२. संसारमा पापको प्रवेश
परमेश्वरले उनिहरूकै लागि बनाउनुभएको सुन्दर बगैँचामा आदम र हव्वा धेरै खुशीका साथ बसिरहेका थिए । दुवैजना कुनै वस्त्रबिना नै बस्थे, तापनि यस कुरामा उनीहरूलाई कुनै लाज थिएन, किनकि संसारमा कुनै पाप थिएन । उनीहरू प्राय बगैँचामा डुल्ने र परमेश्वरसँग कुराकानी गर्दथे ।
तर त्यस बगैंचामा एउटा धूर्त सर्प थियो । उसले स्त्रीलाई सोध्यो, “के साँच्चै परमेश्वरले तिमीलाई यहाँ भएका मध्ये कुनै पनि रूखको फल नखानु भन्नुभएको छ ?”
स्त्रीले जवाफ दिइन्, “परमेश्वरले हामीलाई असल र खराबको ज्ञान छुट्याउने रूखको फल बाहेक अरू कुनैपनि रूखको फल खान हुन्छ भन्नुभएको छ । परमेश्वरले हामीलाई भन्नुभएको छ, यदि तिमीले त्यस रूखको फल खाएमा अथवा छोए मात्रै पनि तिमी मर्नेछौ ।”
त्यस सर्पले स्त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन ! तिमीहरू मर्ने छैनौ । परमेश्वरलाई थाहा छ कि तिमीले त्यस रूखको फल खाने बित्तिकै, तिमी पनि परमेश्वरजस्तै हुनेछौ अनि उहाँ जस्तै असल र खराब जान्नेछौ ।”
स्त्रीले त्यो फल हेर्नमा सुन्दर र स्वादिलो देखिन् । उनी पनि बुद्धिमान् हुन चाहना गरिन्, त्यसैले उनले बगैंचाबाट केही फलहरू टिपिन् र खाइन् । उनले केही फल आफ्नो पतिलाई पनि दिइन्, जो उनीसँगै थिए, र उसले पनि त्यो फल खाए ।
अचानक, उनीहरूका आँखाहरू खोलिए, अनि आफूहरू नाङ्गो भएको उनीहरूले चाल पाए । उनीहरूले पातहरूलाई बुनेर वस्त्र बनाई आफ्ना शरीरलाई ढाक्न खोजे ।
तब मानिस र उनकी पत्नीले परमेश्वर बगैँचाबाट भएर हिँड्दै गर्नुभएको आवाज सुने । उनीहरू दुवैजना परमेश्वरबाट लुके । अनि परमेश्वरले मानिसलाई बोलाएर भन्नुभयो, “तँ कहाँ छस् ?” आदमले जवाफ दिए, “मैले तपाईं बगैंचामा हिँड्दै गर्नुभएको सुनेँ, अनि म डराएँ, किनकि म नाङ्गो थिएँ । त्यसैले म लुकेँ ।”
अनि परमेश्वरले सोध्नुभयो, “त नाङ्गो छस् भनेर तँलाई कसले भन्यो ? के मैले नखानु भनेको फल तैँले खाइस् ?” मानिसले जवाफ दियो, “तपाईंले दिनुभएको स्त्रीले मलाई यो फल दिइन् ।” अनि परमेश्वरले स्त्रीलाई सोध्नु भयो , “तैँले यो के गरिस् ?” स्त्रीले जवाफ दिइन, “त्यो सर्पले मलाई झुक्यायो ।”
परमेश्वरले सर्पलाई भन्नुभयो, “तँ श्रापित भएको छस् ! तँ तेरो पेटले घस्रने छस् र तैले माटो खानेछस् । तँ र स्त्रीले एक अर्कालाई घृणा गर्नेछौ र तेरो र स्त्रीको सन्तानले पनि एक-अर्कालाई घृणा गर्नेछन् । यस स्त्रीको सन्तानले तेरो शिर कुच्याउने छ, अनि तैँले उसको कुर्कुच्चा डस्नेछस् ।”
त्यसपछि परमेश्वरले स्त्रीलाई भन्नुभयो, “म तेरो सुत्केरी वेदना धेरै बढाइदिनेछु । तापनि तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँमाथि अधिकार गर्नेछ ।”
परमेश्वरले मानिसलाई भन्नुभयो, “तैँले आफ्नी श्रीमतीको कुरा सुनेर मेरो आज्ञा नमानेको हुनाले यो भूमि तेरो कारणले श्रापित भएको छ । खानको निम्ति तैँले कडा परिश्रम गर्नुपर्नेछ । त्यसपछि तँ मर्नेछस् , र तेरो शरीर माटोमै मिल्नेछ ।” मानिसले आफ्नी श्रीमतीको नाउँ हव्वा राखे, जसको अर्थ हो “जीवन दिने”, किनकि तिनी सबै जातिका मानिसहरूका आमा कहलाइन् । अनि परमेश्वरले आदम र हव्वालाई पशुको छालाको लुगा बनाई लगाइदिनुभयो ।
अनि परमेश्वरले भन्नुभयो, “अब मानिसहरू पनि हामीजस्तै असल र खराब जान्ने भएका छन्”, त्यसैले तिनीहरूले अब जीवनको रूखको फल खाएर तिनीहरू सधैँभरि जीवित रहन नपाऊन् भनि परमेश्वरले आदम र हव्वालाई त्यस सुन्दर बगैँचाबाट निकालिदिनुभयो । परमेश्वरले जीवनको रूखको निगरानी गर्नको लागि शक्तिशाली स्वर्गदूतहरूलाई बगैँचाको मूलढोकामा पहरेदारको रूपमा खटाउनुभयो ।
बाइबलको कथा : उत्पत्ति ३ बाट