गराएको त्यस ठूलो पर्दा माथिदेखि तल दुई भागमा च्यात्तियो ।
उहाँको मृत्युद्वारा, येशूले मानिसहरूका निम्ति परमेश्वरकहाँ आउने बाटो खोलिदिनुभयो । जब येशूलाई पहरा दिइरहेको त्यस सिपाहीले यी सबै कुराहरू भएको देख्यो, उसले भन्यो, “निश्चय नै, यी मानिस निर्दोष थिए । उनी परमेश्वरका पुत्र थिए ।”
अनि योसेफ र निकोदेमस, येशूलाई मसिह भनी विश्वास गरेका दुईजना यहूदी अगुवाहरूले पिलातससँग येशूको शरीर मागे । तिनीहरूले उहाँको शरीरलाई कपडामा बेरे र त्यसलाई चट्टानमा कोपेर बनाइएको चिहानभित्र राखे । त्यसपछि तिनीहरूले चिहानको मुख थुन्नलाई त्यसको अगाडि एउटा ठूलो ढुङ्गा गुडाएर राखिदिए ।
बाइबलको कथा: मत्ती २७:२७-६१; मर्कूस १५:१६-४७; लूका २३:२६-५६; यूहन्ना १९:१७-४२ बाट
४१. परमेश्वरले येशूलाई मृतकबाट बौरी उठाउनुभयो
सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि, अविश्वासी यहूदी अगुवाहरूले पिलातसलाई भने, “त्यो झूटो येशूले भनेको थियो कि ऊ तीन दिनपछि मृत्युबाट उठ्नेछ । उसका चेलाहरूले उनको लास चोरेर लैजालान्, अनि ऊ मृत्युबाट बौरी उठ्यो भनी नभनून् भन्ने कुराको पक्का गर्न कसैले त्यस चिहानको पहरा गर्नैपर्छ ।”
पिलातसले भने, “केही सिपाहीहरू लैजाऊ र त्यस चिहानलाई तिमीले सक्दो सुरक्षित राख ।” त्यसैले तिनीहरूले चिहानको मुखमा भएको ढुङ्गामा एउटा मोहोर लगाए र कसैले शरीर नचोरोस् भनी पक्का गर्न सिपाहीहरूलाई त्यहाँ राखे ।
येशूलाई गाडिएको भोलिपल्ट शबाथको दिन थियो, र यहूदीहरूलाई त्यस दिन चिहानमा जान मनाही थियो । त्यसैले शबाथ दिनको भोलिपल्ट बिहान सबेरै, केही स्त्रीहरू येशूको चिहानमा उहाँको शरीरमा अत्तरहरू लगाउन जान तयार भए ।
अचानक, एउटा ठूलो भूकम्प गयो । चट्याङझैँ चम्किरहेका स्वर्गदूत स्वर्गबाट देखा परे । उनले चिहानको मुख थुनिरहेको ढुङ्गालाई त्यहाँबाट हटाइदिए र त्यसमाथि बसे । चिहानको पहरा गरिरहेका सिपाहीहरू डराए र मृत मानिसझैँ भुईँमा लडे ।
जब ती स्त्रीहरू चिहानमा आईपुगे, त्यस स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ । येशू यहाँ हुनुहुन्न । उहाँले भन्नुभएझैँ, उहाँ मृतकबाट बौरी उठ्नुभएको छ ! चिहानमा हेर र थाहा गर ।” ती स्त्रीहरूले चिहानभित्र येशूको शरीर राखिएको ठाउँमा हेरे । त्यहाँ उहाँको शरीर थिएन !
अनि स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “जाओ र चेलाहरूलाई भनिदेओ, ‘येशू मृत्युबाट बौरी उठ्नुभएको छ र उहाँ तिमीहरूका अघि गालीलमा जानुहुनेछ ।’”
ती स्त्रीहरू डर र ठूलो रमाहाटले भरिएका थिए । उनीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन दौड्दैँ गए ।
जब ती स्त्रीहरू चेलाहरूलाई यो खुसीको समाचार सुनाउन जाँदै थिए, येशू उनीहरूकहाँ देखा पर्नुभयो, अनि उनीहरूले उहाँको आराधना गरे । येशूले भन्नुभयो, “नडराओ । जाओ र मेरा चेलाहरूलाई गालीलमा जान भनिदेओ । उनीहरूले मलाई त्यहीँ देख्नेछन् ।”
बाइबलको कथा: मत्ती २७:६२-२८:१५; मर्कूस १६:१-११; लूका २४:१-१२; यूहन्ना २०:१-१८ बाट
४२. येशू स्वर्ग फर्कनुभयो
येशू मृतकबाट बौरी उठाइनुभएको दिनमा, उहाँका दुईजना चेलाहरू नजिकैको गाउँतिर जादैँ थिए । उनीहरू हिँड्दै गर्दा, उनीहरूले येशूलाई के भएको थियो भन्ने विषयमा कुरा गरे । उनीहरूले आशा गरेका थिए कि उहाँ मसिह हुनुहुन्थ्यो, तर उहाँ मारिनुभयो । अब स्त्रीहरूले भने कि उहाँ फेरी जीवित हुनुहुन्छ । उनीहरूलाई केमाथि विश्वास गर्ने सो थाहा थिएन ।
येशू उनीहरूकहाँ पुग्नुभयो र उनीहरूसँगै हिँड्न थाल्नुभयो, तर उनीहरूले उहाँलाई चिनेनन् । उहाँले तिनीहरूलाई केको बारेमा कुरा गरिरहेको भनी सोध्नुभयो, अनि उनीहरूले उहाँलाई बिगतका केही दिनहरूमा येशूको सम्बन्धमा भएका सबै उल्लेख्नीय कुराहरू बताए । उनीहरूले सोचेका थिए कि उनीहरू एक परदेशीसँग कुरा गरिरहेका थिए, जसलाई यरुशलेममा के भएको थियो सो थाहा थिएन ।
त्यसपछि येशूले उनीहरूलाई परमेश्वरको वचनले मसिहको बारेमा के भनेको छ भनी व्याख्या गरिदिनुभयो । उहाँले तिनीहरूलाई स्मरण गराउनुभयो कि अगमवक्ताहरूले भनेका थिएः मसिहले कष्ट भोग्नेछ र मारिनेछ तर तेस्रो दिनमा फेरि बौरी उठ्नेछ । जब उनीहरू त्यस गाँउमा आइपुगे जहाँ ती दुई व्यक्तिहरूले बस्ने योजना बनाएका थिए, त्यतिखेर करिब साँझ परिसकेको थियो ।
ती दुई व्यक्तिहरूले येशूलाई उनीहरूसँगै बस्ने निम्तो दिए, त्यसैले उहाँ तिनीहरूसँग बस्नुभयो । जब उनीहरू साँझको खाना खान तयार भए, येशूले रोटीको एक टुक्रा लिनुभयो, परमेश्वरलाई त्यसको निम्ति धन्यवाद दिनुभयो, र त्यो भाँच्नु भयो । अचानक, उनीहरूले उहाँ येशू हुनुहुन्थ्यो भनी चिने । तर त्यही घडी, उहाँ तिनीहरूको नजरबाट अलप हुनुभयो ।
ती दुई व्यक्तिहरूले एक-अर्कालाई भने, “उहाँ त येशू हुनुहुन्थ्यो ! त्यसैले त उहाँले हामीलाई परमेश्वरको वचन बुझाउँदै गर्नुहुदा हाम्रा हृदयहरू जलिरहेका थिए !” तुरुन्तै, उनीहरू यरुशलेम फर्के । जब उनीहरू आईपुगे, उनीहरूले चेलाहरूलाई भने, “येशू जीवित हुनुहुन्छ ! हामीले उहाँलाई देखेका छौँ !”
जब चेलाहरू कुरा गरिरहेका थिए, अचानक येशू त्यस कोठामा उनीहरूकहाँ देखा पर्नुभयो र भन्नुभयो, “तिमीहरूलाई शान्ति !” चेलाहरूले सोचे कि उहाँ भूत हुनुहुन्छ, तर येशूले भन्नुभयो, “किन तिमीहरू डराउछौँ र शंका गर्दैछौँ ? मेरा हातहरू र पाऊमा हेर । भूतहरूको त मेरो जस्तो शरीर हुँदैन ।” उहाँ भूत हुनुहुन्न भनी प्रमाणित गर्न, उहाँले खानको निम्ति केही माग्नुभयो । उनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए र उहाँले त्यो खानुभयो ।
येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भनेको थिएँ कि मेरो बारेमा परमेश्वरको वचनमा लेखिएका सबै कुरा पूरा हुनैपर्थ्यो ।” अनि उहाँले तिनीहरूका समझ खोलिदिनुभयो ताकि तिनीहरूले परमेश्वरको वचन बुझ्न सकून् । उहाँले भन्नुभयो, “यो त धेरै पहिल्यै लेखिएको थियो कि मसिहले कष्ट भोग्नेछ, मर्नेछ अनि तेस्रो दिनमा मृतकबाट बौरी उठ्नेछ ।”
“धर्मशास्त्रमा यसो पनि लेखिएको थियो कि मेरा चेलाहरूले घोषणा गर्नेछन् कि सबैजनाले आफ्ना पाप-क्षमा पाउनको निम्ति पश्चाताप गर्नुपर्छ । उनीहरूले यो कुरा यरुशलेमबाट शुरू गर्नेछन्, अनि त्यसपछि सारा मानिस जातिकहाँ जानेछन् । तिमीहरू यी कुराहरूका साक्षी हुनेछौ ।”
अनि चालीस दिनसम्म, येशू उहाँका चेलाहरूकहाँ धेरैपटक देखा पर्नुभयो । एकपटक, उहाँ ५०० जनाभन्दा बढी मानिसहरूकहाँ समेत् एकैचोटि देखा पर्नुभयो । उहाँले आफ्ना चेलाहरूलाई धेरै प्रकारले आफू जीवित हुनुहुन्छ भन्ने प्रमाणित गर्नुभयो, अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा सिकाउनुभयो ।
येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “स्वर्ग र पृथ्वीमा भएका सारा अधिकार मलाई दिइएको छ । त्यसैले जाओ, सबै जातिका मानिसहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिएर चेला बनाओ र उनीहरूलाई मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न सिकाओ । याद राख, म सधैँ तिमीहरूसँग हुनेछु ।”
येशू मृत्युबाट बौरीउठ्नुभएको चालीस दिनपछि, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मेरा पिताले तिमीहरूलाई शक्ति दिनुभएपछि जब पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ, त्यतिन्जेलसम्म तिमीहरू यरूशलेममै बस ।” अनि येशू माथि स्वर्गमा जानुभयो, र बादलले उहाँलाई तिनीहरूको नजरबाट ढाक्यो । येशू सबैकुराहरू माथि राज्य गर्न परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ ।
बाइबलको कथा: मत्ती २८:१६-२०; मर्कूस १६:१२-२०; लूका २४:१३-५३; यूहन्ना २०:१९-२३; प्रेरित १:१-११ बाट
४३. मण्डलीको शुरूवात
येशू स्वर्गमा फर्किजानुभएपछि, चेलाहरू येशूले आज्ञा गर्नुभए बमोजिम यरूशलेममा नै बसिरहे । त्यहाँ भएका विश्वासीहरू प्रार्थना गर्न निरन्तर रूपमा भेला भए ।
हरेक वर्ष, निस्तार चाडको ५० दिनपछि, यहूदीहरूले महत्वपूर्ण दिन, पेन्तिकोसको दिन मनाउने गर्दथे । पेन्तिकोस त्यस समय थियो, जब यहूदीहरूले कटनीको उत्सव मनाउने गर्दथे । यहूदीहरू सारा संसारदेखि यरूशलेममा एकसाथ पेन्तिकोसको दिन मनाउन आउँथे । त्यस वर्ष, पेन्तिकोसको दिनचाहिँ येशूको स्वर्गारहण भएको करिब १० दिनपछि आयो ।
जब विश्वासीहरू सबै एकसाथ थिए, अचानक उनीहरू बसिरहेको घर एक शक्तिशाली बतासको झोक्काजस्तै आवाजले भरियो । त्यसपछि आगोका ज्वालाजस्तै देखिने वस्तु सबै विश्वासीहरूको शिरमाथि देखा पर्यो । उनीहरू सबै पवित्र आत्माले भरिएका थिए र उनीहरू अन्य भाषाहरूमा बोल्न लागे ।
जब यरूशलेममा भएका मानिसहरूले त्यो हल्ला सुने, भीड के भइरहेछ भनी हेर्न आयो । जब मानिसहरूले विश्वासीहरूले परमेश्वरका अचम्मका कामहरूको प्रचार गरिरहेका सुने, तिनीहरू आश्चर्यचकित भए कि तिनीहरूले यी कुराहरू तिनीहरूका आफ्नै मातृभाषाहरूमा सुनिरहेका थिए ।
केही मानिसहरूले चेलाहरूलाई मद्यले मात्तिएको आरोप लगाए । तर पत्रुस खडा भए र तिनीहरूलाई भने, “मेरो कुरा सुन्नुहोस् ! यी मानिसहरू मात्तिएका होइनन् ! यसले योएल अगमवक्ताले भनेका भविष्यवाणी पूरा गर्छ जहाँ परमेश्वरले भन्नुभएको थियो, ‘अन्त्यका दिनहरूमा, म मेरो आत्मा खन्याउनेछु ।’”
“इस्राएलका मानिसहरू हो, येशू एक मानिस हुनुहुन्थ्यो जसले परमेश्वरको शक्तिद्वारा धेरै महान् चिन्ह र आश्चर्यकर्महरू गर्नुभएको थियो, जुन तपाईंहरूले देख्नुभएको छ र थाहा गर्नुभएको छ । तर तपाईंहरूले उहाँलाई क्रूसमा टाँग्नुभयो !”
“येशू मर्नु भएता पनि, परमेश्वरले उहाँलाई मृत्युबाट उठाउनुभयो । यसले त्यस भविष्यवाणी पूरा गर्यो, जसले भनेको थियो, ‘ तपाईंले आफ्नो पवित्र जनलाई चिहानमा कुहिन दिनुहुनेछैन ।’ हामी त्यही कुराको साक्षीहरू हौँ, कि परमेश्वरले येशूलाई फेरी जीवित तुल्याउनुभयो ।”
“येशू अहिले परमेश्वर पिताको दाहिने हातपट्टि महिमित हुनुहुन्छ । अनि येशूले प्रतिज्ञा गर्नुभएझैँ पवित्र आत्मा पठाउनुभएको छ । तपाईंहरूले अहिले देखिरहेका र सुनीरहेको कुराहरू पवित्र आत्माले नै गरिरहनुभएको हो ।”
“ तपाईंहरूले येशूलाई क्रूसमा टाँग्नुभयो । तर यो कुरा पक्का गरी जान्नुहोस् कि परमेश्वरले येशूलाई प्रभु र मसिह दुवै बनाउनुभयो !”
पत्रुसको कुरा सुनिरहेका मानिसहरूलाई उनले भनेका कुराहरूले गहिरो प्रभाव पार्यो । त्यसैले उनीहरूले पत्रुस र चेलाहरूलाई सोधे, “भाइहरू हो, हामीले के गर्नुपर्छ ?”
पत्रुसले उनीहरूलाई जवाफ दिए, “तपाईंहरू हरेकले पश्चाताप गर्नुपर्छ र येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनु पर्छ, जसद्धारा परमेश्वरले तपाईंहरूका पाप क्षमा गरीदिनुहुनेछ । अनि उहाँले तपाईंहरूलाई पवित्र आत्माको वरदान पनि दिनुहुनेछ ।”
करिब ३,००० मानिसहरूले पत्रुसले भनेका कुरामा विश्वास गरे र येशूका चेला भए । उनीहरूको बप्तिस्मा भयो र तिनीहरू यरूशलेमको मण्डलीको हिस्सा भए ।
ती चेलाहरूले निरन्तररूपमा प्रेरितहरूका शिक्षा सुन्थे, एकसाथ समय बिताउँदथे, एकसाथ खान्थे, र एक-अर्कासँग प्रार्थना गर्दथे । उनीहरू एकसाथ परमेश्वरको प्रशंसा गर्न रमाउँदथे र उनीहरूले आफूसँग भएका सबै थोक एक-अर्कासँग बाँड्ने गर्दथे । हरेकले उनीहरूका बारेमा असल सोच्दथे । प्रतिदिन, अझ धेरै मानिसहरू विश्वासी भए ।
बाइबलको कथा: प्रेरित २ बाट
४४. पत्रुस र यूहन्नाले भिखारीलाई निको पारे
एकदिन, पत्रुस र यूहन्ना मन्दिर जाँदैथिए । जसै उनीहरू मन्दिरको ढोकामा आईपुगे, उनीहरूले एकजना लङ्गडो मानिसलाई देखे जो पैसाको निम्ति भिख मागिरहेको थियो ।
पत्रुसले त्यस लङ्गडो मानिसतिर हेरेर भने, “तिमीलाई दिन मसित पैसा त छैन । तर मसित जे छ, म तिमीलाई दिनेछु । येशूको नाउँमा, उठ र हिँड !”
तुरुन्तै, परमेश्वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, अनि ऊ हिँड्दै र उफ्रिदैँ परमेश्वरको प्रशंसा गर्न लाग्यो । मन्दिरको चोकमा भएका मानिसहरू यो देखेर अचम्मित भए ।
एकैछिनमा मानिसहरूको भीड त्यस निको भएको त्यस मानिसलाई हेर्न आयो । पत्रुसले तिनीहरूलाई भने, “यस मानिस निको पारियो भनेर तपाईंहरू किन अचम्भित हुनुहुन्छ ? हामीले उनलाई हाम्रो आफ्नै शक्ति वा भलाइद्वारा निको पारेका होइनौँ बरू, यो त येशूको शक्ति उहाँले दिनुहुने विश्वास हो, जसले यस मानिसलाई निको पार्यो ।”
“तपाईंहरू नै हुनुहुन्छ जसले रोमी राज्यपाललाई येशूलाई मार्न भन्नुभयो । जीवनको रचनाकारलाई तपाईंहरूले मार्नुभयो तर परमेश्वरले उहाँलाई मृत्युबाट उठाउनुभयो । तपाईंहरूलाई आफू के गर्दैहुनुहुन्छ भनी थाहा नभए तापनि, परमेश्वरले अगमवाणीहरूलाई पूरा गर्न तपाईंका कार्यहरूलाई चलाउनुभयो, कि मसिहले कष्ट भोग्नुहुनेछ र मर्नुहुनेछ । त्यसैले अब, पश्चाताप गर्नुहोस् र परमेश्वरतर्फ फर्कनुहोस् ताकि तपाईंहरूका पापहरू धोइऊन् ।”
पत्रुस र यूहन्नाले भनेका कुराहरूले गर्दा मन्दिरका अगुवाहरू धेरै रिसाएका थिए । त्यसैले तिनीहरूले उनीहरूलाई पक्रे र झ्यालखानामा हालिदिए । तर धेरै मानिसहरूले पत्रुसको सन्देशलाई विश्वास गरे, र येशूमा विश्वास गर्ने मानिसहरूको संख्या करिब ५,००० भयो ।
अर्को दिन, यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई प्रधान पूजाहारी र अरू धार्मिक अगुवाहरूको सामु ल्याए । उनीहरूले पत्रुस र यूहन्नालाई सोधे, “कुन शक्तिद्वारा तिमीहरूले यस लङ्गडो मानिसलाई निको पार्यो ?”
पत्रुसले जवाफ दिए, “तपाईंहरूको सामु उभिरहेको यस मानिस येशू मसिहको शक्तिद्वारा निको पारियो । तपाईंहरूले येशूलाई क्रूसमा टाँग्नुभयो, तर परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो ! तपाईंहरूले उहाँलाई इन्कार गर्नुभयो, तर येशूको शक्तिद्वारा बाहेक उद्धार पाउनको लागि अरू कुनै बाटो छैन !”
पत्रुस र यूहन्नाले त्यसरी साहसका साथ बोलेको देखेर ती अगुवाहरू छक्क परे किनभने तिनीहरूले देख्न सक्थे कि उनीहरू साधारण र अशिक्षित मानिसहरू थिए । तर पछि यी मानिसहरू येशूसँगै रहन्थे भनी तिनीहरूलाई याद भयो । पत्रुस र यूहन्नालाई चेतावनी दिएपछि तिनीहरूले उनीहरूलाई छोडिदिए ।
बाइबलको कथा: प्रेरित ३:१-४:२२ बाट
४५. फिलिप र इथियोपिका उच्च पदाधिकारी
शुरूका मण्डलीका अगुवाहरूमध्ये स्तिफनस नाउँ गरेका एकजना व्यक्ति थिए । उनी असल प्रतिष्ठा अनि पवित्र आत्मा र वुद्धिले भरपुर भएका मानिस थिए । स्तिफनसले थुप्रै आश्चर्यकर्महरु गरे र मानिसहरूले येशूमा विश्वास गर्नुपर्छ भनी सशक्त ढंगले तर्क गर्दथे ।
एकदिन, जब स्तिफनसले येशूको विषयमा शिक्षा दिइरहेका थिए, येशूमा विश्वास नगर्ने केही यहूदीहरू स्तिफनससँग विवाद गर्न लागे । तिनीहरू धेरै क्रोधित भए र स्तिफनसको सम्बन्धमा धार्मिक अगुवाहरूलाई झूटो गवाही दिए । तिनीहरूले भने, “उसले मोशा र परमेश्वरको बारेमा दुष्ट कुराहरू भनेको हामीले सुन्यौँ !” त्यसैले ती धार्मिक अगुवाहरूले स्तिफनसलाई पक्रे अनि प्रधान पूजाहारी र अरू यहूदी अगुवाहरूकहाँ ल्याए, जहाँ तिनीहरूले स्तिफनसको विषयमा धेरै झूटा गवाहीहरू दिए ।
प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के यी कुराहरू सत्य हुन् ?” स्तिफनसले तिनीहरूलाई परमेश्वरले अब्राहामदेखि लिएर येशूको समयसम्म गर्नुभएका कयौँ महान् कामहरू, र कसरी परमेश्वरका मानिसहरूले निरन्तर रूपमा उहाँको आज्ञापालन नगरेका भनी स्मरण गराउँदै जवाफ दिए । अनि तिनले भने, “तपाईं हठी र विद्रोही मानिसहरूले सधैँ पवित्र आत्मालाई इन्कार गर्नुहुन्छ, जसै तपाईंहरूका पुर्खाहरूले सधैँ परमेश्वरलाई इन्कार गरे र उहाँका अगमवक्ताहरूलाई मारे । तर तपाईंहरूले त केही कुरा अझ बढी गर्नुभयो, जुन उनीहरूले गरेभन्दा खराब थियो ! तपाईंहरूले मसिहलाई मार्नुभयो !”
जब ती धार्मिक अगुवाहरूले यो कुरा सुने, तिनीहरू यति क्रोधित भए कि तिनीहरूले आफ्ना कान थुने र चर्को स्वरले कराए । तिनीहरूले स्तिफनसलाई शहर बाहिर घिसारेर लगे र उनलाई मार्न ढुङ्गाले हाने ।
जब स्तिफनस मर्नै लागेका थिए, उनले कराएर भने, “येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।” अनि उनले आफ्ना घुँडा टेके र फेरि चर्को स्वरले यसो भनी कराए, “प्रभु, यो पापको दोष यिनीहरूमाथि नलागोस् ।” त्यसपछि उनी मरे ।।
शाऊल नाउँ गरेका एकजना जवान मानिस स्तिफनसलाई मार्ने मानिसहरूसँग सहमत भए र तिनीहरूले ढुङ्गा हान्दैगर्दा तिनीहरूका वस्त्रहरूको रखवाल गरिदिए । त्यस दिनदेखि, यरूशलेममा धेरै मानिसहरूले येशूका चेलाहरूलाई सताउन थाले, त्यसैले विश्वासीहरू अन्य ठाउँहरूमा भागेर गए । तर त्यति भएता पनि तिनीहरूले आफू गएका सबै ठाउँहरूमा येशूको प्रचार गरे ।
फिलिप नाउँ भएका येशूका एकजना चेला थिए जो सतावटको समयमा यरूशलेमबाट भागेर जाने विश्वासीहरूमध्येका एक थिए । उनी सामरियामा गए जहाँ उनले येशूको बारेमा प्रचार गरे र त्यहाँका धेरै मानिसहरू बचाइएका थिए । अनि एकदिन, परमेश्वरका एक दूतले फिलिपलाई मरूभूमिको सडकमा जान भने । जसै उनी त्यस बाटोमा हिँड्दै थिए, फिलिपले इथियोपियाका एकजना महत्वपूर्ण सरकारी कर्मचारीलाई आफ्नो रथमा चढेर जाँदै गरेको देखे । अनि पवित्र आत्माले फिलिपलाई गएर त्यस मानिससँग कुरा गर्न भन्नुभयो ।
जब फिलिप त्यस रथको नजिकै आईपुगे, उनले त्यस इथियोपियाली मानिसले यशैया अगमवक्ताले लेखेको पत्रबाट पढिरहेको सुने । त्यस मानिसले पढ्यो, “जसरी भेडा काटिनलाई लगिन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन । उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन । किनभने उसको जीवन पृथ्वीबाट हरण भयो ।”
फिलिपले त्यस इथियोपियालीलाई सोधे, “तपाईंले पढिरहनुभएको कुरा के तपाईं बुझ्नुहुन्छ ?” त्यस इथियोपियालीले जवाफ दियो, “अहँ । कसैले नबताई म कसरी बुझ्न सक्छु र ? कृपया आउनुहोस् र मेरो छेऊमा बस्नुहोस् । के यशैयाले आफ्नै बारेमा लेखेका थिए वा अरू कसैको बारेमा ?”
फिलिपले त्यस इथियोपियाली मानिसलाई यशैयाले येशूको बारेमा लेखेका थिए भनी व्याख्या गरिदिए । फिलिपले उनलाई येशूको बारेमा सु-समाचार सुनाउन अरू पत्रहरूको पनि प्रयोग गरे ।
जब फिलिप र त्यस इथियोपियाली यात्रा गर्दै थिए, उनीहरू केही पानी भएको ठाउँमा आईपुगे । त्यस इथियोपियालीले भन्यो, “हेर्नुहोस् ! त्यहाँ केही पानी छ ! के मैले बप्तिस्मा लिन सक्छु ?” अनि उसले आफ्नो चालकलाई रथ रोक्न लगायो ।
त्यसैले उनीहरू तल पानी भएको ठाउँमा गए, अनि फिलिपले त्यस इथियोपियालीलाई बप्तिस्मा दिए । उनीहरू पानीबाट बाहिर आएपछि, अचानक पवित्र आत्माले फिलिपलाई अन्त्यै लैजानुभयो जहाँ उनले मानिसहरूलाई येशूको बारेमा बताइनै रहे ।
त्यस इथियोपियाली मानिसचाहिँ आफ्नो घरतर्फ जान आफ्नो यात्रालाई निरन्तरता दियो, उसले येशूलाई चिनेकोमा ऊ निकै खुशी थियो ।
बाइबलको कथा: प्रेरित ८:५; ८:२६-४० बाट
४६. पावल विश्वासी हुनुभयो
शाऊल त्यस जवान मानिस थिए जसले स्तिफनसलाई मार्नेहरूका वस्त्रहरू हेरचाह गरेका थिए । उनले येशूमा विश्वास गरेका थिएनन् , तसर्थ उनी विश्वासीहरूलाई सताउने गर्दथे । उनी यरूशलेमका घर-घरमा जान्थे र पुरुष र स्त्रीहरू दुवैलाई पक्रेर झ्यालखानामा हालिदिन्थे । प्रधान-पूजाहारीले शाऊललाई दमस्कसको शहरमा गएर ख्रीष्टियानहरूलाई पक्री उनीहरूलाई यरूशलेममा फर्काएर ल्याउने स्वीकृति दिएका थिए ।
जब शाऊल दमस्कसतिर जाँदै थिए, स्वर्गबाट एउटा उज्यालो ज्योति उनको चारैतिर चम्कियो, र उनी भुईँमा लडे । शाऊलले कसैले यसो भनिरहेको सुने, “शाऊल ! शाऊल ! तिमी किन मलाई सताउँछौ ?” शाऊलले सोधे, “प्रभु, तपाईंको हुनुहुन्छ ?” येशूले उनलाई जवाफ दिनुभयो, “म येशू हुँ । तिमीले मलाई सताइरहेका छौँ !”
जब शाऊल उठे, उनले केही देख्न सकेनन् । उनका मित्रहरूले उनलाई दमस्कससम्म डोर्याएर लानुपर्यो । शाऊलले तीन दिनसम्म न केही खाए न त पिए नै ।
दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए । परमेश्वरले उनलाई भन्नुभयो, “त्यस घरमा जाऊ जहाँ शाऊल बसिरहेका छन् । तिम्रा हातहरू उनीमाथि राख ताकि उनले फेरी देख्न सकून् ।” तर हननियाले भने, “प्रभु, यस मानिसले विश्वासीहरूलाई कसरी सताएका छन् भनी मैले सुनेको छु ।” परमेश्वरले उनलाई जवाफ दिनुभयो, “जाऊ ! यहूदीहरू र अन्यजातिहरूलाई मेरो नाउँको घोषणा गर्न मैले उसलाई चुनेको छु । मेरो नाउँको खातिर उसले धेरै कुराहरूको कष्ट भोग्नेछ ।
त्यसैले हननिया शाऊलकहाँ गए, उनका हातहरू उनीमाथि राखे, र भने, “येशू, जो तिमी आइरहेको बाटोमा देखा पर्नुभयो, उहाँले मलाई तिमीकहाँ पठाउनुभएको छ ताकि तिमी फेरी देख्न सक्ने होऊ र पवित्र आत्माले भरिपूर्ण होऊ ।” शाऊल तुरुन्तै फेरि देख्ने सक्ने भए, र हननियाले उनलाई बप्तिस्मा दिए । अनि शाऊलले केही खानेकुरा खाए र उनको तागत फर्केर आयो ।
त्यसको लगतै, शाऊलले दमस्कसमा भएका यहूदीहरूलाई यसो भन्दै प्रचार गर्न थाले, “येशूनै परमेश्वरका पुत्र हुनुहुन्छ !” यहूदीहरू अचम्भित भए कि विश्वासीहरूलाई नाश पार्न खोज्ने त्यस मानिसले पनि अब येशूमा विश्वास गर्यो ! शाऊलले येशूनै मसिह हुनुहुन्थ्यो भनी यहूदीहरूसँग तर्क गरे ।।
धेरै दिनपछि, यहूदीहरूले शाऊललाई मार्ने योजना बनाए । उसलाई मार्नको निम्ति उनीहरूले शहरका ढोकाहरूमा ढुकेर बस्न मानिसहरू पठाए । तर शाऊलले त्यस योजनाको बारेमा सुने, र उनका मित्रहरूले उसलाई भाग्न सहायता गरे । एक रात तिनीहरूले उसलाई डालोमा हाली शहरको पर्खालबाट तल ओह्रालिदिए । शाऊल दमस्कसबाट भागेपछि, उनले येशूको बारेमा प्रचार गर्ने काम निरन्तर गरि नै राखे ।
शाऊल चेलाहरूसँग भेट्न यरूशलेममा गए, तर उनीहरू तिनीदेखि डराएका थिए । अनि बरनाबास नाउँ गरेका एकजना विश्वासीले शाऊललाई प्रेरितहरूकहाँ लगे र उनीहरूलाई कसरी शाऊलले साहसका साथ दमस्कसमा प्रचार गरेका थिए भनी बताइदिए । त्यसपछि, चेलाहरूले शाऊललाई स्वीकार गरे ।
यरूशलेममा भएको सतावाटबाट भागेका केही विश्वासीहरू टाढा एन्टिओखियाको शहरमा गए र येशूको बारेमा प्रचार गरे । एन्टिओखियाका प्रायः मानिसहरू यहूदीहरू थिएनन्, तर पहिलो पटक, तिनीहरूमा पनि धेरैजना विश्वासीहरू भए । बरनाबास र शाऊल त्यहाँ यी नयाँ विश्वासीहरूलाई येशूको बारेमा अझ बढी शिक्षा दिन र मण्डलीलाई बलियो बनाउन गए । येशूमा विश्वास गर्नेहरूलाई पहिलो पटक “ख्रीष्टियानहरू” भनिएको ठाउँ एन्टियोखिया थियो ।
एकदिन, जब एन्टियोखियामा भएका ख्रीष्टियानहरू उपवास र प्रार्थना गर्दैथिए, तब पवित्र आत्माले उनीहरूलाई भन्नुभयो, “मेरो निम्ति बरनाबास र शावललाई त्यस कामको लागि अलग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” त्यसैले एन्टियोखियाको मण्डलीले बरनाबास र शाऊलको निम्ति प्रार्थना गरे र उनीहरूका हात तिनीहरूमाथि राखे । अनि उनीहरूले तिनीहरूलाई येशूको बारेमा अरू धेरै ठाउँहरूमा सु-समाचार प्रचार गर्न पठाए । बरनाबास र शाऊलले विभिन्न जातिका मानिसहरूलाई शिक्षा दिए, र धेरै मानिसहरूले येशूमा विश्वास गरे ।
बाइबलको कथा: प्रेरित ८:३; ९:१-३१; ११:१९-२६; १३:१-३ बाट
४७. पावल र सिलास फिलिप्पीमा
जब शाऊल रोमी साम्राज्यभरि यात्रा गरे, उनले आफ्नो रोमी नाउँ “पावल” को प्रयोग गर्न थाले । एकदिन, पावल र उनका मित्र सिलास फिलिप्पीको शहरमा येशूको बारेमा सु-समाचार सुनाउन गए । उनीहरू नदीबाट भएर शहरको बाहिर एउटा ठाउँमा गए जहाँ मानिसहरू प्रार्थना गर्न भेला हुन्थ्ये । त्यहाँ उनीहरूले लिडिया नाउँ गरेकी एकजना स्त्रीलाई भेटे जो एक व्यापारी थिइन् । उनी परमेश्वरलाई प्रेम र आराधना गर्थिन् ।
येशूको बारे सन्देशलाई विश्वास गर्न परमेश्वरले लिडियाको हृदय खोलिदिनुभयो, अनि उनी र उनका परिवारको बप्तिस्मा भयो । उनले पावल र सिलासलाई आफ्नो घरमा बस्न निम्तो दिइन्, त्यसैले तिनीहरू उनी र उनका परिवारसँग बसे ।
पावल र सिलास त्यस प्रार्थना गर्ने ठाउँमा मानिसहरूसँग अक्सर भेट्ने गर्दथे । हरेक दिन जसै उनीहरू त्यहाँ हिँड्ने गर्थे, भूतात्मा लागेकी एउटी कमारी केटीले उनीहरूलाई पछ्याउने गर्थी । त्यस भूतात्माको माध्यमबाट उनले मानिसहरूको जोखना हेर्ने गर्थी, यसरी जोखना हेरेर उनले आफ्ना मालिकहरूको निम्ति धेरै कमाइ गरिदिन्थीन् ।
त्यस कमारी केटीले यसो भन्दै चिच्याउन थाली, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तिमीहरूलाई मुक्तिको बाटोको घोषणा गर्दैछन् !” उनले यसरी बारम्बार गरिरहेकी देखेर पावलले झिजो माने ।
अन्ततः जब त्यस कमारी केटी चिच्याउन थालिन्, पावल उनीतिर फर्के र उनी भित्र भएको दुष्टात्मालाई भने, “येशूको नाउँमा, त्यसबाट बाहिर आइज ।” अनि त्यो दुष्टात्माले त्यसै घडी उनलाई छाेडेर गयो ।
त्यस कमारी केटीका मालिकहरू अति क्रोधित भए ! उनीहरूले थाहा गरे कि त्यस दुष्टात्मा बिना, त्यस केटीले मानिसहरूको जोखना हेर्न सक्ने थिइनन् । यसको मतलब, अब के हुन्छ भनी भनिदिन मानिसहरूले उनका मालिकलाई पैसा तिर्ने थिएनन् ।
त्यसैले त्यस कमारी केटीका मालिकले पावल र सिलासलाई रोमी अधिकारीहरूकहाँ लिएर गए, जसले उनीहरूलाई कुटे र झ्यालखाना भित्र हालिदिए ।
उनीहरूले पावल र सिलासलाई झ्यालखानको सबैभन्दा सुरक्षित ठाउँमा राखे र उनीहरूका खुट्टामा ठिँगुरो समेत ठोकिदिए । तापनि मध्यरातको समयमा, उनीहरू परमेश्वरको प्रशंसाका गीतहरू गाइरहेका थिए ।
एक्कासी, त्यहाँ एउटा ठूलो भूईँचालो गयो ! झ्यालखानका सबै ढोकाहरू उघ्रिए, र सबै कैदीका साङ्लाहरू खुलिए ।
झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, अनि जब उनले झ्यालखानका ढोकाहरू खुलिरहेका देखे, उनी डराए ! उनले सबै कैदीहरू भागेछन् भनी सोचे, त्यसैले उनले आत्महत्या गर्ने विचार गरे । (उनलाई थाहा थियो कि यदि उनले कैदीहरूलाई भाग्न दिएमा रोमी अधिकारीहरूले उनलाई मार्ने थिए ।) तर पावलले उनलाई देखे र कराए, “रोक्नुहोस् ! आफैँलाई कष्ट नदिनुहोस् । हामीहरू सबै यहीँ छौँ ।”
उनी डरले काम्दै पावल र सिलासको अघि आए र सोधे, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” पावलले जवाफ दिए, “येशू प्रभुमा विश्वास गर्नुहोस्, अनि तपाईं र तपाईंका परिवारले उद्धार पाउनेछ ।” अनि ती हाकिमले पावल र सिलासलाई आफ्नो घरभित्र लगे र उनीहरूका घाऊहरू धोइदिए । पावलले उनका घरमा भएका सबैलाई येशूको बारेमा सु-समाचार सुनाए ।
ती हाकिम र उनका सारा परिवारले येशूमा विश्वास गरे र बप्तिस्मा लिए । अनि ती हाकिमले पावल र सिलासलाई भोजन दिए र उनीहरू सबैले एकसाथ आनन्द मनाए ।
त्यसको अर्को दिन शहरका हाकिमहरूले पावल र सिलासलाई झ्यालखानबाट छोडिदिए र उनीहरूलाई फिलिप्पीबाट निस्किन भने । पावल र सिलासले लिडिया र अरू केहि मित्रहरूलाई भेटे र त्यसपछि शहर छाेडेर गए । येशूको बारेमा सु-समाचार फैलिँदै गयो, र मण्डली बढ्दै गयो ।
पावल र अरू ख्रीष्टियान अगुवाहरू धेरै शहरहरूमा येशूको बारेमा सु-समाचार प्रचार गर्दै र शिक्षा दिँदै यात्रा गरे । उनीहरूले मण्डलीमा भएका विश्वासीहरूलाई उत्साह दिन र सिकाउन धेरै पत्रहरू पनि लेखे । यीमध्ये केही पत्रहरू आज बाइबलका किताबहरू भएका छन् ।
बाइबलको कथा: प्रेरित १६:११-४० बाट
४८. येशू प्रतिज्ञा गरिएको मसिह हुनुहुन्छ
जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, सबै कुरा सिद्ध थियो । त्यहाँ कुनै पाप थिएन । आदम र हव्वाले एक-अर्कालाई प्रेम गर्थे, अनि उनीहरूले परमेश्वरलाई प्रेम गर्थे । त्यहाँ कुनै रोग वा मृत्यु थिएन । सो परमेश्वरले चाहानुभएको संसार थियो ।
बगैँचामा हव्वालाई झुक्याउनको निम्ति शैतान सर्पद्वारा बोल्यो । अनि हव्वाले र आदमले परमेश्वरको विरुद्धमा पाप गरे । उनीहरूले गरेको पापको कारणले, मृत्यु, रोग र पीडा, यी सबै संसारका सारा मानिसको जीवनको एक हिस्सा बन्यो ।
आदम र हव्वाले पाप गरेको हुनाले केही कुरा अझ बढी भयानक हुनगयो । उनीहरू परमेश्वरका शत्रु भए । फलस्वरूप, त्यस समय पश्चात सबै मानिसहरू जन्मदै पाप-स्वभावका छन् र उनीहरू पनि परमेश्वरका शत्रु हुन् । परमेश्वर र मानिसहरूबीचको सम्बन्ध पापले गर्दा टुट्यो । तर त्यस सम्बन्धलाई पुनस्थापित गर्न परमेश्वरसँग एउटा योजना थियो ।
परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि हव्वाको एकजना सन्तानले शैतानको शिर कुच्याउनेछ, र शैतानले उसको कुर्कुच्चा डस्ने छ । यसको अर्थ यो थियो, कि शैतानले मसिहलाई मार्नेछ, तर परमेश्वरले उहाँलाई फेरि जीवित तुल्याउनुहुनेछ, र मसिहले शैतानको शक्तिलाई सदाको लागि कुच्याउनुहुनेछ । धेरै वर्षपछि, परमेश्वरले येशूनै मसिह हुनुहुन्छ भनी प्रकट गरिदिनुभयो ।
जब परमेश्वरले सारा पृथ्वीलाई जलप्रलयद्वारा नाश गर्नुभयो, उहाँमाथि विश्वास गर्ने मानिसहरूलाई उहाँले जहाज प्रदान गरिदिनुभयो । ठीक त्यसै ढङ्गले, सबैजना आफ्ना पापको कारण नाश पारिन योग्यका हुन्छन्, तर परमेश्वरले उहाँमाथि विश्वास गर्ने सबैलाई उद्धार गर्नको निम्ति येशू प्रदान गरिदिनुभएको छ ।
सयौँ वर्षसम्म, पूजाहारीहरूले मानिसहरूका निम्ति उनीहरूको पापको खातिर उनीहरूले पाउनुपर्ने दण्डको साटो परमेश्वरलाई निरन्तररूपमा बलिहरू चढाइदिए । तर ती बलिहरूले उनीहरूका पाप उठाइलान सकेन । येशूचाहिँ प्रधान-पूजाहारी हुनुहुन्छ । अरू पूजाहारीहरूको अगाडि, उहाँले आफैँलाई एकमात्र बलिको रूपमा सुम्पनुभयो जसले संसारका सबै मानिसहरूका पाप उठाइलान सक्नुहुनेछ । येशू सिद्ध प्रधान-पूजाहारी हुनुहुन्थ्यो किनभने हरेक मानिसले गरेको सबै पापको निम्ति उहाँले दण्ड भोग्नुभयो ।
परमेश्वरले अब्राहामलाई भन्नुभयो, “पृथ्वीका सबै मानिस जातिहरू तँद्वारा आशिषित् हुनेछन् ।” येशू अब्राहामका एक सन्तान हुनुहुन्थ्यो । सबै मानिस जातिहरू उनीद्वारा आशिषित् हुन्छन्, किनकि सबैजना जसले येशूमा विश्वास गर्छन्, उनीहरूले पापबाट उद्धार पाउँछन्, र अब्राहामका आत्मिक सन्तान बन्छन् ।
जब परमेश्वरले अब्राहामलाई उनका छोरा, इसहाकलाई, एक बलि स्वरूप चढाउन भन्नुभयो, परमेश्वरले बलिको निम्ति उनका छोरा इसहाकको सट्टामा एउटा थुमा प्रदान गर्नुभयो । हामी सबैजना हाम्रा पापको खातिर मारिन योग्यका छौँ ! तर परमेश्वरले येशू प्रदान गरिदिनुभयो, परमेश्वरका थुमा, हाम्रो सट्टामा बलिको रूपमा मारिनको निम्ति ।
जब परमेश्वरले मिश्रदेशमा अन्तिम विपत्ती पठाउनुभयो, उहाँले हरेक इस्राएली परिवारलाई एउटा सिद्ध थुमालाई मार्न र त्यसको रगत उनीहरूका घरको ढोकाको चौकोसका दुइपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाउन भन्नुभयो । जब परमेश्वरले त्यो रगत देख्नुभयो, उहाँले तिनीहरूका घरहरूलाई छोडेर जानुभयो र उनीहरूका जेठा सन्तानहरूलाई मार्नुभएन । यस घटनालाई निस्तार चाड भनिन्छ ।
येशू हाम्रो निम्ति निस्तारको थुमा हुनुहुन्छ । उहाँ सिद्ध र पापरहित हुनुहुन्थ्यो र निस्तारचाडको उत्सवको समयमा मारिनुभएको थियो । जब कसैले येशूमा विश्वास गर्छ, येशूको रगतले त्यस व्यक्तिको पापको मोल तिरिदिन्छ, अनि परमेश्वरको दण्डले त्यस व्यक्तिलाई छोडेर जान्छ ।
परमेश्वरले इस्राएलीहरूसँग एउटा करार बाँध्नुभयो, उनीहरू उहाँका चुनिएका मानिसहरू थिए । तर अब परमेश्वरले एउटा नयाँ करार बनाउनुभएको छ, जुनचाहिँ सबैको निम्ति उपलब्ध छ । यस नयाँ करारको कारणले गर्दा, कुनैपनि मानिसले येशूमा विश्वास गरेर परमेश्वरका सन्तान बन्न सक्दछन् ।
मोशा महान् अगमवक्ता थिए जसले परमेश्वरको वचनको घोषणा गरे । तर येशूचाहिँ सबैभन्दा महान् अगमवक्ता हुनुहुन्छ । उहाँ परमेश्वर हुनुहुन्छ, त्यसैले उहाँले गर्नुभएका र भन्नुभएका सबैथोक परमेश्वरको वचनका कामहरू थिए । त्यसैकारण येशूलाई परमेश्वरको वचन भनिन्छ ।
परमेश्वरले दाऊद राजालाई प्रतिज्ञा गर्नुभएको थियो कि उनका सन्तानहरूमध्ये एकजनाले राजाको रूपमा सदा-सर्वदाको निम्ति परमेश्वरका मानिसहरूमाथि राज्य गर्नेछन् । किनकि येशू परमेश्वरका पुत्र र मसिह हुनुहुन्छ, उहाँनै दाऊदका त्यस विशेष सन्तान हुनुहुन्छ जसले सदा-सर्वदा राज्य गर्न सक्नुहुनेछ ।
दाऊद इस्राएलका राजा थिए, तर येशूचाहिँ सारा संसारका राजा हुनुहुन्छ ! उहाँ फेरि आउनुहुनेछ र न्याय र शान्तिका साथ, सदा-सर्वदा राज्य गर्नुहुनेछ ।
बाइबलको कथा: उत्पत्ती १-३,६,१४,२२; प्रस्थान १२, २०; २ शमूएल ७; हिब्रु ३:१-६, ४:१४-५:१०, ७:१-८:१३, ९:११-१०:१८; प्रकाश २१ बाट
४९. परमेश्वरको नयाँ करार
एक स्वर्गदूतले मरियम नाउँ गरेकी एक कन्यालाई भने, कि उनले परमेश्वरका पुत्रलाई जन्म दिनेछिन् । त्यसैले जब उनी अझ एक कन्या नै थिइन्, उनले एउटा छोरो जन्माईन् र उनको नाउँ येशू राखिन् । तसर्थ, येशू परमेश्वर र मानिस दुवै हुनुहुन्छ ।
येशूले धेरै आश्चर्यकर्महरू गर्नुभयो, जसले प्रमाणीत गर्छ कि उहाँ परमेश्वर हुनुहुन्थ्यो । उहाँ पानीमाथि हिँड्नुभयो, आँधीलाई शान्त पार्नुभयो, धेरै रोगी मानिसहरूलाई निको पार्नुभयो, दुष्टात्माहरू निकाल्नुभयो, मरेको मानिसलाई जीवित तुल्याउनुभयो, र पाँच रोटीका टुक्रा र दुई माछाबाट ५,००० भन्दा बढी मानिसहरूलाई प्रशस्त गरी खान पुग्नेगरी खुवाएर आफुलाई प्रमाणित गर्नुभयो ।
येशू महान् शिक्षक पनि हुनुहुन्थ्यो, अनि उहाँ अधिकारको साथ बोल्नुहुन्थ्यो किनकि उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो । उहाँले सिकाउनुभयो कि तपाईंले अरू मानिसहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ जसरी तपाईंले आफैँलाई प्रेम गर्नुहुन्छ ।
उहाँले यो पनि सिकाउनुभयो कि तपाईंले परमेश्वरलाई अरू सबैकुराहरूलाई भन्दा बढी प्रेम गर्नुपर्छ, तपाईंका धन-सम्पतिहरूलाई भन्दा पनि बढी ।
येशूले भन्नुभयो कि परमेश्वरको राज्य संसारमा भएका कुनैपनि कुराभन्दा बढी मूल्यवान छ । कसैको निम्ति सबैभन्दा महत्वपूर्ण कुरा भनेकै परमेश्वरको राज्यको हकदार हुनु हो । परमेश्वरको राज्यमा प्रवेश गर्न, तपाईंले आफ्ना पापबाट उद्धार पाउनुपर्छ ।
येशूले सिकाउनुभयो कि केही मानिसहरूले उहाँलाई पाउनेछन् र बचाइनेछन् , तर अरूले पाउनेछैनन् । उहाँले भन्नुभयो कि कोही मानिसहरू असल भूमि जस्ता हुन् । उनीहरूले येशूको सु-समाचार प्राप्त गर्छन् र बचाइन्छन् । अरू मानिसहरूचाहिँ बाटोका कडा भूमिजस्ता हुन्, जहाँ परमेश्वरका वचनको बिऊ छिर्दैन र केही फसल हुँदैन । ती मानिसहरूले येशूको बारे सन्देशलाई इन्कार गर्छन् र उहाँको राज्यभित्र पस्न पाउने छैनन् ।
येशूले सिकाउनुभयो कि परमेश्वरले पापीहरूलाई धेरै प्रेम गर्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई क्षमा दिन चाहनुहुन्छ र तिनीहरूलाई आफ्ना सन्तान बनाउन चाहनुहुन्छ ।
येशूले यो पनि भन्नुभयो कि परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ । जब आदम र हव्वाले पाप गरे, यसले उनीहरूका सबै सन्तानहरूलाई असर पार्यो । फलस्वरूप, संसारमा सबै मानिसले पाप गर्छन् र परमेश्वरबाट अलग गरिएका छन् । तसर्थ, सबैजना परमेश्वरबाट टाढा भएका छन् ।
तर परमेश्वरले संसारमा भएका सबैलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि येशूमाथि विश्वास गर्ने कसैले पनि उनीहरूका पापको सजाय भोग्न नपरोस, तर परमेश्वरसँग सदा-सर्वदा बाँचिरहून् ।
तपाईंहरूको पापले गर्दा, तपाईं दोषी र मारिन योग्यको हुनुहुन्छ । परमेश्वर तपाईंसँग क्रोधित हुनुपर्ने हो, तर उहाँले आफ्नो क्रोध तपाईंको सट्टा येशूमाथि खन्याउनुभयो । जब येशू क्रुसमा मर्नुभयो, उहाँले तपाईंको सजाय भोग्नुभयो ।
येशूले कहिल्यै पाप गर्नुभएन, तर उहाँले सजाय भोग्न र तपाईंको र संसारका हरेक मानिसहरूको पाप उठाई लैजान सिद्ध बलिको रूपमा मर्न चाहनुभयो । येशूले आफैँलाई समर्पण गर्नुभएकोले गर्दा, परमेश्वरले कुनैपनि पापलाई क्षमा गर्न सक्नुहुन्छ ।
असल कामहरूले तपाईंलाई बचाउन सक्दैन । परमेश्वरसँग सम्बन्ध राख्न तपाईंले गर्न सक्ने केही कुरा छैन । येशूले मात्र तपाईंका पापहरू धुन सक्नुहुन्छ । तपाईंले यो विश्वास गर्नैपर्छ कि येशूनै परमेश्वरका पुत्र हुनुहुन्छ, कि तपाईंको साटो उहाँ क्रूसमा मर्नुभयो, र परमेश्वरले फेरि उहाँलाई जीवित पारी उठाउनुभयो ।
येशूमा विश्वास गर्ने र उहाँलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गर्ने सबैलाई परमेश्वरले बचाउनुहुनेछ । तर उहाँमाथि विश्वास नगर्ने कोहीलाई पनि उहाँले बचाउनुहुनेछैन । तपाईं धनी हुनुहोस् वा गरीब, पुरुष वा स्त्री, वृद्ध वा जवान, अथवा तपाईं कहाँ बस्नुहुन्छ, केही फरक पर्नेछैन । परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंले येशूमा विश्वास गर्नुभएको होस् भनी चाहनुहुन्छ, ताकि तपाईंसँग उहाँको घनिष्ठ सम्बन्ध होस् ।
येशूले तपाईंलाई उहाँमा विश्वास गर्न र बप्तिस्मा लिन निम्तो दिनुहुन्छ । के तपाईं येशूनै मसिह, परमेश्वरका एकमात्र पुत्र हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ ? के तपाईं आफूलाई पापी र परमेश्वरको दण्डको भागिदार हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ ? तपाईंका पापहरू उठाइलान येशू क्रूसमा मर्नुभयो भनी के तपाईं विश्वास गर्नुहुन्छ ?
यदि तपाईंले येशूमा र उहाँले तपाईंको निम्ति के गर्नुभयो भनी विश्वास गर्नुहुन्छ भने, तपाईं एक ख्रीष्टियान हुनुहुन्छ ! परमेश्वरले तपाईंलाई शैतानको अन्धकारको राज्यबाट बाहिर निकाल्नुभएको छ र तपाईंलाई परमेश्वरको ज्योतिको राज्यमा राख्नुभएको छ । परमेश्वरले तपाईंका पुराना पाप कामहरू हटाइदिनुभएको छ र तपाईंमा नयाँ, धार्मिकताका कामहरू हालिदिनुभएको छ ।
यदी तपाईं एक ख्रीष्टियान हुनुहुन्छ भने, येशूले गर्नुभएको कार्यले गर्दा परमेश्वरले तपाईंका पापहरू क्षमा गरिदिनुभएको छ । परमेश्वरले अब तपाईंलाई एक शत्रु होइन, बरू एक घनिष्ठ मित्र ठान्नुहुन्छ ।
यदि तपाईं परमेश्वरका मित्र हुनुहुन्छ र येशू प्रभुको दास हुनुहुन्छ भने, तपाईं अब येशूले सिकाउनुभएका कुराहरूको आज्ञापालन गर्न चाहनुहुनेछ । तपाईं एक ख्रीष्टियान हुनु भए तापनि, अझैँ तपाईं पाप गर्न परीक्षामा पर्नुहुनेछ । तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ अनि भन्नुहुन्छ कि यदि तपाईंले आफ्ना पापहरूको प्रयाश्चित गर्नुहुन्छ भने, उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । पापको विरुद्ध सामना गर्न उहाँले तपाईंलाई शक्ति दिनुहुनेछ ।
परमेश्वरले तपाईंलाई प्रार्थना गर्न, उहाँका वचन पढ्न, अरू ख्रीष्टियानहरूसँगै आराधना गर्न, अनि उहाँले तपाईंको निम्ति के गर्नुभयो भनी अरूलाई बताउन भन्नुहुन्छ । यी सबै कुराहरूले तपाईंलाई उहाँसँग अझ घनिष्ठ सम्बन्ध राख्न मद्दत गर्छ ।
बाइबलको कथा: रोमी ३:२१-२६, ५:१-११; यूहन्ना ३:१६; मर्कूस १६:१६; कलस्सी १:१३-१४; २ कोरन्थी ५:१७-२१; १ यूहन्ना १:५-१० बाट
५०. येशू फेरी आउनुहुनेछ
करिब २,००० वर्षदेखि, संसारभरिका धेरैभन्दा धेरै मानिसहरूले येशू मसिहको बारेमा सु-समाचार सुन्दै आएका छन् । मण्डलीको वृद्धि हुँदैछ । येशूले प्रतिज्ञा गर्नुभएको थियो कि संसारको अन्त्यमा उहाँ फर्की आउनुहुनेछ । उहाँ अझसम्म फर्कनु भएको त छैन, तर उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ ।
जब हामी येशूको आगमनको प्रतीक्षा गर्छौं, हामी पवित्रताको बाटोमा जीवन जिऔँ भनी परमेश्वर चाहनुहुन्छ, जसले उहाँको आदर गर्छ । हामीले अरुलाई पनि उहाँको राज्यको बारेमा बताऔँ भनी उहाँ चाहनुहुन्छ । जब येशू संसारमा हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “मेरा चेलाहरूले परमेश्वरको राज्यको बारेमा सारा संसारका मानिसहरूलाई सु-समाचार प्रचार गर्नेछन्, अनि त्यसपछि मात्र अन्त्यको दिन आउनेछ ।”
धेरै मानिस जातिले अझैपनि येशूको बारेमा सुनेका छैनन् । स्वर्गमा फर्किजानुभन्दा अघि उहाँले ख्रीष्टियानहरूलाई ती मानिसहरूलाई सु-समाचारको घोषणा गर्न भन्नुभयो, जसले कहिल्यै यसको बारेमा सुनेका थिएनन् । उहाँले भन्नुभयो, “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओँ !” अनि, “कटनी गर्ने समय आएको छ !”
येशूले यो पनि भन्नुभयो, “कुनै दास आफ्नो मालिकभन्दा ठूलो हुन सक्दैन । जसरी यस संसारका अधिकारीहरूले मलाई घृणा गरे, उनीहरूले मेरो खातिर तिमीहरूलाई कष्ट दिनेछन् र मार्नेछन् । यस संसारमा तिमीहरूले कष्ट भोग्नुपरे तापनि, उत्साहित होओँ, किनकि मैले यस संसारको शासन गर्ने शैतानलाई हराएको छु । यदि तिमीहरू अन्त्यसम्मै विश्वासयोग्य भयौ भने, परमेश्वरले तिमीहरूको उद्धार गर्नुहुनेछ !”
येशूले उहाँका चेलाहरूलाई संसारको अन्त्य भएपछि कस्तो हुनेछ भनी बुझाउनको निम्ति एउटा कथा भन्नुभयो । उहाँले भन्नुभयो, “एकजना मानिसले आफ्नो खेतमा असल बिउहरू लगायो । जब ऊ सुतिरहेको थियो, उसको शत्रु आएर गहुँको बीचमा सामाको बिउ छरिदियो, र त्यहाँबाट गयो ।”
“जब बिउ उम्रियो, त्यस मानिसका दासहरूले भने, 'मालिक, तपाईंले त त्यस खेतमा असल बिउहरू लगाउनुभएको थियो । तर कहाँबाट त्यसमा सामाहरू आए त ?’ त्यस मालिकले जवाफ दिए, “कुनै शत्रुले त्यो रोपेको हुनुपर्छ ।”
“ती दासहरूले उनीहरूका मालिकलाई भने, 'के हामी त्यस सामाहरूलाई उखेलौँ ?’ मालिकले भने, 'होइन । तिमीहरूले त्यसो गर्यौं भने, तिमीहरूले त्योसँगै केही गहुँ पनि उखेल्नेछौ । कटनीको समयसम्मको लागि पर्ख अनि त्यसपछि सामाहरूलाई बटुलेर जलाउनको निम्ति बिटा-बिटा बनाओ, तर गहुँचाहिँ मेरो ढुकुटीमा ल्याओ ।'”
चेलाहरूले त्यस कथाको अर्थ बुझेनन् , त्यसैले उनीहरूले येशूलाई सो बुझाइदिनुहुन आग्रह गरे । येशूले भन्नुभयो, “असल बिउ छर्ने मानिसले मसिहको प्रतिनिधित्व गर्छ । खेतले संसारलाई जनाउँछ । असल बिउले परमेश्वरको राज्यका मानिसहरूको प्रतिनिधित्व गर्छ ।”
सामाहरूले ती दुष्ट मानिसहरूका प्रतिनिधित्व गर्छन् । सामा छरिदिने त्यस शत्रुले दुष्टको प्रतिनिधित्व गर्छ । कटनीको समयले अन्त्यको दिनको प्रतिनिधित्व गर्छ, र कटनी गर्नेहरूले परमेश्वरका स्वर्गदूतहरूको प्रतिनिधित्व गर्छ ।”
“जब संसारको अन्त्य हुनेछ, स्वर्गदूतहरूले अधर्मी मानिसहरूलाई जम्मा पार्नेछन् र उनीहरूलाई दन्किरहेको आगोमा फालिदिनेछन् , जहाँ उनीहरू रूनेछन् र भयाकन कष्टमा आफ्ना दाह्रा किट्नेछन् । अनि धर्मी जनहरूचाहिँ तिनीहरूका पिता परमेश्वरको राज्यमा सूर्यझैँ चम्कनेछन् ।”
येशूले यो पनि भन्नुभयो कि संसारको अन्त्य हुनुभन्दा ठीक अघि उहाँ पृथ्वीमा फर्किआउनुहुनेछ । उहाँले छाेड्नुभएकै अवस्थामा उहाँ फर्किआउनुहुनेछ, जुनचाहिँ, उहाँको शरीर भौतिक हुनेछ अनि आकाशमा बादलमाथि आउनुहुनेछ । जब येशू फर्कनुहुन्छ, मरिसकेका सबै ख्रीष्टियानहरू मृत्युबाट बौरी उठ्नेछन् अनि उहाँलाई आकाशमा भेट्नेछन् ।
अनि त्यतिखेर बाँचिरहेका ख्रीष्टियानहरू माथि आकाशमा उचालिनेछन् र अरू मृत्यबाट बौरी उठेका ख्रीष्टियानहरूसँगै मिल्नेछन् । उनीहरू सबैजना येशूसँग हुनेछन् । त्यसपछि, येशू उहाँका मानिसहरूसँग सदाको लागि शान्ति र एकतामा बस्नुहुनेछ ।
येशूले उहाँमाथि विश्वास गर्ने सबैजनालाई जीवनको मुकुट दिने प्रतिज्ञा गर्नुभएको छ । उनीहरू परमेश्वरसँगै शान्तिमा रहनेछन् र राज्य गर्नेछन् ।
तर परमेश्वरले येशूमाथि विश्वास नगर्ने सबैको न्याय गर्नुहुनेछ । उहाँले तिनीहरूलाई नरकमा फालिदिनुहुनेछ, जहाँ उनीहरू सदाको निम्ति रूनेछन् र कष्टमा दाह्रा किट्नेछन् । कहिल्यै ननिभ्ने आगोले सधैँभरि तिनीहरूलाई जलाउने छ, अनि किराहरूले तिनीहरूलाई खान छाड्नेछैन ।
जब येशू फर्कनुहुन्छ, उहाँले शैतान र त्यसको राज्यलाई पूर्णरूपले परास्त गर्नुहुनेछ । उहाँले शैतानलाई नरकमा फालिदिनुहुनेछ जहाँ तिनीहरू सदाको निम्ति जल्नेछन् र उनीसँग तिनीहरू पनि हुनेछन्, जसले परमेश्वरको आज्ञापालन गर्नुको साटो त्यस दुष्टलाई पछ्याउन रोजे ।
आदम र हव्वाले परमेश्वरको आज्ञापालन नगरेको र यस संसारमा पापलाई प्रवेश गराएको कारणले, परमेश्वरले यस संसारलाई श्राप दिनुभयो र यसलाई नाश गर्ने निर्णय गर्नुभयो । तर कुनैदिन, परमेश्वरले एक नयाँ स्वर्ग र नयाँ पृथ्वीको सृष्टि गर्नुहुनेछ जुनचाहिँ सिद्ध हुनेछ ।
येशू र उहाँका मानिसहरू नयाँ पृथ्वीमा रहनेछन् , अनि उहाँले सदाको निम्ति अस्तित्वमा रहेका सबै कुराहरूमाथि राज्य गर्नुहुनेछ । उहाँले सबै आँसु पुछिदिनुहुनेछ अनि त्यहाँ फेरि कुनै कष्ट, दुःख, रूवाई, दुष्टता, वेदना, वा मृत्यु हुनेछैन । येशूले शान्ति र न्यायका साथ आफ्नो राज्यको शासन गर्नुहुनेछ, अनि उहाँ सदाको लागि आफ्ना मानिसहरूसँग रहनुहुनेछ ।
बाइबलको कथा: मत्ती २४:१४, २८:१८, यूहन्ना १५:२०, १६:३३, प्रकाश २:१०, मत्ती १३:२४-३०, ३६-४२, १ थेसलोनिकी ४:१३-५:११, याकूब १:१२, मत्ती २२:१३, प्रकाश २०:१०, २१:१-२२:२१ बाट