१३. इस्राएलसँग परमेश्वरको करार
इस्राएलीहरू लाल समुद्र पार गरेपछि परमेश्वरले तिनीहरूलाई उजाड स्थानबाट भएर सिनै पर्वतमा डोर्याउनुभयो । यो त्यहि पर्वत थियो जहाँ मोशाले जलिरहेको पोथ्रा देखेका थिए । मानिसहरूले आफ्ना पालहरू पर्वतको तलतिर टाँगे ।
परमेश्वरले मोशा र इस्राएलका मानिसहरूलाई भन्नुभयो, “यदि तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करार पालना गर्यौ भने, तिमीहरू मेरा सम्पति, पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ ।”
तीन दिनपछि, मानिसहरूले आफैलाई आत्मिकरूपमा तयार भएपछि, परमेश्वर गर्जन, चट्याङ, धुँवा र चर्को विगुलको ध्वनिका साथ सिनै पर्वतको टाकुरामा ओर्लिआउनुभयो । त्यस पर्वतमा उक्लिन मोशालाई मात्र अनुमति थियो ।
अनि परमेश्वरले तिनीहरूलाई त्यो करार दिनुभयो र भन्नुभयो, म “याहोवे हुँ, तिमीहरूका परमेश्वर, जसले तिमीहरूलाई मिश्रदेशको दासत्वबाट बचायो । तिमीहरूले अरू कुनै देवताहरू नपूज्नू ।”
“कुनै किसिमका मूर्तिहरू नबनाउनू वा तिनीहरूलाई नपूज्नू, किनकि म, याहोवे, डाही परमेश्वर हुँ । मेरो नाउँ व्यर्थमा नलेओ । शबाथको दिन पवित्र राख्न नभूल्नू । त्योचाहिँ, तिम्रा सबै कामहरू ६ दिनसम्म गर, तर सातौँ दिनचाहिँ तिमीहरूका निम्ति विश्राम गर्ने र मलाई सम्झने दिन हो ।”
“आफ्ना आमा-बुबाको आदर गर्नू । हत्या नगर्नू । व्यभिचार नगर्नू । चोरी नगर्नू । झुट नबोल्नू । आफ्नो छिमेकीको स्वास्नी, उसको घर, अथवा उसका केही कुराको लोभ नगर्नू ।”
अनि परमेश्वरले यी दश आज्ञाहरू दुईवटा ढुङ्गाको पाटीमा लेख्नुभयो र ती मोशालाई दिनुभयो । परमेश्वरले अरू पनि थुप्रै व्यवस्था र कानुनहरू पालन गर्न दिनुभयो । यदि तिनीहरूले यी व्यवस्थाहरू पालन गरेमा परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुने र तिनीहरूको रक्षा गर्नुहुने प्रतिज्ञा गर्नुभयो । यदि तिनीहरूले यी आज्ञाहरू भंग गरेमा तिनीहरूलाई परमेश्वले दण्ड दिनुहुने थियो ।
परमेश्वरले इस्राएलीहरूलाई आफूले चाहनुभएको जस्तो पालको निर्माण गर्न विस्तृत नमुना पनि दिनुभयो । त्यसलाई भेट हुने पाल भनिन्थ्यो र यसका दुईओटा कोठाहरू थिए, जुन एक ठूलो पर्दाले छुट्याइएको थियो । प्रधान पूजाहारीमात्र त्यस पर्दा पछाडिको कोठामा जान पाँउथे, किनकि परमेश्वर त्यहाँ रहनुहुन्थ्यो ।
कसैले पनि परमेश्वरको आज्ञा भंग गरेमा उसले एउटा पशु भेट हुने पालको अगाडि रहेको वेदीमा ल्याएर परमेश्वरलाई बलिकोरूपमा चढाउन सक्थ्यो । एक पूजाहारीले त्यस पशुलाई मार्थे र वेदीमा राखेर जलाइदिन्थे । बलि चढाइएको पशुको रगतले त्यस व्यक्तिको पाप ढाक्ने थियो र परमेश्वरको नजरमा त्यस व्यक्ति शुद्ध हुनेथियो । परमेश्वरले मोशाका भाइ हारून र उनका सन्तानलाई आफ्नो पूजाहारी हुन नियुक्त गर्नुभयो ।
सबै मानिसहरूलाई परमेश्वरले दिनुभएको आज्ञा केवल एउटै परमेश्वरलाई पूज्न र उहाँका विशेष मानिसहरू हुन भनि मान्न राजी भए । तर तिनीहरूले वाचा गरेको केही समयपछि नै, तिनीहरूले डरलाग्दो पाप गरे ।
धेरै दिनसम्म, मोशा परमेश्वरसँग बात-चित गर्नको निम्त सिनै पर्वतको टाकुरामा गएका थिए । मानिसहरू उनी फर्कने प्रतीक्षा गर्दा-गर्दा थाके । त्यसैले तिनीहरूले हारूनकहाँ सुनहरू ल्याए र तिनीहरूका निम्ति एउटा मूर्ति बनाउन लगाए !
हारूनले बाछाको आकारमा सुनको एउटा मूर्ति बनाए । मानिसहरूले त्यस मूर्तिलाई पूज्न र बलिहरू चढाउन थाले ! तिनीहरूले गरेको त्यस पापको कारण परमेश्वर धेरै रिसाउनुभयो र तिनीहरूलाई नाश पार्ने योजना बनाउनुभयो । तर मोशाले परमेश्वरसँग तिनीहरूको निम्ति प्रार्थना चढाए र परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र तिनीहरूलाई नाश पार्नुभएन ।
मोशा तल झरेपछि जब उनले त्यस मूर्ति देखे, उनी यति रिसाए कि परमेश्वरले उसलाई दिनुभएको दश आज्ञाका पाटीहरू फालेर फुटाइदिए ।
अनि मोशाले त्यस मूर्तिलाई कुटेर धुलो पारे, त्यो धुलोलाई केही पानीमा हाले र मानिसहरूलाई त्यो पानी पिउन लगाए । परमेश्वरले मानिसहरूमा महामारी ल्याइदिनुभयो र उनीहरूमध्ये धेरैजना मरे ।
मोशा फेरि पर्वतमाथि चढे र ती मानिसहरूलाई परमेश्वरले क्षमा गरिदिनुहुनको निम्ति प्रार्थना गरे। परमेश्वरले मोशाको बिन्ती सुन्नुभयो र उनीहरूलाई क्षमा दिनुभयो । आफूले फुटाएका पहिलेका दश आज्ञाका पाटीहरूलाई मोशाले फेरि ढुङ्गाको एक नयाँ पाटीमा लेखेर पुन स्थापित गरे । अनि परमेश्वरले इस्राएलीहरूलाई सिनै पर्वतबाट प्रतिज्ञा गरिएको देशतिर डोर्याउनुभयो ।
बाइबलको कथाः प्रस्थान १९-३४ बाट